कानुनको दुरुपयोगले भ्रष्टाचार

प्रकाश अधिकारीसरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सिधै वा ‘बिचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आमबुझाइ छ । आमरूपमा यो सत्य भए पनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्रसमेत यसबाट अछुतो छैन । सरकारी निकायले [...] The post कानुनको दुरुपयोगले भ्रष्टाचार appeared first on Jhapa Online.

Jul 14, 2025 - 03:54
 0
कानुनको दुरुपयोगले भ्रष्टाचार

प्रकाश अधिकारी
सरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सिधै वा ‘बिचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आमबुझाइ छ । आमरूपमा यो सत्य भए पनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्रसमेत यसबाट अछुतो छैन । सरकारी निकायले ठुलो परिमाणमा आर्थिक कारोबार गर्छ र यसको व्यवस्थापन, नियन्त्रण एवं नियमन सरकारी कर्मचारीद्वारा हुन्छ । कर्मचारीले सर्वसञ्चित कोषको दोहन गर्न र सेवाग्राहीबाट रिसवत लिन सक्छन् । सत्य के पनि हो भने आफ्नो काम गराउन निजी क्षेत्र वा कम्पनी विशेष राष्ट्रसेवकलाई रिसवत दिन तयार हुन्छन् ।

गैरकानुनी कामका लागि होइन वास्तविक र विधिसम्मत कार्यका लागि पनि लिएमा वा दिनु पर्दा भने त्यो विडम्बनापूर्ण हुन्छ । आर्थिक सदाचार वा इमानदारी सत्यनिष्ठाको एक अनिवार्य हिस्सा हो । प्रत्येक राष्ट्रसेवकले सत्यनिष्ठाको शपथ खाएको हुन्छ । प्रत्येक राष्ट्रसेवकमा हुनुपर्ने आधारभूत गुण सत्यनिष्ठा हो । प्रत्येक राष्ट्रसेवकमा सत्यनिष्ठा छ भन्ने अपेक्षा सेवाग्राहीले राखेको हुन्छ । सत्यनिष्ठा इमानदारीमा मात्र सीमित नभएर आधारभूत नैतिक मूल्य, समयमा काम गर्ने प्रतिबद्धता र आफ्नो जिम्मेवारी वा क्षेत्राधिकारभित्र गलत वा अनियमित काम गर्न नदिनु वा निषेध गर्न सक्नु हो । गलत भएमा जिम्मेवारी लिनु हो । यो भनेको सबै परिस्थितिमा कानुनको शासन लागु गर्नु हो, जसबाट समग्र शासन संरचना जसले सेवाग्राहीलाई न्याय दिन्छ र गलत काम गर्नेलाई सजाय गर्छ ।

निजी लाभका लागि सार्वजनिक कार्यालय वा स्रोतसाधनको उपयोग गर्नु भ्रष्टाचार हो । सुशासनको सार सार्वजनिक सेवाको भ्रष्टाचारमुक्त वितरण हो । भ्रष्टाचारका लागि कुनै एक मात्र कारण पत्ता लगाउन मुस्किल छ । आजको भौतिकवादी समाजमा मानिस धेरैभन्दा धेरै धन आर्जित गर्न चाहन्छन् । कानुनी रूपमा नमिल्ने भए पनि उच्च जीवन स्तरको आनन्द लिन चाहन्छन् । यो व्यक्ति विशेषको मूल्य र चरित्रको मामिला हो र भ्रष्टाचारको प्रमुख कारण पनि । आममानिसमा र विशेष गरी सरकारी कर्मचारीमा मूल्य व्यवस्थामा गिरावट आएको छ । मूल्य र मान्यताले नै सही र गलत मुद्दामा व्यक्तिलाई मार्गदर्शन गर्छ, त्यस सिवाय अरू कुनै ध्रुवतारा छैन ।

