घर बनाउन यसरी सजिलै लिनुहोस् बैंकबाट ऋण, पूरा प्रक्रिया, कागजात र शुल्कको विवरण यस्तो… (भिडियोसहित)

काठमाडौँ । जिन्दगीमा कहिलेकाहीं तपाईंहरुलाई पनि यस्तो लाग्दो होला है ! शहरमा एउटा घर टेकाउन पाए, जिन्दगीमा यसले एउटा घर पनि बनाउन सकेन है भनेर खिसिट्युरी गर्नेहरुलाई छतबाट हात हल्लाउँदै मुलढोकाको चाबी देखाउनुहुन्थ्यो । डाँडातिर गएर देखिएका घरैघरको बीचमा, ‘मेरो घर उ त्यहाँ त्यतै तिर छ’ भन्नु हुन्थ्यो । आफ्नै एउटा घर भए, न घरभेटीको […]

Mar 21, 2025 - 09:32
 0
घर बनाउन यसरी सजिलै लिनुहोस् बैंकबाट ऋण, पूरा प्रक्रिया, कागजात र शुल्कको विवरण यस्तो… (भिडियोसहित)

काठमाडौँ । जिन्दगीमा कहिलेकाहीं तपाईंहरुलाई पनि यस्तो लाग्दो होला है ! शहरमा एउटा घर टेकाउन पाए, जिन्दगीमा यसले एउटा घर पनि बनाउन सकेन है भनेर खिसिट्युरी गर्नेहरुलाई छतबाट हात हल्लाउँदै मुलढोकाको चाबी देखाउनुहुन्थ्यो । डाँडातिर गएर देखिएका घरैघरको बीचमा, ‘मेरो घर उ त्यहाँ त्यतै तिर छ’ भन्नु हुन्थ्यो । आफ्नै एउटा घर भए, न घरभेटीको किचकिच सुन्नुपथ्र्यो, न घरभाडाको चिन्ता हुन्थ्यो । शहरमा आफ्नै घर छ भन्दा छोराछोरीलाई पनि बाउआमाले एउटा घरचाहिँ बेलैमा बनाइदिए है भन्ने पनि हुन्थ्यो होला । आफ्ना बग्रेल्ती सपनाहरुमध्ये सबैभन्दा ठुलोमध्येको एक सपना घर बनाउने सपना पूरा गर्न पाए कति गज्जब हुन्थ्यो । हुन त हुन्थ्यो नि, चाहिएजति ढेवा मरु, कसो गरूँ ? भनेजस्तै छ धेरैलाई । अवस्थामा कसरी बनाउने घर ? कसले दिन्छ त पैसा ? यहि तनावका बीच एउटा नागरिकले सोच्छ, जे भए पनि एउटा घर त बनाउनैपर्यो । कति सहनु यो घरभेटीको किचकिच, जीवनमा आफ्नै घर नबनाई मारियो भने त यमराजले पनि डेरैबाट उठाएको हो यसलाई भनेर हेप्ला भन्ने पीर ।

घर त बनाउने, तर पैसा ? पैसा त बैंकबाट ऋण लिने नि । फेरि प्रश्न उठ्छ- बैंकबाट ऋण लिन सजिलो छ त ? सावाँभन्दा ब्याजले पिर्छ भन्छन्, के के नानाभाती चार्ज काट्छ भन्छन्, अरु के के पो कुरा सुनिन्छ । खै, कसरी पो गर्ने हो ? तर, यस्तो तनाव लिने भनेको नबुझ्दासम्म हो । बुझिसकेपछि बैंकबाट ऋण लिन गाह्रो छैन । तर ऋण, ब्याज, किस्ता लगायतका कुरामा ध्यान दिन भने जरुरी छ ।

