हातमा बोरा र प्लास्टिक बोकेर ३७ जना काठमाडौं फर्के

–डीभी परेर गएका पनि निष्कासनमा परे काठमाडौं । अमेरिकी अध्यागमन नीतिको कडाइसँगै निष्कासनमा पर्ने नेपालीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लोपटक निष्कासित गरिएका ३७ नेपाली प्लास्टिकका झोला र बोरा बोकेर काठमाडौं आइपुगेका छन् । अमेरिकी अध्यागमन ऐन उल्लंघन गरेको भन्दै उनीहरूलाई चार्टर्ड विमानमार्फत सोमबार एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।अमेरिकाबाट फर्काइएका ती नेपालीमध्ये […]

Jun 10, 2025 - 02:18
 0
हातमा बोरा र प्लास्टिक बोकेर ३७ जना काठमाडौं फर्के

–डीभी परेर गएका पनि निष्कासनमा परे

काठमाडौं


अमेरिकी अध्यागमन नीतिको कडाइसँगै निष्कासनमा पर्ने नेपालीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लोपटक निष्कासित गरिएका ३७ नेपाली प्लास्टिकका झोला र बोरा बोकेर काठमाडौं आइपुगेका छन् । अमेरिकी अध्यागमन ऐन उल्लंघन गरेको भन्दै उनीहरूलाई चार्टर्ड विमानमार्फत सोमबार एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
अमेरिकाबाट फर्काइएका ती नेपालीमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन् । अमेरिकाबाट निष्कासित भएकाहरू अधिकांशले वर्षौंसम्म अमेरिका बसेर काम गरेका थिए । तर, कानुनी कागजात नहुँदा उनीहरूलाई अमेरिकी सरकारले जबर्जस्ती नेपाल फर्काइदिएको हो ।

बोरामा सिंगो सपना
विमानस्थलमा ओर्लिएपछि उनीहरूका अनुहारमा थकाइमात्र होइन, निराशा र अपमानको गहिरो छाया देखिन्थ्यो । धेरैले आफ्नो थोरै सामान प्लास्टिकका झोलामा राखेर ल्याएका थिए भने केहीको साथमा पुराना बोरामात्रै थिए । ‘हामी अमेरिका गएका थियौं राम्रो भविष्यको सपना बोकेर, तर अहिले बोरा बोकेर फर्किनुप¥यो’ –त्रिभुवन विमानस्थलमा भेटिएका उनीहरूमध्ये एकले संक्षिप्त प्रतिक्रिया दिए ।

अमेरिकाको एरिजोनामा बस्दै आएका उनीहरूमध्ये एकजना १० वर्षअघि डीभी परेर अमेरिका पुगेको भए पनि श्रीमतीसँगको लफडाका कारण प्रहरी नियन्त्रणमा रहेका बेला उनलाई पनि अवैध आप्रवासी भन्दै नेपाल फर्काइएको छ । काठमाडौंका स्थानीय बासिन्दा उनी रित्तो हात नेपाल फर्कनुपरेको छ । अमेरिकाले ओम्नी इन्टरनेसन एयरवेजबाट ३७ जना नेपालीलाई विमान चार्टर्ड गरेर नेपाल पठाएको थियो ।

उक्त विमान बंगलादेशको ढाका हुँदै नेपाल आएको थियो । विमानभित्र उनीहरूलाई हतकडी लगाएर नेपालको विमानस्थलमा आएपछि खोलेर बाहिर पठाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।अघिल्लोपटक त्यसै गरी विमान चार्टर्ड गरेर ल्याइएका नेपालीलाई नेल र हतकडीसहित विमानबाट ओरालेपछि त्यसको चर्को विरोध भएकाले यसपटक भने विमानभित्रै हतकडी खोलेर उनीरूलाई नेपाली अध्यागमन अधिकारीको जिम्मा लगाइएको थियो । अमेरिकामा अपमान भोगेर नेपाल आइपुगेका उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले समेत केरकार गरेर बोलाएको बेला उपस्थित हुने गरी छोडेको थियो ।

