पुटिनलाई ट्रम्पको चेतावनी : युक्रेनसँगको युद्ध रोक्न रुस अघि बढ्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए करलगायतका थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले युद्ध अन्त्य गर्न दबाब दिएर पुटिनलाई ‘उपकार’ गरिरहेको लेखेका छन् । ट्रम्पले यसअघि रुस र युक्रेनबीच जारी युद्धलाई एकैदिनमा वार्ताबाट समाधान […]

Jan 23, 2025 - 06:19
 0
पुटिनलाई ट्रम्पको चेतावनी : युक्रेनसँगको युद्ध रोक्न रुस अघि बढ्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए करलगायतका थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले युद्ध अन्त्य गर्न दबाब दिएर पुटिनलाई ‘उपकार’ गरिरहेको लेखेका छन् ।

ट्रम्पले यसअघि रुस र युक्रेनबीच जारी युद्धलाई एकैदिनमा वार्ताबाट समाधान गर्ने बताएका थिए । रुसले ट्रम्पको पछिल्लो टिप्पणीबारे आधिकारिक रूपमा प्रतिक्रिया दिएको छैन ।

तर, वरिष्ठ रुसी अधिकारीहरूले हालैका दिनहरूमा नयाँ अमेरिकी प्रशासनसँग वार्ताको सम्भावना रहेको बताएका छन् ।

पुटिनले के मान्ने ?

पुटिनले पनि युद्ध रोक्न वार्ताका लागि तयार रहेको बारम्बार बताउँदै आएका छन् तर, युक्रेनले आफ्नो २० प्रतिशत भू-भाग छोड्नुपर्नेछ, जुन अहिले रुसी कब्जामा छ ।

यसबाहेक पुटिन युक्रेन नाटोमा सामेल भएको देख्न चाहँदैनन् ।

तर, युक्रेन एक इन्च जमिन पनि छोड्न तयार छैन । यद्यपि, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अहिलेका लागि आफ्नो केही जग्गा त्याग्नुपर्ने बताएका छन् ।

मङ्गलबार ट्रम्पले एक प्रेस सम्मेलनमा भने – म पुटिनसँग “छिट्टै” वार्ता गर्नेछु र यदि रूस वार्ता गर्न तयार छैन भने उसमाथि थप प्रतिबन्ध लगाउने सम्भावना छ ।

तर, बुधवार आफ्नो ट्रुथ सोशल पोस्टमा ट्रम्पले लेखेका छन्, “म रुस र राष्ट्रपति पुटिनलाई ठूलो उपकार गर्न जाँदैछु । अहिले नै एउटा सम्झौता गर्नुहोस् र यो मूर्खतापूर्ण युद्ध बन्द गर्नुहोस् । यदि हामीले छिट्टै ‘सम्झौता’ गरेनौं भने त्यसपछि रुसबाट आउने सामानमा भारी आयात शुल्क लगाउनुबाहेक मसँग अर्को विकल्प हुनेछैन ।”

जारी राख्दै उनले भने, “यस युद्धको अन्त्य गरौं । यदि म राष्ट्रपति भएको भए यो कहिल्यै सुरु हुने थिएन । हामी यो युद्धलाई सजिलो वा कठिन बाटोबाट अन्त्य गर्न सक्छौं । सजिलो बाटो सधैँ राम्रो हुन्छ । अब सम्झौताको समय आएको छ ।”

ट्रम्पको दिमागमा के छ ?

यसअघि संयुक्त राष्ट्रसङ्घका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले रोयटर्ससँग कुरा गरेका थिए । उनले रुस युद्ध रोक्ने सम्झौतामा ट्रम्प के चाहन्छन् भन्ने जान्न चाहेको र त्यसपछि मात्र कुरा अगाडि बढ्ने बताएका थिए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार कुनै पनि सम्झौताअनुसार कम्तीमा दुई लाख शान्ति सैनिक आवश्यक पर्ने बताएका छन् ।

उनले ब्लूमबर्गलाई भने – यस शान्ति सेनामा अमेरिकी सैनिकहरू पनि हुनुपर्छ । अमेरिकाबिना यो सम्भव छैन । केही युरोपेली साथीहरूले सोचेका भए त्यस्तो हुँदैन ।

