नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !

Jun 4, 2023 - 03:16
 0
नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !
नमोबुद्धमा योजना तर्जुमा गर्न बाल भेला !

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना गर्‍यो । ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो । 

कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लबका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो । भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन् । भेलामा बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गर्नुभएको छ । 

उक्त अवसरमा नगर प्रमुख कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकको नेतृत्व गर्न सक्ने क्षमता बनाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्नेसमेत बताउनुभयो । 

नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता जनाउनुभयो । उहाँले समुदाय स्तरमा पनि बाल समूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

नगर प्रवक्तासमेत रहनुभएका ६ नं का वडाध्यक्ष टीकाबहादुर केसीले बजेट विनियोजनको लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लब सञ्जालका पूर्व अध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाको लागि नमोबुद्धका जनप्रतिनिधिले देखाएको तदारुकता प्रशंसनीय भएको उल्लेख गर्नुभयो । 

बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधिलाई तीव्रता दिएको नगरले जनाएको छ । यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । 

नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ । यसैगरी बालमैत्री नगरका लागि सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडा सचिवलाई अभिमुखीकरण गरिसकिएको छ । 

बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासम्बन्धी ५१  सूचक पूरा गरेको हुनुपर्ने प्रावधान छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1