रुसलाई महान् शक्ति बनाउने अभिलाषामा २५ वर्षदेखि आफैँलाई शक्तिशाली बनाइरहेका पुटिन

काठमाडौं । लेलिनग्रादको जीर्ण भवनमा हुर्किएका थिए, भ्लादिमिर पुटिन । मुसाले अति नै दुःख दिने भएकाले उनी र उनका साथीहरू लट्ठी लिएर मुसालाई खेदाउँथे ।  एक दिन कुनामा पुर्‍याएको ठूलो मुसाले पुटिनलाई टोकिदियो । यो घटनाबाट पुटिनले जीवनभरका लागि  शिक्षा प्राप्त गरे । ‘किनाराकृत हुँदै अस्तित्व सङ्कटमा पर्दाको हविगत र त्यसपछिको प्रतिकारको अर्थ मैले त्यो […]

May 11, 2025 - 07:31
 0
रुसलाई महान् शक्ति बनाउने अभिलाषामा २५ वर्षदेखि आफैँलाई शक्तिशाली बनाइरहेका पुटिन

काठमाडौं । लेलिनग्रादको जीर्ण भवनमा हुर्किएका थिए, भ्लादिमिर पुटिन । मुसाले अति नै दुःख दिने भएकाले उनी र उनका साथीहरू लट्ठी लिएर मुसालाई खेदाउँथे ।  एक दिन कुनामा पुर्‍याएको ठूलो मुसाले पुटिनलाई टोकिदियो । यो घटनाबाट पुटिनले जीवनभरका लागि  शिक्षा प्राप्त गरे ।

‘किनाराकृत हुँदै अस्तित्व सङ्कटमा पर्दाको हविगत र त्यसपछिको प्रतिकारको अर्थ मैले त्यो घटनाबाट थाहा पाएँ ।’

पुटिनले सुनाएको यो कथाको विश्लेषण आजसम्म पनि गरिन्छ । पुटिनलाई नियाल्नेहरू भन्दछन्, ‘पुटिन कुनामा पुर्‍याएका मुसाजस्तै हुन् । जो आफ्नो अस्तित्व सङ्कटमा पर्दा हमलाका लागि बाध्य थियो ।’

प्रतिरोध र सहनको सिद्धान्त

पुटिन दोस्रो विश्वयुद्ध अन्त्यको सात वर्षपछि जन्मिएका थिए । उक्त युद्धमा  लाखौँ रुसी मारिए, कयौँ घाइते भए । त्यसको भौतिक र भावनात्मक चोट अझै ताजा थियो । पुटिनले आफ्ना दुवै दाजुलाई देख्नसम्म पाएनन् । उनका माइला दाजु भिक्टर भोकमरीका कारण बितेका थिए । जेठा दाजु भने बालखैमा बिते । पुटिनका बुवा सैनिक थिए, जो युद्धमा ग्रिनेडको छर्राबाट घाइते थिए । उनकी आमा बेपत्ता थिइन् ।

कष्टकर पालनपोषणका कारण कठिन परिस्थितिमा पनि बाँच्ने आदत पुटिनमा विकसित भयो । साथीहरूको स्मरणमा बाल्यकालमा पुटिन ख्याउटे र कमजोर थिए । आफ्नो वयश्यकालबारे पुटिन स्वयंको चित्रण भने फरक थियो । उनी आफूलाई गुन्डा भन्थे । कसैले निहुँ खोज्यो भने भिडिहाल्ने स्वभाव रहेको बताउँथे ।

निर्वासनमा रहेका प्रतिपक्षी दलका नेता  हुन्, गेनाडिन गुडकोभ ।  पुटिन र गुडकोभको पहिलो भेट सन् २००१ मा भएको थियो । पुटिनको सिद्धान्तबारे उनी भन्छन्, ‘आँगनमै आएर कसैले दुर्व्यवहार गर्‍यो भने पहिले प्रतिवाद गर्ने अनि सहन गर्ने सिद्धान्त बोकेका मानिस हुन्, पुटिन ।’