घर बनाउन बैंकबाट ऋण लिनुपर्दा खासमा के-के मापदण्ड छन् त ? सुरुमा यस विषयमा चर्चा गरौँ । हामीलाई धेरैले घर कर्जाका विषयमा सोधिरहनु भएको हुन्छ । कागज सबै पुर्याईसकें, तर बैंकले काम नै गरिदिएन भन्ने गुनासो गर्नुहुन्छ । तर यथार्थ र उहाँहरुको दाबीमा फरक हुन्छ । केहीको कागज पुगेको हुँदैन, कहिको मापदण्ड नै पुगेको हुँदैन । अनि बैंकले ढिला गरिदियो, काम नै गरिदिएन, मेनेजरको नियत नै राम्रो देखिएन भन्नेजस्ता कुरा सोचिहालछौँ । तर स्पष्ट मापदण्ड र कागज पुर्याए घर कर्जा गाह्रो प्रक्रिया हुँदै होइन । सुरुमा त जसको नाममा ऋण लिने हो, सो व्यक्तिको उमेर घटीमा २१ बर्ष र ऋण अवधि पूरा हुने समयसमेत गणना गर्दा अधिकतम ६५ बर्षको हुन्छ । म भर्खर २० बर्ष लागेँ मैले घर कर्जा पाउँदिन ? भनेर कतिपयले सोध्नुहुन्छ । वा मेरी ७५ बर्षेका बा अझै म बुढो भएको छैन भन्नुहुन्छ, उहाँको नाममा घरकर्जा लिन मिल्दैन ? भन्ने धेरैको प्रश्न हुन्छ । यसको सहज जवाफ हो- ‘मिल्दैन ।’

घर कर्जा लिँदा अर्को महत्वपूर्ण विषय भनेको तपाईंको आम्दानी वा आय स्रोत पनि हो । घर कर्जा लिँदा अनिवार्य रुपमा आयस्रोत देखाउनुपर्छ । अझ आयस्रोत पनि कर तिरेको नै आय देखाउनुपर्छ । यदी तपाईं तलवी कर्मचारी हो भने तपाईं स्थायी सेवामा हुनुपर्छ, आफ्नै काम गर्नुहुन्छ भने आय प्रमाणित हुनेगरी कर तिरेको कागजात आवश्यक पर्छ । यता तपाईंको किस्ता मासिक आम्दानीको ६०% भन्दा बढी रकम हुनु हुँदैन । यसमा तपाईं, तपाईंको पति वा पत्नी वा एकासगोलको परिवारक सदस्यहरुको आम्दानी भने स्वीकृतिसहित जोड्न मिल्छ । यसको कारण भनेको तपाईंको आम्दानीजति सबै बैंकको किस्तामै गयो भने त तपाईंको घरव्यवहार नै टर्दैन र परिणाम तपाईंले बैंकको किस्ता तिर्न छोड्न सक्नुहुन्छ भन्ने हो । उदाहरणका लागि तपाईंको मासिक आम्दानी एक लाख रुपैयाँको छ । यस्तो अवस्थामा तपाईंको कर्जाको किस्ता ६० हजार रुपैयाँ भन्दा बढी आउनुहुँदैन । घर कर्जाका लागि धितो आवश्यक पर्छ । तर, यस्तो धितो ऋण लिने वा लिने परिवारको बाहेक अरुको भएर हुँदैन । तपाईंले घर बनाउन खोजेको जमिन हाइटेसन लाइन नजिकै हुनुहुँदैन ।

अव बुझौँ बैंकबाट घर बनाउनका लागि लिईने ऋणका लागि आवश्यक कागजात के के हुन् त ?
सुरुमा त तपाईं नेपाली नागरिक हुनुपर्छ । कर्जा सूचना केन्द्रमा कालोसूचीमा नपरेको हुनुपर्छ । त्यसपछि आफ्नो तलव आम्दानी देखिने सिफारिसपत्र, ६ महिनाको बैंक स्टेटमेन्ट, ऋण लिने र ग्यारेन्टी बस्नेको नेपाली नागरिकताको फोटोकपि, पासपोर्ट साइजका फोटो, व्यक्तिगत प्यानको प्रमाणपत्रको प्रतिलिपि, फर्मका नाममा ऋण लिने हो भने फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र र कम्पनीसँग सम्बन्धित कागजातहरु, र आवश्यक देखी बैंकले मागेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र, लगायतका कागजात माग्न सक्छ ।

