काठमाडौंलाई विश्वकै प्रदूषित सहर यसकारण भन्न मिल्दैन

काठमाडौं । हिउँद सुरु भएसँगै काठमाडौंको हावा प्रदूषित हुन थाल्छ । ‘काठमाडौं विश्वकै प्रदूषित सहर’ लेखिएका पोस्टहरू सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन् । नेपालमा वायू प्रदूषण मापन गर्ने आधिकारिक निकाय हो, वातावरण विभाग । विभागले देशभरमा ३० वटा स्थानबाट हावाको गुणस्तर मापन गर्छ । काठमाडौं उपत्यकामा मात्र वायू प्रदूषण मापन गर्ने ६ वटा स्टेसन छन् । […]

Feb 27, 2025 - 13:40
 0
काठमाडौंलाई विश्वकै प्रदूषित सहर यसकारण भन्न मिल्दैन

काठमाडौं । हिउँद सुरु भएसँगै काठमाडौंको हावा प्रदूषित हुन थाल्छ । ‘काठमाडौं विश्वकै प्रदूषित सहर’ लेखिएका पोस्टहरू सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन् ।

नेपालमा वायू प्रदूषण मापन गर्ने आधिकारिक निकाय हो, वातावरण विभाग । विभागले देशभरमा ३० वटा स्थानबाट हावाको गुणस्तर मापन गर्छ । काठमाडौं उपत्यकामा मात्र वायू प्रदूषण मापन गर्ने ६ वटा स्टेसन छन् । शंङ्खपार्क, भैंसेपाटी, खुमलटार, भक्तपुर, कीर्तिपुर र रत्नपार्क ।

हावामा हुने हानिकारक तत्त्वहरूको मापनका विभिन्न विधि छन् । सबैभन्दा प्रचलित  छ, PM 2.5 ।  मानव स्वास्थ्यमा पार्ने असर देखाउन यो मानक प्रयोग हुन्छ ।  हावामा 2.5 माइक्रोन र यसभन्दा साना  कणको  मात्रालाई यसले दर्साउँछ ।

PM 2.5  मा गणना हुने कण मान्छेको रौँभन्दा ३० गुणा साना हुन्छन् । यी कण श्वासप्रश्वासमार्फत सहजै फोक्सो र रगतसम्म पुग्छन् । त्यसैले वातावरण विभागले वायू गुणस्तर सूचकाङ्क (Air Quality Index – AQI) बनाएको छ । AQI अनुसार हावामा प्रदूषणको मात्रा १०० भन्दा माथि भएमा यसलाई मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

कुन वर्ष कति दिन थिए विषाक्त हावा ? (सन् २०१६ देखि सन् २०२३ को विवरण )

विभागको तथ्याङ्क अनुसार सन् २०१६ को अगस्टदेखि डिसेम्बरसम्म पाँच महिनामा १६ दिन प्रदूषित हावा थियो ।  सन् २०१६ का पाँच महिनामा १६ दिनको हावा विषाक्त थियो । प्रदूषणले आक्रान्त बनाएपछि यही समयमा काठमाडौंमा युवाहरूले ‘मास्कमाण्डु’ अभियान सुरु गरेका थिए ।

वातावरण विभागको तथ्याङ्कअनुसार सन् २०१७ का ३६५ दिनमध्ये ६ दिनको हावा प्रदूषित थियो । सन् २०१८ का ३६५ दिनमध्ये १७ दिन हावा प्रदूषित थियो । अर्थात्, १७ दिन काठमाडौंको AQI १०० भन्दा माथि पुगेको थियो । विभागको तथ्याङ्कले सन् २०१९ मा तुलनात्मक रूपमा हावा कम प्रदूषित देखाएको छ । २०१९ मा चार दिन मात्रै काठमाडौंको हावा प्रदूषित थियो ।

सन् २०२० मा  हावा प्रदूषणको स्तर पुन: उकालो लाग्यो । विभागका अनुसार त्यस वर्ष १५ दिन हावा प्रदूषित थियो । सन् २०२१ मा वायू प्रदूषणको स्तर ह्वात्तै बढ्यो । सन् २०२१ मा १५३ दिन काठमाडौंको हावा अति प्रदूषित थियो । त्यस वर्ष काठमाडौंमा चार दिन विद्यालय बन्द भएका थिए ।

विभागको तथ्याङ्कले सन् २०२२ मा ६२ दिन हावामा प्रदूषण देखाएको छ । सन् २०२३ मा फेरि प्रदूषण मात्रा बढ्यो । यस वर्ष काठमाडौंले १३० दिन दुषित हावा व्यहोर्‍यो । सन् २०२३ का मार्च र अप्रिल दुई महिनामा तुलनात्मक रूपमा प्रदूषण बढ्यो । अरू महिनाहरू पनि तुलनात्मक रूपमा प्रदूषणको औसत मात्रा बढी देखिन्छ । सन् २०२४ को तथ्याङ्कलाई भने विभागले अझै केलाउँदै छ ।

किन हुन्छ हावा प्रदूषित ?

