मीनबहादुरसँग कार्यालय बनाइमाग्ने ओलीको निर्णयको पार्टीभित्रै विरोध, नेताहरूले भने- एमाले भएर बाँच्न दिनुस्

त्यसो त मीनबहादुर बालुवाटार जग्गा प्रकरणमा एकपटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनी दोषी देखिएको भन्दै २०८० असार २३ गते पक्राउ परेका थिए ।

Oct 14, 2024 - 11:57
 0
मीनबहादुरसँग कार्यालय बनाइमाग्ने ओलीको निर्णयको पार्टीभित्रै विरोध, नेताहरूले भने- एमाले भएर बाँच्न दिनुस्

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगकै सल्लाहमा पार्टी कार्यालय बनाउन राजी भए ।

यसपछि गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर २ मैत्रीनगरमा मीनबहादुरबाट प्राप्त १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय शिलान्याससमेत गरिसकेका छन् ।

गुरुङको योजना छ कि २०८२ को दशैंअगावै अत्याधुनिक कार्यालय बनाएर एमालेलाई हस्तान्तरण गर्ने । शिलान्यासपछि उनले भनेका छन्, “कार्यालय अत्याधुनिक बनाउँछौँ र हस्तान्तरण गर्छौँ ।”

तर, भयो के भने ओलीले शिलान्यास गरेसँगै मीनबहादुरले कार्यालय बनाउने कुराको चौतर्फी विरोध भयो । सुरुमा पार्टी बाहिर विरोध भयो । तर, अहिले त्यो विरोध पार्टीकेन्द्रित भइरहेको छ ।

पार्टीकै नेताहरूले गुरुङलाई पार्टी कार्यालय बनाइमाग्ने निर्णयले पार्टी सदस्य र पार्टीका मतदाताहरूप्रतिको स्वाभिमान खुम्चिएको टिप्पणी गर्न थालेका छन् । यति मात्रै होइन, उनीहरूले पार्टी अध्यक्ष ओलीलाई उक्त निर्णय फिर्ता लिन दबाब बढाएका छन् ।

एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले यो निर्णय अविलम्ब फिर्ता लिन अध्यक्ष ओलीलाई माग गरेका छन् । “यो निर्णयले ५ लाख पार्टी सदस्य र २८ लाख मतदाताहरूको शीर खुम्च्याउने काम गर्‍यो, स्वाभिमान खुम्च्याउने काम गर्‍यो,” उनले भनेकी छन् ।

कार्यालय बनाइमाग्ने ओली र बनाइदिन राजी हुने मीनबहादुर दुबैको गल्ती औँल्याउँदै पाण्डेले आ-आफ्नो निर्णयबाट ‘ब्याक’ हुन आग्रह गरेकी छन् ।

मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालयको शिलान्यास

यस्तै एमाले नेतृ उषाकिरण तिम्सिनाले पनि कार्यालय दान लिने काम गर्न नहुने आफ्नो निर्णयबाट पछाडि सर्न अध्यक्ष ओलीलाई आग्रह गरेकी छन् । समय घर्किनसकेको उल्लेख गर्दै उनले पार्टीले कार्यालय दान नलिने घोषणा गर्नुपर्ने सुझाव दिएकी छन् ।

“हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ, त्यतिमै आफ्नै पसिनाले सिँचिएको भवन प्यारो र गर्विलो हुनेछ,” तिम्सिनाले भनेकी छन्, “म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु, यो निर्णय फिर्ता लिइयोस् । हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानका साथ उभिने भूमि बाँकी राखिदिनुहोस् ।”

एमालेकै विभिन्न तहमा रहेका नेताहरूले पनि पार्टीले कार्यालय दान लिन नहुने धारणा व्यक्त गर्न थालेका छन् । एमालेका एक नेता नेपालभ्युजसँग भन्छन्, “धेरै साथीहरू कार्यालय बनाइमाग्नु हुँदैन भन्नेमै हुनुहुन्छ । तर, उहाँले बोलिसक्नुभएको छैन । पछि बोल्नुहोला । कार्यालय आफैँले बनाउने हो, आफ्नै बुतामा बनाउने हो ।”

एमाले पार्टी कार्यालय मीनबहादुरले बनाइदिने कुरा बाहिर आएपछि अरु पार्टीका नेताहरूले पनि विरोध गरेका थिए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वसांसद हेमकुमार राई ‘सुरवीर’ ले त्यही सन्दर्भ कोट्याउँदै वर्तमान सरकारबाट सुशासन, समृद्धि र आर्थिक विकासको अपेक्षा गर्न नसकिने बताएका छन् ।

“भ्रष्ट, दलाल र तस्करले बनाएको सरकारबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अपेक्षा गर्नु बेकार छ । दलार र भ्रष्टको साथी दलाल र भ्रष्ट नै हुन्छ,” उनले भनेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पनि त्यसको विरोध गरेका छन् । “सरकार वादी रहेको मुद्दाका आरोपीले त्यही सरकार चलाइरहेको एमालेलाई हालको बजार मूल्यअनुसार ५० करोडभन्दा माथिको जग्गा दिनु र एमालेले लिनु स्वार्थ बाझिन्छ कि बाझिन्न ?,” उनले भनेका थिए ।

त्यसो त मीनबहादुर बालुवाटार जग्गा प्रकरणमा एकपटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनी दोषी देखिएको भन्दै २०८० असार २३ गते पक्राउ परेका थिए । जहाँ, हालका अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसमेत मुछिएका छन् । यस्तो हुँदा स्वार्थ बाझिने धेरैले बताइरहेका छन् ।

विरोध भई नै सकेको छ । ओलीले के गर्छन्, उनै जानून् तर, यदि उनले आफ्नो निर्णय फिर्ता नलिए पार्टीभित्रै ठूलो बबन्डर मच्चिनेवाला देखिन्छ ।

  • सम्बन्धित समाचार

बिन्दा पाण्डे भन्छिन् – एमालेको गौरव जोगाउने हो भने व्यापारीको जग्गामा कार्यालय नबनाऔँ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register