तानाशाही दलानमा ‘लोकतन्त्र’को गीत किन गाइरहनु ?

नकुल काजीमौजूदा संविधानमा हाम्रो लोकतन्त्रलाई जस्तोसुकै बुट्टे शब्दावलीले चिटिक्क सिँगारेर लोक–अपेक्षाको अनुकूल शासकीय शैली अख्तियार गरिने स्वरूप र प्रतिबद्धता अंकित भए पनि गणतन्त्रोत्तर, शासक–मण्डलमा पुगेकाहरू र सो हैसियतमा उभिने उपाय (?)–को नकारात्मक गतिविधिमा अहोरात्र कस्सिइरहेकाहरू बाहेक, देशको कुनै पनि कित्ताका जनताले त्यो अनुरुप सुखद अनुभूति पाइरहेका बुझिँदैन । समग्रतामा नागरिकले जे ‘हुनुपर्छ’ वा ‘हुनु हुँदैन’ [...] The post तानाशाही दलानमा ‘लोकतन्त्र’को गीत किन गाइरहनु ? appeared first on Jhapa Online.

May 8, 2025 - 03:04
 0
तानाशाही दलानमा ‘लोकतन्त्र’को गीत किन गाइरहनु ?

नकुल काजी
मौजूदा संविधानमा हाम्रो लोकतन्त्रलाई जस्तोसुकै बुट्टे शब्दावलीले चिटिक्क सिँगारेर लोक–अपेक्षाको अनुकूल शासकीय शैली अख्तियार गरिने स्वरूप र प्रतिबद्धता अंकित भए पनि गणतन्त्रोत्तर, शासक–मण्डलमा पुगेकाहरू र सो हैसियतमा उभिने उपाय (?)–को नकारात्मक गतिविधिमा अहोरात्र कस्सिइरहेकाहरू बाहेक, देशको कुनै पनि कित्ताका जनताले त्यो अनुरुप सुखद अनुभूति पाइरहेका बुझिँदैन । समग्रतामा नागरिकले जे ‘हुनुपर्छ’ वा ‘हुनु हुँदैन’ भन्छन्, शासकमा रूपान्तरिक भएपछि जुनसुकै दलका नेताले त्यही–त्यही चाहिँ लादिरहेका छन् !

प्रथमतः देशले ओैपचारिक रूपमा गणतान्त्रिक प्रणाली स्वीकारे यताको अवधिमा मात्र होइन, २०४७ सालको परिवर्तनपछिको कालदेखि नै दलहरूले स्वयम् आफैभित्रको प्रजातन्त्र वा लोकतन्त्रको तेजोबध गर्दै प्रमुख नेताको अधिनायकत्व लाद्ने दुष्कर्म गर्दै आएका छन् । र, पछिल्लो सरकार बनेयता त त्यस्तो आभ्यासिक हरकत झन–झन घातक बन्दै आएको क्रममा यो वर्तमानसम्म आइपुग्दा अझ उग्र बन्ने लक्षण देखाइरहेको छ । शासनको लगाम आफ्नो मुट्ठीबाट नउम्कियोस् भनेर सत्तारुढले सत्ताशक्ति दुरुपयोग गरी अङ्कुशहीन गतिविधिको बलमिचाइ गर्ने, आफ्नै दलभित्र गुट खडा गर्ने र त्यसो गर्दै गए दल निर्बलीकरण हुन्छ भन्ने विवेकीहरूलाई दलबाटै लखेट्ने जस्ता गलत रणनीतिले आफू बसिरहेको कुर्सी बलियो बनाउने काम–कार्वाहीहरू भइरहेका छन् । र, त्यसरी संयोजित भजन–मण्डलीको हल्लाले देश र देशवासीको वस्तुस्थितिलाई ढाकछोप गर्दै जनतालाई बेवकुफ बनाएर एकाधिपत्य कायम गर्ने लक्ष्य नै जो देखिँदो छ ।

त्यसो हुँदा बोक्रे हिसाबले जनतालाई जति नै लोकतन्त्र पोतिएको भाषण गाए पनि दलहरू आफैभित्र चाहिँ लोकतन्त्र कुनै रूपमा पनि व्यावहारिक अस्तित्वमा छैन भन्ने कुराको उनीहरू स्वयम् नै पनि जानकार छन् । अतः नीतिगत कुरा त बहुधा निर्णय–पुस्तिकाहरूमै सीमित र कहिलेकाहीँ फाइदा देखिए आफ्नो उपयोगमा वा प्रतिपक्षी र विरोधी तह लगाउनमा प्रयोग गरिएको पाइन्छ । यस्तो थिति बसाल्ने अघोरी–अगस्ती महŒवाकांक्षाबाट निर्देशित नेतृत्वको निरंकुश तजबीजले लोकतन्त्रको अस्मिता कसरी र कहिलेसम्म जीवित रहन सक्छ ?