घर बनाउनका लागि बैंकबाट ऋण लिंदा धितो राख्नका लागि अनिवार्य रुपमा वडा कार्यालयले प्रमाणित गरेको चार किल्लाको प्रमाणित कागजात चाहिन्छ । त्यस अलावा आफ्नो पालिकाबाट लिन सकिने ब्लु प्रिन्ट र ट्रेस नक्सा, घरको स्वीकृत नक्सा, मालपोतको रसिद, निर्माण सम्पन्न प्रमाणपत्र वा अभिलेखीकरण भएको कागजात चाहिन्छ । यसको अलावा धितो कर तिरेको कागजात आवश्यक पर्छ ।

अव धेरैको प्रश्न हुन्छ, आयस्रोत त देखाउने, तर आयस्रोत देखाउँदा बैंकले के के माग्न सक्छ त ?
सुरुमा बैंकले तलव बुझिलिने गरेको सम्बन्धित संस्थाको सिफारिस पत्र, वा भनौँ स्यालरी सर्टिफिकेट माग्छ । पेन्सन पट्टाको कागजात भए, त्यसलाई पनि आय स्रोतको कागज मान्न सकिन्छ । घरभाडा आउँछ भने घरभाडामा दिएको लिएको सम्झौताको प्रतिलिपि, कम्पनीको हकमा अडिट रिपोर्ट, र हालको कर तिरेको कागज वा बैंकले मागेको खण्डमा कर चुक्ताको प्रतिलिपि बैंकलाई बुझाउनुपर्छ । यदी तपाईं बैदेशिक रोजगारीमा हुनुहुन्छ भने स्यालरी सर्टिफिकेट, काम गर्न पाएको अनुमति, भिसाको अवधि बाँकी रहेको खुल्नेगरी पासपोर्ट, बैंक खातामा पैसा दाखिल गरिएको देखिने गरी स्टेटमेन्ट र पेमेन्ट स्लिप बैंकलाई बुझाउनुपर्छ । यदी तपाईंको व्यवसायिक आम्दानी गाडीबाट छ, भने गाडीको नवीकरण गरिएको ब्लुबुकको फोटोकपी र रुट परमिट आवश्यक पर्छ ।

अव यति भईसकेपछि बैंकले धितो राखिने जग्गाको लालपुर्जा, परिवारका सदस्यहरुको नाम र उमेर सहितको विवरण, राखेर बैंकले निश्चित फम्र्याटमा बनाएको फर्म भर्नुपर्छ । त्यसमा जग्गाको राजिनामाको कागज, वा बैंकले पालिकाबाट अन्य सिफारिस वा स्वीकृतिपत्र जस्तै घरको विस्तारका लागि स्वीकृत पत्र आवश्यक देखियो भने सो राखी पेश गर्नुपर्छ । यति भएपछि तपाईंको कागजात पुग्यो ।

अव, घर कर्जा लिँदा प्रक्रियामा के के शुल्क लाग्छ ?
तपाईंले बुझ्नैपर्ने शुल्कहरुमध्ये प्रोसेसिङ शुल्क पहिलो हो । यो शुल्क एकपटक शुल्क हो । यो शुल्क तपाईंले कुन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिंदै हुनुहुन्छ भन्नेमा भर पर्छ । सामान्यतया ०.५ प्रतिशत देखि १ प्रतिशत शुल्क बैंकहरुले लिने गरेका छन् । कतिपयले १५००० देखि ५० हजार रुपैयाँसम्मको एक मुस्ट रकम लिने गर्दछन् । कुन बैंकले कुन घरकर्जाको स्किममा कति प्रोसेसिङ शुल्क लिन्छन् भन्ने कुरा बैंकर दाइ डट अर्थ सरोकार डटकममा हेर्न सक्नुहुनेछ ।