किशोर समयमा उनी बलिया थिएनन् । न त अग्ला नै । आफ्नो शरीरलाई बलियो बनाउन उनले जुडो खेल्ने निधो गरे । १२ वर्षको उमेरमा जुडो खेल्न जाँदा उनले जीवनभरका लागि भरपर्दो मित्र फेला परे, अर्काजी रोटेनबर्ग । षड्यन्त्र र रहस्यले भरिपूर्ण रुसी राजनीतिक मञ्चमा यी दुईको जोडी खुब जम्यो ।

पुटिनबारे स्कुले शिक्षिकाको स्मृति लडाकु किसिमकै छ । ‘कसैसँग कुस्ती खेल्दा पुटिन बिरालोझै भिड्थ्यो । पाखुरा, खुट्टा र दाँत प्रयोग गर्थ्यो । ऊ लडाकु स्वभावको मात्रै थिएन अत्यन्तै जिज्ञासु थियो,’ शिक्षिका भेरा गुर्रेभीच भन्छिन् । गुर्रेभीचले पुटिनलाई जर्मन भाषासमेत पढाएकी थिइन् । जर्मन भाषा उनको करिअरका लागि निकै फलदायी भयो ।

सन् १९७३ मा सोभियतमा निकै लोकप्रिय कार्यक्रम ‘सेभेन्टिन मुभेन्ट्स अफ स्प्रिङ’ प्रसारित भयो ।  दोस्रो विश्वयुद्धको अन्तिम क्षणतिरको पृष्ठभूमिका कथा यसमा समावेश थिए । जहाँ, नाजी नेतृत्वको टोलीलाई रुसी जासुसले बिथोलिदिन्थे । केजीबीको प्रचार प्रयोजनका लागि यसका प्रमुख युरी एन्द्रोपोभले यो कार्यक्रम बनाएका थिए । यो कार्यक्रमले सोभियत दर्शकलाई केही प्रभाव पारेको थियो ।

पुटिनले भने उक्त कार्यक्रमको चर्चा कतै पनि गरेका छैनन् । रुसी गुप्तचरले नाजी कारबाहीलाई बिथोलेका कथाबाट पुटिन प्रभावित थिए । तीनै कथाले आफूलाई राष्ट्र सेवामा डोहोर्‍याएको पुटिन बताउँथे । सन् १९७५ मा पुटिनले लेनिनग्राड विश्वविद्यालयबाट ग्र्याजुएसन सके । त्यसको लगत्तै उनी केजीबीमा भर्ती भए ।

कठिन परीक्षा उत्तीर्ण गर्दै पुटिन केजीबीमा भर्ती भए । ‘शारीरिक, मनोवैज्ञानिक र गुप्तचरमा भर्ती हुन आवश्यक सबै परीक्षामा पुटिनले आफूलाई अब्बल साबित गरिदिए,’ १९८० को दशकमा केजीबीमा काम गरेका गुडकोभ भन्छन् ।

पुटिनको मनोवैज्ञानिक प्रोफाइलले उनलाई संवेदनाहीन र खतरा पहिल्याउन सक्ने र नडराउने चित्रण गरेको थियो ।

बर्लिन् पर्खाल ढल्दा पुटिनलाई परेको छाप

जर्मन भाषाका पोख्त पुटिनलाई सन् १९८५ मा जर्मनी परिचालन गरिएको थियो । दोस्रो विश्वयुद्धपछि पूर्व जर्मनी सोभियत सङ्घकै अधीनमा थियो । पुटिनको जिम्मेवारी पूर्वी जर्मनका सहकर्मीसँग समन्वय गर्ने र हेडक्वार्टरमा रिपोर्टिङ गर्ने थियो । बर्लिनको पर्खाल ढलेको बखत पुटिन प्रमुख सेनानी थिए । पर्खाल ढलेसँगै प्रदर्शनकारीहरूको समूहले पूर्वी जर्मनीमा रहेको केजीबी मुख्यालय उडाउने तयारी गरे । ड्युटीमा रहेका पुटिनले लालसेनाका ट्याङ्क कमान्डर खटाइदिए । आक्रमण भने गरिहालेनन् ।

