रास्वपाका कार्यवाहक सभापतिलाई प्रश्न : राजावादी गतिविधिप्रति मौन रहनुको रहस्य के हो ?

राजावादी गतिविधिविरुद्ध गणतन्त्रवादी दलहरूले सङ्गठित प्रतिवादको निर्णय लिइसकेका छन् । संसद्को पहिलो दल नेपाली काङ्ग्रेसले संविधान र व्यवस्थाको रक्षाको समय आएको भन्दै रणनीतिका लागि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दोस्रो ठुलो दल एमालेले बिहीबार मात्रै राजावादीविरूद्ध जनप्रदर्शनको घोषणा गरेको छ भने तेस्रो ठुलो दल माओवादी केन्द्रले तराई मधेस जागरण अभियानलाई निरन्तरता दिँदै […]

Mar 20, 2025 - 15:27
 0
रास्वपाका कार्यवाहक सभापतिलाई प्रश्न : राजावादी गतिविधिप्रति मौन रहनुको रहस्य के हो ?

राजावादी गतिविधिविरुद्ध गणतन्त्रवादी दलहरूले सङ्गठित प्रतिवादको निर्णय लिइसकेका छन् । संसद्को पहिलो दल नेपाली काङ्ग्रेसले संविधान र व्यवस्थाको रक्षाको समय आएको भन्दै रणनीतिका लागि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दोस्रो ठुलो दल एमालेले बिहीबार मात्रै राजावादीविरूद्ध जनप्रदर्शनको घोषणा गरेको छ भने तेस्रो ठुलो दल माओवादी केन्द्रले तराई मधेस जागरण अभियानलाई निरन्तरता दिँदै प्रतिवाद गरिरहेको छ । यस्तो अवस्थामा संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने मौन छ । राजवादी गतिविधिबारे रास्वपाको मौन रहनुको कारणबारे नेपालभ्युजका संवाददाता शिशिर ढकालले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँग संक्षिप्त संवाद गरेको छ ।

राजावादी गतिविधिमा तपाइँहरूको मौनताको रहस्य के हो ?

राजावादीहरूको प्रदर्शन र गतिविधिबारे अहिले केही पनि प्रतिक्रिया नजनाउने पक्षमा हामी छैनौँ। प्रतिक्रिया जनाउनुपर्ने अवस्था पनि छैन । हाम्रो अहिलेको नीति भनेको वर्तमान व्यवस्थाभित्रका विकृतिलाई सुधारका लागि दबाब दिनु हो । अहिलेको लागि राजवादी गतिविधिमा प्रतिक्रियात्मक हुने कुनै नीति हाम्रो छैन ।

तपाइँहरूको मौनतालाई राजावादीहरूलाई समर्थन गरेको भन्ने आक्षेप पनि छ नि ?

आरोप लगाउनेहरूले त जे पनि आरोप लगाउँछन् नि । रास्वपालाई आरोप लगाउन के नै बाँकी राखेका छन् र । यो आरोपलाई पनि हामीले सामान्य लिएका छौँ । राजवादी गतिविधिमा मौन रहँदैमा हामीलाई राजवादी भन्न मिल्दैन । समय आएपछि हामी बोल्छौँ । अहिले समय आएको छैन ।

संसद्को पहिलो, दोस्रो र तेस्रो राजनीतिक दलले प्रतिक्रिया जनाइसके उनीहरू प्रतिवादमा पनि उत्रिसके तपाइँहरूको समय चाहिँ कहिले आउँछ ?

राजनीति भनेको चलचित्र जस्तो होइन नि । अहिले एउटा चलचित्र आयो । पछि अर्को चलचित्र आउने । त्यसपछि अर्को आइहाल्ने। हामीले वर्तमान राजनीतिक घटनाक्रमलाई नियालिरहेका छौँ । प्रतिक्रिया जनाउन वा प्रतिवादमा लाग्न अहिले नै समय भइसकेको छैन भन्ने हाम्रो निष्कर्ष छ।

कतै राजनीतिक सिद्धान्त प्रस्ट नहुँदा तपाइँहरू अलमलिनु भएको त होइन ?

हाम्रो राजनीतिक सिद्धान्त प्रस्ट नै छ । जनताले हाम्रो राजनीतिक सिद्धान्त बुझिसके । मिडियाले मात्रै नबुझेको हो । तपाइँहरू प्रस्ट भएर प्रस्ट्याउनुपर्नेमा तपाइँहरू नै अलमलमा हुनुहुन्छ । जलेश्वरको सम्मेलनबाट हामीले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अपनाउने नीति लिएका छौँ । यो नीतिप्रति हामी प्रतिबद्ध छौँ । पूर्ण  लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीका लागि आवश्यक सुधारमा हामीले संसदबाट निरन्तर दबाब पनि दिँदै आएका छौँ । हाम्रा सांसदहरूले यसलाई बलियो बनाउन प्रतिपक्षी दलको हैसियतमा दबाब दिँदै आउनुभएको छ नि ।

तपाइँहरूले भनेको पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा प्रहार सुरु भएको भन्दै अन्य दल सडकमा जाने भइसके । तपाइँहरू जानुहुन्न ?

अहिले नै समय आएको छैन । हामी समय आएपछि आवश्यक निर्णय लिन्छौँ ।

वर्तमान राजनीतिक घटनाक्रमबारे तपाइँहरूले सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको छ ?

राजनीतिमा विकसित घटनाक्रमबारे हामी पार्टी सभापतिसँग निरन्तर छलफल र संवादमै छौँ । राजनीतिक परिस्थितिबारे हामीले उहाँलाई जानकारी पनि गराएका छौँ । उहाँबाट सुझाव पनि लिएका छौँ ।

उहाँको नीति र सुझाव चाहिँ के  छ त ?

उहाँले नै अहिले बोल्ने समय आएको छैन भनेपछि पार्टीले राजावदी गतिविधिविरुद्ध कुनै प्रतिक्रिया पनि जनाएको छ । कुनै प्रतिवाद पनि गरेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register