घर कर्जा लिंदा तिर्नुपर्ने अर्को शुल्क भनेको भ्यालुएसन शुल्क हो । सम्पत्ति भ्यालुएसनको खर्च ऋणी स्वयमले तिर्नुपर्छ । बैंकले तोकिदिएको भ्यालुएटरको शुल्क बैंक अनुसार, र सम्पत्तिको स्थान र आकार अनुसार फरक पर्न सक्छ । सामान्य आवासीय सम्पत्तिको हकमा सहरी आवासीय सम्पत्तिहरूको लागि सामान्यतः रु ५,००० देखि रु १५,००० र साना सम्पत्ति वा ग्रामीण क्षेत्रमा पर्ने सम्पत्तिहरूको लागि रुरु ३,००० देखि ५,००० रुपैयाँसम्म शुल्क लाग्छ । ठुला सम्पत्ति वा व्यावसायिक सम्पतिको हकमा भने रु १५,००० देखि रु ५०,००० वा अवस्था हेरेर थप केहि रकाम पनि सम्म पर्न सक्छ । जग्गाको मुल्यांकन सामान्यतया रु ३,००० देखि रु १०,००० को बीचमा हुन्छ, तर क्षेत्रफल र स्थानअनुसार यो शुल्क फरक पर्न सक्छ । अव जग्गा दुर्गममा छ, अलि टाढा छ भने भ्यालुएटरले थप आतेजाते खर्च माग्न सक्छन् । तर भ्यालुएटरलाई पैसा दिनु अघि उ बैंकको भ्यालुएटरको सूचीमा छ कि छैन भन्ने कुरा भने यकिन गर्न जरुरी छ ।

घर कर्जा लिनेले बुझ्नुपर्ने कुरा के छ भने यदि तपाईंले कर्जाको अवधि सकिनु अघि नै ऋणको अग्रिम भुक्तानी गर्न चाहनुहुन्छ भने, बैंकले अग्रिम भुक्तानी शुल्क भनेर केहि रकम लिन सक्छ । यस विषयमा बैंकको सर्तनामामा लेखिएको हुन्छ । यस्तो चार्ज कति बैंकले नलिन पनि सक्छन् । कतिले २ प्रतिशतसम्म लिन्छन् । तपाईंले ऋण स्वाप गर्न खोज्दै हुनुहुन्छ भने यस्तो चार्ज थप केहि पनि हुन सक्छ । छिटो तिर्दा र शुल्क तिर्नुपर्छ भने किस्ता तिर्न ढिलो भयो भने त बिलम्ब शुल्क तिर्नुपरि नै हाल्यो ।

अव ऋण लिएर घर बनाउने आँट गरि नै हालिसकेपछि केहि निश्चित कुरामा तपाईंले ख्याल गर्नैपर्छ । सुरुमा त कुन बैंकले सस्तोमा कर्जा दिन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । बैंकर दाइ डट अर्थ सरोकार डटकममा गएर तपाईंले कुन बैंकले कति प्रतिशत ब्याजदरमा कति अवधिसम्मका लागि के के सर्तमा ऋण दिन्छन् भन्ने हेर्न सक्नुहुन्छ । कतै हिडन चार्जहरु त छैन ? यस विषयमा सोधीखोजी गर्नुपर्छ । सबै कागजात टक्क मिलाएर, बैंकका कर्मचारीले थप प्रश्न नै गर्न नसक्ने गरी मिलाएर राख्नुपर्छ । बाँकी केहि स साना समस्या आयो भने त बैंक स्वयमले पनि परामर्श दिई नै हाल्छ ।

