जर्मन राजनीतिमा नयाँ मोड : मर्केलसँगको विवादले पार्टी छाडेका मर्ज चान्सलर बन्दै

हाल सरकारको नेतृत्व गरिरहेको एसपीडी पुरानो र वामपन्थी रुझान भएको प्रजातान्त्रिक समाजवादी दल हो । पहिलो र दोस्रो स्थान दक्षिणपन्थी दलले लिएपछि वामपन्थी धारका दल जर्मन राजनीतिमा फेरि एकपटक कमजोर भएका छन् ।

Feb 24, 2025 - 08:43
 0
जर्मन राजनीतिमा नयाँ मोड : मर्केलसँगको विवादले पार्टी छाडेका मर्ज चान्सलर बन्दै

काठमाडौं जर्मन नागरिकले सोमबार आएको चुनावी नतिजासँगै देशको नेतृत्व परिवर्तन गर्ने इच्छा प्रकट गरेका छन् । निर्वाचन परिणाममा सरकारको नेतृत्व गरिरहेको चान्सलर ओलाफ शोल्जको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) तेस्रो स्थानमा धकेलिएको छ । विपक्षी दल क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) पहिलो स्थानमा उक्लिएको छ ।

सिडियु कुनै नयाँ पार्टी भने हैन । यो सन् १९४५ मा स्थापित ८० वर्ष पुरानो पार्टी हो । यो स्थापना हुँदा दक्षिणपन्थी धारको दल मानिन्थ्यो । अहिले जर्मन राजनीतिमा सिडियुभन्दा पनि चरम दक्षिणपन्थी दलको उदय भइसकेको छ । जस्तो कि शनिबारको चुनावमा एएफडी उल्लेखनीय मतसहित दोस्रो स्थानमा आएको छ । एएफडीको उदयपछि सिडियुलाई ‘सेन्टर टु राइट’ मान्न थालिएको छ ।

हाल सरकारको नेतृत्व गरिरहेको एसपीडी पुरानो र वामपन्थी रुझान भएको प्रजातान्त्रिक समाजवादी दल हो । पहिलो र दोस्रो स्थान दक्षिणपन्थी दलले लिएपछि वामपन्थी धारका दल जर्मन राजनीतिमा फेरि एकपटक कमजोर भएका छन् ।

सिडियुले स्थापनायता देशलाई ५ जना चान्सलर दिइसकेको छ । पछिल्लो पटक यस दलकी एङ्गेला मर्केलले सन् २००५ देखि सन् २०२१ सम्म १६ वर्ष सरकारको नेतृत्व गरेकी थिइन । कर्मेल अघिका सिडियु नेता हेल्मुट कोलले पनि १६ वर्ष नै सरकारको नेतृत्व गरेका थिए ।

यस अर्थमा सिडियु जर्मन जनताका लागि एक परिचित पार्टी हो, जसले नाजी जर्मनीको पतन र दोस्रो विश्वयुद्धपछि सबैभन्दा धेरै देशको नेतृत्व गरेको छ ।

अर्थतन्त्रको अवस्था र आप्रवासीको चाप निर्वाचनका मुख्य मुद्दा थिए । जर्मनी अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो तथा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो । यसले युरोपेली सङ्घको अर्थतन्त्रमा एक्लै २४ प्रतिशत जीडीपी हिस्सेदारी गर्दछ । 

जर्मन राजनीतिमा अघिल्लो दशक सिडियुले उदारवादी, वामपन्थी, समाजवादी दल र ग्रीन पार्टीको चुनौती सामना गर्दथ्यो । यसपटक सन् २०१३ मा गठन भएको नयाँ दक्षिणपन्थी दल एएफडी बलियो देखिएको छ । यसको मुख्य मुद्दा भने आप्रवासनको विरोध हो । विशेषतः यसले युरोपको इस्लामीकरणको भय देखाउँछ । इस्लामिक तथा अरब देशबाट युरोपमा हुने आप्रवासनलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने धारणा राख्दछ ।

निर्वाचन नतिजाअनुसार सङ्घीय संसद्मा ६ दलले प्रतिनिधित्व गर्ने भएका छन् । सिडियु २८.५२ प्रतिशत भोट र २०८ सिटसहित पहिलो भएको छ । दोस्रो स्थानमा रहेको एएफडीले २०.८ प्रतिशत मत र १५२ सिट पाएको छ । तेस्रो स्थानमा धकेलिएको एसपीडीसँग अब १२० सिट र १६.४१ प्रतिशत मत छ ।

चौथो स्थानमा ग्रीन पार्टीले ११.६१ प्रतिशत मत र ८५ सिट पाएको छ । वामपन्थी पार्टीहरूको गठबन्धन पाँचौ स्थानमा छ । यसले ६४ सिट र ८.७७ प्रतिशत मत पाएको छ ।

सबैभन्दा ठूलो राजनीतिक नोक्सानी उदारवादी धारको एफडिपीले व्यहोरेको छ । यो दलले गत निर्वाचनमा ९१ सिट पाएको थियो भने अहिले शून्यमा झरेको छ । साथै, ५ प्रतिशतको सङ्घीय थ्रेसहोल्ड समेत भेट्न सकेको छैन ।

सिडियुको पुनरागमनसँगै फ्रेडरिक मर्ज देशको नयाँ चान्स्लर हुने देखिएको छ । यद्यपि, सिडियुसँग एक्लै सरकार गठन गर्न आवश्यक पर्ने सिट छैन । ६३० सिटको सङ्घीय संसद्मा एकल सरकार गठन गर्न ३१६ सिट चाहिन्छ ।

