महाकुम्भको अद्भूत यात्रा

महाकुम्भ जाने योजना तय भएसँगै मेरो मनमा अनेक भाव आए । हर्ष, उत्साह र जिज्ञासाका भावहरू मनभरी खेल्न थाले । महाकुम्भ यात्र मेरा लागि धार्मिक यात्रा मात्र थिएन, १४४ वर्षपछि आएको यो अवसर नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई नजिकबाट नियाल्ने अवसर पनि थियो । फागुन ९ गते हामी काठमाडौंबाट हवाई मार्गहुँदै भैरहवा पुग्यौं । त्यहाँबाट सुनौली नाका […]

Feb 25, 2025 - 14:38
 0
महाकुम्भको अद्भूत यात्रा

महाकुम्भ जाने योजना तय भएसँगै मेरो मनमा अनेक भाव आए । हर्ष, उत्साह र जिज्ञासाका भावहरू मनभरी खेल्न थाले ।

महाकुम्भ यात्र मेरा लागि धार्मिक यात्रा मात्र थिएन, १४४ वर्षपछि आएको यो अवसर नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई नजिकबाट नियाल्ने अवसर पनि थियो ।

फागुन ९ गते हामी काठमाडौंबाट हवाई मार्गहुँदै भैरहवा पुग्यौं । त्यहाँबाट सुनौली नाका पार गर्दै बिहान ५ बजे उत्तर प्रदेशको गोरखपुरतर्फ हिड्यौं । गोरखपुरबाट सुरु भयो प्रयागराजतर्फको हाम्रो यात्रा ।

कुम्भमय उत्तर प्रदेश

महाकुम्भ केवल प्रयागराजको त्रिवेणी सङ्गममा सीमित थिएन । पूरै उत्तर प्रदेश नै कुम्भमय बनेको थियो । उत्तर प्रदेश मात्र के भन्नु, महाकुम्भको यो लहर नेपालसम्मै पुगेको छ । मेलाको भव्यता र सांस्कृतिक महत्वले यसपटकको महाकुम्भलाई धार्मिक मात्र नभई सांस्कृतिक एवं पर्यटकीय महोत्सवको रूपमा प्रस्तुत गरेको छ ।

उत्तर प्रदेशका सानादेखि ठूला शहरभरी महाकुम्भका ब्यानर, पोस्टर देखिन्छन् । सडक र बजार सबैतिर झिलिमिली बत्ती सजाएर उत्तर प्रदेशको माहोल नै कुम्भमय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका तस्वीरहरू राखिएका पोस्टरहरूले महाकुम्भ मेलाको प्रचार मात्र गरेका थिएनन, महाकुम्भका करोडौं तिर्थ यात्रीलाई स्वागत पनि गरेका छन् । यी पोष्टरले भारत सरकारले महाकुम्भलाई दिएको महत्व कति छ भनेर पनि बुझाए ।

राजमार्गदेखि शहरका मुख्य चोकहरूसम्म ‘महाकुम्भ २०२५ आपका स्वागत है’ लेखिएका ब्यानरहरू टाँसिएका थिए । धार्मिक प्रतीकहरूले सजिएका गेटहरू र चहकीला बत्तीहरूले उत्तर प्रदेशको शहरी सौन्दर्यमा चारचाँद थपेको थियो ।

सडक किनारमा रहेका ढावाहरूसमेत महाकुम्भका लागि तयार भएका थिए । तिर्थयात्रीको सहजताका लागि सडक किनारका प्रायः सबै ढावाहरूमा शुद्ध शाकाहारी परिकार मात्र उपलब्ध थियो ।

ढावाहरू सफा चिटिक्क थिए । प्राय सबै ढावामा भजन गुञ्जिरहेको हुन्थ्यो । यो माहोलले म जस्ता तीर्थयात्रीहरूलाई शान्ति र आन्तरिक शुद्धताको अनुभूति दिलायो ।

तिर्थ यात्रामा हिडेका र फर्किएका सबैजसो व्यक्ति उत्साहित र हर्षित देखिन्थे । तीर्थयात्रीहरू र स्थानीय मानिसहरूबीच हुने अधिकांश संवादमा महाकुम्भ र यसको सांस्कृतिक महत्वको चर्चा हुन्थ्यो ।

कसैका लागि, यो केवल धार्मिक यात्रा मात्र थियो भने, कसैका लागी यो एक सांस्कृतिक अनुभव थियो । केही तीर्थयात्रीहरू मट्का चिया पिउँदै रमाइरहेका थिए भने, केही लिट्टी चोखा र पानि पुरीको स्वाद लिईरहेका थिए । तात्तातो छोला भटुरे, मिल्क शेक, र आइसक्रिमको स्वादले तीर्थयात्रीहरूलाई आकर्षित गरिरहेको थियो । यी स्वादिष्ट परिकारहरूले यात्राको अनुभवलाई अझ विशेष बनाए ।

