रामेछापमा तीन दिने योग शिविर
काठमाडौँ ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित तीन दिने योग शिविर शुक्रबार सम्पन्न भएको छ । दिवस मूल आयोजक समितिको आयोजनामा भएको शिविर समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षता तथा वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जीवन र विज्ञानको विषयमा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले प्रवचन दिनुभएको थियो । शर्माले असल जीवन जिउनको लागि योग, कर्म र ध्यान गर्नु पर्ने बताउनुभयो । त्यसो भयो भने जीवन सार्थक हुने शर्माले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले मानिसमा रावण प्रवृत्ति मौलाउँदै गएको बताउनुभयो । रावणको जस्तो व्यवहार गरेर रामराज्य परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो ।
त्यसैले सभ्य समाज निर्माणको लागि व्यवहार पनि सभ्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सभ्य व्यवहारको लागि योग, कर्म र ध्यान आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसको लागि नेपाल अति उपयुक्त भूमि भएको श्रेष्ठले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका पूर्व मन्त्री शान्तिप्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने लगायतले पनि योग र यसको महत्त्व बारे बोल्नु भएको थियो । उहाँहरूले योगको प्रवर्धनका लागि स्थानीय सरकारले काम गर्नु पर्ने र गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
What's Your Reaction?






