‘कागज ल्याउन करोड खर्च गरेँ’ भनेका प्रसाईंको बयान- ह्वाट्सएपमा यत्तिकै अरूले पठाइदिएका थिए !

युट्युबर सम्मेलनमा सवा एक करोड खर्च गरेर कागजात जुटाएको दाबी गरेका प्रसाईंले पक्राउपछि प्रहरीमा दिएको बयानमा भने यत्तिकै अरूले नै पठाइदिएको बताएका हुन् ।

Dec 12, 2024 - 08:19
 0
‘कागज ल्याउन करोड खर्च गरेँ’ भनेका प्रसाईंको बयान- ह्वाट्सएपमा यत्तिकै अरूले पठाइदिएका थिए !

काठमाडौं । व्यवसायी तथा ‘भाइरलम्यान’ दुर्गा प्रसाईंले आफ्नो ह्वट्सएपमा कसैले पठाइदिएको कागजलाई विश्वास गरी युट्युबर सम्मेलन गरेर सार्वजनिक गरेको बताएका छन् ।

युट्युबर सम्मेलनमा सवा एक करोड खर्च गरेर कागजात जुटाएको दाबी गरेका प्रसाईंले पक्राउपछि प्रहरीमा दिएको बयानमा भने अरूले नै पठाइदिएको बताएका हुन् ।

‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए । सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाई देऊ भनेकोमा निजले पठाइ दिएका थिए । त्यही सार्वजनिक गरेको हुँ’ प्रसाईंको बयान छ ।

दुर्गा प्रसाईंको बयान

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएपछि पक्राउ परेका उनी हिरासतमा छन् । उनले युट्युबरसँग यी काजगात बटुल्न तथा अनुसन्धान गर्न एक करोड ११ दाख रुपैयाँ खर्च गरेको दाबी गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका प्रसाईं विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।

साइबर ब्युरोले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटके कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरूलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघि बढाइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register