त्यसअघि सोभियतका नेताहरूले हंगेरी र चेकोस्लोभाकियामा आफू विरूद्धका प्रदर्शनकारीमाथि चर्को दमन गर्दथे । सुधारवादी राष्ट्रपति मानिएका मिखाइल गोर्भाचोभ आक्रामक थिएनन् । त्यसैले प्रदर्शनकारी भएतिर ट्याङ्क तेर्स्याउँदै पुटिनले भनिदिए – ‘मस्कोको आदेशविना हामी केही पनि गर्न सक्दैनौँ र मस्को मौन छ ।’

जर्मनको सडकमा जे-जे दृश्य देखियो, पुटिन त्यसलाई निकै गहन पूर्वक नियाली रहेका थिए । निमेषमै शासन सत्ता फालिएको साक्षी भए । जर्मनीका दृश्यले उनको मानसपटलमा गहिरो छाप बस्यो । मस्को कमजोर भयो भने त्यसको असरको दृश्य उनको मानसपटलमा घुम्न थाल्यो ।

सोभियतको पतन निकै खराब रहेको र यो दोहोरिन नहुने छाप पुटिनलाई परेको थियो । शीत युद्धमा रुस पराजित हुँदा पुटिनले निकै अपमानित महसुस गरेको लिबरलबाट रुसी राष्ट्रपतिका उम्मेदवार समेत बनेका ग्रिगोरी एभिनोस्की बताउँछन् ।

उपमेयरदेखि खुँखार जासुससम्म

३७ वर्षको उमेरमा पुटिन रुस फर्किए । सन् १९९० मा उनले छोड्दा भन्दा रुसमा धेरै परिवर्तन भएको थियो । कम्युनिस्ट इन्टरनेसनलको राजधानी मस्को पुँजीवादको प्रतीक भइसकेको थियो । म्याक्डोनाल्डले आफ्नो रेस्टुराँ त्यहाँ खोलिसकेको थियो । सोभियत सङ्घ पतन भएसँगै रुस र युक्रेन पनि छुट्टिए । एक्कासी मस्कोले चरम आर्थिक सङ्कट बेहोर्‍यो । गरिबीले आक्रान्त भयो । अनिश्चयले घेरिएको मस्कोमा केही अवसर पनि देखा परे । १९८० को दशकको अन्त्यतिर गोर्भाचोभले उदारवादी सुधार गरिरहँदा कुलीन वर्गले अर्थतन्त्रलाई कब्जामा लिन थाले । सोभियत सङ्घको पतनलाई पुटिनले शताब्दीकै भीमकाय प्रकोपका रूपमा व्याख्या गरे ।

सेन्ट पिटर्सबर्गमा पुटिनलाई उनका प्राध्यापक एनातोली सब्चकले  मेयर कार्यालयमा अन्तर्राष्ट्रिय सम्पर्क अधिकृत बनाए । सन् १९९४ मा पुटिनको उपमेयरमा बढुवा भयो । सब्चक पुटिनका मेन्टर थिए । पुटिनले सब्चकबाटै राजनीतिका दाउपेच सिके । उनीबाटै दीक्षित हुँदै राजनीतिका उच्च ओहोदामा पुगे । सब्चकलाई भ्रष्टाचारको आरोप लाग्दा आफ्नो शक्ति प्रयोग गर्दै पुटिनले नै बताए । सन् २००० मा सब्चकको निधन हुँदा अन्त्येष्टिमा पुटिन रोएका थिए ।

सन् १९९६ मा पुटिन मस्को पुगे । राष्ट्रपति बोरिस एलस्टिनसँग सम्बन्ध विस्तार गरे ।  दुई वर्षपछि पुटिन सङ्घीय सुरक्षा सेवाको प्रमुखमा नियुक्त भए । राष्ट्रपति एल्सटिन भ्रष्टाचारको आरोप लागेको थियो । त्यस मुद्दा न्यायाधीश युरी सुकरातोभ हेरिरहेका थिए । एलस्टिनलाई बचाउनका लागि पुटिनले न्यायाधीशको अश्लील भिडिओ सार्वजनिक गरिदिए । एल्स्टिनले पुटिनलाई आफ्नो उत्तराधिकारीका रूपमा विकास गरे । पहिले उनले पुटिनलाई प्रधानमन्त्री बनाए । प्रधानमन्त्री भएसँगै पुटिनले धनाढ्यहरूको साथ पाए । धनाढ्यहरूले बेलाबखत बैठकमा पुटिनलाई सोध्थे- ‘अब के बन्ने त ?’

