हन, यो हरिराम ‘मान्छे’ हो कि ‘काग’ हो कि ‘तित्रा’ ? (व्यङ्ग्य)

‘व्यंग्यनारान पाँडे’“हन के छ हओ पाँडेजी ? तपइँ लेटिनको टोइलेटमा पसेको बाटाबडै देखेसि म इँही टोइलेटको फरन्टैमा आ’र पिँढीमा थ्याच्च बसिरछु हए… म क्या त कम्रेट हरिराम पुरेत बाजे !… अन्त, के छ खबर–खाबर ? तपइँ त मसित भामट् गोस्सा भका छौ अरे भन्ने मलाई अस्तिका दिनदेखुन् नै कन्टेनेउली इन्फोरमिसन आइराख्या थ्यो । तपइँ मसित [...] The post हन, यो हरिराम ‘मान्छे’ हो कि ‘काग’ हो कि ‘तित्रा’ ? (व्यङ्ग्य) appeared first on Jhapa Online.

Apr 20, 2025 - 03:51
 0
हन, यो हरिराम ‘मान्छे’ हो कि ‘काग’ हो कि ‘तित्रा’ ? (व्यङ्ग्य)

‘व्यंग्यनारान पाँडे’
“हन के छ हओ पाँडेजी ? तपइँ लेटिनको टोइलेटमा पसेको बाटाबडै देखेसि म इँही टोइलेटको फरन्टैमा आ’र पिँढीमा थ्याच्च बसिरछु हए… म क्या त कम्रेट हरिराम पुरेत बाजे !… अन्त, के छ खबर–खाबर ? तपइँ त मसित भामट् गोस्सा भका छौ अरे भन्ने मलाई अस्तिका दिनदेखुन् नै कन्टेनेउली इन्फोरमिसन आइराख्या थ्यो । तपइँ मसित रिसा’र किन गोस्सा अथ्बा इँलिसको ‘ड्यान्जर याङरी’ भको भन्ने किल्लेर पस्टिकर्ण के–के छन्, लु त तिँहीँबड भा नि फटाफट बइन् देऊ त हउ ! म आज अलि बिज्जीमा छु, धेरै पर्खिने ट्याम छैन मेरो । मैले आज्जै, लेट नगरी माथि पाटीको क्यान्द्राँ अर्जेन्ली यो रिपोट पठाउनुछ क्या…”

म भर्खर शौचालयमा पसेको मात्र थिएँ, लबस्तरो हरिरामले बाहिरबाट खरखर्ती यति भन्दाभन्दै म कराएँ– “किन अन्भरिएको नि फेरि ! जाऊ, गइजाऊ ।”

किन टेथ्र्याे ऊ, ह्याँ–ह्याँ गरेर जिस्किँदै भटाभट भन्न थाल्यो– “महरू, अथ्बा–भनम् न, हामेरू एता टोल छेत्रको एर्रियाका कम्रेट–कम्रेट्नीहेरू सप्पै… उता झोडा गामका कम्रेट कान्छा साउकी साइँली सालीका देवरको साख्खै जेठान ‘टुप्पे कान्छो’–ले जागिर खाइराख्या रामौतारको कुख्रा पालन फारामको छिमेकी भ’का नाताले सोतह हामेरको कम्रेटमा टाँचलेट भ’का… ती क्या त पअअअर घोप्टे मोडका ढाल बादुर भन्ने घिम्रे कान्छो ? हो, ती कम्रेटका घराँ खसी काट्ने अरे भन्ने सुनेर गइरथिउँ । उनकाँ खसीको रक्ति–कर्जीमर्जी मर्मसालाले मिठ्ठो गरिकिन पकाको हाम्लाई पनि खान दे र खाइराख्या ट्याममा …त्याँहाँ पनि तपइँ गोस्सा’र याङरी भ’को चर्चाे चलेकै हो, अ‍ैले एक घन्ट अगि मात्तै पनि । र, अन्तखेरि ‘कुटी चइँ हाल्दौन होला… एकखेप भेटिहेरम् न त, के नापिँदो रछ त’… भन्र तपइँकामा आउँदो भएँ ।… तपइँ के–कति कारनले मसित याङरी भ’का होउ डिट्टेल्ली बुज्नैपर्ने परो । क्यार्नी, पाटीको काम एस्तै हो ।… तपइँ मसित गोस्सा हुँदा तपइँलाई नै फैदा हुँदैन हए, मैले समया र ट्याममै भन्दिया छु । किन भनेरभनौला भने, एस ट्याममा सर्खार हामेरको छ भन्ने तपइँलाई मालमै होला । अ‍ैले राजाबाधी उम्लेका छन् र हामेरको सर्खारले तिनेरूमाथि, जेसुकै भा पनि, एउडा बिङ्गो धरेर रबिन्र मिर्स, धओल सम्सेरलाई जइसइ कोच्न नसक्ने अथ्बा जेबी राई र दुर्गा प्रसाइँलाई जइसइ… !”

