लेख्दै नलेखेको लेखको उजुरी खेप्दै सुमिना

समाजिक सञ्जालमा राखिएको यही नक्कली फोटोलाई आधार बनाएर सुमिनाविरुद्ध प्रेस काउन्सिल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय र साइबर ब्युरोमा उजुरी समेत परेको छ ।

Feb 23, 2025 - 09:39
 0
लेख्दै नलेखेको लेखको उजुरी खेप्दै सुमिना

काठमाडौं सुमिना पत्रपत्रिकामा लेख लेखिरहन्छिन् । समसामयिक विषयमा समाजिक सञ्जालबाट आफ्नो धारणा पनि राख्छिन् । उनको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ पनि प्रकाशित छ । तर, अहिले फेसबुकमा उनले लेख्दै नलेखेको एउटा ‘लेख’को शीर्षक भाइरल भइरहेको छ ।

‘सनातन चौतारी’ नामको फेसबुक अकाउन्टमा ‘हिन्दु देवी दुर्गा वेश्या हुन्’ शीर्षकमा सुमिनाले लेख लेखेको दाबी गर्दै एउटा फोटो पोष्ट गरिएको छ । उक्त फोटोमा सुमिनाले एक्स (पुरानो टुईटर) मा लेखेका दुईवटा पोष्ट पनि राखिएको छ । सुमिनाले हिन्दु देवीलाई ‘वेश्या’ भनेर लेख लेखेको दाबी त्यसमा गरिएको छ ।

समाजिक सञ्जालमा राखिएको यही नक्कली फोटोलाई आधार बनाएर सुमिनाविरुद्ध प्रेस काउन्सिल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय र साइबर ब्युरोमा उजुरी समेत परेको छ ।

‘हिन्दु धर्ममा आस्था राख्ने’ र हिन्दु धर्मसँग सम्बन्धित व्यक्ति दाबी गर्ने ध्रुवराज लुईटेलले उजुरी हालेका छन् ।

उजुरीमा लेखिएअनुसार ‘हिन्दु देवी दुर्गा वेस्या हुन्’ भन्ने शीर्षकमा नयाँ पत्रिका दैनिकमा ९ फागुन २०८१ मा सुमिनाको लेख छापिएको छ ।

उजुरीमा, ‘लेखकले राष्ट्रिय दैनिक नयाँ पत्रिकामा हिन्दु देवी दुर्गा वेश्या हुन् भनी शीर्षक राखी प्रकाशित गरेको लेखले हिन्दु धर्म, देवी देवताप्रति रहेको अस्थामा आघात पारी धार्मिक भावनामा चोट पुर्‍याएकाले’ लेखकलाई मुलुकी अपराध संहिताको दफा १५६ अनुसार सजाय गरिपाउँ,’ भनिएको छ ।

अपराध संहिताको दफा १५६ मा कसैले पनि लेखेर, बोलेर, आकार वा चिन्हले कुनै पनि जातजाति, सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याउन हुँदैन भनिएको छ । कसैले यस्तो काम गरेमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

उजुरीमा लेखिएअनुसार ९ फागनमा नयाँ पत्रिकामा सुमिनाको लेख प्रकाशित छ कि छैन भनेर हामीले हेर्‍यौँ । ९ फागुनमा नयाँ पत्रिकामा सुमिनाको लेख नै प्रकाशित भएको छैन् ।

फागनु ९ को नयाँ पत्रिकाको विचार पृष्ठ

त्यसपछि हामीले प्रेस काउन्सिल, प्रशासन र प्रहरी हुँदै साइबर ब्युरोसम्म उजुरी दर्ता गर्न दौडधुप गरेका लुइटेललाई फोन गरेर ‘तपाईंले हालेको उजुरीमा लेखिएको लेखको लिङ्क वा पत्रिकाको कटिङ् पठाउन’ अनुरोध गर्‍यौँ ।

उनले पनि सनातन चौतारी नामको फेसबुकबाट पोष्ट भएको फोटो नै हामीलाई पठाए । त्यही फोटोका आधारमा उजुरी हालेको पनि उनले बताए ।

प्रेस काउन्सिलका सूचना अधिकारी तथा सहप्रवक्ता रामशरण बोहराले पनि लुइटेलले दिएको उजुरी काउन्सिलमा दर्ता भएको बताए । यति मात्र होइन उनले नयाँ पत्रिकालाई यस विषयमा सोधपुछ गर्न पनि कर्मचारीलाई अनुरोध गरेको बताए ।

साइबर ब्युरोले पनि मिडियासँग सम्बन्धित विषय भएको बताउँदै काउन्सिललाई यस विषयमा जानकारी गराएको छ । 

बोहरा भन्छन्, ‘यही विषयमा उहाँ (ध्रुवराज लुइटेल) ले साइबर ब्युरोमा पनि उजुरी हाल्नु भएको रहेछ । साइबर ब्युरोले हामीलाई खबर गरेको थियो । हामीले मिडियासँग सम्बन्धित विषय भएकाले यसबारे छानबिन गर्छौं भनेका छौँ ।”

लेखक सुमिनालाई पनि हामीले के तपाईंले त्यस्तो लेख लेख्नु भएको हो भनेर सोध्यौँ । जवाफमा उनले भनिन्, ‘मैले त्यस्तो लेख कतै लेखेकी छैन ।’

फोटोमा राखिएको टुइटर पोष्ट आफूले ७ वर्ष जति अगाडि प्रमोद रञ्जनको ‘महिषासुर एक जननायक’ किताब पढेपछि लेखेको उनले सुनाइन् ।

उनले भनिन्, “सायद ६–७ वर्ष अघि नै हुनुपर्छ भारतको ‘जेएनयु’ का विद्यार्थी र स्मृति इरानीलाई लिएर दुर्गा महिषासुर विवाद चरमरूपमा चलिरहेको प्रसङ्गमा कसैले ट्विटरमा गरेको टुइटमाथि प्रमोद रञ्जनको ‘महिषासुर एक जननायक’ पुस्तक पढेपछि ‘यसरी पनि तर्क गरिएको रहेछ’ भनेर उद्धृत गर्दै मेन्सन गरिएको एउटा अपुष्ट र अपूर्ण अंशलाई लिएर मैले स्वयं ’दुर्गा वेश्या हो’ भनेर नयाँ पत्रिकामा लेख लेखेको र त्यसबापत डलर खाने गरेको भन्ने झुटो भ्रमपूर्ण अफवाह फिँजाइएको छ ।’

सुमिनाको फोटो, उनका टुइटर पोष्टहरू र नयाँ पत्रिकाको लोगो ‘पिक्सेलकट’ नामको फोटो सम्पादन गर्ने एपबाट बनाएको देखिन्छ । नयाँ पत्रिका दैनिकले पनि सूचना जारी गरेर आफ्नो लोगो दुरुपयोग भएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register