महोदय ! जीवनको रङ्ग कस्तो हुन्छ ?

तपाईंका चुनावी घोषणापत्रहरू फुल्बुट्टे छन् नेताज्यू । कृपया त्यसका शब्दशब्द केलाई भनिदिनु होला के समाजवाद भनेको महङ्गी हो ? कालोबजारी हो ? गरिबी हो ? भ्रष्टाचार हो ? आकासतिर हेर्नु र भुईँमा थुक्नु हो ? कृपया, भनिदिनुहोस् महोदय, तपाईंको समाजवादमा जीवनको रङ्ग कस्तो हुन्छ ?

Jan 14, 2025 - 09:41
 0
महोदय ! जीवनको रङ्ग कस्तो हुन्छ ?

सर्वप्रथम तीनवटा घटना सुनाउँछु, त्यसपछि थप तीनवटा ।

पहिले सुनाउन चाहेका तीनवटै घटना केही वर्ष अगाडिका हुन्, ०७५ सालका । जतिखेर यो देशमा प्रधानमन्त्री थिए कमरेड केपी शर्मा ओली । र, अहिले फेरी सौभाग्यवश (दुर्भाग्यवश) सत्तामा छन् उनै ओली । उनी हिजो सत्तामा हुँदा समयको रङ्ग कस्तो थियो र आज उनी सत्तामा आउँदा के फेरियो ? यो प्रश्नले कोरेको अत्यासलाग्दो समयको चित्र हो यो लेख । जसले सत्ताधारीलाई सोधिरहेको छ– महासय जीवनको रङ्ग कस्तो हुन्छ ?

विगतका तीन घटना

पहिलो, ०७५ सालको नयाँ वर्ष मनाउँदै गर्दा म पहिलो पटक रात्रिकालीन जीवनका रङ्गहरू हेर्न ठमेल पुगेको थिएँ । त्यो मेरो ठमेलको पहिलो अनुभव थियो । अकस्मात्, त्यो दिन एकजना मित्रले ठमेल डुल्ने प्रस्ताव गरे । र, हामी राती ११ बजेतिर त्यहाँ पुग्यौँ ।

स्वभावतः वातावरण रङ्गीन थियो । सङ्गीत, नृत्य, प्रेम, यौन र उमङ्गले ठमेल उत्सवमय थियो । मान्छेहरू सङ्केतमा कुरा गर्थे । त्यहाँ साना किशोरकिशोरी देखी मस्त युवायुवती र तेश्रो लिङ्गी ‘नयाँवर्ष’ को स्वागतमा मग्न नाचिरहेका थिए ।

ठिक त्यही उन्मुक्त हाँसो र रसरङ्गका बीचमा मनै हल्लाउने एउटा दृष्य देखा पर्‍यो । सञ्चयकोष भवनको पेटिमा एउटी कृशकाय युवती आफ्नो दुईवर्ष जतिको बच्चासँग सुतिरहेकी थिई । भोको पेट, मैलो लुगा, अर्धनग्न शरीर, कार्टुनको ओछ्‌यान र इँट्टाको सिरानी ।

सिमसिम पानी परिरहेको थियो र बाछिटाले आधा शरीर भिजेको थियो । त्यो दृष्यले मनमा अनेक प्रश्न सृजना गर्यो । कस्तो भाग्य हो त्यो ? मान्छेको भाग्य लेख्ने मसी किन यतिधेरै निष्ठुरी ? साथीले बतायो काठमाडौंमा सयौँ आमाहरू यसरी नै सडकपेटीमा सुत्छन् । र, हजारौँ अबोध बच्चाहरू खुला आकासमा निदाउँछन् । एउटा सभ्य र समाजवादी राज्यका लागि यो भन्दा लाजलाग्दो कुरा के हुन्छ ? 