पुटिन जवाफ दिन्थे -‘तपाईंहरूको जस्तै टन्न पैसा र प्रभाव विस्तार गर्ने इच्छा छ ।’

धनाढ्यहरूले पुटिन एलस्टिनको उत्तराधिकारी बन्ने छनक पाएका थिए । त्यसपछि उनीहरूले आफ्ना समाचारपत्र, टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यममा पुटिनलाई एकछत्र बनाए । सञ्चारमाध्यमहरूले आम सर्वसाधारणमा पुटिनको प्रभावशाली छाप बसिसकेको थियो ।

चेचन्या

सन् १९९४ देखि १९९६ सम्म चेचन्याका विद्रोहीले रुसी फौजलाई पराजित गर्दै स्वतन्त्रता घोषणा गरेका थिए । सन् १९९९ मा त्यहाँ फेरि युद्ध सुरु भयो । चेचन्याका विद्रोहीमाथि रुसले भीषण हमला गर्दा ३०० बढी नागरिकको ज्यान गयो । ‘आतंकवादीलाई उनीहरूकै घरभित्र चिहान बनाइनेछ,’ पुटिनको प्रतिबद्धता थियो ।

चेचन्याका विद्रोहीमाथि पुटिनको भीषण हमलाले रुसीमाझ उनको सम्मानित छवि स्थापित भयो । चेचेनको राजधानी ग्रोजनी ध्वस्त भएको थियो । सन् २००३ मा राष्ट्रसङ्घले भनेको थियो – ‘ग्रोजनी पृथ्वीकै सबैभन्दा ध्वस्त शहर हो ।’

पुटिनलाई जनताहरूले शक्तिशाली र निर्णय क्षमताको मान्न थाले । एलस्टिनलाई नागरिकहरू जँड्याहा भन्दथे । कार्यकारी अधिकार प्राप्ति अघि नै पुटिनको लोकप्रियता ह्वात्तै बढ्यो ।

पुटिनको पहिलो कार्यकाल

सन् १९९९ डिसेम्बरमा ३१ मा राष्ट्रपति एलस्टिनले राष्ट्रको नाममा सम्बोधन गर्दै नेतृत्व हस्तान्तरणको उद्घोष गरे । स्वास्थ्य समस्याले एलस्टिन शिथिल भइसकेका थिए । उनको घोषणासँगै टेलिभिजनहरूले क्यामेरा पुटिनतर्फ सोझाए । ‘राष्ट्रको कार्यकारी प्रमुखको जिम्मेवारी आजदेखि मलाई हस्तान्तरण भएको छ । म विश्वस्त पार्न चाहन्छु एक मिनेट पनि रुसमा शक्तिको रिक्तता हुनेछैन ।’

राष्ट्रपतिको भएको केही महिनाभित्रै पुटिनले लोकप्रिय राजनीतिज्ञको छवि विस्तार गरे । पुटिनले एलस्टिनप्रतिको निष्ठा पनि कायमै गरे । पुटिनले एलस्टिनलाई अनियमितताका मुद्दाबाट बचाए । त्यसको केही महिनापछि भएको निर्वाचनमा पुटिनले भारी मतका साथ राष्ट्रपतीय निर्वाचनमा विजय हात पारे ।

पुटिनले मुलुकलाई कुन दिशामा अघि बढाउने भन्ने कुरा स्पष्ट पारिसकेका थिएनन् । घोषणापत्रमा पुटिनले सन् १९९० को दशकमा रुसको अधोगतिप्रति चिन्ता व्यक्त गरेका थिए । मुलुकमा पश्चिमा प्रभाव परेको त्यसलाई परास्त गर्नुपर्ने उनको नीति थियो । रुस बलियो केन्द्रीकृत राज्य हुनुपर्ने उनको मत थियो ।

