सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं । सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाकाअनुसार घटनामा कम्तीमा १० जना घाइते भएको छ । सेनासम्बद्ध स्वास्थ्य मन्त्रालयले भने विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा […]

Feb 26, 2025 - 10:28
 0
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं । सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

खार्तुमको राज्य सञ्चालित समाचार संस्थाकाअनुसार घटनामा कम्तीमा १० जना घाइते भएको छ ।

सेनासम्बद्ध स्वास्थ्य मन्त्रालयले भने विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एअर बेस नजिकै मङ्गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो ।

सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाले सङ्ख्या उल्लेख नगरिकन ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन् । दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ ।”

आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पुर्‍याएको मन्त्रालयले जनाएको छ । घटनामा परी कम्तीमा १० जना घाइते भएको बताइएको छ ।

एक सैन्य स्रोतकाअनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी रहेको थियो । “विमानमा प्रविधिक खराबीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी मिलेको छ,” आफूले पाएको तर आफू सञ्चारमाध्यमसँग कुरा गर्ने अख्तियार प्राप्त व्यक्ति नभएकोले नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले एएफपीसँग भने ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमाण्डर मोहम्मद हमादान डग्लोबीच करिब दुई वर्ष लामो द्वन्द्वमा यी घटनाले तीव्रता पाएका छन् ।

संयुक्त राष्ट्रसङ्घले सुडानलाई विश्वकै सबैभन्दा खराब मानवीय विपत्तिको रुपमा व्याख्या गरेको द्वन्द्वमा यी दुई नेता प्रतिद्वन्द्वी बनेका छन्, जसका कारण दशौं हजार मानिसको ज्यान गएको छ ।

यस लडाइँले खार्तुम र अन्य प्रमुख शहरहरू तहसनहस पारेको छ, लाखौँ मानिसहरू विस्थापित भएका छन् र महत्त्वपूर्ण पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् । मध्य सुडान र राजधानीमा हालै सेनाले नियन्त्रण लिने प्रयासमा प्रगति भएको तर द्वन्द्व समाधानको कुनै सङ्केत देखिएको छैन । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register