समाजलाई जोड्ने जागरणको सञ्जाल

म सुदूरपश्चिममा जन्मी हुर्किएको मान्छे हुँ । अछाममा जन्मिएर कैलालीमा हुर्किएको सामान्य परिवारको बच्चा, म आज सामाजिक सञ्जालकै कारण यहाँसम्म पुगेको छु । आफ्नो ठाउँ र परिवेशलाई हेरेर म आफूलाई पिछडिएको क्षेत्रको नागरिक हुँ भन्ने हीन भावना बोकेर हिँडिरहेको हुन्थेँ । मलाई सामाजिक सञ्जालले त्यो भ्रमबाट मुक्त बनायो । मैले सामाजिक अभियन्ताको काम सामाजिक सञ्जालबाटै […]

Apr 26, 2025 - 06:22
 0
समाजलाई जोड्ने जागरणको सञ्जाल

म सुदूरपश्चिममा जन्मी हुर्किएको मान्छे हुँ । अछाममा जन्मिएर कैलालीमा हुर्किएको सामान्य परिवारको बच्चा, म आज सामाजिक सञ्जालकै कारण यहाँसम्म पुगेको छु ।

आफ्नो ठाउँ र परिवेशलाई हेरेर म आफूलाई पिछडिएको क्षेत्रको नागरिक हुँ भन्ने हीन भावना बोकेर हिँडिरहेको हुन्थेँ । मलाई सामाजिक सञ्जालले त्यो भ्रमबाट मुक्त बनायो ।

मैले सामाजिक अभियन्ताको काम सामाजिक सञ्जालबाटै सुरु गरेको हुँ । ६ कक्षादेखि १० कक्षासम्म पढ्दा मैले रेडियोमा बाल बहस कार्यक्रम चलाउँथे । यो कार्यक्रमको लागि म लम्कीदेखि टीकापुरसम्म पुग्थेँ । रेडियो कार्यक्रममा बालबालिकाका हक र अधिकारका विषयमा सरोकारवालासँग छलफल गर्थेँ । यही क्रममा म सामाजिक सञ्जालसँग परिचित भएँ । त्यति बेला रेडियोमा काम गर्ने टेक्निसियनले फेसबुक चलाएको देखेको थिएँ । उहाँले नै मेरो फेसबुक एकाउन्ट बनाइदिनु भएको थियो ।

मैले सामाजिक सञ्जालबाटै विभिन्न समाज रूपान्तरणका कामहरूको सुरुवात गरेँ । गाउँ टोलमा सरसफाइ गर्ने, अशक्त र असहायलाई सहयोग जुटाउने, विपन्नका लागि चाडबाडमा सहयोग सङ्कलन गर्नेलगायत काम मैले सामाजिक सञ्जालबाटै गरेँ ।

सामाजिक सञ्जालमार्फत  २०७३ मा हुम्लाको अदानचुली गाउँपालिकामा खाद्यान्न समस्या भएपछि ‘भोकै छ हुम्ला’ भनेर अभियान चलाएको थिएँ । त्यो अभियानमा मान्छेहरूले दसैँ तिहारमा जुवा तास खेल्ने र मदिरा सेवन गर्ने पैसा बचत गरेर हुम्लालाई सहयोग गरे ।

म काठमाडौंबाट चिनिनुभन्दा पहिले गाउँमा गरेको कामबाट परिचित भएँ । सामाजिक सञ्जालमा आउने सकारात्मक प्रतिक्रियाले नै मलाई यहाँसम्म ल्याइपुर्‍याउन मोटिभेट गरे । आज सामाजिक सञ्जालका कमेन्ट बक्समा मलाई कति गाली-नकारात्मक प्रतिक्रिया आउँछन् भन्ने कुराले आज मलाई धेरै फरक पार्दैन ।

सामाजिक सञ्जालका दुईवटा पाटा छन् । एउटा सकारात्मक र अर्को नकारात्मक । त्यसको प्रयोग कसरी गर्छौँ भन्ने कुराले परिणाम तय गर्छ । संसारमा एउटा, दृष्टि र अर्को, दृष्टिकोण हुन्छ । दृष्टि भनेको आँखाले देखेर बुझ्ने कुरा हो । दृष्टिकोण भनेको दिमागले सोच्ने कुरा हो । सामाजिक सञ्जालमा आँखाले हेरेर बनेको दृष्टिको मात्र भर परेर हुँदैन, दिमाग खियाएर दृष्टिकोण पनि बनाउनुपर्छ ।

सामाजिक सञ्जालको दुरुपयोग पनि आँखाले देखेकै भरमा गरिने एउटा खराब कर्म हो । दृष्टि र दृष्टिकोण दुवै लगाएर मात्रै सामाजिक सञ्जाल प्रयोग गर्नु राम्रो हुन्छ । नकारात्मक कुरा छिटो फैलिन्छ । त्यस कारण लाइक र कमेन्ट पाउनकै लागि नकारात्मक कुरा फैलाउनु ठीक होइन । यस्तो प्रवृत्ति सामाजिक सञ्जालमा व्याप्त छ । यही कारण राज्यले पनि सामाजिक सञ्जालबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको होला ।