युक्रेनका नेताहरूले ट्रम्पको कडा बयानको प्रशंसा गर्न सक्छन् किनभने उनीहरूलाई थाहा छ कि पुटिनले शक्तिको भाषा मात्र बुझ्छन् ।

तर, अमेरिकी राष्ट्रपतिको टिप्पणीप्रति युक्रेनको प्रारम्भिक प्रतिक्रियाले देखाउँछ कि मानिसहरू अब शब्दको लागि होइन, तर ठोस कार्यको लागि पर्खिरहेका छन् ।

ट्रम्पले कहाँ, कहिले र कसरी थप आर्थिक प्रतिबन्ध लगाइने भन्ने स्पष्ट पारेका छैनन् । सन् २०२२ देखि अमेरिकामा रूसी आयातमा ठूलो गिरावट आएको छ । रुसमाथि पहिले नै निकै कडा आर्थिक प्रतिबन्ध लगाइएको छ ।

हाल अमेरिकामा रूसको मुख्य निर्यात फस्फेटमा आधारित मल र प्लेटिनम हो ।

ट्रम्पको भनाइको सामाजिक सञ्जालमा युक्रेनका जनताबाट सामान्यतया कडा प्रतिक्रिया आएको थियो । धेरैले लेखे कि थप प्रतिबन्धहरू रूसी आक्रमणको कमजोर प्रतिक्रिया हो ।

तर, अधिकांश मानिसहरूका लागि सबैभन्दा ठूलो प्रश्न यो हो कि पुटिन शान्ति वार्तामा युक्रेनबारे छलफल गर्न इच्छुक छन् ?

रुसको सङ्केत

यसैबीच मस्कोका केही व्यक्तिहरूले सङ्केतहरू पाइरहेका छन् कि सरकारले रुसीहरूलाई युक्रेनमा ‘जितभन्दा कम केही’ स्वीकार गर्न तयार गरिरहेको छ ।

पुटिनको समर्थन गर्ने टिभी सम्पादक मार्गरिटा सिमोनियनले युद्ध अन्त्यका लागि ‘यथार्थवादी’ अवस्थाको बारेमा कुरा गर्न थालेकी छिन् । दुई देशबीचको वर्तमान सीमा युद्ध रोक्नु पनि समाधान हुनसक्ने उनको सुझाव छ ।

यसको मतलब युक्रेनले दुई वर्षदेखि अवैध रुसी कब्जामा रहेका जापोरोजेजस्ता चार युक्रेनी क्षेत्रमाथिको नियन्त्रण त्याग्नुपर्ने हुन्छ । तर, यो सजिलो छैन ।

रुसका कट्टरपन्थी ब्लगरहरूले त्यस्ता वार्तालाई ‘पराजयवादी’ भनेका छन् । Z-bloggers भनेर चिनिने यी व्यक्तिहरू सम्झौताबाट असन्तुष्ट देखिन्छन् ।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले ट्यारिफ र कडा प्रतिबन्धहरूको धम्कीको बीचमा रूसी जनताको लागि आफ्नो ‘प्रेम’ पनि व्यक्त गरे । उनले दोस्रो विश्वयुद्धमा सोभियत सङ्घले भोगेको क्षतिप्रति सम्मान व्यक्त गरे । यो पुटिनका लागि नाजुक मुद्दा हो ।

तर, ट्रम्पले रुसी घाटा मात्रै उल्लेख गरेका छन् । वास्तवमा दोस्रो विश्वयुद्धमा लाखौं युक्रेनी र अन्य सोभियत नागरिकहरूले पनि ज्यान गुमाएका थिए ।

ट्रम्पले विगतमा भनेका थिए कि उनले युक्रेन नाटोमा सामेल हुनेबारे पुटिनको चिन्ता बुझ्न सक्छन् । युक्रेनको नजरमा यस्तो भनाइ पुटिनलाई उत्तेजित भएको भन्नु बराबर हो ।

तर, अहिले ट्रम्पको स्वर फेरिएको देखिन्छ । ट्रम्पले यो युद्धमा कस्तो अडान लिन्छन् त्यो महत्त्वपूर्ण छ ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register