विद्युत् प्राधिकरणको प्राथमिकतामा ‘पम्प स्टोरेज’ जलविद्युत आयोजना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देश भरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरूको पहिचान गरेको थियो । त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरू छनोट  र स्तरीकरण गरिएको […]

Mar 2, 2025 - 09:49
 0
विद्युत् प्राधिकरणको प्राथमिकतामा ‘पम्प स्टोरेज’ जलविद्युत आयोजना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ ।

प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देश भरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरूको पहिचान गरेको थियो । त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरू छनोट  र स्तरीकरण गरिएको छ ।

रुकुम (पश्चिम)स्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।

काठमाडौं उपत्यकाका एवम् विद्युत् भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आयोजना विकास विभागले हाल आयोजनाको डेक्स अध्ययन गरिरहेको छ । आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मि. अग्लो बाँध बनाई दुई वटा जलाशय निर्माण गरिने छ । विद्युत्‌गृह मोवा खोलामा रहनेछ ।

हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादनपछि मोवा खोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसालिने छ ।

आयोजनालाई विद्युत्‌को बढी माग हुने समय (पिक)मा ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ ।

पम्प स्टोरेज आयोजनाहरूमा विद्युत्‌को न्यूनतम माग भएको (अफ पिक) अथवा ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ ।

यसरी, भण्डार गरिएको पानीलाई पीक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । विद्युत् प्रणाली स्थिरता, पीक डिमान्ड एवम् खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्त्वपूर्ण मानिन्छ ।

अफ पीक समयमा पम्प गरी भण्डारण गरिएको पानीको प्रयोगमार्फत पीक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रूपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पीकमा महङ्गोमा बिक्री गर्न सकिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभागका निर्देशक नसिबमान प्रधानलगायतको टोलीले शनिबार  धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाको जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले भौगोलिक अवस्थिति, वातावरणीय तथा सामाजिक अवस्था, उक्त स्थलसम्म पुग्न आवश्यक पहुँच पूर्वाधारको सुगमता, उत्पादित विद्युत् प्रवाहका लागि प्रसारण लाइनको उपलब्धता, र विद्युत् भार केन्द्रभन्दा नजिक रहेकाले प्रारम्भिक अध्ययनबाट अन्य आयोजनाहरूको तुलनामा हुलिङटार–दुकिम आयोजना निर्माणका लागि आकर्षक देखिएको बताए ।

आयोजनालाई पहिलो चरणमा करिब ५१० मेगावाटमा निर्माण गर्ने र क्रमशः बढाउँदै पूर्ण क्षमताको बनाउन सकिने उल्लेख गर्दै उनले भने,‘यो आयोजना निर्माणलाई प्राथमिकतामा राखी सर्वेक्षण अनुमति पत्र लिने प्रक्रिया तत्काल अगाडि बढाइने छ ।’

आयोजनाबाट वार्षिक रूपमा करिब ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाको प्रति मेगावाट लागत करिब ५ लाख ८७ हजार अमेरिकी डलर (करिब ७ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register