राम्रोभन्दा नराम्रो कुरा धेरैको प्राथमिकतामा परिरहेको हुन्छ । राम्रो बन्न समय लाग्छ, नराम्रो क्षणभरमै हुन्छ । नराम्रा विषय सामाजिक सञ्जालमा अथाह छन् । यही कारण के कुरा राम्रो हो र के कुरा नराम्रो हो भनेर म दृष्टिकोण बनाउने प्रयास गर्छु ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता मास्नु हुँदैन

यो देशमा जसरी लोकतन्त्र स्थापनासँगै के गर्न पाउने र के नपाउने भनेर व्यवस्था गरिनुपर्थ्यो त्यसरी नै सामाजिक सञ्जालमा पनि के गर्न पाउने र नपाउने तय हुनुपर्छ । तर, यसको अर्थ नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै मास्नु भने हुँदैन ।

नागरिकले आफ्नो हक र अधिकारका लागि बोल्दै गर्दा वा प्रश्न गर्दा सत्ता सञ्चालकहरूले आफूलाई नै यस्ता प्रश्न आएका हुन् भनेर व्यक्तिगत तहमा सोच्नु हुँदैन । सरकारमा आज कोही एक जना मान्छे हुनसक्छ । तर भोलीका दिनमा तपाईं हामीजस्तै आम मान्छे पनि सोही पदमा पुग्न सक्छ । सार्वजनिक जीवनमा उठेका प्रश्न सहन सकिँदैन भने पदमा बस्नु हुँदैन । पदमा बस्ने हो भने प्रश्नहरू उठ्छन् र ती प्रश्नको जवाफ दिनुपर्छ । तर, ती प्रश्नमा गाली गलौच भने हुनुहुँदैन ।

हो, मान्छेका असन्तुष्टिहरू पोखिने क्रममा कहिलेकाहीँ व्यक्तिगत तहमा पनि पोखिन पुग्छन् । ती प्रश्न, त्यो आलोचना आफू सार्वजनिक जिम्मेवारीमा रहेका कारणले उठेको हो भन्ने बुझ्नुपर्छ । तर, प्रश्न गरेकै कारण सजायको भारी बोकाउने काम गरिनु हुन्न ।

अर्को पाटो पनि छ – अभिव्यक्ति स्वतन्त्रताका नाममा जथाभाबी गर्ने, व्यक्तिगत जीवनमा हानी पुर्‍याउने, जात, शरीर, भूगोल, रङ्ग वा लिङ्गका आधारमा कसैलाई विभेद गर्ने, प्रतिष्ठामा आँच पुर्‍याउने काम पनि सामाजिक सञ्जालमा भइरहेका छन् । यो गलत हो ।

अहिले हाम्रोमा सामाजिक सञ्जाल ‘मनिटर’ भइरहेका छैनन् । टिकटक नेपालमा दर्ता भएको छ भन्ने सुनिन्छ । फेसबुक, ट्विटरलगायत कम्पनीहरू नेपालमा दर्ता छैनन् । ती कम्पनीलाई नेपालको कानुनी दायरामा ल्याउनका लागि राज्यले सामाजिक सञ्जालसम्बन्धी बनाउन लागेको कानुन ठीकै पनि होला । तर राज्य सञ्चालकले आफूमाथि प्रश्न उठेका कारण आफ्नो लोकप्रियता गुम्यो भनेर अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्ने गरी कानुन बनाउन खोज्नु सही होइन ।

हाम्रो समाजमा चारैतिर नकारात्मकता व्याप्त छ । सञ्चार माध्यममा पनि नकारात्मक समाचार नै बढी देखिन्छन् । त्यस्तै नकारात्मक समाचार भाइरल पनि भइरहेका हुन्छन् । त्यसैले म त्यस्ता नकारात्मक चिजबाट टाढा रहने कोसिस गर्छु ।

नकारात्मक समाचारमाथि नकारात्मक प्रतिक्रियाको पनि उस्तै बाढी आउँछ । म नेताहरूलाई गाली मात्र गर्नुपर्छ भन्ने पक्षमा छैन । नेताले खराब काम गरेको भए आलोचना पनि गरिनुपर्छ । तर त्यो आलोचना रचनात्मक हुनुपर्छ । रचनात्मक आलोचना जसले पनि गर्न पाउनुपर्छ र यसमाथि बन्देज लगाउनु हुँदैन ।

सामाजिक सञ्जालको काम समाजलाई जोड्ने हो । तर कतिपय अवस्थामा सामाजिक सञ्जाल समाजलाई विभाजन गर्ने उद्देश्यले बढी दुरुपयोग भइरहेको पनि पाइन्छ । यसमा सजग हुनुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register