पुटिनको पहिलो राष्ट्रपतीय कार्यकालमा इन्धनको भाउ ह्वात्तै बढ्यो । जसकारण रुसी जनताको जीवनस्तरमा निकै सुधार आयो । पुटिनको पहिलो कार्यकालमा प्रतिहजार २२ जनासँग मोबाइल हुन थाल्यो । सन् २००६ सम्म हरेकका हातमा मोबाइल पुग्यो । यस्तै, पुरुषहरूको आयु ५७ बाट ६७ पुग्यो भने महिलाहरूको भने ७१ बाट ७७ पुग्यो ।

पुटिनले प्रतिस्पर्धी नेताहरूमाझ पनि राम्रै छवि बनाएको गुडकोभ बताउँछन् । ‘पुटिन निकै स्पष्ट र विश्वस्त ढङ्गले आफ्ना कुरा राख्ने हुँदा उनीप्रति सकारात्मक छवि स्वतःस्फूर्त बन्थ्यो,’ उनी भन्छन् ।

यता, धनाढ्यहरू भने पुटिन आफ्नो कठपुतली बन्ने ठान्दथे । सन् २००० जुलाई २९ मा लेमुजिनमा रुसका २१ धनाढ्य क्रमेलिन पुगे । अर्नेट हलको भीमकाय टेबुलमा धनाढ्यहरू पुटिनको प्रतीक्षामा थिए । धनाढ्य भएसामु पुगेका पुटिनले विना कुनै सर्त तुरुन्तै बाहिरिन आदेश दिए ।

सन् १९९० को दशकमा सत्ता निर्माणका लागि धनाढ्यहरू नै निर्णायक हुन्थे । पुटिनले उनीहरू आफ्ना लागि खतरा रहेको महसुस गरिसकेका थिए । त्यसैले प्रभावशाली धनाढ्यविरूद्ध उनले सुरक्षा संयन्त्र खटाएका थिए । बेलायतको एक्स्टर विश्वविद्यालयका अध्यापक केभ्रोक ओसकानिन भन्छन्-‘धनाढ्यहरू कि त पुटिनप्रति समर्पित हुनुपर्थ्यो कि त समस्या खेप्नुपर्थ्यो ।’

पुटिनले शक्तिको केन्द्रीकरण गरेकोविरुद्ध गुसेन्सकी र बिरीजोब्सकी कडा निन्दा गरिरहन्थे । सन् २००० मा पुटिनले उनीहरूविरूद्ध फौजदारी अनुसन्धान गराउँदै जेल पठाए । यता, रुसी तेल व्यापारका टाइकुन मिखाइल खार्योकोभोस्कीको आफ्नै राजनीतिक लक्ष्य थियो । सन् २००३ मा पुटिनले उनलाई पनि ठगीमा जेल पठाए । उनको कम्पनीलाई आफ्ना विश्वासपात्रहरूको स्वामित्वमा लिए ।

‘पुटिनका विरोध गर्नेहरूलाई उनले घुँडा टेकाए,’ यभलिनिस्की भन्छन् । त्यस समयमा धनाढ्यहरूले पुटिनलाई केही रकम बुझाउने र त्यसको बदलमामा गैर राजनीतिक व्यापारीको प्रस्ताव गरेका थिए । पुटिनले उक्त प्रस्ताव ठाडै अस्वीकार गरिदिए ।

‘धनाढ्यहरूले भनेको मैले मान्ने होइन । मैले भनेको धनाढ्यले मान्ने हो,’ पुटिनको भनाइ थियो ।

स्थापित धनाढ्यहरूलाई विस्थापित गर्नका निम्ति पुटिनका पुराना सहयोगीहरूले सघाए । ‘पुटिन धेरै मान्छेलाई कहिल्यै विश्वास गर्दैनन् । उनले अविश्वास नै नगर्ने सीमित मान्छे छन्,’ गुड्कोभ भन्छन् ।

मानिसहरूलाई विश्वास गर्ने सवालमा पुटिन निकै सतर्क छन् । पुटिनसँग काम गर्दा हरेक दिन आफू विश्वासयोग्य रहेको प्रमाणित गर्नुपर्ने हुन्छ । आफूलाई कुन अवस्थामा कुन मानिसले कसरी धोका दिन सक्छ भन्ने कुराको उनले परीक्षण गरिरहेका हुन्छन् । ‘यो सतर्कता र स्वभावकै कारण क्रमेलिन २५ वर्षदेखि राज गर्न पुटिन सक्षम छन्,’ गुड्कोभ सुनाउँछन् ।