दोश्रो घटना, त्यसैताका, लगभग एक महिनापछि, गौशालाबाट पशुपतिनाथ मन्दिरतिर जाँदैगर्दा एउटी आमासँग भेट भयो । उमेरले ६५ वर्ष जस्तो लाग्ने ति महिलाका आँखामा भर्खर थामिएका आँशुका डोबहरू प्रष्ट थिए । उनको छेउमा आधा खुट्टा कुहिएर झर्न लागेको ४० वर्ष जतिको पुरुष थियो । उ सायद असाध्य पीडामा हुनुपर्छ । त्यसैले मौन थियो ।

आफ्नो जवान छोराको उपचार गर्न एउटा खसी, कानका टप र बुहारीको पाउजु बेचेर काठमाडौँ छिरेकी ती आमालाई भाग्यले साथ छोडेको थियो । अस्पतालले छोराको खुट्टा काट्न भन्यो । तर, अस्पताललाई तिर्न उनीहरूसँग पैसा थिएन । त्यसैले हारेर उनीहरू गाउँ फर्किदै थिए । र, उनीहरू बेखर्ची थिए ।

त्यसैले बसको टिकट काट्न पैसा माग्नुबाहेक उनीहरूसँग अर्को कुनै उपाय थिएन । कस्तो दुःखद कुरा । उनीहरूले के अपराध गरे होलान् ? नियतिको कस्तो सजाय हो यो ? आजपनि हजारौँ मान्छेहरू यसरी नै उपचार नपाई जिउँदै मरिरहेका छन् । रोग, ऋण र अपहेलनाको दबाइ के छ ? के हाम्रो समाजवादसँग मान्छेको भाग्य बदल्ने सामर्थ्य छैन ?

तेश्रो घटना, त्यसैवर्ष गण्डक प्रदेशको एकजना युवा साथी मसँग कारणवश जोडिन आइपुग्यो । उ आफूलाई जनयुद्धको घाईते बताउँथ्यो । खरो कम्युनिष्ट थियो उ । एकजना नेताले केही गर्ने आश्वासन दिएका थिए । उ त्यही आश्वासनको त्यान्द्रो पछ्याउदै राजधानी आएको थियो ।

समयक्रममा तिनै नेताको सल्लाहमा उसले आफ्ना दुई छोराछोरी र श्रीमती पनि यतै ल्यायो । तर, जसै उ काठमाडौं आयो उसका खराब दिन सुरु भए । नेतासँग भेट हुन छोड्यो । ऋण काढेको पैसा सकियो । पार्टी सत्ताको हिसाबमा लाग्यो, उनी अलपत्र परे । बच्चालाई स्कुल हाल्नुपर्ने, गोजिमा फुट्टो कौडी थिएन ।

परिचितको स्कुलमा भनसुन गरेर मैले उनीहरूको नाम देखाइदिएँ । तर त्यसपछि उसले स्कुलको फिस तिर्न सकेन । उनीहरूसँग डेराभाडा तिर्ने र नियमित चुलो जलाउने पैसा पनि थिएन । उ बिस्तारै आक्रोशित हुन, कराउन र नेताहरूलाई गाली गर्न थाल्यो । आफ्ना श्रीमती र छोराछोरीतिर हेरेर भन्थ्यो ‘सबैलाई मारेर आफू पनि मरिदिउँ जस्तो लाग्छ दाइ’ । म सम्झाउँथे । 

लगत्तै आएको चुनावसँगै उ अलिक उत्साही जस्तो थियो । पछि सुनेँ उ आधारातमा कोठा, सरसामान र राजधानी छोडेर हिँडेछ । उ मात्र हैन उसका छोराछोरी र श्रीमती पनि सँगै पलायन भएछन् । भाग्यको ढोकामा भोटेताल्चा लागेको त्यो अभागी युवा कम्युनिष्ट आफ्ना परिवारलाई लिएर कता गयो होला ? ति अबोध नानीहरूको पढ्ने रहर के भयो होला ? के हाम्रो समाजवादले एकजना पितालाई छोराछोरी पढाउने सामर्थ्य पनि दिँदैन ?

