भारत–पाकिस्तानबीच मिसाइल हानाहान

झापा, २६ बैशाख । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको [...] The post भारत–पाकिस्तानबीच मिसाइल हानाहान appeared first on Jhapa Online.

May 9, 2025 - 02:22
 0
भारत–पाकिस्तानबीच मिसाइल हानाहान

झापा, २६ बैशाख । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।

आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ ।

ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ ।

पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य ब्यारेकमा आक्रमण गरेको तर ती सबैलाई असफल पारेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

भारतबाट सञ्चालित अनलाइन द भाष्करका अनुसार पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट हमला गरेको छ । जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर पाकिस्तानले ड्रोन प्रहार गरे पनि त्यसलाई भारतीय एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरिएको छ ।

भारतीय मिडियाहरुका अनुसार जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको छ ।

यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको छ । जम्मु विमानस्थलमा पनि ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।

आक्रमण तीव्र भएपछि खतराको संकेत स्वरुप साइरनहरु बजाइएको छ । जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती समेत निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसर तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।

आईपीएलको खेल चलिरहेको बेलामा पनि स्टेडियमको बत्ती केहीबेर निभाइएको थियो । त्यसपछि खेल नै स्थगित गरिएको हो । स्टेडियमबाट दर्शकहरुलाई घर फर्काइएको छ ।

सुरक्षाकर्मीहरुले घर, पसल र आफ्ना सवारी साधनहरुको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन् । उनीहरुले घरबाट बाहिर ननिस्किन पनि भनेका छन् । स्थानीयवासीहरूका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ र मानिसहरुमा आतंक छ ।

कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो ।

पहलगाम आक्रमणमा बुटवल रुपन्देहीका सुदीप न्यौपाने पनि मारिएका थिए । भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानकै भूमिका ४ गरी ९ स्थानमा एयर स्ट्राइक गरेको थियो । तीमध्ये पाकिस्तानको बहावलपुर भन्ने स्थानमा भएको आक्रमणबाट आतंकवादी संगठन जैश ए मोहम्मदका एक जना कमाण्डर मसुद अजहरको परिवारका १० जना मारिएका छन् । उनीहरु मारिएको जैश ए मोहम्मदले समेत स्वीकार गरेको छ ।

भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तान सरकारले समेत पुष्टि गरेको छ । ‘अपरेसन सिन्दूर‘ नाम दिइएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ । अन्धाधुन्ध गोलीबारीका कारण सयौं बासिन्दा भूमिगत बंकरहरूमा शरण लिन वा सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् । आक्रमणबाट घर, सवारीसाधनहरू, धार्मिक केन्द्र लगायतका अन्य भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

यति ठूलो आक्रमण सन् २०२१ को २५ फेब्रुअरीमा भएको संघर्षविराम सम्झौताको नवीकरणपछिकै पहिलो भएको भारतीय मिडियाहरुले जनाएका छन् । अनलाइन खबरबाट

The post भारत–पाकिस्तानबीच मिसाइल हानाहान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register