उनको भित्री घेरामा रहेकाहरू सत्ताको अनुभवै नगरेका पात्र छन् । उनले विश्वासपात्र भनौँ वा नवधनाढ्य सुरक्षा अधिकारी मात्रै छन् । आफ्ना घेराका मान्छेलाई पुटिनले ठूल्ठूला परियोजनाको जिम्मा पनि दिएका छन् । जुडो खेल्दाका साथी रोटेनबर्गलाई उनले ठूलो सरकारी ठेक्का दिलाए । रुस र युक्रेनको क्रिमिया उपमहाद्वीप जोड्ने पुल निर्माणको जिम्मेवारी रोटेनवर्गले पाएका थिए ।

पुटिनमाथि धनाढ्यहरूसँग मिलेमतोको आरोप नलागेको पनि होइन । प्रतिपक्षीहरूले उनीमाथि अर्बौँ डलर सम्पत्ति आर्जनको आरोप पनि लगाए ।त्यसै जगमा ब्ल्याक सीको तटमा पुटिनले क्यासिनो, स्विमिङ पुल र चर्च सहितको भव्य हबेली बनाएको आरोप पनि लागेको थियो । पुटिनका साथी रोटेनबर्गले भने उक्त हबेली आफ्नो रहेको बताउँदै आएका छन् ।

कालान्तरमा पुटिनसँग त्रासदी राख्ने सुचीमा धनाढ्यहरू मात्रै परेनन् । प्रतिपक्षी र उनका आलोचक पनि त्यो सुचीमा सामेल भए । सन् १९९९ मा अपार्टमेन्टमा गरिएको गोलाबारीमा सङ्घीय सुरक्षा सेवा एफएसबी नै संलग्न रहेको बताउने एलेक्सजेन्डर लित्भेन्कोलाई लन्डनमा विष खुवाएर मारियो । चेचन्याको दमन सार्वजनिक गर्ने पत्रकार अन्ना पोलित्कोभास्कालाई सन् २००६ मा उनकै निवासमा गोली हानियो ।  सन् २०१५ मा प्रतिपक्षी दलका नेता बोरिस नेम्सतोभलाई क्रेमलिन कै बाहिर  मारियो । क्रेमेलिनलाई निसाना बनाएर हमला गर्ने वाग्नर समूहका मालिक यभिगिनी प्रियोग्जिनको पनि सन् २०२३ मा प्लेन खसालेर हत्या भयो ।

सत्ता परिवर्तनको डर

आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा पुटिनले अमेरिकाको आतंकवादविरूद्धको युद्ध र चेचन्यामा आफ्नो कारबाहीको उद्देश्य समान रहेको बताउँथे । सन् १९९९ तिर पुटिन पश्चिमतर्फ बढी जिज्ञासु र उदार रहेको एभनिस्कीको बुझाइ छ । स्मरणीय कुरा के छ भने सन् २००१ सेप्टेम्बर ११ को हमलापछि अमेरिकी राष्ट्रपति जर्ज बुसले पहिलो सहयोग पुटिनसँगै मागेका थिए । त्यस बखत पुटिनले आतंकवादविरूद्धको लडाइँमा नेटोलाई प्रतिरक्षा प्रणालीमा सहयोगको प्रस्ताव नै गरे । सन् २०० २ मा बुससँग उनले रणनीति साझेदारी सम्झौता गरे । ‘पुटिन आपसी विश्वासको वातावरण बनाउन चाहन्थे, तर उनको चाहनाले काम गरेन,’ एभनिस्की भन्छन् ।

विश्व व्यवस्थाबारे वासिङ्टनको पृथक् अडान रहेको बुझ्ने बित्तिकै दुई मुलुकबिचको सम्बन्ध अमिलियो । सन् २००३ मा अमेरिकाले इराकमा हमला गरेसँगै अमेरिकाप्रति पुटिनको दृष्टिकोण थप परिवर्तन भयो । अमेरिकाले विश्व समुदाय र रुसका चासोलाई बेवास्ता गरेको भन्दै पुटिन असन्तुष्ट थिए । स्वतन्त्रता र लोकतन्त्रको वकालत गर्दै आफ्नो शक्ति विस्तार गरिरहेको अमेरिकाप्रति पुटिनको थप चिढिए ।

