हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार अग्ररुपमा फैलिरहेको छ । यस अवधिमा यहाँ कम्तिमा सात जनाको मृत्यु भएको छ भने सयौँ भवन जलेका छन् । आगलागी प्रभावित क्षेत्रबाट करिब दुई लाख मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ । दमकलको प्रयासका बावजुद पनि आगो नियन्त्रणमा आउन सकेको छैन । मौसमी अवस्था र जलवायु परिवर्तनको असरका […]

Jan 10, 2025 - 06:39
 0
हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार अग्ररुपमा फैलिरहेको छ ।

यस अवधिमा यहाँ कम्तिमा सात जनाको मृत्यु भएको छ भने सयौँ भवन जलेका छन् । आगलागी प्रभावित क्षेत्रबाट करिब दुई लाख मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ ।

दमकलको प्रयासका बावजुद पनि आगो नियन्त्रणमा आउन सकेको छैन । मौसमी अवस्था र जलवायु परिवर्तनको असरका कारण आगामी दिनमा यो आगलागी अझै बढ्ने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार प्यासिफिक पालिसेड्समा भएको यो आगलागीले हरेक एक मिनेटमा पाँच फुटबल मैदान बराबरको क्षेत्र जलाएर खरानी बनाउँदैछ ।

लस एन्जलस प्रशासनले सम्पूर्ण शहरमा आपत्‌काल घोषणा गरेको छ । यो अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी हो । यहाँ १ करोड मानिस बस्छन् ।

जङ्गलमा फैलिएको आगोका कारण यहाँका करिब ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ ।

क्यालिफोर्निया प्रशासनले सर्वसाधारणलाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ । यसैबीच राष्ट्रपति जो बाइडनले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

पछिल्लो अवस्था के छ ?

अमेरिकाको लस एन्जलस काउन्टीमा बसोबास गर्ने करिब १,७९,००० मानिसहरूलाई आफ्नो घर छाड्न भनिएको छ ।

मानिसहरु आफूले सक्ने जति बोकेर घर छाडिरहेका छन् । यसका साथै दुई लाख मानिसलाई पनि चाँडै घर छाड्नुपर्ने चेतावनी दिइएको छ ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले मृतकको संख्या बढ्ने अनुमान गरेका छन् ।

केही खाली ठाउँमा लुटपाट र चोरीका घटना बढेको र यस घटनामा २० जना पक्राउ परेको शेरिफ लुनाले बताए ।

Palisades मा लागिरहेको आगो जस्तै  Eaton मा पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर छ । यसैबीच हलिउड हिल्स क्षेत्रमा फैलिएको आगलागी कम हुन थाले पनि पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन ।

हलिउड हिल्स क्षेत्रमा ५ हजार ३ सयभन्दा बढी भवन जलेर नष्ट भएका छन् । यसमा प्रतिष्ठित सनसेट बुलेभार्डमा अवस्थित घरहरू, विद्यालयहरू र व्यावसायिक भवनहरू समावेश छन् ।

बीमा कम्पनीलाई डर

यस आगलागीमा घर गुमाएका सेलिब्रेटीहरूमा केही दिनअघि गोल्डेन ग्लोब अवार्डमा सहभागी भएका लेइटन मिस्टर र एडम ब्रोडीबाहेक पेरिस हिल्टन पनि छन् ।

अमेरिकी बीमा उद्योगले यो अमेरिकी इतिहासको सबैभन्दा महङ्गो डढेलो साबित हुने डर छ किनभने आगोले ढाकिएको सम्पत्तिको मूल्य धेरै उच्च छ ।

आगलागीबाट करिब आठ अर्ब डलर बराबरको बिमा सम्पत्ति क्षति हुने सम्भावना छ । यसैबीच दक्षिणी क्यालिफोर्नियाको लागि आगलागीको पूर्वानुमान अत्यन्त गम्भीर छ ।

यद्यपि, बीबीसी मौसम पूर्वानुमानकर्ता साराह किथ-लुकास भन्छिन् – कम्तिमा अर्को हप्तासम्म यस क्षेत्रमा वर्षाको कुनै पूर्वानुमान छैन ।

यस आगलागीका कारण लस एन्जलसको ठूलो भागमा विद्युत् आपूर्ति प्रभावित भएको छ । शहरमा पनि ठूलो ट्राफिक जाम छ । यस्तो अवस्थामा क्यालिफोर्नियाका धेरै विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन् ।

आगो निभाउने तयारीलाई लिएर राजनीतिक विवाद पनि सुरु भएको छ । कतिपय दमकलका पाइपमा पानीसमेत नपुगेको पनि खुलेको छ ।

