गृहमन्त्री प्रकरणमा काङ्ग्रेस : कोही राजीनामा माग्दै, कोही बचाउमा

काठमाडौं । भिजिट भिसाको आवरणमा हुने मानवतस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएको प्रकरणमा काङ्ग्रेस दुई कित्तामा उभिएको छ । संस्थापनपक्ष गृहमन्त्री लेखकको बचाउमा उभिएको छ । तर, संस्थापनइतरपक्ष राजीनामा दिनुपर्ने लाइनमा उभिएको छ । अध्यागमनको सेटिङमा मानव तस्करी, त्यसबाट दैनिक ५० लाखसम्म असुलीमा गृहमन्त्रीको सचिवालय नै संलग्न रहेको देखिएपछि मन्त्री लेखकमाथि प्रश्न उठेको हो […]

May 25, 2025 - 09:35
 0
गृहमन्त्री प्रकरणमा काङ्ग्रेस : कोही राजीनामा माग्दै, कोही बचाउमा

काठमाडौं । भिजिट भिसाको आवरणमा हुने मानवतस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएको प्रकरणमा काङ्ग्रेस दुई कित्तामा उभिएको छ । संस्थापनपक्ष गृहमन्त्री लेखकको बचाउमा उभिएको छ । तर, संस्थापनइतरपक्ष राजीनामा दिनुपर्ने लाइनमा उभिएको छ ।

अध्यागमनको सेटिङमा मानव तस्करी, त्यसबाट दैनिक ५० लाखसम्म असुलीमा गृहमन्त्रीको सचिवालय नै संलग्न रहेको देखिएपछि मन्त्री लेखकमाथि प्रश्न उठेको हो । यस प्रकरणमा गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका गणेश ओझादेखि जनक भट्टसम्मको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागम अधिकृत विमल पौडेल गृहमन्त्री लेखककै सचिवालयमा रहेका छन् । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेसँगै लेखकमाथि समेत प्रश्न उठेको हो ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ । रास्वपाले शनिबार विज्ञप्ति जारी गर्दै लेखकको राजीनामा माग गरेको हो । प्रश्न उठेपछि राजीनामा दिनुपर्ने लेखककै संसद्‌को अभिव्यक्ति स्मरण गराउँदै रास्वपाले राजीनामाको माग गरेको थियो ।

प्रतिपक्षी बेन्चमा रहँदा सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने भन्दै लेखकले अभिव्यक्ति दिएका थिए । रवि लामिछानेको राजीनामा माग गर्न उनले विभिन्न उदाहरण पेस गरेका थिए ।  उनले पूर्वअर्थमन्त्री रामशरण महतले विदेशी बैङ्कमा खाता छ भनेर प्रश्न उठ्दा राजीनामा दिएको उदाहरण पेस गरेका थिए ।

लेखकले त्यतिबेला शेरबहादुर तामाङ शिक्षामन्त्री हुँदा बोलेका शब्दले अन्यथा अर्थ लाग्दा राजीनामा दिएको स्मरण गरेका थिए  । गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा ७० करोड टेप प्रकरण सार्वजनिक भएकै भरमा राजीनामा दिँदै अनुसन्धानका लागि सघाएको चर्चा उनले संसद्‌मै गरेका थिए ।

गृहमन्त्रीबाट रविको राजीनामा माग गर्दै लेखकले भनेका थिए, ‘उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्ने, ठगी गर्ने, दुरुपयोग गर्ने विषयमा उहाँको संलग्नता छ । यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभो, प्रश्न उठ्यो, राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न, रहनुहुन्न ।’ यही अभिव्यक्ति स्मरण गराउँदै रास्वपाले गृहमन्त्री लेखकको राजीनामा मागेको हो ।

काङ्ग्रेस संस्थापनइतरका  नेता शेखर कोइरालाले पनि गृहमन्त्रीबाट लेखकले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका छन् । ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस् । अनुसन्धान गर्नुस् भने भैहाल्यो नि,’ नेता कोइरालाको भनाइ छ ।

राजीनामा दिनुपर्ने आवाज चर्किएपछि गृहमन्त्री लेखकले कर्मचारीको गल्तीमा मन्त्रीले राजीनामा दिनुपर्ने कुनै अभ्यास नभएको र उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै बचाउ गरेका थिए । ‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ’, उनको प्रश्न छ, ‘अनि कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिFदै जाने हो ? त्यही पद्धति बसाउँदै जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’

आफूविरूद्ध नियोजित रूपमा षड्यन्त्र भएको उनको जिकिर छ । आर्थिक अनियमितता प्रमाणित भएको खण्डमा गृहमन्त्रीबाट मात्रै नभएर राजनीतिबाटै राजीनामा गर्ने लेखकको भनाइ छ । आइतबार मोरङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले लेखकको बचाउ गरेका छन् । उनले पनि कर्मचारीको बदमासीमा मन्त्रीले राजीनामा दिनुपर्ने कारण नरहेको जिकिर गरे । ‘ कुनै कर्मचारीले गल्ती गर्छ भने कर्मचारी स्वयं जवाफदेही हुन्छ । कर्मचारीको गल्तीमा गृहमन्त्रीले राजीनामा दिनपुर्छ, छोड्नुपर्छ भन्यौँ भने यो तरिकाले राज्य व्यवस्था चल्दैन,’ उनले भने ।

काङ्ग्रेस नेता अर्जुनरसिंह केसीले  पार्टीको बैठक बोलाइएकाले यसबारे त्यहाँ छलफल हुने बताए । ‘अहिलेसम्म पार्टीभित्र औपचारिक छलफल भएको छैन । सादगी पृष्ठभूमिका नेताले त्यस्तो गर्नुभयो भन्ने लाग्दैन । योबारे पार्टीमा छलफल हुन्छ । सरकारले छानबिन गरेर सत्यतथ्य भने बाहिर ल्याउनुपर्छ,’ उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी बैठक बोलाएका छन् । बिहान ९ बजे बूढानीलकण्ठस्थित देउवानिवासमा बैठक बस्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register