विद्युत्‌बाटै समृद्धि : ऊर्जा क्षेत्रमा उत्साह

यो त्रिपक्षीय सम्झौता भारतको सहयोग बिना सम्भव थिएन । भारतीय प्रसारणलाइनमार्फत विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ, जसले तीन देशबीच ऊर्जा सहकार्यको क्षेत्रलाई फराकिलो पारेको छ ।

Oct 6, 2024 - 08:09
 0
विद्युत्‌बाटै समृद्धि : ऊर्जा क्षेत्रमा उत्साह

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा त्रिपक्षीय सहकार्यको ढोका खुलेको छ । नेपालमा उत्पादित विद्युत्‌को बजार फराकिलो भएको छ । गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौता भयो, जसलाई जलश्रोत उपयोगका हिसाबले ऐतिहासिक मानिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्पन्न यो सम्झौताबमोजिम नेपालले तत्काल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ ।

दुवै देशबीच यो विद्युत् कारोबार अहिले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसामा भइरहेको छ । यस हिसाबले वार्षिक १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुनेछ । अर्थात् वार्षिक करिब एक खर्ब २१ करोड रुपैयाँ नेपालले पाउनेछ । यो त प्रारम्भ मात्रै हो, आगामी दिनमा कारोबार बढदै जानेछ ।

यो त्रिपक्षीय सम्झौता भारतको सहयोग बिना सम्भव थिएन । भारतीय प्रसारणलाइनमार्फत विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ, जसले तीन देशबीच ऊर्जा सहकार्यको क्षेत्रलाई फराकिलो पारेको छ । नेपालमा उत्पादित विद्युत्‌को बजार विस्तारमा यो कोशेढुङ्गा हो ।

२०२३ जुन २ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो । १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने घोषणा भएको थियो । भारतले नेपालको विद्युत् खरिदमा तत्परता देखाएपछि बंगलादेशका लागि पनि बाटो खुल्यो ।

नेपालले अहिले करीब तीन हजार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । भारत र बंगलादेशमा आगामी दिनमा विद्युत्‌को माग बढदै जाँदा नेपालमा पनि उत्पादन, निर्यात र बिक्रीको क्रम बढ्नेछ, जुन नेपालको समग्र आर्थिक समृद्धिको आधार बन्नसक्नेछ ।

ऊर्जा मन्त्रालयले जारी गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना ०८०’ अनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ । भारतलाई १० हजार र बंगलादेशलाई पाँच हजार मेगावाट विद्युत् बेच्ने नेपालको सपना साकार पार्न त्रिपक्षीय सम्झौताले बलियो आधार दिएको छ ।

नेपालमा उत्पादित विद्युत्‌ले अब बजार नपाउने हो कि भन्ने आशङ्का समाप्त भएको छ । विशाल बजार छिमेकमै तयार भएका छन् ।

यसर्थ, जलश्रोतको उपयोगका हकमा नेपालले भारतसँगको विशिष्ठ सम्बन्धको सदुपयोग गर्न सक्नुपर्छ । विद्युत् उत्पादनदेखि निर्यातका हरेक पाटामा भारतसँग हातमा हात मिलाएर अघि बढेको खण्डमा नेपालले जलश्रोतको उपयोगबाटै समृद्धि हासिल गर्न सक्नेछ ।

नेपाल र बंगलादेशबीच अलग्गै डेडिकेटेड अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सहमति पनि भएकाले ऊर्जा सहकार्यको भविष्य अझ उज्ज्वल रहेको स्पष्ट छ । आगामी दिनमा दुवै देशले डेडिकेटेड अन्तर्देशीय प्रसारणको प्राविधिक र आर्थिक पक्ष अध्ययन गर्नेछन् ।

नेपाल र बंगलादेशको सहकार्य सार्क, बिमस्टेक र बीबीआईएनमा हुँदै आएको हो । अब ऊर्जा सहकार्य पनि थपिएको छ र यसमा भारतसमेत मुख्य पक्ष बनेको छ । ऊर्जामा नेपाल, भारत र बंगलादेशको त्रिपक्षीय सहकार्यको फैलावट अन्य क्षेत्रमा हुनेछ ।

बिमस्टेकलाई सक्रिय गराउँदै यी तीन देशले ऊर्जामा मात्र नभएर आर्थिक कूटनीतिका अन्य क्षेत्रमा समेत सहकार्य गर्नसक्ने प्रचुर सम्भावना छ । भारतको भर्भराउँदो आर्थिक विकासबाट यथोचित लाभ दिन आगामी दिनमा नेपाल र बंगलादेश चुक्नु हुँदैन भन्ने सन्देश पनि त्रिपक्षीय सम्झौताले दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register