यसै महिनाको २० तारिखमा अमेरिकी राष्ट्रपतिको पद ग्रहण गर्न लागेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यो मुद्दा उठाएका छन् ।

फायर डिपार्टमेन्टका प्रमुख एन्थोनी मारोनले बिहीबार दिउँसो एक पत्रकार सम्मेलनमा भने – अग्नि नियन्त्रकहरूले पानीको अभाव भएको कुनै रिपोर्ट प्राप्त गरेका छैनन् ।

तर, छिमेकी पासाडेनाका फायर चीफ चाड अगस्टिनले केही हाइड्रन्टहरूमा दबाब कम हुँदा त्यहाँ केही समयको लागि यस्तो भएको बताए । अहिले सबै समस्या समाधान भइसकेको उनी बताउँछन् ।

एकैपटक धेरै ट्याङ्करमा पानी भर्दा यस्तो भएको उनले बताए । पानीको स्प्रिङ्कलर पाइपमा कम प्रेसर हुनुको कारण विद्युत् कटौती भएको बताइएको छ ।

आगो कतिसम्म फैलियो ?

क्यालिफोर्नियाको फायर डिपार्टमेन्टका अधिकारीहरूका अनुसार बिहीबार यस क्षेत्रमा कम्तीमा पाँच स्थान आगोले नष्ट हुँदैछ ।

पालिसेड्स

मङ्गलबार यहाँ पहिलो आगलागी भएको हो । यस क्षेत्रमा सबैभन्दा ठूलो आगलागी थियो, जुन राज्यको इतिहासमा सबैभन्दा विनाशकारी आगो साबित हुन सक्छ ।

आगलागीबाट १७ हजार एकड जमिनको ठूलो हिस्सा जलेर नष्ट भएको छ । यसमा प्यासिफिक पालिसेड्सको विलासी क्षेत्र पनि समावेश छ ।

ईटन

यो लस एन्जलसको उत्तरी भाग हो र आगो अल्टाडेना जस्ता शहरहरूमा पनि फैलिएको छ । यस क्षेत्रमा यो दोस्रो ठूलो आगलागी हो, जसमा करिब १४ हजार एकड क्षेत्र जलेर खरानी भएको छ ।

हर्स्ट

यो सान फर्नान्डोको उत्तरमा अवस्थित छ । मङ्गलबार रातिदेखि यहाँको जङ्गलमा आगलागी हुन थालेको थियो । यो आगो ६७० एकड क्षेत्रफलमा फैलिएको भएपनि दमकलले यहाँ आगो नियन्त्रणमा केही सफलता पाएको छ ।

लिडिया

यो आगलागी बुधबार दिउँसो लस एन्जलसको उत्तरी पहाडी क्षेत्र एक्टनमा लागेको थियो र करिब ३५० एकड जमिनमा फैलिएको थियो ।

केनेथ

लस एन्जलस र भेन्चुरा काउन्टीको सिमानामा रहेको यो स्थानमा अहिलेसम्म ५० एकड क्षेत्र आगोले जलेको छ ।

सनसेट

बुधवार साँझ हलिउड हिल्समा लागेको यो आगो एक घण्टाभन्दा कम समयमा करिब २० एकडमा फैलिएको थियो । अहिले यो आगो नियन्त्रणमा आएको छ । यसअघि वुडली र ओलिभासमा लागेको आगलागी पनि नियन्त्रणमा आएको छ ।

आगो लाग्नुको तीन कारण

सुख्खा मौसम

स्थानीय अधिकारीहरूले लस एन्जलसमा आगलागीको कारण तीव्र हावा र सुख्खा मौसमलाई औंल्याएका छन् । जसका कारण रुख र बिरुवाहरु सुक्यो र उनीहरुमा आगो फैलिन सहज भयो ।

तर, अधिकारीहरुले आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको बताएका छन् ।

क्यालिफोर्निया फायर सर्भिस बटालियनका प्रमुख डेभिड अकुनाका अनुसार यस क्षेत्रमा लगभग ९५ प्रतिशत जङ्गलमा लागेको आगो मानिसको कारणले हुन्छ, यद्यपि अधिकारीहरूले हालको आगो कसरी सुरु भयो भनेर उनीहरूले अहिलेसम्म भनेका छैनन् ।

जलवायु परिवर्तनको भूमिका

हावाहुरी र वर्षाको अभावले अहिले आगलागी निम्त्याएको भए पनि जलवायु परिवर्तनले परिस्थितिमा परिवर्तन ल्याइरहेको विज्ञहरू बताउँछन् । जसका कारण आगलागीको सम्भावना लगातार बढिरहेको छ ।

