विद्या भण्डारीको ‘मिसन’ : आगामी महाधिवेशनबाट एमाले अध्यक्ष

यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) का नेताहरुसमक्ष भण्डारीलाई अध्यक्ष बनाएर पुन: पार्टी एकता गर्ने प्रस्ताव गरेका थिए । जुन कुराको जानकारी भण्डारीलाई पनि छ ।

Oct 10, 2024 - 11:33
 0
विद्या भण्डारीको ‘मिसन’ : आगामी महाधिवेशनबाट एमाले अध्यक्ष

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले अनलाइनखबरसँगको एक अन्तर्वार्ताका क्रममा भनेकी छन्— ‘म एमाले अध्यक्ष हुने सम्भावना टरिसकेको छैन ।’ अर्थात् उनी एमाले अध्यक्षको आकाङ्क्षी हुन्, उनलाई पार्टी अध्यक्ष हुनु छ ।

त्यसो त उनी पार्टी उपाध्यक्ष हुँदै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारीको यो भनाइबाट स्वत: स्पष्ट हुन्छ कि उनको अबको ‘मिसन’ एमाले अध्यक्ष हो ।

जसै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेताहरू गोकुल बाँस्कोटालगायतले भण्डारी सक्रिय पार्टी-राजनीतिमा आउनुपर्ने वकालत गर्छन् ।

भण्डारी अहिले पनि अघोषित सक्रिय राजनीतिमै छन् । मदन भण्डारी फाउन्डेसनमार्फत उनी विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुन्छिन्, राजनीतिक भाषण गर्छिन् । जे होस्, उनी घोषित रूपमा सक्रिय राजनीतिमा छैनन् तर, राजनीतिक कार्यक्रममा कम सक्रियचाहिँ छैनन् ।

अर्कोतिर यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का नेताहरूसमक्ष भण्डारीलाई अध्यक्ष बनाएर पुन: पार्टी एकता गर्ने प्रस्ताव गरेका थिए । जुन कुराको जानकारी भण्डारीलाई पनि छ ।

स्मरण होस्, एमाले र माओवादी तिनै पार्टी हुन्, जसको मिलनबाट २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर, २०७७ सालमा विविध समस्याका कारण फुट्यो र उनीहरू पूर्ववत् एमाले र माओवादी केन्द्रकै रूपमा फर्किए ।

यी सबै कुराको पृष्ठभूमिमा भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताउनुले खासगरी एमाले वृत्त र समग्रतामा नेपाली राष्ट्रिय राजनीतिमै अर्थ राख्छ ।

के भनिन्छ भने भण्डारीले पार्टी सदस्यतासमेत नवीकरण गरिसकेकी छन् । स्रोतको दाबी छ— उहाँ (विद्यादेवी भण्डारी) ले गत वैशाखमै आफ्नो प्रतिनिधिमार्फत पार्टीको सदस्यता नवीकरण गरिसक्नुभयो ।

भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषय संसद्सम्मै पुगेको थियो । राष्ट्राध्यक्षजस्तो पदमा पुगिसकेको व्यक्ति पुन: सक्रिय पार्टी-राजनीतिमा लाग्नु अस्वाभाविक र राष्ट्रपतिजस्तो सर्वोच्च पदको अपमान हुने भन्दै बहस भएको थियो ।

पछि भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण नगरेको स्पष्टीकरण दिइन् । यसपछि त्यो विषय विस्तारै हरायो । तर, उनले आफू एमाले अध्यक्ष हुने सम्भावना टरिनसकेको बताएसँगै पुन: यो विषयले बहस-प्रवेश पाएको छ ।

उसो त भण्डारीले आफ्ना निकटस्थसँग मुख्यत: पार्टी र पार्टीका नेतृत्वप्रति तीनवटा कुरा भन्ने गरेकी छन् । पहिलो, ओलीपछि एमालेमा सक्षम र मास अपिल गर्नसक्ने विश्वासनीय नेतृत्व छैन । यदि ओलीको उचित विकल्प दिन नसक्ने हो भने भावी दिनमा एमाले कमजोर बन्दै जान्छ ।

