नेपाली क्रिकेट : ‘द थ्रिल इज इन द फाइट’

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिम अहिले स्कटल्यान्ड भ्रमणमा छ । विश्वकप क्रिकेट लिग- २  र टी- २० सिरिज खेल्न स्कटल्यान्ड पुगेको नेपालले लिग- २ का ४ मध्ये ३ मा जित हासिल गर्‍यो । अहिले टोली टी–२० क्रिकेट सिरिजमा व्यस्त छ । जसमध्ये नेपालले तीन खेल खेलिसकेको छ । अन्तिम खेल शुक्रबार खेल्दै छ । […]

Jun 20, 2025 - 11:23
 0
नेपाली क्रिकेट : ‘द थ्रिल इज इन द फाइट’

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिम अहिले स्कटल्यान्ड भ्रमणमा छ । विश्वकप क्रिकेट लिग- २  र टी- २० सिरिज खेल्न स्कटल्यान्ड पुगेको नेपालले लिग- २ का ४ मध्ये ३ मा जित हासिल गर्‍यो ।

अहिले टोली टी–२० क्रिकेट सिरिजमा व्यस्त छ । जसमध्ये नेपालले तीन खेल खेलिसकेको छ । अन्तिम खेल शुक्रबार खेल्दै छ । यो खेल जिते नेपालले सिरिज जित्नेछ ।

स्कटल्यान्डमा नेपालले अहिले रोमाञ्चक खेलहरू खेलिरहेको छ । जसले विश्वर नेपाली क्रिकेटको चर्चा चुलिएको छ ।

नेदरल्यान्ड्सविरुद्धको रोमाञ्चक खेलमा सुपरओभरमा पराजित भएको नेपालले लो–स्कोरिङ खेलमा भने स्कटल्यान्डलाई पराजित गर्‍यो ।  नेपालले स्कटल्यान्ड्स भ्रमणमा महत्त्वपूर्ण हासिल गरे पनि सबै खेल ‘कार्डियाक अट्याक’ ल्याउने खालका वा थ्रिलर थिए । त्यसैले, स्कटिस क्रिकेटर मार्क वाटले एक्समा ‘नेपालले खेल्ने कुनै क्रिकेट खेल सामान्य हुन्छ !’ भनी लेखेका थिए ।

नेपालका खेलहरू थ्रिलर भएपछि स्वयं नेपाली प्रमुख प्रशिक्षक स्टुअर्ट ल पनि चकित छन । र, यसमा सुधार गर्नुपर्ने बताउँछन् । स्कटल्यान्डलाई पराजित गरेको खेलपछिको एक अन्तर्वार्तामा उनले दबाबको बेला टिमको निर्णय लिने तरिकालाई पनि सुधार्नुपर्ने उनले बताए । ‘जबकी सानो लक्ष्य पछ्याउने क्रममा खेल हातैमा भएको बेला पनि यस्तो प्रदर्शन भने हामीले रोक्नुपर्छ, ’ प्रशिक्षक लले भने, ‘९७ रन पछ्याउने क्रममा ५ विकेट गुमाउन स्वीकार्य हुने छैन । क्रिकेटको खेल मलाई यसरी खेल्नु छैन । घरमा टीभी हेरिरहेकाहरूलाई अवश्य पनि हार्ट अट्याक आउँछ होला । तैपनि नतिजा हाम्रो पक्षमा भएकोमा म खुसी छु । ’

स्कटल्यान्ड जानुअघि यो भ्रमण नेपालका लागि चुनौतीपूर्ण हुने आकलन गरिएको थियो । तथापि, विदेशी भूमिमा नेपाली टोलीले सुन्दर क्रिकेट प्रदर्शन गरेर विश्वभरका किक्रेटप्रेमीको ध्यानाकर्षण गरिरहेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर तथा पूर्वकप्तान विनोद दास नेपाली टोली परिपक्क हुँदै गएको बताउँछन् । एकदिवसीय सिरिज खेल्न अगाडि नेपालमा गरेको तयारी र यूकेमा गरेको प्रशिक्षण पनि टिमलाई मद्दत पुगेको उनले बताए । ‘स्कटल्यान्ड भ्रमण जानुअघि ५०–६० जनाको हामीले क्याम्प राखेर छनोट गरेका थियौँ । खेलहरू खेलाएर टिम बनाएका थियौँ । त्यसपछि यूके गएर पनि १० दिन ट्रेनिङ गरेको थियो,’ दासले नेपालभ्युजसँग भने ।

