दिल्लीमा सोमबारदेखि रायसीना संवाद : नेपालबाट आरजु र स्वर्णिम वक्ताको सूचीमा

काठमाडौं । भारतीय थिङ्क ट्याङ्क संस्था अब्जरभर रिर्सच फाउन्डेसन (ओआरएफ)ले आयोजना गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम ‘रायसीना संवाद’ सोमबार नयाँ दिल्लीमा सुरु हुँदैछ । मार्च १७–१९ सम्मको तीन दिने संवाद कार्यक्रममा विश्वका १९० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने अनुमान छ । नेपाल सरकारको तर्फबाट भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा नयाँ दिल्ली पुगिसकेकी छन् । संवादको आयोजना र सञ्चालन भारतीय […]

Mar 15, 2025 - 07:17
 0
दिल्लीमा सोमबारदेखि रायसीना संवाद : नेपालबाट आरजु र स्वर्णिम वक्ताको सूचीमा

काठमाडौं । भारतीय थिङ्क ट्याङ्क संस्था अब्जरभर रिर्सच फाउन्डेसन (ओआरएफ)ले आयोजना गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम ‘रायसीना संवाद’ सोमबार नयाँ दिल्लीमा सुरु हुँदैछ ।

मार्च १७–१९ सम्मको तीन दिने संवाद कार्यक्रममा विश्वका १९० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने अनुमान छ ।

नेपाल सरकारको तर्फबाट भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा नयाँ दिल्ली पुगिसकेकी छन् ।

संवादको आयोजना र सञ्चालन भारतीय विदेश मन्त्रालयसँगको सहकार्यमा ओआरएफले गर्ने गर्दछ । यो भारत सरकारको एक महत्त्वपूर्ण कार्यक्रम हो । ‘रायसीना संवाद’ सन् २०१६ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसपटकको संवाद १० औं संस्करण हो ।

संवादमा मूलतः विश्व समुदायले सामना गरिरहेका समकालीन भूराजनीतिक तथा भूअर्थराजनीतिक चुनौती र सम्भावनाबारे अन्तरक्रिया गरिन्छ । संवादमा राजनीतिक, व्यावसायिक तथा पेशागत जगत, सञ्चार तथा प्राज्ञिक क्षेत्र र नागरिक समाजका प्रतिनिधि भेला भएर विश्वका समस्या र समाधानका उपायबारे दृष्टिकोण आदान प्रदान गर्दछन् ।

संवादमा वैश्विक राजनीतिको संरचना, प्रभाव र प्रवृत्तिबारे दृष्टिकोण प्रस्तुत गरिन्छ । बहुपक्षीयतावादी विश्व खण्डित हुँदै र बहुध्रुवीय विश्व व्यवस्था निर्माण हुँदै गएको समकालीन परिवेशमा बहुध्रुव्रीय विश्वको एक दाबेदार राष्ट्र भारतले आयोजना गर्ने यो संवादलाई अर्थपूर्ण मानिने गर्दछ ।

संवादमा विश्वका विद्यमान समस्याको चर्चा मात्र गरिदैन, समाधानका उपाय समेत सुझाउने प्रयत्न गरिन्छ ।

कार्यक्रममा जलवायु परिवर्तन र अनुकुल, हरित तथा नवीकरणीय उर्जा प्रयास, डिजिटलीकरणका प्रभाव र सम्भावना, सबल विश्व व्यापार, व्यावसायिकता र लगानी वातावरण, वस्तु, सेवा, श्रम तथा पुँजीको अन्तर्राष्ट्रिय प्रवाह, विश्व आपूर्ति तथा मूल्य शृङ्खलाको स्थिति, विकास प्रयास, विश्व शान्तिका लागि आवश्यक प्रेरणा, संरचना र नेतृत्व प्रणाली जस्ता विषयमा छलफल हुनेछन् ।

कार्यक्रमको उद्‌घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने छन् भने प्रमुख अतिथि न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सनलाई बनाइनेछ । 

समानान्तर सेसनका लागि विश्वका विभिन्न देशबाट १०० भन्दा बढी वक्ता प्रस्ताव गरिएका छन् । वक्ताको सूचीमा विदेशमन्त्री, मन्त्री, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत, सांसद, अर्थशास्त्री, रक्षा रणनीतिकार, अध्येता, गैरसरकारी संस्थाका जिम्मेवार अधिकारी, उद्योग वाणिज्य क्षेत्रका नेता छन् ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस. जयशङ्कर तथा विपक्षी दल भारतीय राष्ट्रिय काङ्गेसका नेता तथा सांसद शशी थरुरसमेत वक्ताको सूचीमा छन् ।

नेपालबाट भाग लिइरहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँगै रास्वपा नेता, सांसद तथा अर्थविज्ञ डा. स्वर्णिम वाग्ले पनि वक्ताको सूचीमा सामेल छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register