अन्तर्राष्ट्रिय तनाव उत्कर्षमै रहेकै बखत सन् २००४ मा युक्रेनको निर्वाचनमा आफू निकट भिक्टोर यानुकोभिचलाई निर्वाचित गराउन रुसले धाँधली गरेको आरोप व्यहोर्नुपर्‍यो । त्यसैलाई लिएर पछि ठूलै आन्दोलन समेत भएको थियो । जाडो याममा हजारौँ मानिसहरू बोलोतान्या स्क्वायरमा बेला हुँदै नाराबाजी गरे । हजारौँ मानिस सहभागी र्‍यालीको नारा थियो –‘ठग र चोर मुर्दावाद । निष्पक्ष निर्वाचन सुनिश्चित गर ।’

उक्त आन्दोलनलाई पुटिनले छिमेकी मुलुकमा रुसको प्रभाव कमजोर बनाउन र रुसमा सत्ता परिवर्तन प्रवर्द्धनको हस्तक्षेपको पश्चिमा षड्यन्त्रका रूपमा लिए । यता, नेटोले गठबन्धन विस्तार गर्दै रुसको सीमासम्म आइपुग्दै थियो ।

सन् २०११ मा नेटोले लिबियामा नो फ्लाइ जोन घोषणा गर्दै पश्चिमा विस्तारवादको प्रखर विरोधी मुहम्मद गद्दाफीको हत्यामा सघायो । गद्दाफीको निधनले पुटिनलाई निकै तनाव भयो । रुसी पत्रकार मिखाइ जेगरले आफ्नो समाचारमा पुटिनको अवस्था व्याख्या गर्दै ‘अति क्रुद्ध’ लेखेका थिए ।

सन् २०११ को ठूलो आन्दोलनपछि पुटिन पश्चिमाले रुसको शासन सत्ता परिवर्तन गर्न खोजेको निष्कर्षमा पुगेकी रुसी इतिहासविद् इलिया बुद्रोस्किस बताउँछन् । ‘त्यस बखतको आन्दोलन सत्ता परिवर्तनलाई नै लक्षित गरेर पश्चिमाको उक्साहटमा भएकोमा पुटिन विश्वस्त थिए,’ उनी भन्छन् ।

रुस-युक्रेन युद्ध

युक्रेन रुसका लागि चुनौती रहेको निष्कर्षमा पुटिन पुगिसकेका थिए । अझ सन् २०१३ मा आन्दोलनमार्फत आफूनिकट युक्रेनी राष्ट्रपति सत्ता च्युत भएसँगै पुटिन यसमा थप विश्वासिलो भए । यानुकोभिच अपदस्थ गर्ने आन्दोलन वासिङ्टनबाट निर्देशित भएको र यो असंवैधानिक सैन्य कू रहेको पुटिनको भनाइ थियो ।

जर्मनीमा निर्वासित जीवन व्यतित गरिरहेका रुसी पादरी एन्द्रेइ कोद्रोच्किन भन्छन् – ‘यानुकोभिचलाई अपदस्थ गर्ने आन्दोलनलाई पुटिनले आफ्नो अस्तित्व सङ्कटका रूपमा लिए । युक्रेनमा यानुकोभिच अपदस्थ भएझैँ आफू पनि हुनसक्ने विश्लेषण पुटिनको थियो ।’

यानुकोभिच अपदस्थ भएसँगै रुसले क्रिमिया कब्जामा कारबाही अघि बढाउँदै आफ्नो अधीनमा लियो । सन् २०२२ फेब्रुअरी २४ मा पुटिन राष्ट्रिय टेलिभिजनमा आए । वर्षौँदेखि पश्चिमाहरूबाट किनाराकृत पुटिनले युक्रेन कब्जाका लागि विशेष सैन्य अपरेसन चलाउने घोषणा गरे । ‘रुसको सीमासम्म नेटोको विस्तारले रुसको राष्ट्रिय सुरक्षामा आधारभूत चुनौती दिएको छ,’ उनले भने ।