यस्तो लाग्थ्यो सम्पूर्ण उत्तर प्रदेशमा कुम्भमय उर्जा थापियको थियो । यो उर्जाले धार्मिक मात्र नभइ, सांस्कृतिक र पर्यटकीय अनुभूति समेत दिलायो । हामी उत्तर प्रदेशका विभिन्न शहरको बाटो हुँदै बेलुका करिब ६ बजे प्रयागराज पुग्यौं ।

महाकुम्भको आध्यात्मिक ऊर्जा र पवित्र स्नान

महाकुम्भ मेलामा सहभागी हुन पाउनु मेरो जीवनको एक अविस्मरणीय अनुभव थियो । यो यात्राले मलाई धार्मिक, सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक रुपमा समृद्ध बनाएको महसूस भयो ।

प्रयागराज पुगेको पछिल्लो दिन बिहान ३ बजे उठेर हामी त्रिवेणी संगममा स्नान गर्न भनेर हिड्यौं । झिसमिसेमै त्रिवेणी संगममा पुगे पनि सूर्योदय नभइकन स्नानका लागि संगममा प्रवेश पाइएन । तिर्थयात्रीको सुरक्षाका लागि भनेर सूर्योदय पश्चात मात्र स्नान गर्न पाउने व्यवस्था गरिएको थियो ।

डुंगा स्टेशनमा लगभग एक घण्टा हामीले सूर्योदयको प्रतिक्षा गर्यौं । जसै सूर्यको पहिलो किरण त्रिवेणीमा पर्यो तिर्थयात्रीहरू स्नान गर्न तछाड–मछाड गर्न थालिहाले । तर, म भने किनारामा उभिएर त्रिवेणीमाथि उदाएको कलिलो घाम हेर्न थालेँ ।

पालो आएपछि हामी डुंगा चढ्यौं । डुंगा चालकले हामीलाई त्रिवेणी सङ्गमको ऐतिहासिक र धार्मिक महत्वबारे लामै प्रवचन दिए । डुंगा खियाउँदै उनले हामीलाई सुनाए, ‘यस स्थानलाई हिन्दू धर्ममा अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ भगवान ब्रह्माले ब्रह्माण्डको सृष्टि गरेपछि पहिलो यज्ञ गरेका थिए । यस स्थानमा भगवान रामले पनि आफ्नो वनवासको समयमा पूजा गरेका थिए । यसलाई अमृतको स्थान पनि भनिन्छ, जहाँ देवताहरू र राक्षसहरूबिच अमृतका लागि युद्ध हुँदा केही थोपा अमृत पोखिएको थियो ।’

त्रिवेणीमा डुबुल्की लगाईरहँदा चारैतिर मान्छेहरु ‘हर हर गंगे’, ‘जय श्रीराम’, ‘जय भोले बाबा, हर हर महादेव’को पुकार लगाइरहेका थिए । यी पुकारले मेरो आत्मालाई शान्ति र आध्यात्मिक ऊर्जा प्रदान गरेको महसूस गरेँ, मैले । यी पुकारले मेरो आत्मा शुद्धि गरे झैँ लाग्यो । त्रिवेणीमा डुबुल्की मारेपछि शरीर र आत्मा शुद्ध भएको महसूस भयो ।

जल र जमिन दुवैमा कडा सुरक्षा

महाकुम्भ मेलाको विशाल भीड व्यवस्थापन गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो । तर, यस पटकको मेलामा भारतीय सुरक्षाकर्मी, उत्तर प्रदेश प्रहरी, अर्धसैनिक बल, जल प्रहरीको विशेष संयोजनले सुरक्षा व्यवस्थालाई निकै मजबुत बनाएको देखियो । मेला स्थलभरी सुरक्षाकर्मीको कडा पहरा थियो । पानीभित्र र आकाशबाट समेत ड्रोनहरुले सुरक्षा दिइरहेका थिए ।

सङ्गम क्षेत्रमा जल प्रहरी तथा विशेष गोताखोर टोलीहरू सक्रिय रूपमा तैनाथ थिए । डुङ्गामा यात्रा गर्ने तीर्थयात्रीहरूका लागि अनिवार्य रूपमा लाइफ ज्याकेटको व्यवस्था गरिएको थियो । भीड नियन्त्रण गर्न विभिन्न स्थानहरूमा चेक पोइन्टहरू थिए । पार्कीङको सुविधा पनि विशाल थियो । रातमा पनि सुरक्षा व्यवस्था चुस्त राख्नका लागि महाकुम्भ क्षेत्रभरी बत्तीहरू जडान गरिएका थिए ।

भारत सरकारको विशेष आग्रहमा यसपटक गुगलले महाकुम्भ आयोजना भइरहेको ४ हजार हेक्टर क्षेत्रफलका विभिन्न घाट, मन्दिर, अखाडा, शिविर, संगम र स्नानस्थल, शौचालयजस्ता अस्थायी स्थानहरू देखाउने गरी नक्सा तयार पारेको थियो ।

करोडौं तीर्थालुको सुरक्षाका लागि अनुहार पहिचान गर्नसक्ने यान्त्रिक बौद्धिकता जडित क्यामेराहरू राखिएका छन् । चौबिसै घण्टा चल्ने एआई प्रविधि जडित १८ सय क्यामेराले कुन क्षेत्रमा भीड बढी छ र कुन क्षेत्रमा भीड कम छ भन्ने पत्ता लगाउँदारहेछन् ।

