उपचुनावको माहोल उमङ्गमय, मनोनयन दर्तासँगै गर्मायो राजनीति

मनोनयन भएका क्षेत्रमा उपचुनावको माहोल उमङ्गमय छ । उम्मेदवारहरू आफ्ना समर्थकहरूसँग गाउँ र नगर दौडधुपमा छन् । जनताले यसलाई नयाँ नेतृत्व छनोटको अवसरका रूपमा हेरिरहेका छन् । कतिपय क्षेत्रमा नयाँ दलको उम्मेदवारको अपेक्षा गरे पनि रास्वापलगायतका दलले आफ्नो पक्षमा माहोल राम्रो बनाउन नसकिने आकलन गर्दै उम्मेदवारी नै दिएनन् ।

Nov 17, 2024 - 13:05
 0
उपचुनावको माहोल उमङ्गमय, मनोनयन दर्तासँगै गर्मायो राजनीति

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको उत्साहपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।

आइतबार उम्मेदवार दर्ताको दिनले उपनिर्वाचन हुने जिल्लाहरू सहरदेखि गाउँसम्मको राजनीतिक माहोललाई तात्तातो बनाइदिएको छ ।

प्रमुख दलहरूसहित स्वतन्त्र उम्मेदवारहरूको भिडले निर्वाचन अधिकृतका कार्यालयहरूमा चहलपहल बढाएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवार मनोनयन दर्ता गरे ।

२०७९ को निर्वाचनपछि रिक्त रहेका नगरपालिका प्रमुख र उपप्रमुख १\१, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३४ जना छान्न हुन लागेको उपनिर्वाचनमा राजनीति दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिए ।

कीर्तिपुरमा माओवादीका उम्मेदवार

उपनिर्वाचनबाट ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख पनि चयन गरिनेछ  । जसमा एमालेसँग गठबन्धन गरेर कांग्रेसले दुवै ठाउँको अध्यक्ष सुरक्षित गरिसकेको छ ।

उम्मेदवारको विरोधमा सोमबार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ  ।

मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

कीर्तिपुरमा गर्माएको राजनीति

काठमाडौंको कीर्तिपुर नगरपालिका उपनिर्वाचनको मुख्य आकर्षण बनेको छ । यहाँ नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, र माओवादी केन्द्रका प्राध्यापक डा. शिवशरण महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।

तर, सबैभन्दा चर्चामा छन् स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’, । अभियन्ता रहेका मानवले कीर्तिपुरमा पहिल्यैदेखि राम्रो प्रचार गरिरहेका छन् ।

मानवकै राम्रो माहोल भएकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार दिएको छैन । भविष्यमा उसले मानवलाई समर्थन गर्ने अड्कल लगाइएको छ ।

कीर्तिपुरमा कांग्रेसका उम्मेदवार

अरुपालिका प्रमुखमा कोको भिड्दै ?

दैलेखको महाबु गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिका र अन्य स्थानका उपाध्यक्ष र वडाहरूमा पनि प्रतिस्पर्धा उस्तै चर्को छ ।

दैलेखमा महाबुमा कांग्रेसका झलक भण्डारी, एमालेका जङ्गबहादुर शाही, र माओवादीका जङ्गबहादुर बराल आमनेसामने छन् ।

रास्वपाबाट प्रकाश बुढा, एकीकृत समाजवादीबाट जगत हमालले उम्मेदवारी दिएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखसहितका उम्मेदवार एमालेबाट

मोरङ ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस उम्मेदवार बलराम सरदार, माओवादी केन्द्रका नमोनारायण माझी, एमालेबाट तुलसीराम विश्वासले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मनोनयन भएका क्षेत्रमा चुनावको माहोल उमङ्गमय छ । उम्मेदवारहरू आफ्ना समर्थकहरूसँग गाउँ र नगर दौडधुपमा छन् । जनताले यसलाई नयाँ नेतृत्व छनोटको अवसरका रूपमा हेरिरहेका छन् ।

जनमत परीक्षणबाट भाग्यो रास्वपा

कतिपय क्षेत्रमा मतदाताले नयाँ दलको उम्मेदवारप्रति आशा देखाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरूले स्थिति आफ्नो पक्षमा नजाने आकलन गर्दै मनोनयन दर्ता गरेनन् ।

विशेषगरी काठमाडौंको कीर्तिपुरलगायत केही स्थानमा रास्वपालगायत नयाँ दल र नेताको अपेक्षा थियो । तर, स्थानीय विश्लेषकहरूका अनुसार आफ्नो माहोल राम्रो नहुने आकलन गर्दै रास्वपाले उम्मेदवारी दिएन ।

यसअघि इलाम उपचुनावमा समेत जमानत जोगाउन नसकेको रास्वपाले यसपालि कीर्तिपुरमा हारेमा आउँदो २० ८४ को आमा चुनावमा असर पर्ने सक्ने ठानेर उम्मेदवारी दिएन ।

त्यहाँ रास्वपाले उम्मेदवारी नदिँदा परम्परागत दलहरूले आफ्नो प्रभाव जमाउने अवसर पाएका छन् । यद्यपि, मतदातालाई स्वतन्त्र उम्मेदवारको उपस्थिति विकल्प हुनसक्छ ।

 

आचारसंहिता कडाइका साथ लागु

उपाध्यक्षमा जाजरकोट नलगाड नगरपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, दोलखा गौरीशंकर गाउँपालिका, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका, र बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा पनि मनोनयन भएको छ ।

आयोगले उम्मेदवारी मनोनयनको दिन आइतबारैबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित सबै सरकारी निकाय, उम्मेदवार, राजनीतिक दल, मिडियाका लागि निर्वाचन नसकिएसम्म आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने जिल्लाभित्र मात्र आचारसंहिता लागू हुनेछ । आचारसंहिता पूर्णरूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन आयोगले सबैमा आग्रह गरेको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register