बिरालोले अब दूध चोर्दैन भन्ने कुरा नेपाली जनताले पत्याइदिनु पर्ने ?

राजेश ढुंगानासरकार नै आन्दोलनमा ! यस्तो अचम्ममा संसारमा अन्त कहीं कतै देखिन्न, सुनिन्न । तर, नेपालमा सुनियो ! चैत्र ११ देखि २० गतेसम्म प्रधानमन्त्री स्वयम् अध्यक्ष रहेको पार्टी एमालेले आन्दोलनको घोषणा गरेको छ । यो भन्दा हाँस्यास्पद कुरा केही हुन सक्छ ? संसारमा, हाम्रै देशमा पनि सरकारका विरुद्ध आन्दोलन हुन्थे, हुन्छ पनि । तर, नमरी [...] The post बिरालोले अब दूध चोर्दैन भन्ने कुरा नेपाली जनताले पत्याइदिनु पर्ने ? appeared first on Jhapa Online.

Mar 23, 2025 - 08:32
 0
बिरालोले अब दूध चोर्दैन भन्ने कुरा नेपाली जनताले पत्याइदिनु पर्ने ?

राजेश ढुंगाना
सरकार नै आन्दोलनमा ! यस्तो अचम्ममा संसारमा अन्त कहीं कतै देखिन्न, सुनिन्न । तर, नेपालमा सुनियो ! चैत्र ११ देखि २० गतेसम्म प्रधानमन्त्री स्वयम् अध्यक्ष रहेको पार्टी एमालेले आन्दोलनको घोषणा गरेको छ । यो भन्दा हाँस्यास्पद कुरा केही हुन सक्छ ?

संसारमा, हाम्रै देशमा पनि सरकारका विरुद्ध आन्दोलन हुन्थे, हुन्छ पनि । तर, नमरी बाँचे धेरै थोक देखिन्छ भन्ने कहावत एमालेको आन्दोलन घोषणाले चरितार्थ गराएको छ । आफैं सरकारमा बसेर कसका विरुद्ध आन्दोलन गर्ने हो ? एमालेले त्यो कुरा स्षष्ट नभने पनि राजा र राजावादी शक्तिसँग आत्तिएर यो असंगत आन्दोलनको घोषणा भएको हुनु पर्छ ।

एमालेले के बुझ्न जारी छ भने, उसले यो रामरमिता देखाउँदा दुनियाँ चाहिँ खित्का छाडेर हाँसेको पनि छ र शीर समेत झुकाएको छ– लज्जाले । तर, दुनियाँलाई लाज लागेर के गर्नु ? सरकारलाई नलागेपछि ! नेपालमा अनौठा–अनौठा कुरा देखिँदैछ । अब अलिपछि यस्तो पनि देख्नु नपरोस् कि– सरकार स्वयम्ले सरकारविरुद्ध आन्दोलन गरोस् ! त्यसो भएमा कुनै आश्चर्य नमान्दा हुन्छ ।

सरकार विरुद्ध चर्को आक्रोश र असन्तुष्टि चुलिँदै गएपछि सरकारले त्यसलाई सकारात्मक ढंगले सम्बोधन गर्नु पर्नेमा आन्दोलनकारी विरुद्ध स्वयम् सरकार नै आन्दोलनमा उत्रने कुरा कति जायज छ – त्यो नेपाली जनताका चंख आँखाले नियालिरहेछन् ।

अहिले राजा र राजावादीहरूले टपक्कसँग जनआक्रोश टिपेर हिँडिरहेछन् । संसद्मा अत्यन्त न्यून संख्यामा रहेका राजावादीहरू यतिबेला सडकमा चाहिँ छपक्कै भएको यथार्थ जति लुकाए पनि नेपाली जनता र सिङ्गो संसारले देखिरहेछन् । राजाको पक्षमा हजारौं जनताको प्रदर्शनलाई अब न्यून आँक्ने कुरा गर्नु गणतन्त्रवादीहरूका लागि अर्को एउटा थप भूल हुने छ ।

शायद यही जनप्रदर्शनलाई हेरेर एमाले अर्थात् ‘सरकार’ले आन्दोलनको घोषणा गरेको हो । जसलाई दलहरूले भन्ने गरेको ‘प्रतिक्रान्ति’ जस्तै ‘प्रतिआन्दोलन’ भन्नु उपयुक्त हुन्छ कि ?! यदि यसै हो भने फेरि पनि भन्नै पर्ने हुन्छ – यसैबाट राजा र राजापक्षीयहरू ह्वात्तसँग बलिया भएका छन् ।

