नलेज इकोनमी : नेपालको भविष्यमा नयाँ सम्भावना

यो मोडलले भौगोलिक सीमालाई तोडेर विश्वव्यापी प्रतिस्पर्धाको ढोका खोल्छ । नेपाल अहिले पनि कृषि, श्रम, र प्राकृतिक स्रोतमा आधारित परम्परागत अर्थतन्त्रमा सीमित छ । तर, यो पुरानो संरचनाबाट बाहिर निस्केर नयाँ सोच, नवीनता, र प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।

Feb 3, 2025 - 10:33
 0
नलेज इकोनमी : नेपालको भविष्यमा नयाँ सम्भावना

पछिल्लो केही वर्षमा नेपालको शैक्षिक परिप्रेक्ष्यमा विदेशी शिक्षाको आकर्षण तीव्र रूपमा वृद्धि भएको छ । प्रायः १२ कक्षा उत्तीर्ण गर्ने प्रत्येक नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्ने आशा राख्दछन् । केही समयअघि यो विदेश यात्रा रोजगारी र जीवनशैलीसँग मात्र सम्बन्धित थियो, तर अहिले यसको महत्त्व र दायरा अझ फरक र विस्तृत भएको छ ।

नेपालका लागि विदेशमा अध्ययन गर्ने परिपाटी नयाँ अवधारणा भने होइन । यसको इतिहास लामो छ र यसले नेपाली समाज र अर्थतन्त्रमा विभिन्न चरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एकातिर संसारमा उत्कृष्ट विश्वविद्यालयहरूको स्थापना भइसक्दा पनि नेपालमा औपचारिक शिक्षाको प्रवेश धेरै ढिलो भएको थियो ।

प्राचीनकालदेखि केही नेपाली शिक्षा प्राप्त गर्न विदेश गएका उदाहरण उपलब्ध छन् । राणा शासनकालमा शिक्षा प्रायः केही वर्गका व्यक्तिसम्म सीमित थियो । त्यस समयमा नेपाली विद्यार्थीले भारत र अन्य छिमेकी देशलाई शिक्षा हासिल गर्ने गन्तव्यका रूपमा चयन गर्थे । यस अवधिमा धार्मिक अध्ययनलाई बौद्धिकताको मापदण्ड मानिन्थ्यो र नेपालको शैक्षिक परिप्रेक्ष्य परम्परागत र सीमित थियो ।

तर, २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना र २०४६ सालको प्रजातान्त्रिक परिवर्तनपछि नेपालका लागि शैक्षिक प्रणालीमा नयाँ दिशा खुलेको हो । यसले मध्यम वर्गका व्यक्तिहरूलाई पनि उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्‍यो । यही समयदेखि विदेशी शिक्षाप्रतिको आकर्षण तीव्र रुपमा बढ्न थाल्यो ।

सुरुमा नेपाली समाजमा विदेशमा अध्ययन गर्ने अवसर केवल धनी वर्ग र सरकारी सहयोग प्राप्त गर्ने केही व्यक्तिहरूमै सीमित थियो । तर, पछिल्लो तीन दशकमा, विदेशी शिक्षाको पहुँच मध्यम वर्गसम्म पनि पुगेको छ । आजका दिनमा एक मध्यम नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडाजस्ता देश जाने सपना सामान्य रूपमा देख्छ ।

आजको परिप्रेक्ष्यमा नेपालमा विदेशमा अध्ययन गर्ने कुरा नयाँ र महत्त्वपूर्ण प्रक्रिया बनेको छ । विशेषगरी मध्यवर्गीय वर्गको संलग्नतासँगै यो विषय थप चर्चा र बहसको केन्द्र बनेको छ । केही यसलाई व्यक्तिगत विकासको बाटोका रूपमा हेर्छन् भने अन्य परम्परागत दृष्टिकोणले यसलाई नकारात्मक रूपमा लिन्छन् । केहीले भने यो प्रवृत्तिलाई देशको हानी र बर्बादीको रूपमा हेर्छन् ।

तर, यो वैदेशिक शिक्षा को दृष्टिकोणलाई फरक र समग्र रूपमा बुझ्न आवश्यक छ । विदेश जानु भनेको केवल व्यक्तिगत उन्नति मात्र होइन, यो नेपालको आर्थिक, सामाजिक र बौद्धिक रूपान्तरणको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । अझ यो प्रक्रियालाई अब नलेज इकोनमीका दृष्टिकोणबाट हेरिनुपर्छ ।

के हो नलेज इकोनमी ?

