हाउजिङ प्रोजेक्टका लागि कोष जुटाउन तमुधिं लन्डन इकाईको च्यारिटी डिनर

लन्डन । तमुधिं लन्डन इकाईले हाउजिङ प्रोजेक्टका लागि कोष जुटाउन लन्डनमा एक च्यारिटी डिनर नाइट गरेको छ । लन्डन ग्रीनफोर्ड टाउन हलमा शनिबार सांझ कार्यक्रम भएको हो । च्यारिटी इभेन्टमा कयौं संघसंस्था र व्यक्तिले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले इकाईसंग तमुधिं यूकेको गहिरो सम्बन्ध रहेको उल्लेख […]

Mar 30, 2025 - 13:12
 0
हाउजिङ प्रोजेक्टका लागि कोष जुटाउन तमुधिं लन्डन इकाईको च्यारिटी डिनर

लन्डन । तमुधिं लन्डन इकाईले हाउजिङ प्रोजेक्टका लागि कोष जुटाउन लन्डनमा एक च्यारिटी डिनर नाइट गरेको छ ।

लन्डन ग्रीनफोर्ड टाउन हलमा शनिबार सांझ कार्यक्रम भएको हो । च्यारिटी इभेन्टमा कयौं संघसंस्था र व्यक्तिले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले इकाईसंग तमुधिं यूकेको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नै घर लिने इकाइको महत्वकांक्षी योजनामा साथ सहयोग रहने बताए । तमुधिं यूकेले हाउजिङ प्रोजेक्टका लागि एकहजार एक पाउण्ड दिने घोषणा पनि उनले गरे ।

शुभकामना मन्तव्यका क्रममा इकाई प्रमुख सल्लाहकार काउन्सिलर लक्ष गुरुङले सबैलाई दिल खोलेर दान गर्न अपिल गरे ।

काउन्सिलर गुरुङले राजनीति घुसेर समाज विभाजित भएको अवस्थामा कार्यक्रममा जनताभन्दा नेता बढी देखिएको गुनासो गरे । उनले सामाजिक र राजनीतिक दुई पाटो अलग हुन आवश्यक रहेको पनि औंल्याए ।

एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेनले नेपाली जनसंख्या बढिरहेका बेला इकाईको हाउजिङ प्रोजेक्ट अत्यावश्यक भएको बताए । सेनले पनि एक हजार पाउण्ड सहयोगको प्रतिवद्धता गरेका छन् । सेनले आउंदो मे ३ देखि ५ सम्म हुन लागेको एनआरएनए एकता अधिवेशनमा सहभागिता लागि सबैमा अपिल पनि गरे ।

इकाइ अध्यक्ष भरत गुरुङले दाताहरु र सहभागी सबैप्रति आभार व्यक्त गरे । तमुधिं लन्डन इकाई स्थापनाको १८ वर्ष पुग्दा आफ्नै कार्यकालमा हाउजिङ परियोजना परिकल्पना गरिएको उल्लेख गर्दै उनले पहिलो डोनरका रुपमा कमिटीलाई एकहजार पाउण्ड प्रदान गरे ।

तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले घर पहिलो प्राथमिकता भएकाले इकाईको परियोजना सुनेर आफू हर्षित भएको बताए । उनले परियोजना सफल बनाउन सबैले साथ दिनु कर्तव्य भएको पनि उल्लेख गरे । उनले परियोजनाका लागि एकहजार एकसय पाउण्ड सहयोग दिने घोषणा पनि गरे ।

संस्थापक अध्यक्ष गुरुङले एनआरएनए विभाजन हुंदा सबैमा अन्यौल देखिएकाले एकतामा जोड दिए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यसमितिलाई सम्मान गरेकामा धन्यवाद दिंदै इकाईप्रति ऋणी भएको बताए । उनले संघको तर्फबाट प्रोजेक्टका लागि एकहजार पाउण्ड दिने घोषणा गरे ।

उनले तमुधिं यूकेभित्रको एकता उदाहरणीय रहेको बताउंदै अब बेलायतको उक्त अग्रणी संस्थाले पुस्तान्तरणमा पनि विचार गर्नुपर्ने बताए ।