तीर्थालुहरू नदीमा सुरक्षित रहून् भनेर जियो–ट्यागिङ र जिपिएसमा आधारित नदीको पानीको स्तर निगरानी गर्ने यन्त्रहरू राखिएका छन् । पानीभित्र पनि निगरानी गर्नसक्ने ड्रोनहरू चौबिसै घण्टा उडाइएका छन् ।

महाकुम्भ मेलामा क्युआर कोडमा आधारित रेल टिकट, ड्रोनमार्फत निगरानी र एआई पार्किङजस्ता प्रविधिहरू राखिएको छ । यसपटकको महाकुम्भमा प्रयोग गरिएका प्रविधि यसअघि कहिल्यै प्रयोग भएका थिएनन् । नुहाउने क्रममा कुनै भक्त पानीमा डुबेमा ड्रोनसहितको लाइफ सेभर डुङ्गामार्फत उद्धार गरिने प्रविधि राखिएको छ ।

महाकुम्भ केवल धार्मिक स्नानको लागि मात्र नभई भारतीय संस्कृति तथा परम्परालाई नजिकबाट बुझ्ने उत्कृष्ट अवसर पनि हो । मेला क्षेत्रमा विभिन्न लोकनृत्य, पारम्परिक सङ्गीत, धार्मिक झाँकीहरू तथा हस्तकलाका स्टलहरू राखिएका थिए, जसले मेलालाई झन् जीवन्त बनाएका थिए ।

मेलामा पाइने विशेष परिकारहरू—पञ्चामृत, पेडा, चाट, तथा विभिन्न प्रकारका प्रसादहरूले भारतीय खानपान संस्कृतिलाई अझै नजिकबाट बुझ्ने अवसर प्रदान गरे ।

नेपाली तीर्थयात्रीहरूको अनुभव

नेपाल र भारतबीच धार्मिक एवं सांस्कृतिक सम्बन्ध हजारौँ वर्षदेखि अटुट रूपमा रहिआएको छ । नेपालबाट हरेक वर्ष हजारौँ तीर्थयात्री महाकुम्भ मेलामा सहभागी हुने गर्छन् । यस पटकको महाकुम्भमा पनि नेपाली साधु–सन्तहरूको सहभागिता उच्च रहेको देखियो ।

उत्तर प्रदेश सरकारले नेपाली तीर्थयात्रीहरूलाई विशेष सुविधाहरू उपलब्ध गराएको अनुभव गरियो । सीमामा यातायात व्यवस्थापनदेखि लिएर, तीर्थयात्राको सहजीकरणसम्म विभिन्न पहलहरू गरिएको थियो ।

महाकुम्भ मेला भर्न गएका नेपाली तीर्थयात्रीसँग पनि मैले कुराकानी गरेँ । अधिकांश तिर्थयात्रीले आध्यात्मिक उर्जा प्राप्त गरेको अनुभव सुनाए । एक तीर्थयात्रीले भने, ‘यहाँ आइसकेपछि हाम्रो धर्म र परम्पराको जरा कति बलियो रहेछ भन्ने थाह भयो । यस मेलाले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको छ । हाम्रो आध्यातिमक र सनातनी पहिचानलाई संसारसामु पुर्‍याएको छ ।’

नेपालका विभिन्न स्थानबाट तीर्थयात्रीहरूले आफ्नो अनुकुलताका मार्गहरू प्रयोग गरेर महाकुम्भसम्म पुग्ने गरेको पाइयो । यो महाकुम्भमा नेपाली युवाहरूको पनि उल्लेख्य मात्रामा सहभागी भएका देखिए ।

विशेष गरी नेपाली संस्कृतिसँग मिल्दोजुल्दो हिन्दू परम्परा र संस्कृतिका विभिन्न झलकहरू देख्न पाइयो ।

यो महाकुम्भ स्नानका क्रममा यसको व्यवस्थापन गरिरहेका उत्तर प्रदेश पर्यटन विभागका अधिकारी विनोद सिंहसँग पनि कुराकानी गर्ने मौका मिल्यो । उनले नेपालका धार्मिक स्थलहरूसँग पनि आफ्नो विषेश लगाव भएको सुनाउँदै भने, ‘यस प्रकारका धार्मिक मेलाले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गर्न सकिन्छ । किनभने यसपटक महाकुम्भमा लाखौं नेपालीहरू आएका छन् ।’

महाकुम्भ केवल एउटा धार्मिक मेला होइन, यो मानव सभ्यताको एक अद्भूत सङ्गम हो । संयुक्त राष्ट्रसङ्घले महाकुम्भलाई मानवजातिको ‘अमूर्त सम्पदा’को मान्यता दिएको छ । यो अमुर्त सम्पदाको एक हिस्सा हुन पाउनु ऐतिहासिक अनुभव हो । ज–जसले महाकुम्भमा सहभागी हुने अवसर पाउनुभयो तपाईं भाग्यमानी हुनुहुन्छ । जसले पाउनुभएन अर्को पटकलाई पर्खनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register