अभ्यासपटमा आकृत विभिन्न विडम्बनापूर्ण घटनाहरू नै अहिलेको चरम जन–संदिग्धता, उद्विग्नता, निराशा, आक्रोशबाट उत्पन्न अस्तव्यस्तताको जड र ऊर्जा हो । यो ऊर्जालाई अझ सेपिलो बनाउन सत्तामाथि नवाबी घोडा चढेर सुशासन, विकास, समृद्धि र सुखका भाषणरूपी सम्मोहन छर्दै हिंड्ने एकथरि त छँदैछन् । त्यही ऐश्वर्यमत्त टुङ्गोमा आफू पुग्ने दाउ मार्न अरू पनि लामबद्ध छन् । देशका निम्ति उत्कर्षको सर्वव्यापी अवाञ्छनीय अस्थिरता, संकट र अन्योल बढाउने दुष्प्रयत्नमा पनि तिनै लागेका दृश्य पनि छताछुल्ल नै छन् ।

यी दुई प्रकारका धुन्धुकारी स्वभाव बोकेर देशको भौतिक तिजोरी चिथोरिरहेका तत्वहरूले पहिला तीन अलग–अलग दलका आ–आफ्ना मण्डप परिक्रमा गर्ने गरिरहेका छन् । तिनैले स्वार्थप्राप्तिको संयोग जुटेका बेला एकजुट भएर देशमाथि घिनलाग्दा अन्याय पनि गर्ने गरेका छन् । राष्ट्रद्वारा ओैपचारिक रूपमा अनुमोदित ‘व्यवस्था’ अन्तर्गतका हक–अधिकार उनीहरूलाई प्राप्त ‘बिर्ता’ जस्तो पो बनेको छ, जहाँ र जहिल्यै उनीहरू ‘साम–दान–दण्ड–भेद’ नीतिको हलो नार्ने मूर्खता गरिरहेका छन् । आजको जनचेतनाका प्रति अनभिज्ञ उनीहरूको दम्भी हरकतले ‘जनता’ भनिने ‘नागरिक’–लाई राणाकालका ‘रैती’ वा राजाकालका ‘प्रजा’–भन्दा पनि ‘हलि’को स्तरमा हेर्ने जुन तामस देखाइरहेका छन्, त्यसैको उम्दा दुष्परिणाम उनीहरूका ‘सिंहासन’ हल्लाउने सडक–सडकका उतारु दमदार आवाज हुन् ।…

देशको मौजूदा राज्यव्यवस्थालाई त्यसको सक्कली स्वरूपमा ‘मुखले वेदान्त र व्यवहारले प्राणान्त’–को स्थितिमा नथेचारी चल्न देऊ; जनतालाई संविधानप्रदत्त सार्वभौमसत्ता र राजकीय सत्ताको अधिकार प्रत्यक्ष–परोक्ष रूपमा परिबन्दले खोसेर आफूमा केन्द्रीकृत गरी मनमानीले होइन, त्यो संवैधानिक हक प्राप्त जनतालाई नहेप । सत्तारुढ दलको तजबिजी निर्णय नै ‘सरकार’ भएको दम्भी अभ्यासले देशवासीलाई पीडा नदेऊ; भ्रष्टाचार–कमिशनखोरीमा आफ्ना र विरानाको भेद राखेर आफ्नाबाट देश लुटाउने र तिनमा भाग बस्ने कोतेधन्दा नचलाऊ; ‘लोकतान्त्रिक गणतन्त्र’–लाई भाषण डकार्ने विषय मात्रमा सीमित गरी शासकीय शैलीले क्रूर तानाशाह बनेर जनताको नाममा आफ्नो र आफ्नाहरूका चूला–चौका र भँडार नभर; सुशासनको अथक गायत्री जपेर जन–नजर छल्ने अनि आफ्ना कोटरीका मात्र ठग–खतुकीहरूलाई ‘फरार सूची’–मा लुकाएर शकुनि–छलछाम गर्ने पाखण्ड नगर; जनताको कर–तिरोमाथि बाँकट्टे खेल्ने निर्लज्ज धन्धा नचलाऊ आदि–इत्यादि खबरदारी अहिले राष्ट्रको परिचायक क्रन्दन बनेको छ ।

यो सुधारापेक्षु क्रन्दन सत्तामा पलेँटी कसिरहेकाहरूले सुनिरहेका छन्, तर उनीहरूले बुझेको ‘लोकतान्त्रिक गणतन्त्र’–ले सुन्न आवश्यक ठानेको छैन । उनीहरूले ‘हामी बिनाको वा हामीले नचिनेको लोकले जानेको लोकतन्त्रको बोली हामीले सुन्न र मान्न जरुरी छैन’ भनेर घुमाउरो भाषामा भनिरहेका छन् !