यति भनेर उसले बेस्सरी खोक्यो र खकार पगारेर खरोगरी थुकेको आवाज पनि मैले आँखैले देखेजस्तै सुनें र शौचालयबाट हाँस्तै बाहिर निस्केर ढोका तान्दैथें, उसले मलाई रोक्तै भन्यो– “ए ए’छिन् ठेर न, मैले पनि आज टोइलेटेको छैन, तो ढोका नथुन त । भित्र पानी सफ्फिसेन छैन भने धाराबड लेरा’र थपिदेऊ बरु ।”

मैले नटेरी ढोका थुन्दै भनें– “हुँदैन, यस्ता फोहोरीलाई मेरो लेट्रिनमा एलाउ छैन । जाऊ, उत्ता बाटो किनारका पैनीतिर । त्यतिका पैनीहरू खाली नै छन् त !”

“लउ त, थाम्छु नि बरु, मेरा बाऊको के पो जान्छ र ? बिग्रे मेरै कट्टु र सुराल न बग्रिने हो ।”– भन्यो उसले र थप के भन्न आँट्तैथ्यो, म कोठातिर पसें र ढोका बन्द गरेर चुक्कुल लगाएँ ।…

केही बेर म चूपचाप बसें ।… यस्ता लबस्तरासँग बोलिरहनु वा यस्तालाई लखेट्न लाग्नु हो भने आफैले हार्नु र बेज्जत हुनु पर्ने जमाना छ क्यारे !… र, यसो गर्नु यो समयको, ‘लोकतान्त्रिक बाध्यता !’–को मनोविज्ञान पनि थियो क्यार मेरा लागि ।

बिहान स्थानीय पत्रिकाहरू नहेरी नसक्ने व्यसन थियो मेरो र बिहान केही पत्रिका र पार्टीका मुखपत्रहरू मेरो बरण्डामा आइराखेका हुने हुनाले म, सदा झैं, बरण्डामा निस्केको त हरिराम लबस्तरो म बस्ने कुर्सीमै ढल्किएर उँगिरहेको रहेछ ! मैले उसलाई झक्झक्याएँ र भने– “ओए फटाहा, यहाँ किन बसिरहेको हँ…? लाज लाग्दैन ? कस्तो बेशरम लबस्तरो र’छ !”

