तल्लो बाटो अमेरिका पुगेको एक वर्ष नपुग्दै हत्कडीमा फर्किए आठ नेपाली

काठमाडौं । गैर कानुनी रूपमा अमेरिकामा बस्दै आएका ९ जना बुधवार नेपाल फर्किएका छन् । ९ मध्ये आठ जना अमेरिकी विमानमै नेपाल फर्काइए भने एक महिला व्यवसायिक उडानबाटै नेपाल आइपुगिन् । प्रहरीले सोधपूछ गर्दा ती मध्ये आठ जनालाई नेपाल फर्किनका लागि म्याद दिए पनि अटेर गर्दा चार्टर विमानमा हत्कडी लगाएर पठाइएको पाएको छ । मानव […]

Mar 5, 2025 - 13:44
 0
तल्लो बाटो अमेरिका पुगेको एक वर्ष नपुग्दै हत्कडीमा फर्किए आठ नेपाली

काठमाडौं । गैर कानुनी रूपमा अमेरिकामा बस्दै आएका ९ जना बुधवार नेपाल फर्किएका छन् । ९ मध्ये आठ जना अमेरिकी विमानमै नेपाल फर्काइए भने एक महिला व्यवसायिक उडानबाटै नेपाल आइपुगिन् । प्रहरीले सोधपूछ गर्दा ती मध्ये आठ जनालाई नेपाल फर्किनका लागि म्याद दिए पनि अटेर गर्दा चार्टर विमानमा हत्कडी लगाएर पठाइएको पाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले फर्किएका आठ जनाले नेपाल जान दिएको म्याद बारम्बार अटेर गरेपछि गर्दै हत्कडी लगाएर फर्काइएको जानकारी दिएको नेपालभ्युजलाई बताए । ‘अमेरिकी विमानमा आएका आठ जनालाई नेपाल फर्किन म्याद दिइएको रहेछ । उनीहरूले अटेर गर्दा चार्टर फ्लाइटमा पठाइएको पाइयो,’ उनले भने

एक जना महिला भने व्यावसायिक उडानमार्फतै नेपाल फर्किएको उनले जानकारी दिए । ‘एक जना महिला भने समय सीमाभित्रै व्यावसायिक उडानमार्फत नेपाल फर्किइन् । अन्यलाई भने अमेरिकी सुरक्षाकर्मी सहितको विमानमा हत्कडी लगाएर फर्काइएको पाइयो,’ उनले भने ।

अध्यागमन कानुन मिचेपछि बारम्बार नसियत दिँदा पनि अटेर गर्दा अमेरिकाले उनीहरूलाई पाँच देखि ६ महिनासम्म हिरासतमा राखेर नेपाल फर्काइएको पाइएको एसपी कुँवरले जानकारी दिए । ‘अध्यागमन कानुनको उल्लङ्घन पछि फर्किन बारम्बार सूचित गर्दा पनि अटेर गर्दै आएकाहरूलाई हिरासतमा ५/६ महिना राखेर नेपाल फर्काइएको पाइयो,’ उनले भने ।

फर्किनेहरूमा डोटीको एक जना, दाङको तीन जना रुकुम पश्चिमको दुई, रुकुम पूर्वको दुई र रोल्पाको एक जना थिए । ती मध्ये सबैले आफूहरू तल्लो बाटो हुँदै अमेरिका पुगेको जानकारी प्रहरीलाई दिएका छन् ।उनीहरूले ५० लाख देखि ७० लाखसम्म खर्चिएर अमेरिका पुगेको प्रहरीलाई बताएका छन् । ‘कोहीले ब्राजिल हुँदै अमेरिका पुगेको भनेका छन् । कोही मेक्सिको हुँदै त्यहाँ पुगेका छन् । प्रायको रुट दुबई, स्पेन ब्राजिल र मेक्सिको थियो । सबै जना तल्लो बाटो अमेरिका पुगेको पाइयो ५० देखि ७० लाखसम्म खर्चिएर उनीहरू अमेरिका गएको देखियो,’ कुँवरले भने ।

यसरी नेपाल फर्किएकाहरूले कसैविरूद्ध उजुरी दिन नचाहेको उनले बताएका छन् । ‘फर्किएकाहरूलाई हामीले कसैविरूद्ध उजुरी दिनुहुन्छ भनेर सोधेका थियौँ । उनीहरू कोही पनि यसप्रति इच्छुक देखिएनन्,’ कुँवरको भनाइ छ ।

मानव बेचबिखन ब्युरोमा उनीहरूले आफूहरूले अमेरिका जान गरेको लगानीबारे जानकारी दिएका छन् । ब्युरोका अनुसार व्यावसायिक उडानमार्फत नेपाल फर्किएकी डोटीकी महिलाले अमेरिका पुग्न ७० लाख खर्चिएको बताइन्  । यस्तै, दाङका तीन मध्ये एक जनाले ५० लाख, अर्काले ५२ र तेस्रो व्यक्तिले ४२ लाख खर्च गरेको जानकारी प्रहरीलाई दिएका छन् ।

रुकुम पश्चिमका दुई जनाले ६० लाख खर्च भएको बताएका छन् भने रुकुम पूर्वका एक व्यक्तिले ५५ र अर्काले ६५ लाख खर्चिएको जानकारी ब्युरोलाई दिएका छन् । रोल्पाका एक व्यक्तिले ४० लाख खर्चिएको बताएका छन् । उनीहरू सबै २०२४ मा अमेरिका पुगेको पाइएको कुँवरले जानकारी दिए । फर्किएका ९ मध्ये डोटीकी महिला २०२४ सेप्टेम्बर अमेरिका पुगेकी थिइन् ।

दाङका तीनमध्ये एक जना २०२४ अक्टोबरमा अमेरिका पुगेका थिए । यस्तै, अर्का व्यक्ति अगस्ट १९ मा अमेरिका छिरेका थिए । अर्का व्यक्ति अगस्ट १९ मा अमेरिका पुगेका थिए भने तेस्रा व्यक्तिले आफू सेप्टेम्बर २४ मै अमेरिका पुगेको बताएका छन् ।

रुकुम पश्चिमा दुई मध्ये एकले पनि सेप्टेम्बर २५ मा अमेरिका पुगेको जानकारी ब्युरोमा दिएका छन् । अर्काले भने आफू जुलाईमा अमेरिका पुगेको बताएका छन् । रुकुम पूर्वका एकले सेप्टेम्बर २८ मा अमेरिका छिरेको बताए भने अर्काले जुलाई १५ मा पुगेको बताएका छन् । रोल्पाका एक जनाले  जुन १५ मा अमेरिका पुगेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेसँगै गैर कानुनी आप्रवासी डिपोर्टलाई तीव्रता दिइरहेका छन् । उनको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म ३५ नेपाली डिपोर्ट भएका छन् । केही दिनअघि सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले गैर कानुनी आप्रवासीहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा पनि खतरनाक रहेको बताएका थिए । अमेरिकाले पुटिनको भन्दा पनि गैर कानुनी आप्रवासीबाट आफूलाई सुरक्षित राख्न अघि बढ्नुपर्ने बताएका थिए ।‘अमेरिकाले पुटिनको भन्दा गैर कानुनी आप्रवासीप्रति चिन्तित हुनुपर्छ । यिनीहरू निकै खतरनाक छन् । यो विषयमा कदम चलाइएन भने हाम्रो हालत पनि युरोपझैँ हुनेछ,’ उनले लेखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register