यी प्रश्नहरूको उत्तर त्यो समयमा पनि थिएन, आज पनि छैन । मात्र समयसँगै हिँडिरहेको छ, चरम निराशा । र, निराशा नै हाम्रो समयको एक कहालीलाग्दो सिलसिला बनेको छ ।

आजका तीन घटना

माथिका घटना लगभग ७ वर्ष अगाडिका हुन् । जतिबेला प्रधानमन्त्री थिए मान्यवर ओली र आज पनि देशमा प्रधानमन्त्री छन् उनै । भन्नुपर्दैन, ओली महोदय कम्युनिष्ट नेता हुन् । उनको पार्टीले आफूलाई मार्क्सवादी लेनिनवादी भन्छ । र, ओली महोदयलाई कार्यकर्ताले ‘बा’ भनेर बोलाउँछन् । उनै ‘बा’ को राज्यका देखिएका आजका तीन घटना हेरौँ ।

पहिलो घटना छ, बझाङको । गत हप्ता बझाङको केदारस्युँ गाउँपालिका– १ डुडिलकी २१ वर्षीया खिना बोहराको सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । बाटोमै बच्चा जन्माएकी उनी र उनको नवजात शिशुले त्यसपछिको संसार देख्न पाएनन् ।

बेथाले च्यापेपछि खिनालाई आफन्तले स्वास्थ्य केन्द्र लैजान खोजेका थिए । तर, सोचे जस्तो भएन । कडा श्रम, गरिबी, स्वस्थ खानपान र उपचारको अभावमा उनी र उनको शिशुको मृत्यु भयो । यो घटना हेर्दा कसैलाई एक आकस्मिक दुर्घटना लाग्ला । भन्लान्– यस्तो त भइरहेकै छ । तर, मलाई लाग्छ, यस्तो हुन हुँदैन । यदि यस्तो हुन्छ भने त्यो महिलाको मृत्यु होइन, त्यो मृत्यु हो हाम्रो समाजवादको, त्यो मृत्यु हो हाम्रो राज्य र राजनीतिको । किनभने, एकजना आमा र नवजात शिशु जब उपचार नपाई मर्छन्, त्यहाँ उनीहरूको मात्र मृत्यु भइरहेको हुँदैन, मरिरहेको हुन्छ राज्य, राजनीति र नेतृत्व ।

अर्को घटना छ नुन बिनाको गाउँको । यो पनि बझाङ जिल्लाकै घटना हो । जिल्ला सदरमुकाम चैनपुरबाट तीन दिन हिँडेर पुगिने एउटा हिमाली गाउँ छ साइपाल । जहाँ मान्छे, भेडा, गाईबस्तु र चौरीलाई खान नुन छैन । अर्थात, साइपालमा नुनसँगै हराएको छ हाम्रो सरकार ।

साल्ट ट्रेडिङ कर्पोरेसनले गत साउनमै बोलपत्र आह्वान गरेर ढुवानीकर्ता छाने पनि सम्झौता हुन नसक्दा त्यहाँ नुन पुगेको छैन । हेर्दा कुरा सानो छ । भन्न सकिन्छ, नुन नहुनु कुन ठुलो कुरा भयो । तर, तपाईंको घरमा महिनौँदेखि नुन छैन भने, हविगत के होला विचार गरौँ ? त्यसैले साइपालका किसान स्वयं सरकारलाई सोध्छन्– नुन दिन नसक्ने सरकारको के काम ?

अर्को कथा छ ७३ वर्षीया मोहम्मद बच्चा मुस्लिमको । पुष तेश्रो हप्ता एक दैनिक अखबारमा प्रकाशित कथाका अनुसार मोहम्मद सुनसरीको सीतापुरबाट सानै उमेरमा मोरङ सरे र उनी १३ वर्षको उमेरदेखि निरन्तर रिक्सा चलाइरहेका छन् ।

उनले ६० वर्ष भयो रिक्सा चलाएको । प्रजातन्त्र पनि उनले देखे । त्यतिखेर पनि उनी रिक्सा नै चलाइरहेका थिए, लोकतन्त्रमा पनि रिक्सा नै चलाइरहेका छन् । थोत्रो ‘पाइडल रिक्सा’ चलाउँदा चलाउँदै आफैँ थोत्रिएको थाहा पाएका उनी सुस्केरा हाल्छन् र भन्छन्– आखिर यसरी नै जीवन सकिने भयो ।

आफ्नी ७० वर्षकी पत्नी मैमुल खातुनको बाथको रोग देखेर उनी विरक्त हुन्छन् । जाडोमा शीत नछेल्ने उनको घर वर्षामा चुहिन्छ । तर, फेरिएको व्यवस्थाले पनि उनको जीवनलाई फेर्न सकेन । स्वयं सत्ता, सरकार र समाजवादलाई गिज्याउने योभन्दा ठुलो सत्य अरु के हुन्छ ?

