बेलायतका पांच तामाङ संस्थाले एकै थलोमा धुमधाम मनाए सोनाम ल्होछार

लन्डन । बेलायतमा क्रियाशील पांच तामाङ समाजले संयुक्त रुपमा आफ्नो प्रमुख मौलिक राष्ट्रिय पर्व ‘सोनाम ल्होछार’ धुमधाम मनाएका छन् । ल्हाम्हेंदो समाज लन्डन, तामाङ समाज यूके, म्हेंदोमाया समाज यूके, तामाङ घेदुङ रेडिङ र तामाङ ह्युल्बा केन्टले बेलायतमा पहिलोपटक संयुक्त ल्होछार मनाएका हुन् । २५ जनवरी शनिबार लन्डनस्थित ह्यारो लिजर सेन्टरमा आयोजित ल्होछारमा १५०० बढीको सहभागिता […]

Jan 26, 2025 - 12:31
 0
बेलायतका पांच तामाङ संस्थाले एकै थलोमा धुमधाम मनाए सोनाम ल्होछार

लन्डन । बेलायतमा क्रियाशील पांच तामाङ समाजले संयुक्त रुपमा आफ्नो प्रमुख मौलिक राष्ट्रिय पर्व ‘सोनाम ल्होछार’ धुमधाम मनाएका छन् ।

ल्हाम्हेंदो समाज लन्डन, तामाङ समाज यूके, म्हेंदोमाया समाज यूके, तामाङ घेदुङ रेडिङ र तामाङ ह्युल्बा केन्टले बेलायतमा पहिलोपटक संयुक्त ल्होछार मनाएका हुन् ।

२५ जनवरी शनिबार लन्डनस्थित ह्यारो लिजर सेन्टरमा आयोजित ल्होछारमा १५०० बढीको सहभागिता थियो । नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको प्रस्तुति, धर्म गुरुहरुबाट पूजा अनि स्थानीय कलाकारको दमदार परफर्मेन्स कार्यक्रममा आकर्षण रहे ।

प्रमुख वक्ताहरुले तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८६१ औं डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको शुभकामना दिंदै तामाङ समुदायले एकताको उत्कृष्ट नमुना प्रदर्शन गरेको बताए ।

सम्बोधनका क्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले पुर्खाहरुले हजारौं वर्षदेखि जोगाएर ल्याएको उपहार वा नासो आफ्नो कला संस्कृति, चाडपर्व अर्को लेभलमा यसरी मनाइनु प्रशंसनीय कार्य भएको बताए ।

राजदूत घिमिरेले आफ्नो भाषा संस्कृति, रितिरिवाज आउंदो पुस्तालाई समेत हस्तान्तरण गर्नुपर्नेमा जोड दिंदै ब्रिटिश समाजमा पनि देखाउन सुझाए । राजदूत घिमिरेले आफ्नो पहिचाउन जोगाइराख्न जरुरी रहेको उल्लेख गरे । तामाङ समाजहरुले संयुक्त ल्होछार मनाएर एकताको उत्कृष्ट नमुना प्रदर्शन गरेको जनाउंदै राजदूत घिमिरेले उनीहरुबाट गोर्खा संगठन र एनआरएनएले पनि पाठ सिक्नुपर्ने बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ल्होछार शुभकामना दिंदै नवनियुक्त राजदूत घिमिरेलाई लन्डनमा औपचारिक स्वागत गरे । गाहामगरले वंशजको नेपाली नागरिकता रद्द गर्ने ऐनविरुद्ध सर्वोच्च अदालतमा हालै मुद्दा दायर गरिएको स्मरण गरे । उनले विदेशमा रहेपनि आफ्नो कला संस्कृति भुल्न नहुने र यो दोश्रो पुस्तालाई हस्तान्तरण गर्न चुनौति रहेको धारणा पनि राखे ।

 