संसारको सर्वोत्कृष्ट व्यवस्था प्रजातन्त्र (गणतन्त्र) आएको दुई दशक पनि बित्न नपाई गणतन्त्रले फ्यालेका राजा दुई दशकमै किन यसरी ‘लोकप्रिय’ हुने बाटोमा छन् । अब राजालाइ पाँडे–गालीगलौज गरेर र गणतन्त्रको राग अलापेर मात्रै यसको उत्तर र समाधान निश्चित रूपमा खोज्न सकिँदैन । स्थिति योभन्दा धेरै अघि बढिसकेको सत्यलाई अझै पनि नस्वीकार्नु गणतन्त्रलाई थप भड्खालोमा पार्नु हो ।

सरकार अर्थात् सत्ता पक्षसँग जन–आक्रोश यत्रोविधि चुलिएको छ कि, अब यसलाई थाम्न कम्तिमा पनि वर्तमान नेतृत्व चाहिँ सक्षम छैन । २०४८ सालदेखि नै, अझ विशेष गरेर गणतन्त्रका प्राप्तिका दुई दशकभित्र, सरकारमा बसेका लोभीपापीहरुले देखाएको निर्लज्ज कुकर्मले यो जनआक्रोश चुलिएको हो । जुन आक्रोशले कि प्रतिगमन (राजा) हुन्छ वा मुलुक बंगलादेशजस्तो आन्दोलनमा जान्छ । त्यसमाथि पनि आक्रोश अनियन्त्रित भएमा सिक्किमको नियति भोग्नु पर्ने पनि हुन सक्छ; त्यहाँ राजाका विरुद्ध जनआक्रोश थियो । यहाँ दलहरूका र त्यसका नेतातन्त्रका विरुद्धमा छ !

देशले अब पनि एउटा सकारात्मक निकास पाएन भने एउटा भयंकर ठूलो अनिष्टपूर्ण दुर्घटना निम्तँदै छ । पशुपतिनाथले बरू यसबाट बचाउलान्, तर वर्तमान नेतृत्वबाट यो सम्भव छैन । अब हामी सुध्रन्छौं भनेर मात्र पुग्दछ ? मुलुक बिगारेको अहिलेसम्मको क्षतिपूर्ति कसले गर्ने ? यिनीहरूकै कारणले मुलुक दशकौं पछि धकेलिएर मुलुकको वर्तमान मात्र होइन, भविष्य समेत चौपट भएको छ ।

मुलुकमा राजा आउनु समस्याको समाधान होइन, यो बुझेकै कुरा हो । तर, जनता चरम आक्रोशमा गएपछि मुलुक नै समेत अर्को देशलाई सुम्पेको निकट इतिहास हाम्रै छेउमा छ । त्यसो हुनाले अहिलेको चरम जनअसन्तुष्टि र आक्रोशको समाधान नेताहरूले केवल ‘क्षमा’ मागेर पुग्दैन । क्षमा मागेर पनि उनीहरू सुध्रेलान् भन्ने कुरामा जनता पटक्कै विश्वास गर्दैनन् । त्यसउसले अब क्षमा मागेर पुनः देशमा लूटतन्त्र मचाउने दाउ नगर्दा हुन्छ ।

बिरालोले अब दूध चोर्दैन भन्ने कुरा नेपाली जनताले पत्याइदिनु पर्ने ? जनतालाई पनि मूर्ख नठान्दा हुन्छ, अब । बरू आजको राजनीतिक नेतृत्वले ‘अब हामी राजनीतिक नेतृत्वमा रहँदैनौं– त्यो छाड्छांै’ भनी नेपाली जनता र नेपाल राष्ट्रका सामुन्ने ‘आत्मसमर्पण’ गर्नु पर्दछ – ‘हामीलाई देश र जनतालाई घात गरेको अक्षम्य कसुरमा जस्तै सजाय दिएर भए पनि’ भनेर । वर्तमान नेतृत्वले देश र जनताका लागि गर्न सक्ने र गर्नु पर्ने न्यूनतम कत्र्तव्य यही मात्र हो र यही मात्र बाँकी छ । वर्तमानको निकास यही हो ।

The post बिरालोले अब दूध चोर्दैन भन्ने कुरा नेपाली जनताले पत्याइदिनु पर्ने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register