कति नेपाली निष्कासित भए ?
सन् २०१७ यता मात्रै अमेरिका सरकारले करिब १ हजार ५ सयभन्दा बढी नेपालीलाई निष्कासन गरिसकेको छ । ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कठोर नीतिका कारण यो संख्या तीव्र गतिमा बढिरहेको छ ।अहिले पनि करिब ३ सय ५० नेपाली निष्कासनको प्रक्रियामा रहेका छन् । अमेरिकाभित्र अवैध रूपमा बसेका, भिसा अवधि नाघेका अथवा कागजात नवीकरण नगरेका नेपालीहरू अमेरिकी अध्यागमन निकायको निगरानीमा छन् ।

टीपीएसअन्तर्गत बसिरहेका नेपालीको चिन्ता
अमेरिकामा ‘टेम्पररी प्रोटेक्टेड स्टाटस’ अन्तर्गत बसिरहेका करिब ७ हजार नेपाली पनि अन्योलमा छन् । केही नेपालीहरू स्वेच्छाले फर्किने तयारीमा छन् भने धेरैले अमेरिकी सरकारको पछिल्लो रणनीतिप्रति आक्रोश र चिन्ता व्यक्त गरिरहेका छन् । टीपीएसअन्तर्गत काम गर्दै आएका एक नेपालीले बताए– ‘डिपोर्ट हुने डरमात्रै होइन, यहाँको जीवनयापन पनि कठिन हुँदै गएको छ । भाडा, बिमा, खाद्य मूल्य यति बढेको छ कि सामान्य कामदारका लागि जिउन कठिन छ ।’

अमेरिकाभित्रै असन्तुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासन कडाइका विरुद्ध अमेरिकाभित्रै विभिन्न संघ–संस्था र मानवअधिकार समूहले विरोध जनाएका छन् । हालै लस एन्जलसमा भएको हिंसात्मक प्रदर्शनपछि त्यहाँ ३० हजारभन्दा बढी नेसनल गार्ड तैनाथ गरिएको छ, जसले स्थिति थप भयावह बनाएको छ । सामान्य अमेरिकी नागरिकहरूसमेत अहिले मूल्यवृद्धि, बेरोजगारी र प्रशासनको कठोर नीतिका कारण आक्रोशित छन् । आप्रवासीमाथिको दमनले अमेरिकाको बहुसांस्कृतिक छविमा समेत आँच आएको भन्दै विश्लेषकहरूले चेतावनी दिएका छन् ।

नेपाल सरकारले के गरिरहेको छ ?
अमेरिकाबाट निष्कासित गरिएका नेपालीको पुनःस्थापनाका लागि नेपाल सरकारले खास पहल गरेको देखिँदैन । अमेरिका फर्काइएका नेपालीहरू विमानस्थलमै अलमलिएका देखिन्छन् । धेरैको रोजगारी गुमेको छ, सम्पर्क नभएको ठाउँमा परिवार छन् । अन्तर्राष्ट्रिय अध्यागमन सञ्जालका अनुसार, नेपाल सरकारले ती नेपालीको अभिलेख व्यवस्थापन, पुनःस्थापना, मनोपरामर्श र रोजगारीका कार्यक्रम ल्याउनुपर्ने माग बलियो बन्दै गएको छ ।

अमेरिकाबाट निष्कासित हुने नेपालीको बढ्दो संख्या नेपालका लागि चिन्ताजनक संकेत हो । एकातिर अमेरिका सरकारको कठोर नीति छ, अर्कातिर नेपाली सरकारले ती नेपालीहरूका लागि सुरक्षित भविष्यको विकल्प दिन नसकेको यथार्थ छ । ‘विदेश जानुको सपना अझै बाँकी छ, तर अब डर पनि साथमा छ,’ विमानस्थलबाट निस्किँदै गर्दा एक निष्कासित युवा आफ्नो मनको बह यसरी पोख्दै थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register