दलहरूको मिश्रित प्रतिक्रिया

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत बजेटप्रति राजनीतिक दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलले बजेटमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् भने विपक्षी दलले बजेटले अर्थतन्त्रमा देखिएको समस्या समाधान र सर्वसाधारणमा उत्साहको सञ्चार गर्न नसकेको प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलहरूले बजेटलाई सकारात्मक रुपमा लिँदै कार्यान्वयनमा जोड दिएका छन् भने […]

May 30, 2025 - 03:28
 0
दलहरूको मिश्रित प्रतिक्रिया

काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत बजेटप्रति राजनीतिक दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलले बजेटमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् भने विपक्षी दलले बजेटले अर्थतन्त्रमा देखिएको समस्या समाधान र सर्वसाधारणमा उत्साहको सञ्चार गर्न नसकेको प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलहरूले बजेटलाई सकारात्मक रुपमा लिँदै कार्यान्वयनमा जोड दिएका छन् भने विपक्षी दलहरूले बजेट अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्ने तवरबाट नआएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेटमा सुधार गर्नुपर्ने विषय धेरै रहेको भए तापनि समग्रमा बजेट ठिक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले बजेट अनावश्यक संरचना हटाउनेलगायत धेरै विषयमा मौन रहेकोे बताउनुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अहिलेको बजेट परम्परागत निरन्तरतामात्र भएको टिप्पणी गर्दै भन्नुभयो– ‘बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको आएको छैन । विषयहरू लेख्ने सबै लेखिएकै छन् । तिनै कुरा दोहोरिने हो, कपिपेस्ट गर्ने हो । अहिले नाराहरू कम रहेछन् ।’ उहाँले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनःसंरचना गर्नुपर्ने भए पनि बजेट त्यो ढंगबाट नआएकोले जनतामा देखिएको निराशालाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ, त्यसमा जोड दिइएको छैन । निरन्तरताको कुरा भएको हुनाले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएर भन्सारमा, रेमिट्यान्समा आधारित भएर होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था सिर्जना नगर्दासम्म हाम्रो आर्थिक विकास गुणात्मक रूपले हुनसक्दैन ।’ स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा अहिलेसम्मका सरकारले जोड नदिएको भन्दै उहाँले यसपटक पनि ती क्षेत्रमा जनताले गुणात्मक राहत पाउने नदेखिएको बताउनुभयो ।

निवर्तमान अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अहिलेको बजेट कुनै क्षेत्रमा केन्द्रित नभएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटसँग तुलना गर्दै भन्नुभयो– ‘गत वर्ष बजेटमा हामीले अर्थतन्त्र रुपान्तरणका पाँच क्षेत्र भनेका थियौं । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । सात प्रदेशलाई सातवटा विशेषतामा विकास गर्ने भनिएको थियो । त्यसबारे केही बोलेको छैन ।’ बजेट अर्थतन्त्र चलायमान र आशावादी बनाउनेगरी नआएको पुनको प्रतिक्रिया थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आकार धेरै उत्ताउलो र गैरजिम्मेवार नभएको धारणा राख्नुभयो । विगतमा झैं ठूला आकारको बजेट प्रस्तुत गर्ने र पछि सुक्दै जाने प्रवृति दोहयाउन नहुने जिकिर गर्दै उहाँले बजेट कार्यान्वयन गर्ने राज्यको क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । बजेट कार्यान्वयन गर्न सक्ने अनुकूल परिस्थितिमा सरकारले ८५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने गरेको उल्लेख गर्दै उहाँले बजेट कार्यान्वयन गर्न सक्ने राज्यको क्षमता बढाउनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले सुशासनको अभावमा बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरू राम्ररी कार्यान्वयन गर्न नसक्ने दाबी पनि गर्नुभयो । वाग्लेले राजस्व उठाउने सरकारको लक्ष्य र विदेशी अनुदान पाइने अनुमानसमेत पत्यारिलो नभएको टिप्पणी गर्दै भन्नुभयो– ‘अंक, स्वरुप र विश्वसनीयता पुरानै हुन्छ कि भन्ने हामीलाई डर लागेको छ । त्यस्तै राजस्वको कुरा पनि त्यति पत्यारिला छैनन् । हिजोसम्म राजस्व १० खर्ब पनि नाघेको छैन, अहिले १५ खर्ब उठाउँछु भन्नुभएको छ ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट कर्मकाण्डी मात्रै भएको बताउनुभयो । बजेट समग्र नीति बनाउने कुरा भए पनि खास केही नयाँ कुरा नआएको टिप्पणी गर्दै उहाले भन्नुभयो– ‘बजेट पुरातनवादी नै छ। केही नयाँ छैन । काम चलाउन सरकार जिन्दावाद छ ।’