रुस एक महान् शक्ति

हालसालै अमेरिकी गुप्तचर र क्रेमेलिनलाई नियालिरहेकाहरू पुटिनका निर्णयहरूलाई बढ्दो एक्लोपनसँग दाँजछन् । पुटिन कीटाणुलाई निकै घृणा गर्छन् । कतिसम्म भने आफ्ना अघि मन्त्रीले खोके भने पनि हप्काउँथे । फ्लुविरुद्ध भ्याक्सिन नलगाउनेहरूलाई उनी आत्मघातीको संज्ञा दिन्थे । कोरोना कालमा पुटिनले आफूलाई निकै कडा क्वारेनटाइनमा राखेका थिए । त्यसबखत उनी सार्वजनिक कार्यक्रममा सायदै सहभागी भए । उनले विदेशी पाहुनालाई भेट्नसमेत इन्कार गरे । राष्ट्रपतिलाई भेट्न कसैले अनुमति पाएको खण्डमा डिस्इनफेक्सन टनेल पार गर्दै जानुपर्थ्यो । यसै पनि साँघुरो सामाजिक घेरामा रहेका पुटिनको घेरा झनै साँघुरियो । ‘उनी त्यसबखत विश्वासिलो पात्रबाटै घेरिए,’ एभनिस्की भन्छन् ।

डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आएसँगै अमेरिका र रुसबीच पुनर्मिलनको अपेक्षा गरिएको छ । ट्रम्पले पनि युक्रेन मामिलामा सम्झौता गर्ने छनक दिएका छन् । रुसको प्रतिबन्ध फुकुवा र कब्जा गरेको भूमि उसको अधीनमै राख्न ट्रम्प सकारात्मक छन् । ‘मानवीय तवरमा पुटिन र ट्रम्पले एक अर्कालाई खुब बुझ्दछन् । ट्रम्पको तर्क व्यापारिक हो भने पुटिनको तर्क चरम व्यवहारिक हो । व्यापारिकता र व्यवहारिकता एक अर्काबाट टाढा रहँदैनन्,’ एभनिस्की भन्छन् ।

लिबरलका राजनीतिज्ञ तथा राष्ट्रपतीय निर्वाचनमा समेत उम्मेदवारी दिएका  ग्रिगोरी एभनिस्कीले पुटिनलाई रुससँग युद्धविरामका लागि सन् २०२३ मै मनाउन खोजेका थिए । त्यसबेलै पुटिन अमेरिकाबाहेक कसैसँग पनि सम्झौता गर्ने पक्षमा थिएनन् ।  ‘पुटिनलाई युक्रेनसँग वास्ता छैन । उनको वास्ता अमेरिकासँग सम्झौता गर्नु हो । उनी ठूलो भूराजनीतिक मामिलामा रुचि राख्छन् । पुटिन एक सम्मेलनमार्फत अमेरिका, रुस र चीनको प्रभुत्वको दायरा भाग लगाउने पक्षमा छन् । उनी रुसलाई एक महान् देशको मान्यता दिलाउने पक्षमा छन्,’ उनले भने ।

यता गुड्कोभको अर्को बुझाइ छ । ‘पुटिन जसरी पनि सत्ता आफ्नै कब्जामा राख्न चाहन्छन्,’ पूर्व सांसद भन्छन् ।

७२ वर्षको उमेरमा पनि आफूलाई प्रमाणित गर्नुपर्ने अवस्थामा पुटिन रहेको गुड्कोभको तर्क छ । पुटिन रुसलाई आफ्नो निजी सम्पत्ति र धनाढ्यलाई आफ्नो निजी थैली मानिरहेको गुड्कोभको भनाइ छ । ‘आफूलाई सदैव शक्तिशाली प्रमाणित गर्नुपर्ने चुनौतीमा पुटिन छन् । उनलाई आफ्नो शेखपछिको रुसको भविष्यप्रति कुनै चिन्ता छैन,’ उनी भन्छन्  ।

२५ वर्षदेखि आफूलाई शक्तिशाली बनाउँदै आएका पुटिनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको मत छ ।

अलजजिरामा प्रकाशित सामग्रीलाई शिशिर ढकालले अनुवाद गरेका हुन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register