नेपाली टिमको प्रदर्शनबारे भारतीय क्रिकेटरको पनि ध्यान तानेको छ । भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर आकाश चोपडाले टी-२० आईमा पहिलोपटक तीन सुपरओभर भएको खेलपछि नेपाली टिमबारे आफ्नो युट्युब च्यानलमा चर्चा गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा क्रिकेटका लागि धेरै माया छ, असाधारण प्यासन छ । सोही रोमञ्च खेलमा पनि देखिन्छ ।’  उनले थपे,  ‘त्यस्तै खेल नेपाल र नेदरल्यान्ड्सबीच भयो । एकदिवसीय २ पारीको हुन्छ, टेस्ट हुन्छ ४ पारीको, नेपालको टी–२० खेल बराबर भएपछि खेल आठौँ पारीसम्म चल्यो, निकै अदभूत खेल भएको थियो ।’

उनले नेपाली समर्थक विश्वको जुन सुकै कुनमा टिमलाई समर्थन गर्न पुग्ने गरेको पनि बताए । उनले भने, ‘नेपाली समर्थकले मैदान भरिदिन्छन् । चन्द्रमा वा मंगल ग्रहमा गएर खेल खेलाए पनि यो जनता त्यता पनि पुग्छ । कसरी पुग्छ थाहा छैन । तर, समर्थन गर्न पुगि हाल्छन् ।’

नेपालको खेललाई कार्डियाक अट्याक दिने भनी चर्चा भइरहे पनि पूर्वकप्तान दास भने नेपालको जितमा खुसी सुनिन्छन् । टिमको प्रदर्शनले आफू खुसी भएको बताउँदै उनी भन्छन्, ‘टिमले राम्रो गरेपछि पक्कै पनि खुसी त लागिहाल्छ । टिम पनि विस्तारै अनुभवी बन्दै गएको छ । लगभग ४/५ वर्षमा एकदिवसीय टिममा परिवर्तन भएको छैन । बिस्तारै टिम परिपक्क बन्दै छ । त्यही भएर पनि विभिन्न परिवेशमा कसरी खेल्ने भनेर सिकाइ भइरहेको छ । साथै, टिमको स्कटल्यान्ड र यूकेको पूर्व अनुभवले पनि प्रदर्शनमा सुधार देखिएको हो ।’

मिडल अर्डर नसम्हालिँदा डेथ ओभरमा नेपाललाई समस्या परिरहेको भनेर विभिन्न टिकाटिपणीहरू पनि भइरहेका छन् ।

स्कटल्यान्डमा नेपालको प्रदर्शनले आत्मविश्वास बढ्नुका साथै अन्य पक्षमा पनि टिमलाई सहज हुने राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनले बताए । टिमले विदेशी भूमिमा महसुस गर्ने प्राय: समस्या अन्त्य भएको उनले बताए । नेपालभ्युजसँग उनले भने, ‘मुख्य भनेको विदेशी भूमिमा, इंगलिस सोइलमा नेपालले नतिजा दिइरहेको छ । त्यो नै खुसीको र महत्त्वपूर्ण कुरा हो ।’

मिडल अर्डरमा समस्या आएर डेथ ओभरमा नेल बाइटिङ क्षण सिर्जना भइरहेको टिपणीको भने उनले खण्डन गरे । ‘मिडल अर्डरमा नराम्रो गरेको छैन । अस्ती आरिफको प्रदर्शन र रोहितलाई पनि हेर्ने हो भने सोमपालले पनि राम्रै गरेको छ । अर्डरभन्दा पनि ओभरअल टिमको प्रदर्शन हेर्नुपर्छ । नतिजा कस्तो ल्यायो बुझ्नुपर्छ, ’ नेपालको यू–१९ टोलीको प्रशिक्षकसमेत रहेका शक्ति गौचनले बताए ।

टिमको प्रदर्शनलाई लिएर अहिले दोधारमा जस्तो सुनिएका प्रमुख प्रशिक्षक लको पनि यो भ्रमण एक परीक्षा हो । उनले जिम्मेवारी लिएपछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । यो भ्रमणबाट लले नेपाली खेलाडीको कमजोरी र क्षमता परख गर्ने अवसर पाएका छन् । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍

‘यदि हामीलाई विश्वकपलगायत माथिल्लो स्तरमा खेल्नुछ भने हामीले अवस्थालाई सही तारिकाले सम्बोधन गर्न सिक्नुपर्ने हुन्छ । र, हरेकपटक सुधार्दै लानुपर्ने हुन्छ, ’ लले भनेका छन् । लिग–२ मा नेपालको प्रदर्शन र जारी टी–२० सिरिजलाई उनले अत्यधिक सफल पनि भनेका छन् । ‘टिमसँग यो मेरो पहिलोपटक हो । टिम खासै कुनै अपेक्षा बिना नै आएको थियो । मैले पनि उनीहरूलाई चिनेको थिइनँ । र, उनीहरूले पनि मलाई चिनेका थिएनन्, ’ प्रशिक्षक लले भने, ‘तर, मैले उनीहरूलाई प्रदर्शन गर्‍यो भने त्यसको फल पाइन्छ भनेर भनेको थिएँ । क्रिकेट भनेको प्रदर्शनमा नै केन्द्रित हुने खेल हो । र, खेलाडीहरूको प्रदर्शन उत्कृषट रहेको छ । धेरै मिहिनेत पनि गरेका छन् ।’

यसबारे  दास भन्छन्, ‘हाम्रो कोचिङ स्टाफ राम्रो छन् । कुन अवस्थामा के गर्ने टिममा के भइरहेको छ भनेर थाहा पाउन सक्षम छन् । राम्रो नै नगरिरहेको भए त जितिरहेको पनि हुँदैन थियौँ होला ।’ उनले फर्ममा नभएर जित्ने वा नजित्ने नहुने बताए । ‘संघर्ष अरु टिमले पनि गरिरहेका छन् । कसैले टप अर्डरमा त कसैले मिडल अर्डरमा । यस्तो भए पनि नेपालले एउटा राम्रो शो भने पक्कै देखाइरहेको छ,’ दासले भने ।

टिमको प्रदर्शनलाई लिएर पूर्वक्रिकेटर शक्ति गौचन पनि सन्तुष्ट सुनिए ।  उनले भने, ‘टिममा कुनै समस्या छैन । ओभरअल एउटा राम्रो प्याकेज बनेको छ । शतप्रतिशत त भारत पनि हुँदैन अष्ट्रेलिया पनि हुँदैन । विदेशी भूमिमा सकारात्मक नतिजासहित प्रदर्शन गरिरहेको छ । यस्तो बेला यो भएन त्यो भएन भन्नुको औचित्य छ जस्तो लाग्दैन ।’

कप्तान रोहितकुमार पौडेलले दबाबमा रहेकोले खुलेर प्रदर्शन गर्न नसकेका हुन् भन्ने प्रश्नमा गौचनले भने, ‘त्यस्तो होइन । कन्डिसनका कारण प्रदर्शन तलमाथि हुनसक्छ । तर, कप्तानको जिम्मेवारी भएकोले प्रदर्शनमा भने असर पर्दैन । शट्स सेलेक्सनमा समस्या हुन सक्छ ।’

नेपाली टिमले सुधार गर्दै लैजाने पक्ष  भने रहेको   पूर्वकप्तान दासले स्वीकारे । ‘सुधार गर्दै लैजानुपर्ने हो । सबै खेलाडीको आफ्नो-आफ्नो भूमिकामा योगदान हुँदै जाओस् भन्ने सबैको चाहना छ । तर, हाम्रो कुनै एक निर्धारित स्थानमा समस्या भएर यस्तो भइरहेको भन्ने हुन्न,’ उनी भन्छन् ।

‘समस्याभन्दा पनि हरेक कुरा क्रिकेटमा च्यालेन्ज हो । चाहे त्यो विपक्षी होस् वा प्लेइङ कन्डिसन । धेरै भेरियबल (खेललाई असर गर्ने पक्ष) हुन्छन्,’ टिममा कता र कस्तो समस्या भइरहेको भन्ने जिज्ञासामा उनी भन्छन्, ‘जसले सक्सेस रेटलाई असर गर्ने गर्छ । यसले नै हामी बढी सफल हुन्छौँ वा हुँदैनौँ भनेर पनि निर्धारण गर्छ । त्यही भएर ती पक्षहरूको पहिचान गरेर त्यसमा काम गर्नुपर्ने हुन्छ ।’

क्रिकेटमा ब्याटिङ कसैलाई पनि सजिलो नहुने उनले बताए । उनले भने, ‘उत्कृष्ट टिमहरूलाई हेर्नुस् । एसियाबाट टिम इंगल्यान्डमा वा अष्ट्रेलियामा भ्रमण जान्छ भने ब्याटिङमा संघर्ष गर्ने गर्छन् ।’

२०१४ को बंगलादेश विश्वकपछि टी २० आई मान्यता पाएको नेपालले ११ वर्षमा सयौं टी २० आई खेलेको छ । पहिलो टी २० आई खेल्दा नेपाली टिमका महत्त्वपूर्ण सदस्य रहेका शक्ति गौचन अहिले नयाँ खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउँछन् ।