 जीवनको रङ्ग

उल्लेखित ६ वटा फरकफरक घटनाको आँखिझ्यालबाट नियाल्दा देशको चित्र कस्तो देखिन्छ ?

निराशा । गरिबी । असमानता । हेलाहोँचो । भ्रष्टाचार । शासकीय अहङ्कार । दलतन्त्र । अराजकता । खटपटी । अवश्यै बितेका यी सात वर्षमा अनेक सरकार फेरिए र सँगै सरकारमा बस्नेहरूको जीवन फेरियो । तर, नागरिकको अवस्था फेरिएन । यो कस्तो दुर्भाग्य ?

प्रश्न आउँछ, के हाम्रा नेताहरू फगत दुर्भाग्यका खलनायक हुन् ?

के लोकतन्त्र र समाजवादको आत्मरतिले मात्र नागरिकको मुहार फेरिन्छ ?

यहाँ यी घटना र प्रश्नहरू न त सरकारलाई गाली गर्न प्रस्तुत गरिएका हुन्, न त प्रधानमन्त्री ओलीलाई । वस्तुतः आज म सरकारसँग आरोप प्रत्यारोप गर्न चाहन्न । म भिड्ने मुडमा छैन । आज मलाई समाजवादी सिद्धान्तका ठूलाठूला तर्क गर्न जाँगर पनि छैन । तर, जीवनका रङ्गहरूमाथि भने हामीले छलफल गर्नै पर्छ ।

हामी कस्तो जीवन चाहन्छौँ ? सरकारले चाहेको जनजीवन कस्तो हो ? यति त हामीले आफ्नो सरकारलाई सोध्नैपर्छ, कि जीवनको रङ्ग कस्तो हुनुपर्छ ? सोध्नु हाम्रो नैसर्गिक अधिकार हो । जसका लागि हामीले बितेका ७५ वर्ष अनवरत सङ्घर्ष गरेका छौँ ।

यतिबेला हामीसँग कम्युनिष्ट (?) सरकार छ । कमरेडहरू सत्ताको कुर्सीमा छन् । त्यसैले त्यतै सम्बोधन गरेर थप केही प्रश्न गर्नु सान्दर्भिक होला । महोदय, बितेका ७५ वर्ष हामी किन पटकपटक लड्यौँ तानाशाहीसँग ? किन रगत बगायौँ सडकमा ? र, त्यसले आम मान्छेको जीवनमा बदल्यो के ?

तपाईंहरु भन्नुहोला हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यौँ । निश्चय नै हामीले दरबारको बादशाहलाई घोडाबाट झार्‍यौँ । तर, के एकजना तानाशाहलाई दरबारबाट निकालेर सयौँ दरबार बनाउनका लागि थियो हाम्रो आन्दोलन ? अन्यथा, म फेरि प्रश्न गर्छु त्यसपछि भयो के ? के साधारण मान्छेको जीवनको रङ्ग फेरियो ?

अवश्य नै यो बीचमा दर्जनौँ पटक प्रधानमन्त्री फेरिए । यो बीचमा सयौँ कमरेडहरू मन्त्री बने । हजारौँ मान्छे सल्लाहकार बने । लगभग दुईहजारमाथि नै सभासद बने होलान् । प्रदेश र स्थानीय तहमा हजारौँ पार्टी कार्यकर्ता लाभको पदमा पुगे ।

यहीबीचमा केही दर्जन राजदूत बने । कमरेडहरूका काठमाडौंमा नयाँ घर बने । सयौँ गाडीहरू आए । प्राडो, पजेरो । विदेश यात्रा । विदेशमा उपचार । विदेशमा शिक्षादीक्षा । दल र नेताहरूले जीवनको खुब मजा लिए । धेरैको आर्थिक हैसियत फेरियो ।