ऊ अनुहारमा रिस उतार्दै उठ्यो र बरण्डाको रेलिङमा अडेस लागेर थ्याच्च बसेपछि, रिसले हो कि डरले हो, बोली कमाउँदै टोलै थर्काएर बम्किन थाल्यो– “हन मलाई भइँमा थेचारेर आफू नरम डसना भ’को कुर्सीमा बस्ने ‘तिमेरको ट्याम’ आइसकेको छैन त ! मैले पो तेस कुर्सीमा ग्याम्म बसेर सुक्ख–सन्बिर्दि ल्याम्छु, भष्टचारी गर्दिन, भष्टचारी गर्न दिन्न भन्र गफ–टुक्का हाँक्ने ट्याम हो अ‍ैले र पो बस्या त यार पाँडे !… याँ ओरिपरि परहरी–ससत्र भादेखुन् मैले तिम्लाई ठेगान लाउन जान्या थें अस्ति चइत पन्द्र गते सुकबार काटमाडुँमा जइसइ । नभा नि रभि लाम्छ्यानेलाई ‘तिम्रो अन्तिम इक्छा के छ ?’ भन्र काटमाडुँका डियस्पी साहेपले मिर्तुडन्ड लागेर चइँनेकेरे झण्डा’र अथ्बा बन्नुक–राईफल या पिस्तोलले डङ्ग गोलीले ढाल्न लागेको मान्छेलाई पोडे–जल्लाधले सोदे जइसइ तर्सा’र जिल्ल पार्थें र खँधार्थे पो साजै झ्यालखानमा । कि अग्गि तिमी टोइलेटको लेटिनमा सिरेसली भ’र ‘अँ–अँ’ गर्दैथ्यौ र तेत्रो सम्जाको सुनेनऊ ? …कि यो गन्तन्त्र कसरी खेल्ने भन्ने तपइँ लैफुँगेले बुजेकै छैनउ हँ…? यो हामेरको गन्तन्त्र एत्रो आट–नउ बर्खको भउन्जेल पनि एस्को हिस्टोरी र ब्याग्राउन् थाइ छैन ?… अलिक ‘डिसन्यारी’–को पोस्तक पढेर अछेर र सभ्द सिक न, तइ अलि बाठो–अलि बिद्वान हुन्छौ कि र तिम्रो बोधो भट्वाँसे दिमाखको लिभर पनि सुद्दिफाइ–किल्लेरिफाइ भ’र गन्तन्त्र खेल्न र गन्तन्त्र गर्न सिक्छउ कि त ! मैले डिसन्यारीका कत्रा–कत्रा ए’दुई कुइँटले पोस्तक पढिरछु भन्ने तपइँलाई मालम भादेखुन् तिम्ले मलाई किन, के–कति चाइँनेकेरे कारनले यो चिसा भइँमा थेचार्ने हिकमत गथ्र्याै ? कि तिम्ले हामेरको पाटीका कन्दनेहरले उस दिन भाटभाट्यानी दोगान लुटेको देख्याथेउ हओ ? तेसो भा अब कुरो फिनिस्ट्या’रै भन त ‘तपइँको अन्तिम इक्छा के छ ?’ यो मेरो कोइसिन कस्ता–कस्ता ट्याममा कस्ता–कस्ता मिर्तुडन्ड पा’का मान्छेलाई सोद्ने कोइसिनको पश्न हो भन्र तेसको हाई पोरफायलको महोत्तो अग्गि नै पस्ट गरें त मैले । हन तिम्ले आफ्ना घराँ आको पाउनोसँग फुटानी देखा’र किन बेजोती गरेका हँ…? म गोहार माङ्दै कराउँ ?… अ‍ैयायाया ! ल हेर त, इ एस्सरी मेरो नर्क बस्ने तल्लो भुँडीमा कस्तरी हेडेक हुन थालो ? हन मैले नथा पाई तेस भुँडीमा लात्तले हान्यौ कि क्या हो तिम्ले ? अ‍ैयायाया…! कस्तरी दुखेको नि, अ‍ैयायाया आमइँ नि हौ !… लाखेस् न, ममाथि अनियाँ–अतिचार गरेर भइँमा थेचारेर लात्तै–लात्ता र बक्सिनै–बक्सिनले आतङकारी आकर्मन भ’को सब्जेटमा रग्गुजी पन्थलाई सम्सतमा बोल्न नलाई छोडे त थुक्क… ! लाखेस् न, म नि म…हेर्लाऊ न… म के गर्दाेरछु… ! म जइसो ज्यान्टिल सज्यानको एत्रो भ्याङकट बेजोत ? लाखेस् न लाखेस्…”

यस्तै के–के हो के–के,अन्टसन्ट भन्दै ऊ उठ्यो र हतार–हतार बरण्डाको सिँढीमा खँदारिँदै आँगनमा निस्केपछि मतिर हेर्दै किच्च–किच्च दाह्रा किटेर भन्न थाल्यो– “लाखेस् न पाँडे, अब्ब तिमी कोनि क्याती नारान पाँडे नओमको इँलिस ‘नायन’ हुने ओभरतम् सिउरलीमा पर्ने भयौ – लु जा त ! ‘आठम्’ माने ‘अएट’–सम्मनलाई त उइले बिक्राम सम्बतको सन् दुई हज्जार अठ्ठाइस सालदेखुन् सन् ए’तीस् सालभित्रै हामेरका पुज्जे पुर्खाले ओछेन–ओछेन र बाट्बाटै छपाछप गिँडेर चिलिम फर्काकै हुन् केरे ! भँरभनेदेखुन् अब्ब पालो खुरुरुरु कुधेर तिम्रा सन्मुक आयो हए, आई पो गो ।”…

अनि उसले देब्रे खुट्टो उचाल्दै कताबाट हो ‘प्वाँक्क’ आवाज निकाल्यो र भन्यो– “लु, मेरो पेटको लिदीको सुगन्ध मिस्कट भ’र निक्सेको यो अर्जिनिल र आर्कै खाल्के नमस्कार तिम्लाई । कत्ति चइँ टेसिलो लागो त मेरो यो कम्रेडी नमस्कार ? हामेरू जइसा ‘स्वामीभत्त’–लाई ‘देशभत्त’–मा टाँचलेसन गरेर बेस्मारी हेप्नी ?… लु खाऊ ह्वास्स ‘माल’ नाकबड…स्याँठ्ठसँगले !”…

टोलै थर्काएर यस्तैयस्ता फोहोरी गाली च्याँठिंदै हिँडेको लबस्तरो हरिराम कुइँनेटामा नअस्ताइन्जेलसम्म हेरिरहें मैले र मात्र गन्गनाएँ– “नापिस् पढ्के ‘रातो काग’ कि आफ्नो परिचय आफै दिँदै हिँड्ने साला ‘तित्रा’ !”…

The post हन, यो हरिराम ‘मान्छे’ हो कि ‘काग’ हो कि ‘तित्रा’ ? (व्यङ्ग्य) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register