सम्भवतः सत्ताका हनुमान चालीसे रहेका र मधिशे राजनीतिको छालीमारुवा अथवा मधेश भूभागमा झाङ्गिएका मान्छेरूपी कालिपोकेहरू समेतको सल्लाहमा हालै, मधेश राजनीतिको सबलीकरण हेतु हुन लागेको गठबन्धनलाई गर्भमै तुहाउने उद्देश्यले नै हुन सक्छ, ‘कानूनी राज’ जस्तो सदा स्तुत्य अवधारणाकै ठाडो र सरेआम धज्जी उडाइएको घटना त हाल शासकीय भनाइ र गराइको आकाश–पृथ्वीतुल्य वैभिन्न्यको पछिल्लो घटनापरक उदाहरण नै बनेको छ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई अदालतको कर्मचारीलाई हतियार बनाएर थुनाए जस्तो बचकाना खेल अन्ततः देशकै बेइज्जत हुने दुष्कर्म हो ।

अनेकानेक जनादेशलाई नटेरिँदा बढेको ‘असन्तोषको भुत्भुते’ अहिले मूल धारका मानिइने खासगरी ३ दलको राजनीतिले होश गुमाउँदाको हो । आफ्नै कर्म–कुकर्मबाट निसृत यो अवस्थाबाट उत्पन्न आजको अनुतप्त परिस्थितिको दोष अर्काे कसैको थाप्लोमा खन्याए चोखिइन्छ भन्ने ‘बादलको भुवा’ जस्तै क्षणभङ्गुर सोच अहिले सत्ताधारक र सो पाउने आशे–कराँसे तथा खोस्न बाउँठिरहेकाहरूका शिविरहरूमा पनि खिसीटिउरीको विषय बनेको छ । तर, देश शासनको कार्यकारी अख्तियारशाली प्रधानमन्त्रीबाट चाहिँ पुरानो राजपरिवारको किशोरवयी नाति–पनाति सरहका बालकलाई समेत असान्दर्भिक उपदेश प्रक्षेपण गरेर आफ्नो ‘मनको डर बोकालाई खुवाउने’ दन्त्यकथा पुनरावृत्त गरिरहेको जस्ता अलच्छिना दृश्यहरू पनि देख्नु पर्दैछ ।

सभ्य समाजमा ‘डर’ भनेको आफूभन्दा बलियासँग अनुभूत हुने मानसिक कमजोरी मात्र हो । असभ्य समाजमा पनि खुँखार–हरामखोरहरू आफूभन्दा खुँखारहरूसँग नै डराउँछन् क्यारे ! त्यसो भए एउटा राष्ट्रको कार्यकारी–प्रमुखको यस्तो झिनो डरलाई चाहिँ कुन हीनताबोधक रोगको सूचीमा सूचीकृत गर्नु पर्ने हो भन्ने प्रश्नात्मक विश्लेषणहरू पनि सुनिन थालेको अवस्थामा पुगेको छ– अहिले देश । यहाँभन्दा भताभुङ्ग र लथालिङ्ग स्थिति त यो पछिल्लो दशकमा कहिल्यै सुनिएको थिएन भन्न थालेका छन् कञ्चन राजनीति र शासन–प्रणालीका जानिफकारहरू !…

सत्ताका जुठे, कौडे–चम्चे, भाट–भारदार र तिनीहरू सरहकै भक्ति–भजन बेचेर नेपालको सुक्तै गएको लाम्टो चुसिरहेका कालाबजारी व्यापारी, दलाल–कीर्तेहरू, तस्कर, माफिया आदि सत्ता–शक्तिका आश्रित, आसे–पासे–तमाशेहरूको ¥याले भीडलाई कसैले आफ्नो लोकप्रियताको मानक मान्छ भने त्यो उसकै स्तरको सोच हो । तर, त्यस्ता पात्रसँग लोकतन्त्रका विषयहरू जोड्नु भनेको ‘धोतीमा ब्याक पकेट’ जस्तै हो । किनभने, जसका दलीय घर–परिवारमै लोकतन्त्रको परावर्तनसम्म छैन भने ऊबाट त्यही सिद्धान्त अनुकूल कुलाचारको अपेक्षा राख्नुको कुनै अर्थ हुँदैन ! अतः ‘जति काट्यो– जति छिमल्यो त्यति नै लामो’ हुने गाउँले पहेलीमा खाडल खनाइ जस्तै वा अर्बुद रोग जस्तै भएको छ– यो देशको यो तरोताजा वर्तमान ! त्यसैले नदी किनारको बालुवा गन्ने बढ्ता प्रयास किन गरिरहनु ?… बस्, आजलाई यति नै !…

The post तानाशाही दलानमा ‘लोकतन्त्र’को गीत किन गाइरहनु ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register