कार्यक्रमका सभापति एवं संयुक्त ल्होछार मूल समारोह समितिका संयोजक हरिसिंह वाइबाले सबैलाई स्वागत र सहयोगीप्रति आभार व्यक्त गर्दै एकीकृत भएर पहिलोपटक मनाइएको ल्होछार सफल भएको बताए । वाइवाले हामी सबै नेपालीले आफ्नो पहिचान जहां गएपनि जोगाइराख्नु पर्ने बताए ।

म्हेंदोमाया परिवार यूकेका सल्लाहकार वरिष्ठ समाजसेवी धन तामाङले एकीकृत सोनाम ल्होछार ऐतिहासिक सफल भएको उल्लेख गर्दै एकता नै बल भएकाले भावी दिनमा समेत फुटेर होइन जुटेर अगाडि बढ्न सुझाए । भावी पुस्तालाई दिने ‘लिगेसी’ यही भएको उनको धारणा छ ।

संयुक्त ल्होसार मूल समारोह समितिका सदस्य सचिव बम ब्लेन्थेनले सञ्चालन गरेको औपचारिक कार्यक्रममा तामाङ घेदुङ यूकेका पूर्व अध्यक्ष प्रवल सोनाम घिसिङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा ल्हाम्हेंदो समाज लन्डनका अध्यक्ष आइतसिंह तामाङ, तामाङ घेदुङ यूकेका अध्यक्ष उदय घिसिङ, कविराज घिसिङ, तामाङ जातीबारे पिएचडी गरेका ज्ञाता डा. बेन क्याम्पबेल, कुमार स्याङदेन लगायतले पनि शुभकामना मन्तव्य दिए ।

दोश्रो सत्रमा भएको सांस्कृतिक कार्यक्रममा दर्शक निकै रमाए । सो सत्रमा गण्डकी प्रदेश सांसद सरस्वती गुरुङको विशेष आतिथ्य थियो । संक्षिप्त मन्तव्यका क्रममा सांसद गुरुङले तामाङ समुदायले प्रदर्शन गरेको एकता प्रशंसा गर्न लायक भएको बताइन् । उनले नेपाली पहिचान कहिल्यै नभुल्न समेत आग्रह गरिन् ।

दिलिप तामाङ, मनिका तामाङ, खेमराज तामाङ र प्रगीना घिसिङले सञ्चालन गरेको सांस्कृतिक सत्रमा इन्डियन आइडल सिजन ३ विजेता प्रशान्त तामाङ, नेपालका चर्चित सेलो गायक चन्द्र कुमार दोङ, गायिका सज्जा चौलागाईं, सिङ्गीङ स्टार सिजन १ विजेता ऋतु लामा, कुमार योन्जन, कृष्ण पाख्रिन, सानु वाइबा, अमेरिकाबाट आएकी मोडल एवं डान्सर रश्मी तामाङ, कमला पाख्रिन घले, सुसन थिङ तामाङ, संगीता मगर लगायतको प्रस्तुतिमा दर्शक राती अबेरसम्म झुमे ।

कृष्ण पाख्रिन र कमला पाख्रिनका साथ भएको सामूहिक नाच म्हेंदोमायामा सहभागी प्राय अतिथीहरु तालमा ताल मिलाइ नाचेका थिए । सेलो नृत्य अर्को आकर्षण थियो । सो सत्रमा नेपाल, अमेरिका र स्थानीय कलाकारहरुले झण्डै ४० वटा विविध आइटम प्रस्तुत गरेका थिए ।

बिहान ११ः३० देखि लामा गुरुहरु कर्म वाङ्गदेल, हस्त लामा, मिङमा लामा र लक्सम लामाले पूजा पाठ गरेका थिए भने वाङ्ग वितरण, ढोकभेट पश्चात दिउसो औपचारिक कार्यक्रम सुरु भएको थियो । अतिथीहरुलाई तामाङ परिकार ‘छोहो’ पनि दिइएको थियो ।

तस्विर- शिव भण्डारी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register