नलेज इकोनमी भनेको त्यो आर्थिक संरचना हो, जुन ज्ञान, प्रविधि र बौद्धिक सम्पत्तिको प्रयोगमा आधारित छ । परम्परागत अर्थतन्त्रमा उत्पादनको मुख्य स्रोत श्रम र प्राकृतिक स्रोतहरू थिए, तर नलेज इकोनमीले ज्ञानलाई प्रमुख स्रोतको रूपमा प्रस्तुत गरेको छ । यसको मूल कुरा भनेको शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै अर्थतन्त्रलाई गतिशील र प्रतिस्पर्धी बनाउनु हो ।

आजको युगमा सूचना प्रविधि र सञ्चारको तीव्र विकासले नलेज इकोनमीलाई अझ बढी महत्त्वपूर्ण बनाएको छ । यसमा विशाल सम्भावनाहरू समाहित छन्, जसले आर्थिक वृद्धिलाई नयाँ दृष्टिकोणबाट परिभाषित गर्न सक्छ ।

नलेज इकोनमीले सामाजिक र सांस्कृतिक विकासमा पनि अहम् भूमिका निर्वाह गर्छ । जब एउटा राष्ट्र ज्ञान र प्रविधिमा आधारित हुन्छ, तब त्यसले समग्र समाजलाई नवीन सोच र प्राविधिक समृद्धिको साथ अगाडि बढाउँछ ।

भूपरिवेष्ठित अवस्थाको बदलिएको परिभाषा 

नेपालको भौगोलिक स्थिति भूपरिवेष्ठित भएकाले हामीले व्यापार र उद्योगका क्षेत्रमा सधैँ चुनौतीहरू भोगेका छौँ । समुद्री मार्गबाट अलग रहनु परेर नेपाललाई अन्य देशहरूसँग समान प्रतिस्पर्धामा उभिन गाह्रो भइरहेको छ | यद्यपि, नलेज इकोनमीको युगले यो स्थिति अब बदलिन सक्छ । सूचना प्रविधि र डिजिटल कनेक्टिभिटीको प्रयोगले हामीलाई भौतिक सीमाबाट टाढाबाट काम गर्न र ग्लोबल प्रतिस्पर्धामा उभिन सक्ने बनाएको छ ।

बुझ्नु पर्ने कुरा के हो भने नलेज इकोनमी भनेको ज्ञान, सूचना र प्रविधिको उत्पादन, वितरण र उपयोगमा आधारित एक आधुनिक आर्थिक मोडल हो । यो मोडलले भौगोलिक सीमालाई तोडेर विश्वव्यापी प्रतिस्पर्धाको ढोका खोल्छ । नेपाल अहिले पनि कृषि, श्रम, र प्राकृतिक स्रोतमा आधारित परम्परागत अर्थतन्त्रमा सीमित छ । तर, यो पुरानो संरचनाबाट बाहिर निस्केर नयाँ सोच, नवीनता, र प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।

अब हामी केवल भौगोलिक अवस्थाको बाधामा अड्किनपर्ने छैन । ज्ञान र प्रविधिको माध्यमबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै आफ्नो आर्थिक, सामाजिक र बौद्धिक उन्नतिमा उल्लेखनीय फड्को मार्न सक्छ । यो सम्भावनाको सदुपयोग गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

नेपालका युवा, विशेष गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थी यस परिवर्तनको प्रमुख हिस्सा बनेका छन् । तिनीहरूले विदेशमा प्राप्त ज्ञान र सीपलाई नेपाल फर्केर यहाँका उद्योग र समाजमा लागू गर्दैछन् । यी युवा अब केवल व्यक्तिगत उन्नतिका लागि नभई नेपालको समग्र विकासका लागि ठूलो योगदान दिइरहेका छन् ।

विदेशमा शिक्षा प्राप्त गर्ने नेपाली युवाले आफ्नो अनुभव र ज्ञानमार्फत नेपालका विभिन्न क्षेत्रहरूमा नवप्रवर्तन र सुधार ल्याउन थालेका छन् । तिनीहरूको रेमिट्यान्स पनि नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ । यसले नेपाललाई आर्थिक र प्रविधि क्षेत्रमै मात्र होइन, समग्र सामाजिक र सांस्कृतिक दृष्टिकोणमा पनि प्रगति गराउन मद्दत पुर्‍याउँछ ।

