माओत्सेतुङ् खोज्न हिँड्दा कम्युनिस्ट बनेका प्रदीप नेपाल

२०२६ सालको साउनमा त्रिचन्द्र कलेजमा विद्यार्थीहरूले पञ्चायतविरूद्ध आन्दोलन गरेका थिए । आन्दोलन गर्ने समूह भाग्यो । त्यसमा सामेल नै नभएका प्रदीप नेपालसहित विद्यार्थीहरू पक्राउ परे । प्रहरीको पञ्जामा परेका नेपाललाई भृकुटीमण्डप पुर्‍याएर कुटपिट गर्‍यो । मुख छोड्दै प्रहरीले भन्यो, ‘साला! माओत्सेतुङ बन्न हिँडेको ?’

May 6, 2025 - 15:50
 0
माओत्सेतुङ् खोज्न हिँड्दा कम्युनिस्ट बनेका प्रदीप नेपाल

२०१० पुस ८ गते भोजपुरमा जन्मिएका प्रदीप नेपाल २०२६ सालमा आईए पढ्न काठमाडौं आएका थिए । पढाई सकेर हेडसर हुने उनको धोको थियो । त्रिचन्द्र कलेजमा पढ्न आएका उनको बाटो प्रहरीको गिरफ्तारीले बदलदियो ।

२०२६ सालको साउनमा त्रिचन्द्र कलेजमा विद्यार्थीहरूले पञ्चायतविरूद्ध आन्दोलन गरेका थिए । आन्दोलन गर्ने समूह भाग्यो । त्यसमा सामेल नै नभएका प्रदीप नेपालसहित विद्यार्थीहरू पक्राउ परे । प्रहरीको पञ्जामा परेका नेपाललाई भृकुटीमण्डप पुर्‍याएर कुटपिट गर्‍यो । मुख छोड्दै प्रहरीले भन्यो, ‘साला! माओत्सेतुङ बन्न हिँडेको ?’

हेडसर बन्ने सपना पालेका नेपालले प्रहरी चौकीमै पहिलोपटक माओत्सेतुङको नाम सुनेका थिए । जाडो छुट्टीमा उनी आफ्नो थातथलो भोजपुर पुगे । घर जाँदा उनलाई चौकी बोलाइयो । प्रहरी निरीक्षकले उनलाई राजनीतिमा लागेको रिपोर्ट आएकाले भोजपुर बस्दा थुन्नुपर्ने जानकारी गराए । उनै निरीक्षकले दिएको सल्लाह बमोजिम नेपाल काठमाडौं फर्किए ।

राजनीतिमा नलागे पनि प्रहरी प्रशासनको नजरमा उनी राजनीतिक मान्छे करार भइसकेका थिए । त्यसपछि हेडसर बन्ने धोको छोडेर उनी राजनीतिमा लाग्ने निर्णयमा पुगे ।

प्रहरीले,‘माओत्सेतुङ बन्न हिँडेको ?’ भनेर केरकार गर्नुअघि उनले उक्त नाम सुनेकै थिएनन् । माओत्सेतुङ् को रहेछ भनेर खोज्न हिँड्दाहिँड्दै उनी कम्युनिस्ट पार्टीको सम्पर्कमा आइपुगे । ‘पञ्चायतको कालरात्रीमा हाइस्कुलको हेड सर हुने सपना देखेको केटोले माउत्सेतुङको नाम सुन्ने कुरै हुन्थेन । तर, माओत्सेतुङ् खोज्दाखोज्दै म कम्युनिस्ट पार्टीको सम्पर्कमा आइपुगेँ,’ नयाँ पेजमा राजेश राईसँगको कुराकानीमा उनले खुलाएका थिए ।

जेल ब्रेक गरेका नेता

२०३३ साल वैशाखमा मुस्लो समूहले ८६ औँ मई दिवस मनाउँदै पर्चा छर्‍यो । त्यसमा संलग्न प्रदीप नेपाल सहितका नेतालाई गिरफ्तार गर्दै जेलमा राखियो ।  विभिन्न जेल हुँदै नेपालसहित नेताहरूलाई २०३३ कार्तिकमा नख्खु जेल पुर्‍याइएको थियो । पर्चा काण्डमा संलग्नहरूलाई १० वर्ष कैद र १०-१० हजार जरिवानाको फैसला सुनाइएको थियो। उक्त फैसला सर्वोच्चबाट उल्टिनेमा जेल परेकाहरू विश्वस्त थिए । अदालतको फैसला आउन ढिलाई भएपछि जेल ब्रेकको योजना बनाएका थिए । सुरूङ खनेर भाग्ने योजना उनीहरूको थियो । २०३३ चैत १२ गते नेताहरू नख्खु जेल ब्रेक गरेर भागेका थिए । त्यो सूचीमा नेता नेपाल पनि थिए ।