सत्ताको मनलागी प्रयोग गर्ने प्रवृत्ति भ्रष्टाचारको पहिलो कारक हो । भ्रष्टाचारले आर्थिक विकासको गतिलाई धिमा पारिदिन्छ । हाम्रो समाजमा सत्ता केहीको हातमा केन्द्रित छ । अर्थव्यवस्था केन्द्रीकृत छ । राज्यले अनुदान ९सबसिडी० दिने नीति छ । राज्यद्वारा सालबसाली अर्बौं रुपियाँको वस्तु र सेवाको खरिद हुन्छ । राजस्वको ठुलो अंश वस्तुको आयात विन्दुमा लगाइएको भन्सार महसुलमा निर्भर छ । आयकर निर्धारणमा स्वविवेक दिइएको छ । स्रोतसाधनको बाँडफाँट र लाभार्थी उन्मुख विकास कार्यक्रम वितरण गर्न केहीलाई स्वविवेक प्राप्त छ । जानिबुझी निर्णय गर्न आनाकानी गर्नाले आर्थिक विकासलाई प्रतिकूल असर पार्छ । सार्वजनिक स्रोतसाधनको प्रयोग र वितरणमा सर्वसाधारणको सहभागिता र साझेदारीको अभावमा जानकारी हुँदैन, चासो र सरोकार राखिँदैन । सामान्यतः सरकारी कामकाज गोप्य रहन्छ वा अनुकूलका सूचना दिने र प्रतिकूलका लुकाइन्छ । प्रतिस्पर्धा र पारदर्शिताले भ्रष्टाचार कम गर्छ । विकेन्द्रीकरण र ‘डिभोल्युसन’ ले एकभन्दा बढी व्यक्ति वा निकायमा राज्यशक्तिको बाँडफाँट हुन्छ र भ्रष्टाचारमा कमी आउँछ ।

भ्रष्टाचारप्रति सामाजिक दबाब कम भएकाले भ्रष्टाचारमा लिप्त हुनलाई सजिलो छ । भ्रष्टाचारी भ्रष्टाचारलाई कम जोखिम भएको र उच्च लाभवाला गतिविधिका रूपमा लिन्छन् । भ्रष्टाचारको मामलालाई गम्भीरतापूर्वक लिएर ढिलाइ नगरी अनुकरणीय दण्ड दिने हो । भ्रष्टाचार जोखिमयुक्त क्षेत्र हुने थियो र मानिसहरू यसबाट परै बस्थे । भ्रष्टाचार अपवाद नभएर आम भएको छ, नियम भएर गइरहेको छ । राष्ट्रसेवकलाई आफ्नो आर्जनसँग अस्वाभाविक हुने गरी कमाइको प्रदर्शन गर्न हिचकिचाहट छैन । राष्ट्रसेवकले एकभन्दा बढी घर–घडेरी जोड्नु, सेयर खरिद गर्नु र त्यसलाई बढाएको देखाउनु, छोराछोरीलाई विदेश पढ्न पठाउनु र उनीहरूले कमाएर पठाएको भनेर देखाउनुलाई समाजले निन्दा गर्दैन । सरकारी सेवकले प्राप्त गर्ने वेतन र अन्य सुविधा निजलाई ‘मर्न पनि नदिने बाँच्न पनि नसक्ने’ छ तथापि मानिसहरू निजीक्षेत्रमा राम्रो गरिरहँदासमेत सरकारी सेवामा प्रवेश गर्न लालायित हुन्छन् । यो भनेको सेवा प्रवेश गर्नुअगावै वृत्तिको आरम्भदेखि नै ‘कमाउने मनसाय’ लिई सेवा प्रवेश गर्नु हो ।

भ्रष्टाचार कम गरी सुशासन कायम गर्न संविधान, ऐन, नियमरनिर्देशिका, कार्यविधि, रणनीतिक योजना, राष्ट्रिय कार्ययोजना जस्ता कानुनी र प्रशासनिक संरचना र ती व्यवस्था क्रियाशील गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महलेखा परीक्षक, महान्यायाधिवक्ता जस्ता संवैधानिक र राष्ट्रिय सतर्कता केन्द्र, राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता कानुनी निकाय भ्रष्टाचारको निगरानी गर्ने एजेन्सीको कमी छैन । संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा ग्रहण गरी सन् २००५ देखि कार्यान्वयनमा आएको भ्रष्टाचारविरुद्ध महासन्धिको नेपाल पक्ष राष्ट्र रहिआएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टनेसनल नेपालसमेतका भ्रष्टाचार विरोधी नागरिक संस्थाहरू सर्वसाधारणलाई भ्रष्टाचारका बारे शिक्षित, जागरुक र आन्दोलित गर्न लागिपरेकै छन् ।

