भारतसँग सम्बन्ध सुधारमा सत्ता गठबन्धनको राजनीतिक पहल असफल

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिहीवार अकास्मत भारत भ्रमण स्थगित गरिदिए । उत्तर प्रदेश सरकारको सहयोगमा इण्डिया फाउन्डेनसले  प्रयागराजमा आयोजना गरेको कार्यक्रममा वक्ताका रूपमा उनलाई आमन्त्रण गरेको थियो । सतहमा कुम्भमा सहभागीको बहाना भएपनि नेपथ्यमा उच्चस्तरीय राजनीतिक पहलबाट गठबन्धनसँग बिग्रिएको सम्बन्ध सुधारका लागि देउवा भारत जान लागेका थिए । उनको भारतभ्रमण स्थगित भएसँगै […]

Feb 20, 2025 - 16:11
 0
भारतसँग सम्बन्ध सुधारमा सत्ता गठबन्धनको राजनीतिक पहल असफल

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिहीवार अकास्मत भारत भ्रमण स्थगित गरिदिए । उत्तर प्रदेश सरकारको सहयोगमा इण्डिया फाउन्डेनसले  प्रयागराजमा आयोजना गरेको कार्यक्रममा वक्ताका रूपमा उनलाई आमन्त्रण गरेको थियो ।

सतहमा कुम्भमा सहभागीको बहाना भएपनि नेपथ्यमा उच्चस्तरीय राजनीतिक पहलबाट गठबन्धनसँग बिग्रिएको सम्बन्ध सुधारका लागि देउवा भारत जान लागेका थिए । उनको भारतभ्रमण स्थगित भएसँगै उच्चस्तरीय राजनीतिक पहलबाट सत्ता गठबन्धनसँग विग्रिएको सम्बन्ध सुधारको योजना सफल भएन ।

संवाद कार्यक्रम ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलीटी’ मा वक्ताका रूपमा सरिक हुन लागेका देउवाले उत्तिकै भ्रमण स्थगित भनेका गरेका होइनन् । प्रयागराज महाकुम्भको बहानामा भारत जान लागेका देउवाले वर्तमान गठबन्धनसँग चिढिएको भारतसँगको सम्बन्ध सुधारका लागि उच्चस्तरीय राजनीतिक भेटघाटको प्रयास गरेका थिए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्न खोजेका थिए । यो विषयमा उनले पहिले नै भारतीय पक्षलाई जानकारी गराएका थिए । भारतीय पक्षले पहल गर्ने भनेपछि उनले भ्रमणको निधो गरेका थिए । उनी बुधवारसम्म पनि दिल्ली हुँदै प्रयागराज जाने तयारीमा नै थिए । तर, बिहीवार बिहानसम्म पनि दिल्लीमा उच्चस्तरीय भेटघाटको टुंगो लागने । उच्चस्तरीय राजनीतिक भेटघाटको संभावना समाप्त भएपछि देउवा अकस्मात महाकुम्भ नजाने निधोमा पुगे ।

कुम्भ मेलालाई भारतीय जनता पार्टी नेतृत्वको सरकारले विश्वव्यापी प्रतिष्ठाको विषय बनाएको थियो ।  यता देउवाले पनि आफ्नो भ्रमणलाई प्रतिष्ठाको विषय बनाए । संसदको ठूलो दलको सभापति र पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भमा गएर डुबुल्की मारेर मात्रै फर्किने कुरा सुहाउँदिलो पक्कै हुन्थेन ।

भारतीय पक्षले उच्चस्तरीय राजनीतिक भेटाघाटलाई वेवास्ता गरेपछि नै देउवाले भ्रमण रद्द गरेको बुझाइ भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यको छ । ‘देउवाजी भूतपूर्व प्रधानमन्त्री र संसदको पहिलो दलको सभापति पनि हो । भारतीय पक्षको निम्तो मानेर महाकुम्भमा डुबुल्की मारेर मात्रै फर्किने गरी उहाँ पक्कै जान लाग्नुभएको थिएन होला । उहाँको भ्रमणमा राजनीतिक भेटघाटका कुरा पनि भएका थिए होलान्,’ पूर्वराजदूत आचार्य भन्छन्, ‘राजनीतिक भेटघाटको समय नमिल्दा कुम्भमा नुहाएर मात्रै फर्किनेगरी उहाँ जानुभएन होला ।’ आचार्य भन्छन् ।

यस कार्यक्रमका लागि आयोजकले पहिले परराष्ट्रमन्त्री आरजु राणालाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणा राणालाई आए पनि देउवा जाने चाँजो मिलाइयो । देउवा कुम्भ मेलामा जाने कुरा राणाले ओमानबाटै  खुलाएकी थिइन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे सरकारले निमन्त्रणा पठाएको कार्यक्रममा सरकारी प्रतिनिधि नै जानुपर्ने बताउँछन् । सरकारी च्यानलबाट नै आपसी सम्बन्ध सुधारको पहल गर्नुपर्ने उनको मत छ । नेपाल र र भारतबीचको सरकारी र जनस्तरको सम्बन्ध खस्किएको बेलामा परराष्ट्रमन्त्रीलाई आमन्त्रण गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीलाई पठाउने पहल नै गलत भएको उनी बताउँछन् ।

