नौं विद्यालयका ७ हजार विद्यार्थीको एउटै भान्सा

हेटौंडा उपमहानगरपालिकाका ९ विद्यालयलक्षित गर्दै दिवाखाजाका लागि मेघा किचन सञ्चालनमा आएको छ ।विद्यार्थीहरुको दिवाखाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका–६, १६, १७, १८ मा रहेका ९ विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मेघा किचन सञ्चालनमा ल्याइएको हो । चार वडाका विद्यालयलक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माविमा किचन सञ्चालन भइ खाजा वितरण हुने हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखाले […]

Jun 23, 2025 - 15:00
 0
नौं विद्यालयका ७ हजार विद्यार्थीको एउटै भान्सा
हेटौंडा। 

हेटौंडा उपमहानगरपालिकाका ९ विद्यालयलक्षित गर्दै दिवाखाजाका लागि मेघा किचन सञ्चालनमा आएको छ ।
विद्यार्थीहरुको दिवाखाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका–६, १६, १७, १८ मा रहेका ९ विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मेघा किचन सञ्चालनमा ल्याइएको हो । चार वडाका विद्यालयलक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माविमा किचन सञ्चालन भइ खाजा वितरण हुने हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखाले जनाएको छ ।

संघीय सरकारले चालु आर्थिक वर्ष २०८१-०८२ मा देशका सबै प्रदेशमा मेघा किचनको व्यवस्थापन गरेपछि बागमती प्रदेशको हेटौंडाबाट खाजा वितरण अघि बढेको हो । खाजा वितरणका लागि बालबोध मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको अध्यक्षतामा मेघा किचन व्यवस्थापन समिति गठन गरेर काम अघि बढाइएको शिक्षा महाशाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

किचनबाट बालबोधसहित वंशगोपाल, जनप्रिय, लक्ष्मी आधारभुत, ज्योति, गोरक्षेश्वर, कमला, दिव्यज्योति र राजदेवी माविमा खाजा जाने व्यवस्थापन समिति अध्यक्ष अर्यालले बताए । संघीय सरकारबाट चैतमा खाजा व्यवस्थापनका लागि बजेट आए पनि आन्तरिक काम मिलाउने क्रममा भर्खरमात्र किचन सञ्चालनमा आएको महाशाखा प्रमुख कोइरालाले बताए ।

उनका अनुसार चार वडाका विद्यालयमा कक्षा–१० सम्म पढ्ने करिब ७ हजार विद्यार्थी खाजाबाट लाभान्वित छन् । किचनमा राष्ट्रिय मापदण्डअनुसार विद्यालय सञ्चालनको ६ दिन ६ प्रकारका खाजा बनाउने र वितरण हुनुपर्ने छ । किचन व्यवस्थापनले स्थानीय उत्पादनलाई प्राथमितामा राखेर खाजा वितरण गर्नसक्ने बताइएको छ ।

सञ्चालनमा आएको किचनको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१८ का अध्यक्ष अनीलकुमार बानियाँ, शिक्षा महाशाखा प्रमुख कोइरालाले अनुगमन तथा निरीक्षण गरेका छन् ।

किचन सञ्चालनका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले ५० लाख बजेट बिनियोजन गरेको थियो । अनुगमनपछि नगर प्रमुख लामाले विद्यार्थीको स्वास्थ्यलाई ध्यान राखेर खाजा व्यवस्थापन गर्न सुझाव दिए । स्थानीय तह हेटौंडाले मेघा किचन कार्यक्रम सञ्चालन गर्ने स्थान, खाजा उपलब्ध गराउने विद्यार्थीको संख्या, खाजा बनाउने जनशक्ति तथा ढुवानी व्यवस्था, स्थानीय, स्वच्छ र पोषणयुक्त खाजा बनाउने विधिप्रक्रियाको प्रतिबद्धता गरेको उनले बताए ।

हाल सरकारले कक्षा–५ सम्मका बालबालिकालाई दिवाखाजा खुवाउन विद्यालयमा दैनिक १५ रुपियाँका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर, सरकारले उपलब्ध गराएको दिवाखाजाको रकम अपुग भएपछि हेटौंडाका केही विद्यालयले आन्तरिक स्रोतबाट विद्यार्थीलाई खाजाको व्यवस्था गर्दै आएका छन् । केहीले अभिभावकबाट सहयोग लिएर दिवाखाजा व्यवस्थापन गर्दै आएका छन् ।

सरकारी नीतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ७ प्रदेशको ७ पालिकामा मेघा किचेन सञ्चालन गर्ने योजनाअनुरुप हेटौंडाको सामुदायिक विद्यालयमा पनि सञ्चालनमा ल्याइएको हो । सात प्रदेशका स्थानीय तहमा एकएक भान्सा (मेघा किचेन) स्थापना गरिने तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा उल्लेख गरेका थिए। 

गत आवमा सरकारले दिवाखाजाका लागि ८ अर्ब रुपियाँ विनियोजन गरेको थियो । बजेटमा कक्षा–५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने गरी ८ अर्ब ३९ करोड रुपियाँ विनियोजन गरिएको थियो । मेघा किचनका लागि ८९ करोड बजेट विनियोजन गरिएको थियो । कार्यविधि बनाउन नै १५ लाख बजेट विनियोजन गरिएको थियो । मेघा किचन कार्यान्वयनका लागि मापदण्ड बनाएर कार्यान्वयन गर्न १० लाख बजेट विनियोजन गरिएको थियो ।

मोरङको बिराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा पनि मेघा किचेन सञ्चालन हुनेछ । स्थानीय तहभित्रका सबै विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा एउटै खाजा बनाएर खुवाउने तरिकालाई मेघा किचन भनिएको छ । मेघा किचेन भनेको स्थानीय तहभित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register