प्रत्येक सरकारी कार्यालयमा प्रवेशपछि देखिने भनेको भ्रष्टाचार विरोधी स्टिकर, ब्यानर र सुशासनका प्रतिबद्धता हुन्छन् । राजनेता वा उच्च पदस्थ सरकारी अधिकारी सार्वजनिक सभा सम्मेलनमा बोल्नुपर्दा पहिला १० मिनेट भ्रष्टाचारको विरुद्ध र सुशासनको महत्वका बारे बखान गरेपछि मात्र आफ्नो विषयमा प्रवेश गर्ने चलन सामान्य भइसकेको छ । यी सबै हुँदाहुँदै पनि भ्रष्टाचार घटेको छैन, भ्रष्टाचारको अन्तर्राष्ट्रिय इन्डेक्सको १८० राष्ट्रमा नेपाल ११० औँ स्थानमा छ ।

नेपालमा भ्रष्टाचारसँग जोडिएका अनेक खाले मिथकहरूलाई खण्डित गर्न आवश्यक छ । जस्तै, हाम्रो समाजमा भ्रष्टाचार जीवनपद्धति बनिसक्यो, अब यसलाई केही गर्न सकिँदैनस लोकतन्त्रमा भ्रष्टाचार रहिरहन्छ, उन्मूलन गर्न निरङ्कुश शासन चाहिन्छस नेपाल जस्तो गरिब अविकसित देशका गरिब मानिस बेइमान र अविश्वासिला हुन्छन् र सरलसँगै लालच देखाउँछन्स भ्रष्टाचार गरिब र अशिक्षित मुलुकमा बढी हुने गर्छस कर्मचारीको तलब बढाए पनि भ्रष्टाचार घट्दैन, महँगी मात्र बढ्छस भ्रष्टाचार राजनेताले मात्र गर्छन् इत्यादि ।

हाम्रो प्रणालीमा भ्रष्टाचार गर्ने तरिकामा सबैभन्दा प्रचलित पैसा नदिएसम्म कामै नहुने पहिलो छ । काम विशेषको फाइल सदर गराएर मात्र हुने काम वैध वा अवैध जे भए पनि सम्बन्धित कर्मचारीलाई निश्चित राशि नदिएसम्म त्यो फाइल ‘पेस’ नै गरिँदैन । यस प्रकार दिइने रिस्वतले फाइल विभिन्न अधिकारीसमक्ष छिटोछिटो गरेर पुग्छ र प्रक्रिया पूरा गरेर ‘सदर’ गरिन्छ । यसलाई ‘स्पिड मनी’ भन्न सकिन्छ र त्यसबाट सो फाइलमा संलग्न सबै ‘लाभान्वित’ हुन्छन् ।

सेवाग्राही पैसा दिन विवश नभएसम्म फाइल कारबाहीको उठान नै गरिँदैन र गरिएमा पनि यो कागज वा यो प्रक्रिया पूरा भएको छैन भन्ने जस्तो अड्डी कर्मचारीले लिइरहन्छन् । अर्को प्रकारको भ्रष्टाचार नियमित कमिसनको असुली हो, जसमा प्रत्येक भुक्तानी वा विनियोजित बजेटको निश्चित राशि उच्च पदस्थहरू बिच साझेदारी गर्नु पर्छ । यसलाई सार्वजनिक सेवामा नियमित अभ्यासका रूपमा लिइन्छ । यो एकदमै सर्वप्रिय प्रचलित छ र कानुन कार्यान्वयन गर्ने प्रशासकको दक्षता प्रदर्शनलाई यसले प्रभावित गर्दैन भन्ने दाबी गरिन्छ ।