राजनीति शत्रुता, अविश्वास र धोका रहेको निष्कर्षमा पुगेका नेपाल

कोअर्डिनेसन केन्द्रको २०३५ पुस ११-१७ सम्म भएको पहिलो सम्मेलनबाट उनी केन्द्रीय सदस्य भएका थिए ।  २०४७  पुस २२ मा नेकपा एमाले गठन भएपछि उनी एमालेको राजनीतिमा सक्रिय भए । २०४९ माघ १४-२० मा एमालेको पाचौँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनपछि उनलाई पछि केन्द्रीय सदस्य बनाइएको थियो ।

प्रदीप नेपाल २०५१ मा राष्ट्रियसभा सदस्य भएका थिए । २०५४ सालमा उनी सूचना तथा सञ्चार मन्त्री बने । २०५५ सालमा उनले जस्रोत र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले । २०५६ सालमा उनी प्रतिनिधिसभा सदस्य भए । २०६३ उनी शिक्षामन्त्री भए ।

एमालेको आठौँ महाधिवेशनसम्म प्रदीप नेपाल कुनै पनि गुटमा लागेका थिएनन् । गुटबन्दीले दास जन्माउने उनको तर्क थियो । एमालेको आठौँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिँदा उनी पराजित भएका थिए । नवौँ महाधिवेशनमा भने उनी केपी ओली गुटमा लागे । ओली गुटबाट उपाध्यक्षको उम्मेदवार बन्दा उनी पराजित भएका थिए ।  नवौँ महाधिवेशनमा नेपालले अध्यक्षमा ओलीलाई प्रस्ताव गरे । बुढाहरूको पालो नपुर्‍याइ र उनीहरूलाई नेटो नकटाइ नयाँ पुस्ताको पालो आउने नदेखिएकाले आफू त्यतातिर लागेको उनको प्रस्टिकरण थियो । ‘बुढाहरूलाई नेटो कटाउने गरी यो महाधिवेशन हुनुपर्छ। अहिले नेपाललाई दियौं भने अर्को पटक खनालले लोभ गर्नुहुन्छ । यसकारण यी चारै नेतालाई पालैपालो भाग खान दिएर नेटो नकटाई युवामा नेतृत्व आउँदैन,’ उनको भनाइ थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सूचीबाट उनको नाम काटिएको थियो । नेपाल स्वयंले माधव नेपाल, झलनाथ खनाल, केपी ओली र वामदेव गौतमले समानुपातिक सूचीबाट आफ्नो नाम काट्ने सहमति जनाएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । विद्या भण्डारी बाहेक सबै नेताले नाम काट्न सहमति जनाएको उनको भनाइ थियो । नेताहरूले आफूलाई धोका दिएको उनले आफ्नो पुस्तक ‘बिदाईका क्षण’मा उल्लेख गरेका छन् । ‘मैले चारैजनाको धोकालाई माफ दिएको छु । राजनीति उसै पनि शत्रुता, अविश्वास र धोकाको अर्को नाम हो,’ उनको पुस्तकमा उल्लेख छ ।

सूचना प्रविधिमा अब्बल, मोबाइल चलाउँदा पार्टीभित्रै विरोध

प्रदीप नेपाल सूचना प्रविधिमा अब्बल नेता थिए । २०३८ सालमै उनले कम्युप्टर चलाउन सिकेका थिए । घरमा  मोबाइल र कम्युप्टर राख्ने पहिलो एमाले नेता हुन् प्रदीप ।  प्रदीप नेपालले मोबाइल चलाउँदा माधव नेपालले विरोध नै गरेका थिए । मारवाडीले मात्रै राख्न सक्ने अत्यन्तै महँगो फोन चलाएको भन्दै नेपालले विरोध जनाएका थिए । राष्ट्रियसभा सदस्य हुँदा नोर्टेल कम्पनीको फोन उनले १७५० रुपैयाँमा खरिद गरेका थिए । उनले उपहारमा आएको म्याक बेचेर ल्यापटप खरिद गरेका थिए । ल्याटप बोक्दा समेत उनको आलोचना हुनेगर्थ्यो ।

२०७५ सालदेखि उनी सक्रिय राजनीतिदेखि टाढै बसेका थिए । एमाले विभाजनका बखतदेखि उनी केही अस्वस्थ थिए । आफू माधव नेपालकै बताउने उनी  २०७८ भदौ ९ गते नेकपा एसको पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । उनलाई पार्किन्सले थला पार्दै लगेको थियो । अस्वस्थ नेपालको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । कम्युनिस्ट राजनीतिमा स्पस्ट र सोझा नेताको छवि बनाएका नेपालले आफ्नो निधनपछि भने पार्टीको झण्डा नओडाउन  र श्रद्धाञ्जली कार्यक्रम नराख्ने अन्तिम इच्छा प्रकट गरेका थिए । उपचारका क्रममा नर्भिक अस्पतालमा बितेका नेपालको उनकै इच्छा बमोजिम आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register