आज रवि लामिछानेको बयान लिइँदै

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज (मंगलबार) पनि जारी रहने भएको छ । आज जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान हुनेछ । सोही अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा आज रास्वपा सभापति लामिछानेलगायतको हुन लागेको अदालत स्रोतले जनाएको छ । सोमबार प्रतिवादी लामिछाने, […]

Dec 24, 2024 - 04:26
 0
आज रवि लामिछानेको बयान लिइँदै

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज (मंगलबार) पनि जारी रहने भएको छ ।

आज जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान हुनेछ ।

सोही अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा आज रास्वपा सभापति लामिछानेलगायतको हुन लागेको अदालत स्रोतले जनाएको छ ।

सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो । तर जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छ । बयान सकिएपछि उनीहरूको थुनछेक बहस हुनेछ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए ।

सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामाकसमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register