‘चमत्कारी’ उपचारको नाटक: यौन दुराचारको आरोप लागेका भारतीय पाष्टरलाई बोलाउने ७ जना पक्राउ
काठमाडौं । भारतमा यौन दुराचारको आरोप खेपिरहेका पाष्टरलाई कैलालीको टिकापुरमा बोलाएर ‘प्रार्थना सभा’ आयोजना गर्दै पैसा असुल गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ। भारतमा यौन दुर्व्यवहारको आरोप खेपिरहेका बजिन्दर सिंह नामका पाष्टरलाई फागुन २१ र २२ गते कैलालीको टिकापुरमा बोलाएर ‘प्रार्थना सभा’ आयोजना गरिएको थियो। सिंहले क्यान्सर, पक्षघातजस्ता रोग निको पार्न सक्ने भन्दै आयोजकले […]

काठमाडौं । भारतमा यौन दुराचारको आरोप खेपिरहेका पाष्टरलाई कैलालीको टिकापुरमा बोलाएर ‘प्रार्थना सभा’ आयोजना गर्दै पैसा असुल गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ।
भारतमा यौन दुर्व्यवहारको आरोप खेपिरहेका बजिन्दर सिंह नामका पाष्टरलाई फागुन २१ र २२ गते कैलालीको टिकापुरमा बोलाएर ‘प्रार्थना सभा’ आयोजना गरिएको थियो। सिंहले क्यान्सर, पक्षघातजस्ता रोग निको पार्न सक्ने भन्दै आयोजकले स्थानीयसँग रकम असुल गरेको बताइएको छ।
भारतमा यौन दुराचारको आरोप लागेपछि लुक्न नेपाल आएका सिंहले टिकापुरको कार्यक्रममा उपचारका नाममा झारफुक गरेका थिए। जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार पैसा असुल्ने ७ जना पक्राउ परेका छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भने, “आयोजकमध्ये सात जना पक्राउ परेका छन्। उनीहरूमाथि ठगी मुद्दा दायर हुनेछ।”
बजिन्दर सिंहमाथि भारतमा यौन दुर्व्यवहारको आरोप छ। उनलाई अनुसन्धान गर्न पञ्जाब प्रहरीले तीन सदस्यीय विशेष टोली बनाएको थियो। तर, सो टोलीसमक्ष उपस्थित नभई उनी नेपाल आएका थिए। प्रहरी अनुसन्धान छलेर नेपाल आएका उनलाई पञ्जाबको मोहाली जिल्ला अदालतले गैर-जमानती पक्राउ पुर्जी जारी गरेको छ।
यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार
बीबीसी हिन्दीकाअनुसार १५ वर्षअघि सिंह हत्या अभियोगमा जेल परेका थिए। जेलमै इसाई धर्म अपनाएपछि उनी पादरी बनेका थिए।
नेपालमा उनी यसअघि पनि आएका थिए। सन् २०८० को मंसिर ५ र ६ गते चितवनको रत्ननगरमा उनको कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा उनले “नेपालमा ठूलो भूकम्प आउने” भविष्यवाणी गरेका थिए। उनले भनेका थिए, “नेपालका मुख्यमन्त्री, प्रधानमन्त्री, प्रशासनलाई परमेश्वरले सुरक्षा देओस्। मेरो कुरालाई सामान्य रूपमा नलिनुहोस्, म त्यो भूकम्प जाँदा हेलिकोप्टरमा हुनेछु।”
सिंह आफूलाई ‘चमत्कारी पादरी’का रूपमा परिचय दिन्छन्। उनले आफूसंग क्यान्सर, पक्षघातजस्ता रोग निको पार्ने चमत्कारीक शक्ति भएको दाबी गर्दै आएका छन्।
What's Your Reaction?