उनले  टोलीका नयाँ खेलाडी नन्दन यादव, किरण ठगुन्ना, रूपेश सिंह र लोकेश बमको प्रदर्शनलाई उनी युवा खेलाडीले पाएको अवसरको रूपमा व्याख्या गर्छन् । ‘युवा खेलाडी हुन् । अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन देखाउने मौका पाएका छन् । सिक्दै छन् । अब जति सक्दो चाँडो त्यो अवस्थामा आफूलाई ढाल्नु सक्नुपर्‍यो, ’ गौचनले भने, ‘सक्दो प्रयास गरिरहेका छन् । अन्तर्राष्ट्रिय एरेनामा हुनुपर्ने आत्मविश्वासमा थोरै कमी छ । तर, अब प्रशिक्षक र कप्तानले अवसर दिँदै गए आगमी दिनमा नेपालको राम्रो पक्ष बन्न सक्छन् ।’

नेपालले खेलेको ऐतिहासिक सयौं टी–२० खेलले आफूलाई खुसी दिएको दास बताउँछन् । ‘यसबारे सबैको आफ्नै धारणा होला, तर यसको श्रेय दुवै टोलीलाई नै जान्छ । नेदरल्यान्ड्स ले ३ बलमा ५ रन चाहिँदा पनि छोडेको थिएन । हामीले पनि १ बलमा ६ रन चाहिँदा छोडेको थिएनौँ । कुनै न कुनै टिम हार्नै पर्ने थियो,’ उनले भने, ‘त्यो दिन हामी हार्‍यौँ तर, सबैले त्यस खेललाई अहिलेसम्मकै उत्कृष्ट टी–२० खेल भनेर पनि भनिरहेका छन् । विश्वमा नेपाली क्रिकेट नाम कमाउँदा राम्रो गर्दा खुसी लाग्छ ।’

कुनैबेलाका खेलाडी दास अहिले क्यानबाट महत्त्वपूर्ण जिम्मेवारी पाएर नीति नियम बनाउने ठाउँमा छन् । उनी भन्छन्, ‘म क्यानमा आएको लगभग ४ वर्ष भयो । त्योभन्दा अगाडि हामीले टी–२० का खेलहरू मात्रै गन्दै थियौँ । अन्तर्राष्ट्रिय टी–२० कम नै खेलेका थियौँ ।’

क्रिकेटको विकासबारे उनी भन्छन्, ‘पछिल्लो २ वर्षलाई हेर्दा हामीले लगातार ३३/३४ टी–२० खेल खेलेका थियौँ । आईसीसीले राष्ट्रबीचको टी–२० लाई अन्तर्राष्ट्रिय मान्यता दिएर नै सम्भव भएको हो । साथै, त्यो विगत एक दशकमा नेपालले खेलेको नेपालले अत्यधिक जित पनि हासिल गर्‍यो । नेपाली क्रिकेटले राम्रो गर्दै छ भनेर खुसी लाग्छ, गर्व लाग्छ ।’

राष्ट्रिय टिममा जोडिएका नन्दन यादव, किरण ठगुन्ना र रूपेश सिंहबारे उनले नेपाली क्रिकेटको विकासको पाटोको रूपमा लिएका छन् । उनले भने, ‘विकासको एक पाटो हुन् । यो हाम्रो लगानी हो प्लेयर चेनलाई, प्लेयर पुललाई ठूलो बनाउन एकदम भरपर्दो प्रयास भइरहेको छ । खेलाडीहरूले सक्दो अवसर पाओस् भनेर प्रयास भइरहेको छ । यसको फल खेलाडीले बिस्तारै पाइरहेका छन् ।’

यसै स्वरूप स्क्वाड निर्माणमा ध्यान दिएर अन्य खेलाडीलाई पनि टिममा समावेश गरिएको उनले बताए । ‘नेदरल्यान्ड्सले १४–१५ , स्कटल्यान्डले पनि १४ जनाको स्क्वाड राखेको छ । तर, हामीले १६ जनाको स्क्वाड बनाएका छौँ । हामी अक्तिरिक्त टी–२० सिरिजका लागि थप प्लेयरहरूलाई स्कटल्यान्ड लिएर गएको हो, ’ दास भन्छन्, ‘सोमपाल र गुल्शन इन्जर्ड भएर फिर्ता बोलाउन परेको हो ।  आरिफ अझै पनि त्यतै छन् । सुरुसुरुमा स्क्वाडलाई त्यति ध्यान नदिए पनि अहिले त्यसमा काम हुँदै छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register