च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानबीच रोमाञ्चक बराबरी
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे। खेलको सुरुवातमा इन्टर मिलानले आक्रामक खेल देखाउँदै बार्सिलोनालाई दबाबमा राखेको थियो। खेलको पहिलो मिनेटमै मार्कस थुरमले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाए। त्यसपछि २१औँ मिनेटमा डेन्जेल डुमफ्रेइजले […]

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे।
खेलको सुरुवातमा इन्टर मिलानले आक्रामक खेल देखाउँदै बार्सिलोनालाई दबाबमा राखेको थियो। खेलको पहिलो मिनेटमै मार्कस थुरमले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाए। त्यसपछि २१औँ मिनेटमा डेन्जेल डुमफ्रेइजले गोल गरेपछि बार्सिलोना २-० ले पछि परेको थियो।
तर, बार्सिलोनाले पनि खेलमा उत्कृष्ट पुनरागमन गर्यो। २४औँ मिनेटमा लामिन यमालले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए भने ३८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। यससँगै पहिलो हाफ बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने प्रयास जारी राखे। ६३औँ मिनेटमा इन्टरका डेन्जेलले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए। तर, इन्टरको अग्रता धेरै बेर टिकेन। ६५औँ मिनेटमा आत्मघाती गोल उपहार पाएपछि बार्सिलोनाले खेललाई ३-३ को बराबरीमा पुर्यायो।
अब च्याम्पियन्स लिगको फाइनलमा पुग्ने टोलीको टुङ्गो सेमिफाइनलको दोस्रो लेगको खेलपछि लाग्नेछ। यसअघि भएको अर्को सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले आर्सनललाई १-० ले पराजित गरेको थियो। बार्सिलोना र इन्टर मिलानबीचको बराबरीले दोस्रो लेगको खेल थप रोमाञ्चक हुने अनुमान गरिएको छ ।
What's Your Reaction?