दोस्रो स्थानको एएफडीले एलिस विडेललाई भावी चान्सलरको उम्मेदवार घोषणा गरेको थियो । यो पार्टीले उल्लेखनीय सिट वृद्धि गरेपनि दोस्रो स्थानमा सीमित भयो । अहिले उनी सिडियुसँग मिलेर सरकार गठन गर्न इच्छुक देखिएकी छन् । वैचारिक दृष्टिले दुई ठूला दक्षिणपन्थी दलको सरकार स्वाभाविक र बलियो हुने विडेलको भनाइ छ ।

तर, सिडियु भने एएफडीसँग गठबन्धनका लागि इच्छुक छैन । सिडियुका नेताहरू एएफडीका फासीवादी विचारसँग असहमति राख्छन् । यद्यपि यि दुई दल मिलेर सरकार बनेमा जर्मन राजनीति वैचारिक आधारमा ध्रुवीकृत हुने छ । दक्षिणपन्थीले सरकारको नेतृत्व गर्ने छन् भने वामपन्थी र समाजवादी दलहरू बलियो प्रतिपक्ष बन्ने छन् ।

सिडियुका नयाँ नेता फ्रेडरिक मर्जको राजनीतिक सङ्घर्षको कथा उत्तिकै रोचक छ । उनी पार्टीमा एङ्गेला मर्केलका मुख्य प्रतिस्पर्धी मानिन्थे । तर, जब एक उज्ज्वल नक्षेत्रका रुपमा मर्केलको उदय भयो र उनी लामो समय पार्टी र सरकारको नेतृत्वमा रहिन, मर्ज राजनीतिक करिअर छोडेर व्यक्तिगत जीवनमा फर्किएका थिए ।

उनी पुनश्च: पार्टी राजनीतिमा फर्किए जब मर्केलको बहिर्गमनको समय नजिक हुँदै थियो । ६९ वर्षिय मर्जले पहिलो पटक सन् १९८९ को युरोपियन संसद्को निर्वाचन जितेका थिए । र, सन् १९९४ मा उनी सङ्घीय संसदको सदस्य निर्वाचित भएका थिए । पार्टीभित्र मर्केलसँगको प्रतिस्पर्धाले असहजता सृजना गरेपछि उनी लामो समय व्यक्तिगत पेशा व्यवसायमा सीमित भएका थिए ।

उनी लामो समयपछि सन् २०१८ मा पार्टीमा फर्किए । उनले मर्केलपछिको युगको नेतृत्व गर्ने, पार्टीलाई पुनर्जीवन दिने र चरम दक्षिणपन्थीहरूको चुनौती सामना गर्ने वाचा गरेका थिए । उनी सन् २०२१ को चुनावमा पुन: संसद्मा निर्वाचित भए भने सन् २०२२ को अन्तरपार्टी प्रतिस्पर्धामा नेता निर्वाचित भए ।

मर्जसँग कुनै राजकीय पदको अनुभव छैन । पार्टी लामो समय सत्तामा रहे पनि उनी एङ्गेला मर्केल युगमा मन्त्री हुन चाहेनन् । 

जर्मन अर्थतन्त्रमा यतिखेर मध्यम वर्गको आय सङ्कटबारे सबैभन्दा ठूलो बहस छ । मध्यम वर्गीय परिवारको आय घटेको र पारिवारिक विघटनको सामना गर्नु परेको गुनासो बढ्दो छ । मर्ज एक व्यवसायी पनि हुन् । अर्थतन्त्रमा मध्यम वर्ग र उद्यमशीलताको भूमिकालाई उनले राम्ररी बुझ्न सक्ने छन् भन्ने मतदाताको अपेक्षा देखिन्छ । उनले शिथिल हुँदै गएको आर्थिक वृद्धिलाई पुनर्स्थापित गर्ने वाचा गरेका छन् ।

निर्वाचनमा एएफडीले जितोस् भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि चाहना थियो । उपराष्ट्रपति जेडी भान्सइलोन मस्कले त खुलेरै एएफडी र यसकी नेतृ विडेलको प्रचार गरेका थिए । विडेल अमेरिका र ट्रम्पका लागि सबैभन्दा कम्फर्टेबल चान्सलर हुने थिइन होला तर, समाजवादी ओलाफ शोल्जभन्दा फ्रेडरिक मर्ज बढी सहज हुन सक्ने छन् ।

युक्रेन युद्ध र रुससँगको सम्बन्धबारे ट्रम्पका पछिल्ला धारणा र प्रयास मर्जका लागि के कति स्वीकार्य हुने हुन्, यो अर्को महत्त्वपूर्ण प्रश्न बन्ने छ । जर्मनीका नीतिको प्रभाव युरोपियन युनियन र समग्र युरोपमाथि पर्ने छ । मर्जले नेटो, इयु र अमेरिकाबीचको सम्बन्ध बनाइ राख्न मात्र हैन, रुस, चीन, फ्रान्स, बेलायत र पूर्वी युरोपसँगको सम्बन्धलाई पनि सन्तुलन गर्न सक्नुपर्ने छ ।

सिडियु युरोपको नेतृत्व जर्मनीले लिनु पर्ने महत्वाकाङ्क्षा राख्ने पार्टी हो । शोल्जको नेतृत्वमा भएको तीन वामपन्थी पार्टीको गठबन्धन सरकार यस्तो धारणामा विश्वास गर्दैनथ्यो । चुनावी भाषणको क्रममा मर्जले युरोप अमेरिकी निर्भरताबाट बाहिर निस्कनु र आफैँ सबल हुनुपर्ने धारणा राख्ने गर्दथे ।

युक्रेनलाई सहयोग गर्नुपर्ने स्थितिका बाबजुद जर्मनीले रुससँगको परम्परागत सम्बन्धलाई बिगार्न भने सक्ने छैन ।

(द न्युओर्क टाइम्सको सहयोगमा)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register