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बजेट बिचौलियाको स्वार्थ हेरेर आएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो –बजेट वितरण हेर्दा नेतामुखि देखिन्छ । बिचौलियाको इन्ट्रेसलाई हेरी हेरी यो बजेट बनाइएको छ । म विश्वासका साथ भन्छु यस बजेटले देशलाई बर्बाद बनाउँछ ।’

बजेटमा सुधार गर्नुपर्ने विषय धेरै छन् । तथापि समग्रमा बजेट ठीक छ । बजेट अनावश्यक संरचना हटाउनेलगायत धेरै विषयमा मौन छ ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

अहिलेको बजेट कुनै क्षेत्रमा केन्द्रित छैन । गत वर्ष बजेटमा हामीले अर्थतन्त्र रूपान्तरणका पाँच क्षेत्र भनेका थियौं । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । बजेट अर्थतन्त्र चलायमान र आशावादी बनाउने गरी आएको छैन ।
निवर्तमान अर्थमन्त्री वर्षमान पुन
उपमहासचिव, नेकपा माओवादी केन्द्र

बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको छैन । उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइएको छैन । भन्सारमा, रेमिट्यान्समा आधारित भएर होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था सिर्जना नगर्दासम्म हाम्रो आर्थिक विकास गुणात्मक रूपले हुनसक्दैन ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मा
उपमहासचिव, नेकपा माओवादी केन्द्र

बजेट आकार धेरै उत्ताउलो र गैरजिम्मेवार छैन । बजेट कार्यान्वयन गर्ने राज्यको क्षमता बढाउनुपर्छ । सुशासनको अभावमा बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरू राम्ररी कार्यान्वयन गर्न सकिने अवस्था छैन । राजस्व उठाउने सरकारको लक्ष्य र विदेशी अनुदान पाइने अनुमानसमेत पत्यारिलो छैन । राजस्वको कुरा पनि त्यति पत्यारिला छैनन् । हिजोसम्म राजस्व १० खर्ब पनि नाघेको छैन, अहिले १५ खर्ब उठाउँछु भन्नुभएको छ ।
डा. स्वर्णिम वाग्ले
उपसभापति, राष्ट्रिय स्वतन्त्र पार्टी

बजेट कर्मकाण्डीमात्रै बनेको छ । नयाँ कुरा खासै आएको छैन ।
ज्ञानेन्द्र शाही
प्रमुख सचेतक, राप्रपा

बजेट वितरण हेर्दा नेतामुखी देखिन्छ । बिचौलियाको इन्ट्रेसलाई हेरी यो बजेट बनाइएको छ । म विश्वासका साथ भन्छु यस बजेटले देशलाई बर्बाद बनाउँछ ।
प्रभु साह
अध्यक्ष, आम जनता पार्टी (आजपा)

चन्द्र ढकाल
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

बजेटबाट हामी निजी क्षेत्र उत्साहित छौं, हाम्रा धेरै सुझाव समेटिएका छन् ।
महासंघले सरकारलाई दिएको धेरै सुझाव समेटिएको छ । तर, कार्यान्वयन के कसरी हुन्छ त्यो ठूलो कुरा हो । एक दुई विषयमा बाहेक समग्रमा बजेट ठीक छ । कार्यान्वयनमा कसरी जान्छ त्यो हेर्छौं । महासंघले दिएका सुझावमा कर, लगानी र एक्जिम कोडमा बैंक ग्यारेन्टी हुनुपर्ने रहेकोमा त्यो सम्बोधन भएको छ । महासंघले दिएको सुझावमध्ये ग्रीन हाइड्रोको विषयलाई भने बजेटले समेट्न सकेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register