‘नेपाल र भारत सरकारबीचको सम्बन्धमा विश्वासको स्थिति चिन्ताजनक अवस्थामा पुगेको छ । ओडिसामा नेपाली विद्यार्थीको मृत्युप्रकरणपछि जनस्तरमा पनि सम्बन्ध बिग्रिएको छ । सरकार र जनस्तरमा विश्वास घटेको अवस्थामा सरकारबाटै सम्बन्ध सुधारको पहल हुनुपर्थ्यो र सरकारी संयन्त्रबाटै सम्बन्ध सुधारको प्रयत्न जारी रहनुपर्छ,’ पाण्डेले भने ।

भारत सरकार वर्तमान सत्ता गठबन्धनसँग सुरूदेखि नै खुशी छैन ।  काङ्ग्रेस र एमालेबीचको गठबन्धन निर्माणमै असन्तुष्टी जनाउँदै भारतले यसलाई रोक्न खोजेको थियो । गत असार १७ गते भारतीय राजदूत नवीन श्रीवास्तवले काङ्ग्रेस सभापति देउवाको बूढानिलकण्ठस्थित घरमै पुगेर ओलीसँग नमिल्न भनेका थिए । प्रचण्डले काङ्ग्रेससँग मिलेर जाने बचन दिएकाले तत्काल अर्को गठबन्धन नबनाउन देउवालाई उनको सुझाव थियो । त्यही मध्यरातमा काङ्ग्रेस र एमालेबीच सत्ता गठबन्धनका लागि सात बुँदे सहमति भएको थियो ।

गठबन्धन निर्माण प्रक्रिया देखिनै असन्तुष्ट रहेको भारत सत्ता गठबन्धनले चीनको बीआरआई परियोजनामा हस्ताक्षर गरेपछि थप चिढिएको थियो । मंसिर १९ मा बीआरआई फ्रेमवर्कमा सरकारले हस्ताक्षर गरेसँगै भारत वर्तमान सत्ता गठबन्धनसँग थप चिढिएको हो । दिल्ली चिढिएकै बुझेर प्रधानमन्त्री ओली चीनमा रहँदा भारत पुगेका उद्योग मन्त्री दामोदर भण्डारीले भाजपाका नेता विजय चौथाइवालेसँग भेट गरेका थिए । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण मिलाइदिन उनीसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको चाहाना देखाए पनि भारतले उनलाई निमन्त्रणा पठाएको छैन । प्रधानमन्त्रीलाई बोलाउने वातावरणका लागि परराष्ट्रमन्त्री आरजु राणाले पटक-पटक पहल गरे पनि उनी सफल भएकी छैनन् । उनले गत मंसिरदेखि नै प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि पहल गरेकी हुन् ।

परराष्ट्रमन्त्रीको पहलकाबीच निमन्त्रणा नगरेपछि भारतको रवैयाप्रति ओलीपनि चिढिएका थिए । पुस ११ मा बसेको सचिवालय बैठकमा उनले भारत भ्रमणबारे चर्चा गर्न त्यति आवश्यक नभएको भनिदिए । ‘निम्ता पठाए गइन्छ, नत्र गइँन्न । भारत भ्रमणबारे चर्चा गर्न त्यति आवश्यक छैन,’ उनको भनाइ थियो ।

बीआरआई पछि चिढिएको भारतलाई विश्वासमा ल्याउने प्रयत्न  राणाले अझैं जारी राखेकी छन् । ओमानको मस्कटमा हालसालै उनले भारतीय सकमक्षी एस जयशंकर भेटघाट गरेकी थिइन् । समकक्षीसँग नेपालको विकास र सीमा सुरक्षाबारे कुराकानी भएको बताएकी छिन् । भारतीय मिडिया भिओनसँग उनले भनेकी छिन्-‘द्वीपक्षीय वार्ता एकदम राम्रो भयो । हामीले नेपालको विकास र दुई मुलुकको सीमा सुरक्षाका सवालमा सौहार्द कुराकानी गर्‍यौँ। ’

उनलाई बीआरआईका कारण नेपाल र भारतबीच सम्बन्धमा आएको चिसोपनाबारे पनि सोधिएको थियो । त्यसको उत्तरमा बीआरआईलाई लिएर भारतले असन्तुष्टी जनाउनुपर्ने कारण नरहेको उल्लेख गरेकी छिन् । नेपालले महँगो ऋणको सामाना नगर्ने स्पस्ट कुरा चीनसँग गरेको र यो अनुदान भएको मत राणाले राखेकी छन् । ‘नेपाल तटस्थ राष्ट्र हो । विश्वका कुनैपनि रणनीतिक मामिलाका परियोजनामा यसले सहमति जनाउँदैन,’ भारतलाई आश्वस्त पार्न खोज्दै राणाले भनेकी छन् ।

राणाले आफ्ना पति देउवा कुम्भ मेलामा सरिक हुने कुरा पनि उल्लेख गरेकी थिइन् । ‘मेरा परिवारका प्राय सदस्य आइसके । मेरा पति पनि छिट्टै कुम्भमा आउने कार्यक्रम छ,’ ओमानबाट राणाको भनाइ थियो ।

ओमानबाटै राणाले देउवा कुम्भ मेलामा जाने उद्घघोष गरे पनि उनी नेपाल आइपुग्दासम्म देउवाको भारत भ्रमण स्थगित भइसकेको थियो । देउवाको भारतभ्रमण स्थगितसँगै गठबन्धन सरकारसँग बिग्रिएको सम्बन्ध सुधारमा सुदृढीकरणको उच्चस्तरीय राजनीतिक पहल असफल भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register