अपहरणमा परेको भन्दै रास्वपाले दाबी गरेको उम्मेदवार पतिसँगै घरमै फेला !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई अपहरण गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि घटना रोचक मोडमा पुगेको छ । उजुरी दिएर प्रहरीले खोजी थालेपछि उम्मेदवार थापा घरमै श्रीमान्सँग भेटिएकी छन् । आज साँझसम्म उम्मेदवारी दिनुपर्ने भए पनि उनको तयारी छैन । उनले उम्मेदवारी दिने सम्भावना कम छ […]

Nov 17, 2024 - 10:05
 0
अपहरणमा परेको भन्दै रास्वपाले दाबी गरेको उम्मेदवार पतिसँगै घरमै फेला !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई अपहरण गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि घटना रोचक मोडमा पुगेको छ ।

उजुरी दिएर प्रहरीले खोजी थालेपछि उम्मेदवार थापा घरमै श्रीमान्सँग भेटिएकी छन् । आज साँझसम्म उम्मेदवारी दिनुपर्ने भए पनि उनको तयारी छैन । उनले उम्मेदवारी दिने सम्भावना कम छ ।

रास्वपाले आफ्ना उम्मेदवार थापालाई ४०–४५ जना युवाको समूहले अपहरण शैलीमा घरबाट लछारपछार गर्दै अज्ञात स्थानतर्फ लगेको दाबी गरेको थियो । पार्टीले असुरक्षाका कारण थापाले उम्मेदवारी दिन नसक्ने अवस्था आएको जनाएको थियो ।

कांग्रेसले अपहरण गरेको भन्दै रास्वपाका कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटी निर्वाचन आयोगमा उजुरी लिएर पुगेका थिए ।

रास्वपाको उजुरीपछि खोज्न भन्दै प्रहरी सक्रिय भयो । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रवीन्द्र खनालका अनुसार, रास्वपा उम्मेदवार थापासँग फोनमा सम्पर्क गर्दा उनी घरमै श्रीमान्सँग रहेको जानकारी पाएको बताए ।

उनले भने, ‘अपहरण भएकै छैन । सुजाता थापाले पनि फोनमा त्यस्तो घटना नभएको बताएकी छिन् ।’

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि थापासँग सम्पर्क गरेका थिए । उनले अपहरणको दाबी प्रमाणित नभएको बताए ।

सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । यसअघि निर्वाचित उपाध्यक्ष चन्द्र सिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि यो पद खाली रहेको थियो । उपचुनावमा रास्वपाले थापालाई उम्मेदवार बनाएको भए पनि उनले उम्मेदवारी दिने मनसाय देखाएकी छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register