अध्यक्ष गाहामगरले आफ्नो उत्तराधिकारी नभएकाले संघमा फेरि नेतृत्व लिनु परेको प्रष्टयाउंदै वंशजको नेपाली नागरिकता कायमै राख्न आफ्नो कार्यसमिति सशक्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । भावी पुस्तालाई मातृभूमिप्रति जोडिराख्न पनि वंशजको नागरिकता अत्यावश्यक भएको उनको भनाइ थियो ।

तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टी डेभिड गुरुङले आफ्नै घर बिना तमुधिं लन्डनको अस्तित्व पनि नहुने भएकाले यो प्रोजेक्ट जरुरी भएको बताए । ‘पहिला हामीले सबैलाई दियौं, अब तपाईंहरुको सहयोग लिने बेला आएको छ’, उनले भने, ‘यो त शुरुवात मात्रै हो । योजना पूर्ण हुन यसलाई निरन्तरता दिन आवश्यक छ ।’ गुरुङले सबैसंग हातेमालो गरेर अगाडि बढ्न पनि सुझाए ।

स्वागत मन्तव्यका क्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक ईश्वर गुरुङले कार्यक्रम उद्देश्यबारे प्रकाश पार्दै सहभागी सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा काउन्सिलर विष्णु गुरुङ, तमुधिं लन्डन इकाइ आमा अध्यक्ष देवकला गुरुङ लगायतले पनि शुभकामना दिएका थिए ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले परियोजनाका लागि आमा समूहको तर्फबाट ५११ पाउण्डसहित संस्था र व्यक्तिगत गरि कुल ३ हजार ५९ पाउण्ड सहयोग गरिएको बताए । सहारा यूके अध्यक्ष कृष्ण घोताने गुरुङले संस्थाको तर्फबाट ८०० पाउण्ड नगद प्रदान गरे ।

हाउजिङ कमिटीमा खुशीमान गुरुङ, ले. रि नारायणप्रसाद गुरुङ, क्या. रि. प्रेमबहादुर गुरुङ, दिलमाया गुरुङ, काउन्सिलर लक्ष गुरुङ, देवकला गुरुङ, इश्वर गुरुङ, भरत गुरुङ र विष्णु गुरुङ छन् । हाउजिङ कमिटीका तर्फबाट ले. रि नारायणप्रसाद गुरुङ, क्या. रि. प्रेमबहादुर गुरुङ, काउन्सिलर लक्ष गुरुङ, दिलमाया गुरुङले दाताहरुको नाम र रकम पढेर सुनाएका थिए ।

इकाईले तमुधिं यूके १३ औं कार्यसमितिका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ लगायत कार्यसमिति र एनआरएनए यूके नवनिर्वाचित टिमलाई सम्मान गरेको थियो । इकाईले कलाकारहरु र दाताहरुलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु हरिमाया गुरुङ, तिलक गुरुङ, शितल गुरुङ, विमला गुरुङ लगायतले पनि आफ्नो गायन प्रस्तुत गरे ।

वृषा गुरुङले ‘गैरी खेतको शीरै हान्यो…’ गीतमा आकर्षक नृत्य देखाइन् ।

इकाईको आमा समूहले सामूहिक कौडा नृत्य पनि प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले तमुधिं लन्डन इकाईको आफ्नो नयां स्वागत गीत (महासचिव विशाल ‘रक’ गुरुङको संकलनमा तयार) समेत विमोचन गरे ।

तमुधिं लन्डन इकाई विगत देखि वर्तमान

कार्यक्रममा ‘तमुधिं लन्डन इकाई विगत देखि वर्तमान’ नामक वृत्तचित्र पनि देखाइएको थियो । इकाईले वर्षेनी ल्होसारदेखि दशैंतिहार, तीज जस्ता कार्यक्रम मनाउंदै आएको छ । संस्थाले तमुधिं यूकेको मुख्य इभेन्टहरु गोर्खा कप, नेपाली मेलामा सहयोग र सक्रिय सहभागिता, नेपालमा प्राकृतिक विपत्तिहरुमा आर्थिक सहयोग एवं अन्य परोपकारी कार्य पनि गर्दै आएको छ ।

सन् २००७ सेप्टेम्बर ३० तारिख स्थापना भएको हो इकाई । दुर्भाग्य सन् २०१२ मा यो संस्था फुटेर अर्को संस्था तमु समाज बेलायत पनि क्रियाशील छ ।

तस्विर- शिव भण्डारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register