कमिसनको सामान्यीकरण गर्नु आत्म भ्रमको अभ्यास मात्र हो । कमिसन असुलीले उच्च पदस्थको नैतिक अधिकार कमजोर हुन्छ, दक्षता प्रदर्शनमा प्रतिकूल प्रभाव पर्छ र निजले भ्रष्ट अधीनस्थका विरुद्ध कारबाही गर्ने मनोबल गुमाउँछ । अर्को प्रकारमा सम्बन्धित अधिकारी कुनै कुरा माग्दैन, आफ्नो काम योग्यता र बलबुताले भ्याएसम्म गरिरहन्छ तर लगनशील भएर काम गरेबापत भनेर सम्बन्धितबाट धन्यवाद दिने प्रतीकका रूपमा महँगो बस्तु वा पैसा उपहारप्राप्त गर्छ । कुनै निर्माण कार्यको ठेक्का प्रक्रिया विधिसम्मत हुन्छ तर निर्माणमा हुनुपर्ने निर्धारित मानकमा आँखा चिम्लिइन्छ । सबै प्रकारको भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक छ । एक जना कार्यालय प्रमुख इमानदार भएर मात्र पुग्दैन आफू अन्तर्गतको विभाग वा कार्यालयमा भइरहेको भ्रष्टाचारको जिम्मेवारी पनि निजैको भागमा पर्छ ।

भ्रष्टाचारको अर्को प्रकारमा, राम्रा विकल्प हुँदाहुँदै कुनै पक्ष विशेषलाई मात्र मिल्ने, हुने, दिने र पर्ने गरी काम वा वस्तु विशेषको विवरण ९स्पेसिफिकेसन्स० तयार पारी खरिद वा बिक्रीको बोलपत्र प्रक्रियाद्वारा वस्तु वा सेवाको खरिद गर्ने ठेक्का दिनु वा लिलामी गर्नु हो । एवंरीतले उद्यम सुरु गर्दा विभिन्न निकायको सिफारिस र स्थानीयवासीको सहमतिसहितको वातावरणीय परीक्षण प्रतिवेदन चाहिन्छ । यस्तो वातावरणीय परीक्षणको व्यावहारिक उपययोगिता छैन । यो फगत कागजी प्रक्रियामा सीमित छ भन्ने जानकारी सबैमा भएर पनि उद्यमीले गर्नैपर्दा आर्थिक व्ययभार थपिएको छ र अन्ततः उपभोक्ताले बेहोर्नु पर्छ । विज्ञको नाम राखेर स्थलगत अवलोकन गरेको देखाइ यस्ता प्रतिवेदन कोठामा तयार पारिन्छन् । यसले यसमा संलग्न निकायको छवि र कार्यकुशलताप्रतिको सर्वसाधारणको विश्वासलाई क्षय पु¥याएको छ ।

लोकतन्त्रमा निर्वाचित राजनीतिक कार्यपालिका शासन संरचनाको शीर्षमा हुन्छ । हाम्रो प्रणालीमा निर्वाचित हुन धेरै धन खर्च गर्नु पर्छ, जसको कुनै हिसाब हुँदैन । निर्वाचित हुँदा भएको खर्च वा सोभन्दा बढी कमाउने कोसिस गर्नुपर्नाले सरकारी कामकाजमा अवाञ्छित हस्तक्षेप हुन्छ र भ्रष्टाचार हुन्छ ।

अर्कोतिर कर्मचारीलाई सजिलो हुने गरी कानुनको निर्माण, व्याख्या र कार्यान्वयन गरिन्छ । दैनन्दिनी प्रयोगका कानुन द्विअर्थी, आपसमा बाझिएका र अस्पष्ट छन्, जसको आडमा कर्मचारी काम छल्छन् वा आफू अनुकूल निर्णय गर्छन् । राष्ट्रसेवकले गरेको वा नगरेको कार्यको परिणामस्वरूप राजस्व खति भएमा मात्र खति भएको राजस्वलाई बिगोमा परिणत गरी त्यति बराबरको भ्रष्टाचार गरेको भन्ने आधार लिई निजलाई जवाफदेही बनाउने अभ्यास छ । कानुनले तोकेको जिम्मेवारी कुशलतापूर्वक सम्पादन नगरेका कारण जनसाधारण वा राज्यलाई पुगेको क्षतिका लागि जिम्मेवार ठह¥याउने कानुनको अभाव छ । अतः सूत्रमा ‘एकाधिकारंस्वविवेक–जवाफदेही . भ्रष्टाचार’ हो भनेर परिभाषा गरिनु पर्छ ।
— लेखक झापा जिल्ला अदालतको न्यायाधीश हुनु हुन्छ ।

The post कानुनको दुरुपयोगले भ्रष्टाचार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register