अमेरिकी सरकारले गरेको अनुसन्धानले पश्चिमी अमेरिकाको जङ्गलमा लागेको ठूलो आगलागी जलवायु परिवर्तनसँग सम्बन्धित रहेको स्पष्ट रूपमा बताउँछ ।

अमेरिकी महासागर र वायुमण्डलीय प्रशासन भन्छ – बढ्दो गर्मी, लामो खडेरी र सुख्खा वातावरण लगायत जलवायु परिवर्तनले पश्चिमी संयुक्त राज्य अमेरिकामा जङ्गली आगलागीको जोखिम र फैलने प्रमुख चालकहरू हुन् ।

क्यालिफोर्निया विशेष गरी अति तातो गर्मी र हालका महिनाहरूमा वर्षाको कमीको कारण कमजोर छ ।

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा आगलागीको मौसम सामान्यतया मे देखि अक्टोबरसम्म मानिन्छ । तर, राज्यका गभर्नर गेभिन न्यूजमले पहिले नै आगो एक वर्षभरिको समस्या भएको बताएका छन् ।

उनले भने, “आगो लाग्ने सिजन हुँदैन, वर्षैभर आगो लाग्छ ।”

बीबीसीसँग कुरा गर्दै क्यालिफोर्निया फायर सर्भिस बटालियनका प्रमुख डेभिड अकुनाले पालिसेडेस आगलागी विगत ३० वर्षमा जनवरी महिनामा लागेको तेस्रो ठूलो आगलागी भएको बताए ।

सान्ता एना विन्ड्स

यो आगलागी फैलनुको प्रमुख कारण जमिनबाट तटीय क्षेत्रमा बग्ने ‘सान्ता आना’ हावा हो । सय किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाले आगलागी भएको अनुमान गरिएको छ ।

सान्ता आना हावाहरू पूर्व वा उत्तर-पूर्व दिशाबाट अमेरिकी तटतिर बग्छ । यी हावा वर्षमा धेरै पटक चल्छन् ।

सान्ता एना हावाले लस एन्जलस र दक्षिणी क्यालिफोर्नियाका केही भागहरूमा दैनिक जीवनमा अवरोध पैदा गर्दछ । तर, जब यी हावा जङ्गलको आगोसँग मिल्छन्, ठूलो विनाश हुन्छ ।

सान्ता एना हावाहरू सामान्यतया सेप्टेम्बरको अन्त्यदेखि मेसम्म चल्छन् । सामान्यतया यी हावाहरू केही दिनको लागि मात्र चल्छन्, तर कहिलेकाहीँ धेरै हप्तासम्म चलिरहन्छन् ।

यसपटक हावा तीव्र गतिमा चलिरहेको छ । त्यसको गति सामान्य गति ६० देखि ८० माइल प्रति घण्टा हुन्छ तर, कहिलेकाहीँ यो गति प्रति घण्टा १०० माइल पुग्छ ।

प्रभावित क्षेत्रमा खटिएको उद्धार टोलीले हजारौं मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइरहेको छ । स्थानीय विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूलाई आपतकालीन आश्रयस्थलका रूपमा तयार पारिएको छ ।

आगलागीले धनमालमा क्षति मात्रै नभएर वातावरणमा पनि गम्भीर क्षति पुर्‍याएको छ । आगलागीमा सयौं रुख र जनावर जलेर खरानी भएका छन् । सडक जामका कारण मानिसहरु गाडी छाडेर सुरक्षित स्थानतर्फ पैदल हिँडिरहेका छन् ।

विगत ५० वर्षमा ७८भन्दा बढी आगलागी

क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ । यो राज्य अमेरिकाका अन्य क्षेत्रहरूभन्दा धेरै तातो छ ।

यही कारण गर्मी मौसममा यहाँ जङ्गलमा आगलागी हुने गरेको छ । यो क्रम वर्षायाम नआएसम्म जारी रहन्छ । तर, पछिल्ला केही वर्षयता हरेक मौसममा आगलागीका घटना बढ्दै गएका छन् ।

विगत ५० वर्षमा क्यालिफोर्नियाको जङ्गलमा ७८ वटा भन्दा बढी आगलागी भएका छन् । क्यालिफोर्नियामा जङ्गल नजिकको आवासीय क्षेत्रहरू बढेका छन् । यस्तो अवस्थामा आगलागी हुँदा क्षति बढी हुन्छ ।

सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगो थियो । यसले करिब ८३ हजार एकड क्षेत्रफल ओगटेको थियो । करिब ३ लाख मानिस घरबार छोडेर अन्य सहरमा जान बाध्य भएका छन् ।

लस एन्जलसमा डढेलो सहर पसेपछि… (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register