त्रिवि मैदानमा फ्लडलाइट जडानको डेडलाइन नजिकिँदा सम्झौतामा अलमल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविमा फ्लडलाइट जडानको लागि दिएको डेडलाइन नजिकिए पनि निर्माण सम्झौतामा अलमल भएको छ । प्रधानमन्त्री ओलीले बैशाख २० गतेभित्र दिएको समयसीमा नजिकिए पनि निर्माण सम्झौतामा अलमल भएको हो । फागुन २६ गतेभित्र सम्झौता गरिसक्नुपर्नेमा त्यस प्रक्रियामा ढिलासुस्ती भइरहेको छ । फ्लडलाइट र प्यारापेटका लागि शहरी विकास मन्त्रालयले विस्तृत आयोजना […]

Mar 3, 2025 - 09:54
 0
त्रिवि मैदानमा फ्लडलाइट जडानको डेडलाइन नजिकिँदा सम्झौतामा अलमल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविमा फ्लडलाइट जडानको लागि दिएको डेडलाइन नजिकिए पनि निर्माण सम्झौतामा अलमल भएको छ ।

प्रधानमन्त्री ओलीले बैशाख २० गतेभित्र दिएको समयसीमा नजिकिए पनि निर्माण सम्झौतामा अलमल भएको हो ।

फागुन २६ गतेभित्र सम्झौता गरिसक्नुपर्नेमा त्यस प्रक्रियामा ढिलासुस्ती भइरहेको छ । फ्लडलाइट र प्यारापेटका लागि शहरी विकास मन्त्रालयले विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गरेर ठेक्का लागि पुस ५ मा बोलपत्र आव्हान गरेको थियो । बोलपत्रबाट फल्डलाइटका लागि १ र प्यारापेटका लागि २ कम्पनीलाई निर्माण स्वीकृति दिइएको थियो ।

फ्लडलाइट जडानका लागि ललितपुरको विशन ईश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको थियो । ठेक्का स्वीकृत भएपनि शहरी विकास मन्त्रालयको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग औपचारिक सम्झौता हुन सकेको छैन । सम्झौता नहुँदा फ्लडलाइट जडानको काम अघि बढेको छैन । सम्झौताको ढिलासुस्तीले प्रधानमन्त्री ओलीले ३०० दिनभित्र निर्माण सक्न दिएको निर्देशन पूरा हुनेमा संशय छ ।

सङ्घीय सचिवाय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर चक्रवर्ती कन्थले प्रधानमन्त्रीले दिएको म्यादभित्र काम सम्पन्न गर्न फागुन २६ भित्र सम्झौता हुनैपर्ने बताए । यसका लागि निर्माण कम्पनीलाई फागुन १२ गते चिठ्ठी काटेको उनले जानकारी दिए । “हामीले फागुन १२ गते निर्माण कम्पनीलाई चिठ्ठी काटेका छौँ । बैशाख २४ भित्र जडान सम्पन्नका लागि फागुन २६ भित्र सम्झौता हुनैपर्छ ।”

सम्झौतामा ढिलासुस्ती भएपनि प्रधानमन्त्रीले दिएको समयभित्र फ्लडलाइट जडान भइसक्ने कन्थको दाबी छ । तीन सिफ्टमा काम हुने भन्दै उनले फ्लडलाइट र प्यारापेट निर्माण समयमै हुने बताए । “साइटमा हुने काम ३ सिफ्टमा नै हुन्छ । उत्पादकहरुले ल्याउने सामान पनि सोही अनुरुप आउँछ । अवधि छोटो भएपनि सोही अनुरुपले तयारी गर्नुपर्छ भनेर टेन्डरबाट कम्पनी छनोट गरेका हौँ । काम सकिने विषयमा हामी विश्वस्त छौँ,” कन्थले बताए ।

फ्लडलाइट र प्यारापेट निर्माणका यसअघिका दुई टेण्डर रद्द भइसकेको छ । त्रिवि मैदानमा प्यारापेट र फ्लडलाइट निर्माणमा ढिलासुस्ती भइरहँदा रुपन्देहीमा निजी लगानीबाट सुरु भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा फ्लडलाइट जडान सम्पन्न भएको छ । त्यसपछि सामाजिक सञ्जालमा मानिसहरुले सरकारी निकायको ढिलासुस्तीको आलोचना गरिरहेका छन् ।

एक्स्ट्राटेकमा फ्लडलाइट जडानबारे आफूलाई अवगत भएको इन्जिनियर कन्थ बताउँछन् । निजी क्षेत्रले गरेको काम सराहनीय भएको उनले बताए । सरकारले प्रकाश मापनको अन्तर्राष्ट्रिय मापदण्ड लक्सलाई ध्यानमा राखेर फ्लडलाइट जडानको तयारी गरिरहेको उनले बताए ।  “सरकारले अन्तर्राष्ट्रिय खेलेका लागि आवश्यक प्रकाशको मापदण्डमा विशेष ध्यान दिएको छ । अन्तर्राष्ट्रिय मापदण्डको पालना अनिवार्य सर्त हो ।” उनले भने ।

फ्लडलाइटलाई अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद्ले समेत स्वीकृति दिनुपर्ने भएकाले मापदण्डमा सम्झौता नगर्ने गरी निर्माण अघि बढाइने उनको भनाइ छ । प्रकाशको मापदण्ड पूरा नभए खेलनै रद्द गर्नुपर्ने परिस्थिति सृजना हुनसक्छ ।

यसकारण पनि अन्तर्राष्ट्रिय स्तरको फ्लडलाइटको मापदण्ड पूरा गर्ने योजनामा आफूहरु लागि परेको कन्थले प्रष्ट्याए । “दुवै स्थानको फ्लडलाइट जडान भएपछि कस्तो किसिमको काम भएको छ भन्ने कुरा सबैले प्रष्ट थाहा पाउने छन् । अब तुलना नै गर्ने भए काम सम्पन्न भएपछि दुवैको गुणस्तरमा ठूलो अन्तर देखिनेछ ।”

काम गर्दै जाँदा नकरात्मक टिप्पणी स्वाभाविक भएपनि ढिलासुस्ती बारेको टिप्पणीले दबाब महसुस नगरेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register