दसैँमा गाउँ नै रमाइलो…

म्याग्दी । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका […]

Oct 10, 2024 - 02:33
 0
दसैँमा गाउँ नै रमाइलो…

म्याग्दी । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्छन् – अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ ।

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ ।

तीमध्येका एक हुन्, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किनुभएका उनी भन्छन् –चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ? सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाइ र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।

बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्त्व हुुने बताउनुहुन्छ । बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच…हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ, उनले दसैँको खुसी साटे र भने ।

हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए…’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register