लोप भयो ठेकी, जम्दै छ कुराउनी

हेटौँडा । उमेरले ८० वर्ष पुग्नै लागेका कृष्णप्रसाद तिमल्सिनाको दैनिकी खुवा घोटेर सुरु हुन्छ, साँझसम्म पनि त्यसमै हुन्छन् । उनले दूधलाई खुवा (कुराउनी) बनाउन लागेको लगभग ६ दशक पुग्न लाग्यो । तर, उनका हात खुवा घोट्न थाकेका छैनन् । उनी यसमै रमाएका छन्, बटुवालाई दूधबाट बनेको स्वादिष्ट परिकार खुवा खुवाइरहेका छन् । २०३६ सालदेखि खुवा […]

May 27, 2025 - 02:25
 0
लोप भयो ठेकी, जम्दै छ कुराउनी

हेटौँडा । उमेरले ८० वर्ष पुग्नै लागेका कृष्णप्रसाद तिमल्सिनाको दैनिकी खुवा घोटेर सुरु हुन्छ, साँझसम्म पनि त्यसमै हुन्छन् । उनले दूधलाई खुवा (कुराउनी) बनाउन लागेको लगभग ६ दशक पुग्न लाग्यो । तर, उनका हात खुवा घोट्न थाकेका छैनन् । उनी यसमै रमाएका छन्, बटुवालाई दूधबाट बनेको स्वादिष्ट परिकार खुवा खुवाइरहेका छन् । २०३६ सालदेखि खुवा घोट्न थालेका तिमल्सिना अहिलेसम्म थोकेका छैनन् । किन पनि उनलाई थकाइ लाग्दैन भने, यसबाट उनले मनग्य आम्दानी गरिरहेका छन् । जसले उनलाई सन्तोष पनि दिएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोला खुवाका लागि प्रख्यात छ । यसलाई प्रख्यात बनाउनेमध्येका एक हुन् तिमल्सिना । कार्भेबाट २२ वर्षको उमेरमा मकवानपुर झरेपछि उनले दूधबाट खुवा बनाउने काम थालेका थिए । अहिले उनको पेसालाई छोराबुहारीले पनि निरन्तरता दिएका छन् । खुवा व्यवसायबाटै छोराछोरीको राम्रो शिक्षादिक्षा गराएका तिमल्सिनाले आफ्नो पेसाप्रति सन्तुष्टि जनाए । खुवा बनाउँदा देखिएको उनको फुर्तीले पनि उनको सन्तोषलाई संकेत गर्छ । तिमल्सिना सुरुवाती समयमा भैँसी पालन नगर्ने र डेरी पनि नभएको स्मरण गर्दै अहिले चुच्चेखोलामा १५ भन्दा बढी खुवा पसल खुलेसँगै दूध सङ्कलनका लागि डेरी खुल्नुका साथै भैँसी पालन गर्ने किसानको पनि आयस्रोत बढेको बताउँछन् ।

तिमल्सिनाले दैनिक ३ सय ५० लिटर दूध खपत गर्ने गरेको र ४० देखि ४५ किलोसम्म खुवा घोट्ने गरेका बताए । १५ रुपैयाँबाट सुरु गरेको खुवा अहिले उनले प्रतिकेजी ७०० रुपैयाँसम्म बिक्री गर्दै आएको बताए । उनका छोरा–बुहारीले हेटौँडा उपमहानगरपालिका २ संगम चोकमा खुवाको आउटलेट खोलेका छन् । हेटौँडा नगरवासीलाई खुवा लिन चुच्चेखोला जान नपरोस् भनेर करिब १० वर्षदेखि हेटौँडामा सेवा दिइरहेको बुहारी वर्षाले बताइन् ।

खुवा उत्पादनको हब बनेको चुच्चेखोलामा अहिले १५ वटाभन्दा बढी खुवा पसल छन् । तिमल्सिनालाई पछ्याउँदै श्यामकृष्ण मानन्धरले पनि २६ वर्ष पहिला खुवा व्यवसाय सुरु गरेका थिए । कृष्ण कन्हैया खुवा भण्डारका सञ्चालक मानन्धरले करिब दश हजार रुपैयाँबाट सुरु गरेको खुवा व्यापार अहिले लाखौँको भएको छ । भाडाको घरबाट व्यवसाय सुरु गरेका उनले अहिले आफ्नै घरमा दुईवटा खुवा पसल सञ्चालन गरिरहेका छन् । खुवा पारखीहरूका लागि ‘श्याम दाइ’ पर्याय जस्तै बनेको छ । मानन्धरले दैनिक करिब दुई सय पचास लिटर दूध घोटेर ३० किलो खुवा बनाएर बिक्री गर्दै आएका छन् ।

व्यापारको सिलसिलामा २०३६ सालमा भक्तपुरको थिमीबाट बुबासँगै मकवानपुर झरेका श्याम करिब ३० वर्षको उमेरदेखि आफैँले खुवा पसल सुरु गरेको बताउँछन् । श्यामले खुवाका लागि आवश्यक जोहो गरेर काम लगाउँछन् भने श्रीमती शोभाले पसलमा आएकालाई चिया खाजा दिन्छिन् । हाल उनीहरूले ६ जनालाई रोजगारीसमेत दिएका छन् । यही व्यवसायबाट मासिक करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने शोभाले बताइन् ।

कान्तिलोकपथ र धरान–चतरा सडक सञ्चालन भएसँगै खुवाको व्यापार झन फस्टाएको छ । मकवानपुरगढी दरबार र द्रुतमार्गको जानकारी लिन आउनेहरू खुवाको स्वाद लिएर फर्किन्छन् । घरसम्म कोशेलीका रूपमा लैजान्छन् । कान्तिलोकपथ सञ्चालन भएसँगै खुवा विक्री बढेको अर्का खुवा व्यापारी राममणि तिमल्सिनाले बताए । २० वर्षदेखि राममणि खुवा व्यवसाय गरेर बसेका छन् ।

सयमक्रममा जसरी खुवाको व्यापार बढेर चुच्चेखोला खुवाको हबका रूपमा चर्चित भयो, दही जमाइने काठका ठेकी भने लोप हुँदै गएका छन् । पहिला दूध तातिएपछि ठेकीमा दही जमाउन हालिन्थ्यो, अहिले खुवा बनाउन कराइमा थप घोटिन्छ । कुनैबेला ठेकी पाइने जिल्लाका नामले प्रख्यात मकवानपुरमा अहिले ठेकी पाउनै छोडेको छ । ठेकीको उपदायता नभएपछि पनि अहिले ठेकी बनाउनै छोडेका छन् ।

यसलाई चिनाउन हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा मकवानपुरको चिनारीका रूपमा रहेको ठेकी आकारको खानेपानी ट्याङ्की निर्माणसमेत गरिएको छ । विशेष प्रकारको काठ (दार) बाट ठेकी बनाइन्छ । यही दारको प्रवर्द्धनका लागि वन डिभिजन कार्यालयले अभियान पनि चलाएको थियो । अभियानअन्तर्गत पकेट क्षेत्रकै रूपमा विकास गर्ने गरी भीमफेदी १, बुङदलस्थित दरवारडाँडाँ सामुदायिक वनमा करिब १५०० बिरुवा रोपिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register