दशैंमा दुईपाङ्ग्रे साधन खरिदमा ६ कम्पनीका आकर्षक अफर, यस्ता छन् छुट र उपहार

दुईपाङ्ग्रे सवारी साधनका विक्रेताहरूले दशैं तिहारलाई लक्षित गर्दै भारी छुट, उपहार र विशेष योजनाहरू सार्वजनिक गरेका छन् । बाइक र स्कुटर किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो मौका लुट्नुपर्ने छ।

Oct 3, 2024 - 07:01
 0
दशैंमा दुईपाङ्ग्रे साधन खरिदमा ६ कम्पनीका आकर्षक अफर, यस्ता छन् छुट र उपहार

काठमाडौं । हरेक वर्ष दशैं तिहार आउनासाथ सवारी साधन बजारमा एउटा छुट्टै उत्साहको माहौल देखिन्छ । कम्पनीहरू आफ्ना ग्राहकहरूलाई लोभ्याउन अफरको चटारोमा हुन्छन् । यसवर्ष पनि केही नयाँ ट्विस्टसहितका अफरले बजार तातिरहेको छ ।

दुईपाङ्ग्रे सवारी साधनका विक्रेताहरूले दशैं तिहारलाई लक्षित गर्दै भारी छुट, उपहार र विशेष योजनाहरू सार्वजनिक गरेका छन् । बाइक र स्कुटर किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो मौका लुट्नुपर्ने छ ।

सुजुकी, होन्डा, सिजी मोटर्स, बजाज, यामाहा, टीभीएस, भेस्पा र अप्रिलिया – यी सबै ब्रान्डहरू प्रतिस्पर्धा गरिरहेका छन्, जसले गर्दा बजारमा  रोमाञ्चक माहौल छाएको छ ।

कुन कम्पनीको अफर कस्तो ?

होन्डा : १० लाख रुपैयाँ जित्ने माैका

होन्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सकिनेछ ।

यसका साथै चुज योर स्किमअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार पाँच सय बराबरको ५ वर्षे एएमसी प्याकेज वा छ ‘बाइ १ गेट १ सर्भिसिङ’ ७ वर्षसम्म सित्तैमा पाउन सक्ने कम्पनीको दाबी छ ।

साथै होन्डाको बिग बाइकहरूमा १ लाख रुपैयाँसम्म छुट पनि पाउन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीको भनाइ छ । होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । यो योजना होन्डा इजी फाइनान्समा पनि लागु हुनेछ ।

सिजीको ‘एक्कासि मालामाल’ दशैं–तिहार अफर

सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा ‘दशैं तिहार अफर’ ल्याएको छ । उक्त अफरअन्तर्गत जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्न सकिनेछ ।

साथै, कम्पनीले ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजनासमेत ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

सुजुकी  किन्दा ७ हजारसम्म छुट 

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं–तिहार लक्षित गरी ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्यूनतम ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन् ।
साथै कम्पनीले एक्सचेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ ।

सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न ५ वर्षको वारेन्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ । अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा ५ वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

टिभिएसको “नयाँ युगको आरम्भ’’ 

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको हो ।

“नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत [www.tvsnepal.com/Dashai] मा गएर नकिन्दै पाँच लाख सम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । जसमा हरेक सप्ताह १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ ।

भेस्पा र अप्रिलियाको अफर : चाडपर्वमा ‘खुसी ३ गुणा’

भेस्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले यो चाडपर्वको अवसरमा आफ्नो ग्राहकको लागि ‘खुसी ३ गुणा’ नामक अफर ल्याएको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले पूरै ३ थरीको उपहार र धेरै खुसी पाउने दाबीका साथ कम्पनीले यस्तो अफर ल्याएको हो ।

हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म नगद छुटको साथ ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच तुरुन्तै पाउनेछन् । त्यस्तै, हरेक हप्ता लक्की ड्रमार्फत अनर २०० फाइभजी (१२/२४६ जिबी) एवं बम्पर उपहार स्वरूप ४ रात ५ दिनको बाली भ्रमण १ जोडीले जित्ने मौका पाउनेछन् ।

कम्पनीको अनुसार यो अफरले ग्राहकहरूको मन जित्ने पक्का छ किनकि चाडपर्वको सीमित अवधिको लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलिया खरिद गर्ने बित्तिकै स्मार्टवाच र १० हजार रुपैयाँ जित्ने निश्चित छ र लक्की ड्र मार्फत पनि हरेक हप्ता अनर मोबाइल एवं योजनाको अन्त्यमा बाली भ्रमण पनि जित्न सक्नुहुनेछ ।

यामाहाको ‘बिगेस्ट १०शैं’, १० लाखसम्म नगद फिर्ता हुने

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।

‘बिगेस्ट १०शैँ’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट क्यासब्याक उपहार प्राप्त गर्न सकिनेछ ।

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ ।

बजाजको क्यास सफारी, ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने

बजाजका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको अफर हो ‘क्यास सफारी’ । कम्पनीले ल्याएको ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् ।

कम्पनीका अनुसार एक हात्ती बराबर एक हजार रुपैयाँ हुनेछ । कम्पनीले सार्वजनिक गरेको यस स्कीममा बाइक खरिद गर्ने ग्राहकले सहज फाइनान्स सुविधा साथै पाँच वर्षसम्मको वारेन्टी पाउने बताएको छ ।

त्यसै गरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी गराउने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register