दुई, एमाले र नेकपाको नेतृत्व मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतमै हस्तान्तरण हुनुपर्दछ । त्यसो नहुँदा पार्टी र आन्दोलनले वैचारिक कोल्टे फेर्न सक्दछ । इतिहासको पुनर्व्याख्या र जबजवादीको अपमान हुन सक्दछ ।

दुई-दुईपटकको संसद् विघटनलाई भविष्यमा पार्टीले ‘गलत थियो’ भन्देला भन्ने डर पनि भण्डारीको मनमा छ ।

तीन, दुईपटक राष्ट्रपति भइसकेको हुँदा अब आफूलाई राजकीय पदमा रुचि नभएको तर, अधुरा राजनीतिक कार्यभार पूरा गर्न भन्दै सक्रिय राजनीतिमा आउने चाहना छ ।

यही मेसोमा एमालेका एक नेता भण्डारीको अबको रुचि एमाले अध्यक्ष रहेको बताउँछन् । “भण्डारी दुई-दुईपटक राष्ट्रपति भइसकेको हुँदा राजकीय पदमा उनलाई खासै रुचि छैन । उनको रुचि भनेको पार्टी अध्यक्ष हो । त्यसोभए भारतमा सोनिया गान्धी र डा. मनमोहन सिंहको समयको जस्तो स्थिति उत्पन्न हुन सक्नेछ । नेकपा ‘पुन: एकीकृत’ हुनेछ । पार्टी अध्यक्षका रूपमा भण्डारीले ‘डी फ्याक्टो पावर’ प्रयोग गर्नेछिन् तर, प्रधानमन्त्री अरु कोही हुनेछ ।”

राजनीतिक विश्लेषक पनि भण्डारी एमाले अध्यक्ष हुनसक्ने बताउँछन् । विश्लेषक हरि रोका भन्छन्, “ओली पार्टीभित्र पपुलर छैनन् अहिले । बरु पहिले अलिलि थिए । अब पार्टीभित्र उनको विकल्पको खोजी सुरु भइसकेको देखिन्छ । यस्तो बेलामा ओलीको अल्टरनेटिभ भण्डारी हुन सक्छिन् ।”

उनी थप्छन्, “किन पनि भने भण्डारीलाई पनि मदनको श्रीमती, जबज बुझेको भन्ने एउटा दम्भ छ । फेरि पार्टीभित्र उनलाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने नेताहरू पनि छन् ।”

अब एमालेले २०८३ भित्र ११औं महाधिवेशन गरिसक्नुपर्छ । त्यसबेलासम्म कस्ता-कस्ता दृश्य देखिन्छ, अनुमान गर्न गाह्रो छ । तर, विधानत: अब ओली पुन: अध्यक्ष बन्न पाउँदैनन् । किनभने एमाले ७० वर्षे उमेरहद छ ।

तर, कतिपयले भने विधान संशोधन गरेर ओली नै फेरि अध्यक्ष हुने आकलन गर्छन् । यसअघि  २०८० जेठ २३ गते बसेको सचिवालय बैठकमा ओलीका विश्वासपात्र विष्णुप्रसाद पौडेलले पार्टीमा लागू गरिएको ७० वर्षे उमेरहदको प्रावधान हटाउन प्रस्ताव गरेका थिए, त्यसलाई अध्यक्ष ओलीले अनुमोदन गरेको कुरा बाहिर आएको थियो ।

ओलीले केही अगाडि अझै बीस वर्षसम्म कसैले नेतृत्वको आस नगर्दा हुने एक अभिव्यक्ति दिएका थिए, त्यसयता धेरैले ११औं महाधिवेशनमा उनी स्वयम् आफैँ दोहोरिने तरखरमा छन् भनेर आकलन गरे । खैर अब यसलाई विधिवत् निर्णयमार्फत अघि बढाएर ओली पुन: आफैँ अध्यक्ष बन्ने बाटोमा गए त्यसबेला भण्डारीको जवाफी कदम के होला, हेर्न बाँकी छ । तर, भण्डारी ११औं महाधिवेशनबाट अध्यक्ष बन्न चाहन्छिन् भन्ने कुरा भने अब लुकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register