काङ्ग्रेसबाटै सरकारको आलोचनाबारे एमालेले संसद्‌मा जनायो विरोध

काठमाडौं । नेपाली काङ्ग्रेसका नेताहरूले लोकप्रियतावादको कारणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेको भन्दै एमालेले संसद्‌मा विरोध जनाएको छ । एमालेका सांसद सूर्य थापाले गठबन्धन सरकारको मर्म र मान्यतालाई बिर्सिएर काङ्ग्रेसका नेताहरूले एमाले नेतृत्वको गठबन्धन सरकारमाथि प्रहार गरिरहेको भन्दै विरोध जनाएका हुन् । काङ्ग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा […]

May 5, 2025 - 08:31
 0
काङ्ग्रेसबाटै सरकारको आलोचनाबारे एमालेले संसद्‌मा जनायो विरोध

काठमाडौं । नेपाली काङ्ग्रेसका नेताहरूले लोकप्रियतावादको कारणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेको भन्दै एमालेले संसद्‌मा विरोध जनाएको छ ।

एमालेका सांसद सूर्य थापाले गठबन्धन सरकारको मर्म र मान्यतालाई बिर्सिएर काङ्ग्रेसका नेताहरूले एमाले नेतृत्वको गठबन्धन सरकारमाथि प्रहार गरिरहेको भन्दै विरोध जनाएका हुन् ।

काङ्ग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको कार्यशैली सच्याउनुपर्ने भन्दै सरकारको प्रखर आलोचना गरिरहेका छन् । उनीहरूले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई राष्ट्रिय राजनीति र सरकारतर्फ सोझाएको भन्दै उनले आपत्ति जनाए ।

काङ्ग्रेसले प्रधानमन्त्री ओलीलाई अनावश्यक रूपमा विवादित बनाउने काम गरिरहेको भन्दै उनले अस्थिरतालाई मलजल गर्ने काम नगर्न उनले काङ्ग्रेसलाई आग्रह गरेका छन् । ‘सात बुँदे सहमतिको जगमा बनेको सरकारले न्युनतम साझा कार्यक्रम अन्तर्गत अघि बढिरहेको छ । कुनै पनि निर्णय विमतिमा भएको छैन । दुई नेताबीचको छलफल र सहकार्यबाटै भइरहेको छ । अनि दोष प्रधानमन्त्रीलाई,’ उनले भने ।

आन्तरिक प्रतिस्पर्धाको असर सत्ता गठबन्धनमा नपोख्न उनले काङ्ग्रेसलाई आग्रह गरेका छन् । सरकारलाई सफल बनाउनका निम्ति अग्रसर हुन थापाले काङ्ग्रेस नेताहरूलाई भनेका छन् । ‘सरकारविरूद्ध असन्तुष्टि बढाउने काममा कोही दुरूपयोग नहोऔँ,’ उनले भने ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तको निर्णपनि सल्लाहमा लिँदा समेत काङ्ग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीमाथि प्रहार गरेको भन्दै उनले आपत्ति जनाए । ‘गठबन्धन सरकारको निर्णय प्रधानमन्त्रीको स्वेच्छाको विषय हुन्छ र? सरकारको एमालेकरण भनेर अखबारबाजी गरेको छ,’ उनले भने ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अचेल काङ्ग्रेस महामन्त्री जान छोडेका छन् । त्यसलाई इंगित गर्दै सांसद थापाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा समस्या भएको हो भने त्यसलाई विघटन गर्न पनि सुझाव दिएका छन् ।‘संयन्त्रको अभ्यासमा समस्या भयो भने त्यसलाई खारेज गरे हुन्छ । विघटन गरे हुन्छ,’ उनले भने ।

सरकारमाथि प्रहार नभएर सहमति अनुसार सरकारलाई सफल बनाउन केन्द्रित हुन उनले काङ्ग्रेसका नेतालाई आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register