वातावरण विभागका अनुसार मंसिरदेखि जेठसम्म काठमाडौंको हावा प्राय प्रदूषित हुन्छ । विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने भन्छन्, ‘मंसिरदेखि फागुनसम्मका हिउँदका महिनामा पानी परेन भने सुख्खा माैसमका कारण चैतदेखि डढेलो लाग्न थाल्छ र प्रदूषणको मात्रा बढ्छ ।’

यस बाहेक काठमाडौं उपत्यकामा प्रदूषणको नियमित कारक हुन् उद्योगबाट निस्कने धुवाँ र सवारी साधन । यसका साथै कृषिजन्य अवशेषमा आगो लगाउँदा पनि प्रदूषणको मात्रा बढ्छ । लामिछाने भन्छन्, ‘हिउँदे वर्षा कम भएको बेला सामान्यतया प्रदूषण बढ्छ । हिउँदे वर्षा कम भएकै कारण चैत-वैशाखमा डढेलो पनि बढी लाग्छ र प्रदूषण हुन्छ ।’

कहिलेकाहीँ भारतबाट आउने हावाले पनि काठमाडौं उपत्यकाको वायू प्रदूषण बढाउँछ । भारतको हरियाणा र पञ्जाबमा किसानहरूले कृषि अवशेषमा आगो लगाउँदा निस्केको धुवाँलाई हावाले उडाएर काठमाडौंसम्म ल्याइपुर्‍याउँछ । सन् २०२२ मा यही कारणले गर्दा काठमाडौंको प्रदूषण बढेको थियो ।

लामिछाने सुनाउँछन्, ‘उद्योग र सवारी साधन जस्ता नियमित प्रदूषणका स्रोतमाथि कृषिजन्य अवशेष र डढेलोको प्रदूषण थपिन्छ । अनि कहिलेकाहीँ देश बाहिरबाट पनि यस्तो हावा आउँछ र प्रदूषणको मात्रा बढ्छ ।’

विभागको अध्ययन अनुसार काठमाडौं उपत्यकामा बिहान ७ देखि ९ र साँझ ७ देखि ९ बजेको बिचमा प्रदूषणको मात्रा बढी हुन्छ ।

त्यसो भए के काठमाडौं विश्वकै प्रदूषित सहर हो त ?

यसको जवाफ हो र होइनमा छैन । किनभने हावामा हुने प्रदूषण स्थान र समय फरक–फरक हुन्छ । जस्तो कि काठमाडौंमा बिहान र बेलुका प्रदूषणको मात्रा बढी देखिन्छ ।

विभागको विवरण अनुसार २०७७ को पुसदेखि चैतसम्मको हावा निकै प्रदूषित थियो । त्यतिखेर विभागले विज्ञप्ति नै निकालेर अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन भनेको थियो । यस बाहेक २०७९ को चैतमा हावामा प्रदूषणको मात्रा अत्यधिक बढेपछि सरकारले चार दिनका लागि विद्यालय नै बन्द गरेको थियो ।

विभिन्न सहर र मौसमअनुसार वायू प्रदूषणका स्रोत र यसको तीव्रता फरक हुन्छ । हाल ११७ देशका ६,००० भन्दा बढी सहरहरूले वायूको गुणस्तर निगरानी गर्ने गर्छन् । र, अधिकांश मौसमसम्बन्धी जानकारी दिने मोबाइल एपहरूमा हावाको गुणस्तरसम्बन्धी जानकारी उपलब्ध हुन्छ । तर, यी एपमा देखाउने तथ्याङ्क हेरेर हावाको प्रदूषणको स्थिति बुझ्न सबैलाई सजिलो छैन ।

त्यसैले धेरै देशहरूले वायू गुणस्तर सूचकाङ्क (AQI) अपनाएका छन् । नेपालले पनि यस्तो सूचकाङ्क बनाएको छ । यसले सङ्ख्यात्मक रूपमा हावाको गुणस्तर देखाउँछ । जति धेरै सङ्ख्या हुन्छ, उति हावाको गुणस्तर खराब हुन्छ । तर, देशअनुसार हावाको गुणस्तरको मापदण्ड फरक छ । तसर्थ, काठमाडौं विश्वकै प्रदूषित सहर हो भन्न मिल्दैन ।

लामिछाने भन्छन्, ‘जस्तो कुनै बेला काठमाडौ एक नम्बरमा र दिल्ली १० नम्बरमा रहेको भनिन्छ । तर, काठमाडौंको AQI भन्दा दिल्लीको बढी हुन्छ ।’

समय र मौसम अनुसार प्रदूषणको तह फरक हुने बताउँदै लामिछाने भन्छन्, ‘पृथ्वी त गोलो छ, यहाँ घाम लागेको बेला अर्को ठाउँमा साँझ वा रात परेको हुन्छ । अब हामी तुलना गर्दा घाम लागेको ठाउँको प्रदूषणको तह र रात परेको ठाउँको प्रदूषणको तहबीच गर्ने गर्छौ । यस्तो गर्नु वैधानिक होइन । किनभने, वायू प्रदूषणको मात्रामा दिन र रातले पनि फरक पार्छ ।’

लामिछाने अगाडि भन्छन्, ‘त्यसैले विश्वकै एक नम्बर प्रदूषित सहरभन्दा पनि काठमाडौंको प्रदूषणको स्तर यति छ भन्नु वैधानिक र उपयुक्त हुन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register