आजको विश्व तीव्र रूपमा म्यानुफ्याक्चरिङ इकोनमीबाट नलेज इकोनमीमा रूपान्तरण भइरहेको छ । यो परिवर्तन कुनै सामान्य प्रक्रिया मात्र होइन; यो एक क्रान्तिकारी सोच हो, जसले हाम्रो सोच, कार्यशैली, र सम्पूर्ण आर्थिक संरचनालाई फेरिरहेको छ । आज प्रविधि, ज्ञान, र नवप्रवर्तनजस्ता स्रोतहरूले उद्योग र समाजलाई नयाँ उचाइमा पुर्‍याइरहेका छन् । ‘इनोभेसन’ अहिलेको प्रमुख शक्ति बनेको छ, जसले मानिसहरूको दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण संसारको आर्थिक प्रणालीलाई पुनर्परिभाषित गरेको छ ।

जसको प्रमाण अहिलेका विश्वविख्यात कम्पनीहरू मेटा, एप्पल, गुगल, अमेजन, र टेस्लाजस्ता ब्रान्ड हुन् । यी कम्पनीले नवप्रवर्तन र प्रविधिलाई आफ्नो मुख्य आधार बनाएर विश्व बजारमा आफ्नो प्रभुत्व स्थापित गरेका छन् । उनीहरूले सिर्जना गरेका उत्पादन र सेवाहरूले उद्योगहरूलाई मात्र होइन, मानिसहरूको जीवनशैलीमा समेत व्यापक परिवर्तन ल्याएका छन् । उदाहरणका लागि एप्पलको स्मार्टफोनले दैनिकीलाई डिजिटल युगमा बदल्यो, गुगलले सूचना पहुँच गर्ने तरिकामा क्रान्ति ल्यायो र अमेजनले अनलाइन किनमेललाई सहज, सुलभ, र भरोसायोग्य बनायो । यी कम्पनीहरूले प्रविधि र नवप्रवर्तनको शक्ति उपयोग गर्दै समाजलाई नयाँ आयाममा पुर्‍याएका छन् ।

फोर्ब्स पत्रिकाको अर्बपतिहरूको सूची हेर्दा टेक उद्योगको प्रभुत्व झन-झन स्पष्ट हुँदै गएको छ । टेक उद्योग अहिले अर्बपतिहरू निर्माण गर्ने मुख्य शक्ति बनेको छ । यसको प्रमुख कारण हो- कम प्रवेश अवरोध, उच्च नवीनता क्षमता र विश्वव्यापी माग । प्रविधि क्षेत्रमा सीमित स्रोतबाट सुरु गरेर पनि छोटो समयमै ठूला सफलताहरू हासिल गर्न सकिन्छ । यसमा सिर्जनशीलता र नवप्रवर्तनको उच्च महत्त्व छ, जसले उद्योगहरूको परिभाषा परिवर्तन गरेको छ । नेपालले पनि यो क्षेत्रलाई आत्मसात गर्न सके, सम्भावनाको एक विशाल ढोका खुल्न सक्छ ।

नेपालको आर्थिक परिदृश्यमा पनि नलेज इकोनमीका प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ । अहिले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वार्षिक करिब ४१ अर्ब अमेरिकी डलर हाराहारीमा छ । तर, इलोन मस्कको व्यक्तिगत सम्पत्ति नै ४३५ अर्ब अमेरिकी डलर छ । यो तुलना चकित पार्ने खालको छ । एक व्यक्तिको सम्पत्ति नेपालको जस्तो देशको अर्थतन्त्रभन्दा लगभग ९ गुणा ठूलो हुनु नलेज इकोनमीको शक्तिशाली प्रभावलाई उजागर गर्ने तथ्य हो ।

यो नयाँ युग हो, जहाँ ग्लोबल अर्थतन्त्रको शक्ति नलेज इकोनमीले निर्देशित गरिरहेको छ । नेपालले यस परिवर्तनलाई आत्मसात गर्दै प्रविधि, शिक्षा र नवप्रवर्तनमा ठोस लगानी गर्न सके यसले आर्थिक क्रान्तिको मार्ग प्रशस्त गर्न सक्छ । 

नेपालको युवा जनशक्ति, जो विदेशमा अध्ययन र प्रविधिमा दक्षता हासिल गर्दैछन्, उनीहरूको ज्ञान र अनुभवलाई देशमा सदुपयोग गर्न सकियो भने, नेपाल नलेज इकोनमीको उदीयमान शक्ति बन्ने सम्भावना राख्छ । यही समय हो, जब नेपालले ज्ञान, प्रविधि, र नवप्रवर्तनको उपयोग गरेर नयाँ उचाइमा आफ्नो पहिचान स्थापित गर्न सक्छ ।

(लेखक इक्यानका अध्यक्ष हुन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register