दशैं ‘सपिङ’ : सेलमा ग्राहक झुम्मिँदा फेन्सी रित्तै

यस वर्षको दशैं व्यापार खस्कनुमा भर्खरै मात्र देशले सामना गरेको प्राकृतिक विपत्ति पनि प्रमुख कारण रहेको व्यवसायी रञ्जना श्रेष्ठको बुझाइ छ । बाहिरबाट ल्याउनुपर्ने दशैंलक्षित सामानहरू बाटो बिग्रिएकाले उतै थन्किएका छन् ।

Oct 5, 2024 - 03:09
 0
दशैं ‘सपिङ’ : सेलमा ग्राहक झुम्मिँदा फेन्सी रित्तै

काठमाडौं । ‘यता यता ए दिदी राम्रो राम्रो सारीहरू यता छ, दाइ के लाने हो यता हेरौँ न… ।’ भोटाहिटी गल्लीलगायत इन्द्रचोक आसपासको बजार क्षेत्र अहिले यस्तै-यस्तै ठूला स्वरहरूले गुञ्जायमान छ । प्राय: हरेक पसल अगाडि उभिएर ग्राहक बोलाइरहन्छन् ती ठूला स्वरहरू ।

पसले-साहुलाई एकैछिनको फुर्सद छैन । हतार-हतार भीड लागेका ग्राहकलाई सामान बेच्ने चटारो छ उनीहरूलाई । ग्राहकहरू पनि यसरी पसलमा झुम्मिएका छन् कि  मानौँ, एकैछिन मात्र ढिला भए आफूहरूले खोजेको सामान सकिन्छ !

कसैलाई भाँडाकुँडा किन्नु छ, कसैलाई लत्ताकपडाको सपिङ गर्नु छ । कसैलाई मरमसलालगायत खुद्राखुद्री किनमेल गर्नु छ । जे होस, सबै किनमेलकै उद्देश्यले भीडमा मिसिएका हुन् । गाउँ जाने हतारोसँगै यतिबेला मानिसहरूलाई दशैंको किनमेलको चटारो छ ।

केही दिन अघिसम्म व्यापार नै छैन भन्दै निराशा पोख्ने व्यापारीहरूमा अहिले भने केही उत्साह देखिन्छ । तर, त्यही पसलमा मात्र ग्राहकको भीड छ, जहाँ ‘सेल’ लगाइएको छ ।


घटस्थापनादेखि चहलपहल बाक्लियो

दशैं लागेसँगै सपिङ गर्नेहरूको भीडले काठमाडौंका परम्परागत व्यापारिक केन्द्र न्यूरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोकलगायतका स्थानमा सञ्चालित होलसेल बजारमा घटस्थापनादेखि चहलपहल बाक्लिएको देखिन्छ ।

कपडा व्यापारी रामचन्द्र मगरका अनुसार पोहोर सालको भन्दा अहिले व्यापार राम्रो भइरहेको छ । “पोहोर सालतिर कोरोना महामारीले थलिएको व्यवसाय राम्रोसँग उठ्नै सकेको थिएन । यस वर्ष पनि दुईचार दिन अघिसम्म शून्य नै थियो तर, अहिले भने व्यापार भइरहेको छ,” मगर भन्छन् ।


केही दिन अघिसम्म खासै चहलपहल नदेखिने यस क्षेत्रमा अहिले पैदल हिँड्न पनि सकस हुनेगरी उपभोक्ताको भीड लागेको छ । यताका गल्ली मानिसहरूले भरिभराउ छन् ।

ग्राहकको भीड लागे पनि खुसी छैनन् व्यापारी 

दशैंको समयमा काठमाडौंका मुख्य व्यापारिक केन्द्र मानिने बजार क्षेत्रहरूमा व्यवसाय सञ्चालन गरेर बसिरहेका व्यवसायीहरूमा बाक्लिएको चहलपहलले खुसी थप्न सकेको छैनन् । विगतका वर्षहरूको कुरा गर्ने हो भने यो क्षेत्रमा इन्द्रजात्रा अघिदेखि नै दशैंको सपिङ गर्नेहरूको चहलपहल हुने गरेको अनुभव व्यवसायी पवन कुमार मानन्धरको छ ।

उनी ९ वर्षदेखि इन्द्रचोक आसपासको बजारमा भाँडा पसल सञ्चालन गर्दै आएका छन् । कोरोना महामारीको चपेटाबाट बल्लतल्ल बाँचेको उनको भाँडा पसल पोहोरको दशैंले पनि उकास्न सकेन । यो वर्षको पनि आश छैन उनलाई ।


खिचापोखरी साइटतिर बाहिरै कपडा फिँजाएर ग्राहक पर्खिएका महिला दौँतरी एक आपसमा कुरा गर्छन्, “यस वर्ष के भयो खै ग्राहक नै छैनन् । तपाईंले कति बेच्नुभयो बिहानदेखि ? बरु, सामान्य शुक्रबार पनि योभन्दा बढी व्यापार हुन्थ्यो !”

सेलमा भीड, फेन्सी रित्तै

उक्त क्षेत्रको बजार अनुगमन गर्ने हो भने अहिले फेन्सीभन्दा पनि फुटपाथमा सेल लगाएको पसलमा ग्राहकको भीड छ । सेलमा सामान बेच्नेहरूलाई भ्याई नभ्याई भइरहेको बेला उता फेन्सी सञ्चालन गरेर बस्ने व्यवसायीहरू भने ग्राहक पर्खिरहेका छन् ।

खिचापोखरीस्थित फेन्सी कपडा पसल सञ्चालक राकेश शाहीलाई दशैं आएको अनुभव नै भएको छैन । “बजारमा किनमेल गर्ने ग्राहक नै छैनन्, आएको पनि महङ्गो भयो भनेर कपडा हेरेर मात्र फर्कन्छन्,” उनी भन्छन्, “दशैंको माहोल छ, व्यापार छैन । यी मोबाइलमा पोट खेलेर बस्नुपरेको छ ।”


बाटो बिग्रिँदा सामान आउन पाएन

यस वर्षको दशैं व्यापार खस्कनुमा भर्खरै मात्र देशले सामना गरेको प्राकृतिक विपत्ति पनि प्रमुख कारण रहेको व्यवसायी रञ्जना श्रेष्ठको बुझाइ छ । बाहिरबाट ल्याउनुपर्ने दशैंलक्षित सामानहरू बाटो बिग्रिएकाले उतै थन्किएका छन् ।

“नयाँ नयाँ सामानहरू झार्न पाए व्यापार हुन्थ्यो होला तर, सामानहरू बाटैतिरै अड्किएको छ । अब व्यापार हुने पीक आवर टाइम यै हो । यतिबेला पसलमा सामान छैन,” उनले सुनाइन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवाल भन्छन्, “अहिले महङ्गी बढेको छ, भन्सार दर भन्यो । कर भन्यो विभिन्न कारणले उपभोक्ताले किन्ने बेला सामानको मूल्य दोब्बर हुन्छ ।”

दशैंमा सामानको मूल्य महङ्गो हुने भएकाले पनि व्यापारमा खस्किँदोपन देखिएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register