स्वास्थ्य क्षेत्रको सुधारमा बिर्तामोड नगरपालिका : नगर अस्पतालबाट दैनिक ४०० बढीले लिन थाले सेवा

सन्तोष शर्माझापा, ७ जेठ । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरबासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरु मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरबासीको आकर्षण बढ्न थालेको [...] The post स्वास्थ्य क्षेत्रको सुधारमा बिर्तामोड नगरपालिका : नगर अस्पतालबाट दैनिक ४०० बढीले लिन थाले सेवा appeared first on Jhapa Online.

May 21, 2025 - 01:06
 0
स्वास्थ्य क्षेत्रको सुधारमा बिर्तामोड नगरपालिका : नगर अस्पतालबाट दैनिक ४०० बढीले लिन थाले सेवा

सन्तोष शर्मा
झापा, ७ जेठ ।
कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरबासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरु मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरबासीको आकर्षण बढ्न थालेको छ ।

नगर अस्पतालको सेवामा विविधतासँगै सुविधासम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो ।

“अस्पतालबाट चौबिस घण्टे सेवा सञ्चालनको तयारीमा छौं”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ ।” निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको उहाँले बताउनुभयो ।

अहिले नगर अस्पताल १५ शैय्याको छ । यसलाई २५ शैय्याको बनाउने लक्ष्य रहेको प्रमुख प्रसाईं बताउनुहुन्छ । “नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेका छौं”, उहाँले भन्नुभयो, “धेरै काम गर्ने योजना छ, गर्दै गरेको काम नसकी थप कुरा के गर्नु ?”

नगर अस्पतालबाट प्रभावकारी रुपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधिहरु आउने गरेको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताउनुभयो । अस्पतालबाट चाँडै डायलासिस सेवा सुचारु गर्न लागिएको समेत बताउँदै भन्नुभयो, “छ वटा डायलासिस मेसिन दाताबाट प्राप्त भएको छ, चाँडै सञ्चालनमा ल्याउँदैछौं ।”

“अस्पतालको एउटै उद्देश्य सर्वसुलभ ढंगले जनतालाई सेवा दिनु हो”, उहाँले भन्नुभयो, “चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मुस्कानसहितको सेवा दिनुपर्छ ।”

नगरपालिकामा एक नगर अस्पताल र आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । रू तीन करोड ९६ लाखको लागतमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइसकेका छन् ।

रू १५ करोड ३४ हजार तीन सय ३६ को लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको छ । नगर अस्पतालको भवन निर्माण सम्पन्न भएसँगै १५ शैय्याबाट २५ शैय्यामा स्तरोन्नती हुनेछ ।

नगरमा रू पाँच करोड ५० लाख सात हजार सात सय ६० को लागतमा निर्माण भएको १५ शैय्याको भवनबाट सेवा प्रभाव हुँदै आएको छ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट ३२ समूहका एक सय २७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले बताउनुभयो । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित ३५ वटा समूहको एक सय ३५ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् हाल सम्ममा ८९ हजार सात सय ६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक ओम खड्काले जानकारी दिनुभयो ।

यस्ता छन् नगर अस्पतालको सेवा
बिर्तामोड नगर अस्पतालमा २४ घण्टे प्रसूति सेवा सञ्चालित छ । नगर क्षेत्रमा घरमा प्रसूती गरेको दर ‘शून्य’मा झरेको स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट बताउनुहुन्छ ।

त्यस्तै, स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, मनोरोग विशेषज्ञ सेवा, फिजिसियन सेवा, हाडजोर्नी विशेषज्ञ सेवा र सर्जरी सेवा उपलब्ध रहेको छ । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । त्यस्तै, अस्पतालले आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबार बिहान ७ देखि दिउँसो १ बजेसम्म बहिरंग सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, एक्स–रे सेवा, इसीजी सेवा, गर्भवती जाँच, निःशुल्क आइरन तथा क्याल्सियम वितरण, खोप सेवा, परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच, निःशुल्क सुरक्षित गर्भपतन सेवा, बच्चाहरूमा हुने कुपोषणको जाँच तथा व्यवस्थापन, नसर्ने रोगको जाँच, कीटजन्य रोगहरूको जाँच तथा उपचार सेवा प्रवाह भइरहेको छ ।

अस्पतालमा करिब ६० जना जनशक्तिले सेवा प्रदान गर्दै आएका छन् । जसमध्ये चार जना मेडिकल अफिसर र एक जना एमजीडीपी रहेका छन् ।

पछिल्लो समय नसर्ने रोग (विशेषगरी प्रेसर र सुगर)का बिरामी बढेकाले यी बिरामीलाई निःशुल्क वितरण गर्नुपर्ने सुगर र प्रेसरको औषधि वितरणमा समस्या रहेको स्वास्थ्य शाखा प्रमुख विष्टले बताउनुभयो ।

“सरकारले यी औषधि निःशुल्क वितरण गर्न भने पनि पर्याप्त औषधि नहुँदा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले औषधि खरीद गरेर दिनुपर्ने प्रावधान छ, तर पर्याप्त औषधि पाउन सकिएको छैन ।” स्थानीय तहलाई औषधि खरीद गर्न अनुमति दिए सहज हुने उहाँको भनाइ छ ।

निर्माणाधीन नयाँ अत्याधुनिक अस्पताल भवनभित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडिकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थिक तथा प्रशासनिक कक्ष, क्याविन, डेलिभरी कक्ष, ब्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने जनाइएको छ ।

The post स्वास्थ्य क्षेत्रको सुधारमा बिर्तामोड नगरपालिका : नगर अस्पतालबाट दैनिक ४०० बढीले लिन थाले सेवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register