अर्थात, नेताहरूलाई समाजवाद आयो । नेताहरूको जीवनमा लाली चढ्यो । तर, ठमेलको सडक पेटीमा सुत्ने किशोरी आमालाई के भयो ? पाकेको खुट्टाबाट पिप बगाउँदै गाउँ फर्किने निर्धो नागरिकले के पायो ? एउटा विद्रोही युवाले आफ्ना छोराछोरीलाई पढाउने फिस जम्मा गर्न किन सक्दैन ? अझै सुत्केरी आमाहरू रगत बगेर मर्छन् किन ? अझै गाउँमा नुन पुग्दैन किन ? र, अझै कति वर्ष रिक्सा कुदाउनुपर्छ मोहम्मदहरूले ?

अर्थात, अनेकौँ आन्दोलन र उथलपुथलपछि पनि जीवनको रङ्ग यतिधेरै मैलो र कान्तिहीन किन छ यो देशमा ?

पछिल्लो तथ्याङ्कले भन्छ कि प्रतिदिन १५ सय नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य छन् । हरवर्ष ९ लाखभन्दा धेरै युवा बालुवाको देश पुग्छन् । भारतमा निकृष्ट श्रम गर्ने युवाको तथ्याङ्क नै छैन । यतिठूलो श्रम शक्ति देश बाहिर जान्छ । देशमा रोजगारी छैन । उत्पादन छैन । अवसर छैन । स्वदेशमा जीवन सजिलो छैन । मुख्य कुरा ‘आशाहरू’ मरेका छन् । यस्तो लाग्छ सरकारको प्राथमिकता र समाजवादको रङ्गमा कुनै तालमेल छैन ।

हिजो शासकहरू दरबारमा थिए र भुईँमा बस्नेहरूको ‘राज्य’ थिएन । त्यसलाई हामीले पञ्चायत भन्यौँ । आज पनि सबैकुरा उस्तै रह्यो भने त्यसलाई के भन्ने ? निश्चय नै व्यवस्थाको नाम के राख्ने ? के नाम गरिएका पार्टी र नेताहरू शासनसत्तामा पुगे त्यो महत्त्वपुर्ण कुरा होइन, झन्डाको रङ्ग कस्तो बनाउने त्यो महत्त्वपूर्ण हुँदै होइन । जीवनको रङ्ग कस्तो हुनुपर्छ त्यो महत्त्वपूर्ण कुरा हो ।

अन्तिम कुरा, प्रिय प्रधानमन्त्रीज्यू, (यहाँ चै शेरबहादुर देउवालाई पनि संयुक्त सम्बोधन गरेँ) तपाईं निरन्तर सत्तामा हुनुहुन्छ । तपाईं बलियो सरकारको नेता हुनुहुन्छ । तपाईंहरूले राजनीति बुझ्नु (?) भएको छ । तपाईंहरू सायद दाबी गर्नुहुन्छ कि जीवन पनि बुझ्नु भएको छ । त्यसोभए हामीलाई भनिदिनुहोस् महोदय कि जीवनको रङ्ग कस्तो हुन्छ ?

के जीवनको रङ्ग छोराको औषधि गर्न नसक्ने अवला आमाको आँशुजस्तो निलो हुन्छ ? अथवा सडकमा पोखिएको शहीदको रगत जस्तो रातो हुन्छ ? कि दबदबे हिलोमा आफ्नो भाग्यको हलो अडकिएको अभागी किसानको तालुको पसिनाजस्तो रङ्गहीन हुन्छ ?

तपाईंका चुनावी घोषणापत्रहरू फुल्बुट्टे छन् नेताज्यू । कृपया त्यसका शब्दशब्द केलाई भनिदिनु होला के समाजवाद भनेको महङ्गी हो ? कालोबजारी हो ? गरिबी हो ? भ्रष्टाचार हो ? आकासतिर हेर्नु र भुईँमा थुक्नु हो ?

कृपया, भनिदिनुहोस् महोदय, तपाईंको समाजवादमा जीवनको रङ्ग कस्तो हुन्छ ?

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register