अव यहाँ बैंकबाट ऋण लिंदा कतिपय कुरा ग्राहकले बुझ्दैनन् । सबै बैंकको विवरण नबुझी जानेको एउटा बैंकमा हतारमा जान्छन् अनि पछि महँगोमा परियो भनेर रुवाबासी गर्छन् । यो गलत अभ्यास हो । एक किलो गोलभेडा किन्दा त हामी ३ ठाउँ मूल्य सोध्छौँ भने यहाँ ऋणको सवाल छ । कतिपयले यति त बैंकले मानिहाल्ला नि भनेर कागज नै अपुरो दिन्छन् । यस्तो काम गर्नु हुँदैन । कागजात पढ्ने बेलामा आँखा चिम्लेर सहि धस्काईदिने र पछि बैंकलाई गाली गर्ने गर्नुपनि आफ्नै गल्ती हो । यस्तो काम पनि गर्नु हुँदैन । सकेसम्म बैंकको गुड क्लाइण्ट बने तपाईंको घर बनाउने सपना पनि गुड गरिकाले सम्पन्न हुन्छ र भविष्य पनि गुड हुन्छ । छलछाम तिर लाग्नुभयो भने कुनै दिन हातमा हतकडी नलाग्ला भन्न सकिन्न ।

अव कतिपयको प्रश्न हुन्छ, बैंकबाट लिएको ऋण तिरेन भने के हुन्छ ?
यस्तो खुरापाती सोच्नेहरुले बुझ्नैपर्ने कुरा के हो भने ऋण भनेको नै तिर्नकै लागि लिईएको हो । ऋण नतिरे एकातिर ब्याज बढ्दै जान्छ भने अर्कोतर्फ दायित्व थपिँदै जान्छ । ऋणको भाखा नाघेपछि खराब ऋणीको सूचीमा परिन्छ । कालोसूचीमा परिन्छ । ऋण नतिरे पत्रिकामा सूचना निस्किन्छ । यसले आफुलाई र आफ्ना कलिला बालबच्चाहरुलाई पार्ने मनोबैज्ञानिक असर फरक र तितो छ । फलानोको बाउले ऋण लिएर नतिरेर पत्रिकामै नाम निस्केछ भनेको दिन त मरेको जुनी भएन र ? त्यसपछि त हिजोसम्म ज्यु ज्यु गर्नेहरुले आज तर्केर हिड्न थाल्छन् । घरमा घरझगडा हुनसक्छ । यतिसम्म त हो नै, अव अलि फरक तरिकाले सोच्ने हो भने तपाईंले कर्जा नतिरेपछि सेयरधनीले लाभांश पाउने सम्भावना कम हुन्छ, र यसमा तपाईंकै आफन्तहरु पनि पर्छन् । अनि उनीहरुले तपाईंलाई हरेक बर्ष सराप्छन् ।

हुन त ऋण नतिरे के हुन्छ भन्ने कुरा सोच्ने नै होइन । कसरी ऋण तिर्ने भन्ने प्लान सुरुमै बनाएर ऋण लिए ऋणले प्रगति हुन्छ । नत्र त उही राम राम न हो । तपाईं पनि बैंकबाट ऋण लिन चाहानुहुन्छ भने सबै कुरा ख्याल गरेर अगाडी बढ्नुहोला । अर्थ सरोकारले ऋण लिन चाहानेहरुकै लागि बनाएको बैंकर दाइ पोर्टलमा गएर कुन बैंकको ऋणको ब्याज कति छ भनेर तुलना गर्न सक्नुहुन्छ । र पनि कन्फ्युजन भयो भने कमेन्ट गर्न सक्नुहुनेछ । तपाईंको जिज्ञासालाई समाधान गर्न हामी थप भिडियो बनाउने नै छौँ । किनकि हामीले बुझेका छौँ आजको पीडीले बैङ्किङ बुझ्न जरुरी छ । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register