हान कङको रेकर्ड : साहित्यमा नोबेल पुरस्कार पाउने प्रथम एसियाली महिला

सन् १९१३ मा भारतका रवीन्द्रनाथ टैगोर साहित्यमा नोबल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली थिए । त्यसको १११ वर्षपछि कङले यस्तो अभिलेख बनाएकी हुन् ।

Oct 11, 2024 - 12:25
 0
हान कङको रेकर्ड : साहित्यमा नोबेल पुरस्कार पाउने प्रथम एसियाली महिला

काठमाडौं । ५३ वर्षीया हान कङ नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली महिला लेखक बन्न पुगेकी छन् ।

नोबेल पुरस्कार प्राप्त गर्ने उनी दोस्रो दक्षिण कोरियाली हुन् । यसअघि सन् २००० मा राष्ट्रपति किम दाय जुङलाई दुई कोरियाबीचको सम्बन्ध सामान्यीकरण गर्न प्रयास गरेबापत् नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी सन् १९९८ देखि सन् २००३ सम्म दक्षिण कोरियाको राष्ट्रपति थिए ।

त्यसो त सन् १९८७ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पाउने चार्ल्स जे पिटर्सन दक्षिण कोरियामै जन्मिएका थिए । तर, उनी अमेरिकी पिता-माताका सन्तान थिए, उनले अमेरिकी राष्ट्रियता नै ग्रहण गरे ।

लेखिका कङ र उनकी पुस्तक ‘दी भेजिटेरिअन’ ।

हान कङ साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली महिला पनि बनेकी छन् । सन् १९१३ मा भारतका रवीन्द्रनाथ टैगोर साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली थिए । त्यसको १११ वर्षपछि कङले यस्तो अभिलेख बनाएकी हुन् ।

कङअघि ८ एसियाली साहित्यकारले यो पुरस्कार जितेका थिए । ती हुन् भारतका टैगोर (१९१३), जापानका यासुनारी कावावाता (१९६८), केन्वाबुरा ओई (१९९४) र कागुओ इसिगुरो (२०१७), चीनका गाओ छिन्जियान (सन २०००) र माओ यान (२०१२), भीएस नयपाल ( २००१) र टर्कीका ओर्हान पामुक (२००६) ।

अन्य विधामा भने ९ एसियाली महिलाले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् । सन् १९७९ मा भारतकी मदर टेरेसाले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

इजरायलकी अदा इ. योनोथ, म्यानमारकी आङसान सूची,  इरानका सिरिन इवादी र नार्गिस मोहम्मदी, यमनकी तावाकुल करमान, इराककी नादिया मुराद, पाकिस्तानकी मलाला यसुफजाई र फिलिपिन्सकी मारिया रेशाले यो पुरस्कार पाइसकेका छन् ।

लेखिका हान कङ ।

नोबेल साहित्य पुरस्कार प्राप्त गरेको समाचारले स्वयम् हान कङ जति आश्चर्यचकित भइन्, दक्षिण कोरियाली उत्ति नै खुसी भए ।

राष्ट्रपति युन सुक येओलले भने, “दक्षिण कोरियाका लागि यो साँच्चै नै उत्सव मनाउन योग्य विषय हो । यो दक्षिण कोरियाली साहित्यको ठूलो उपलब्धि हो, राष्ट्रको लागि ठूलो खुसी, हामी धेरै-धेरै खुसी छौँ ।”

हान कङ नोबेल पुरस्कारका लागि खासै चर्चामा थिइनन् । धेरै साहित्यप्रेमीले चिनियाँ उपन्यासकार कान सुईलाई सम्भाव्य दाबेदारका रूपमा चर्चा गरेका थिए ।

सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएयता १२० साहित्यकारले यो पुरस्कार प्राप्त गरेका छन् । तीमध्ये हान १८ औं महिला लेखिका हुन् ।

  • सम्बन्धित सामग्री

नोबेल साहित्य पुरस्कार प्राप्त उपन्यास ‘दी भेजिटेरिअन’मा के छ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register