कर्णालीमा घट्दै धान उत्पादन, सेतो चामल आयात उकालो गतिमा

सुर्खेत। कर्णालीको विकट जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका–७ का कृष्ण जैसी रोडीकोट गाउँमा कहलिएका किसान हुन् । कुनै बेला जैसीले ३ विगाह खेतमा मार्सी धान रोप्थे । उत्पादन भएकोमध्ये चार क्विन्टलसम्म मार्सी सुर्खेत पठाएर बिक्री गरेको अहिलेपनि सम्झना छ उनलाई । खाँदा रसिलो र खाएपछि पोषिलो हुने गुनिलो जातको कालो मार्सी घरपरिवारका लागि वर्षभरी पुग्थ्यो । […]

Jul 28, 2025 - 13:48
 0
कर्णालीमा घट्दै धान उत्पादन, सेतो चामल आयात उकालो गतिमा

सुर्खेत।

कर्णालीको विकट जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका–७ का कृष्ण जैसी रोडीकोट गाउँमा कहलिएका किसान हुन् । कुनै बेला जैसीले ३ विगाह खेतमा मार्सी धान रोप्थे । उत्पादन भएकोमध्ये चार क्विन्टलसम्म मार्सी सुर्खेत पठाएर बिक्री गरेको अहिलेपनि सम्झना छ उनलाई । खाँदा रसिलो र खाएपछि पोषिलो हुने गुनिलो जातको कालो मार्सी घरपरिवारका लागि वर्षभरी पुग्थ्यो । बचेको दुई चार क्विन्टल बेच्दा थोरै भएपनि आम्दानी हुन्थ्यो । त्यहि आम्दानीले उनलाई परिवारको अन्य खर्च चल्थ्यो । गाउँकै विद्यालयबाट शिक्षण सेवाबाट निवृत्त भएपछि पुख्र्यौली पेशा धानखेतीमा होमिएका जैसी मासिदै गएको मार्सीबारे स्थानीय भाषामै भन्छन, ‘पहिला मार्सी मात्तै हुन्छ्यो, अहिले त क्या हुन् यी छ्यास्मिसे धान मात्त छन् ।’ कर्णालीको कृषिलाई कहिले अनावृष्टि, कहिले खण्डवृष्टि त कहिले अतिवृष्टिले गर्दा मास्दै लगेको छ । त्यहिमाथि मौषम परिवर्तन । झारपात र किराकिटाणुको प्रभावले उत्पादनमा ह्रास आएको छ ।

भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा खेतीयोग्य जमिनभर सिंचाईको प्रर्याप्त सुविधा छैन् । फलस्वरुप खेती प्रणाली अझैंपनि परम्परागत रुपमा आकाशे पानीका भरमा छ । ‘कैल पानी पड्डै नपड्ने, कैल धेर पडेर बाली बगाई लैजाने, क्यारी जोगाउन्या ? मलिन अनुहारमा जैसी भन्छन् ‘मर्न लागेका विरुवा बोकी खुमलटारसम्म पुगियो, क्यै निदान भयोन, उल्टो नयाँ बिऊ लगाउनु भनी सिकाई पठायाँ ।’ वर्षाबाट धौ–धौ जोगाएको बालीमा पनि विभिन्न रोग लागेर मेहनत अनुसारको उत्पादन हुनै छोड्यो । उत्पादनमा आएको समस्या समाधानका लागि उनी विऊविरुवा बोकेर नेपाल कृषि अनुसन्धान परिषद् काठमाण्डौंसम्म पुगे । त्यहाँ पनि उनले समाधानको उपाय पाएनन् ।

पाँच वर्षअघिसम्म सुर्खेतसम्म चामल पु¥याएर बेचेका जैसी अहिले सरकारी तथा गैरसरकारी संघसंस्थाद्धारा वितरित आप्mनै खेतमा लगाएका धानका बिऊका नामसमेत राम्रोसंग भन्न जान्दैनन् । ‘छाम्रुक हो कि छांगरुक क्या भन्नाहन्,’ मार्सीजस्तो पोषिलोपनि नाईँ, रसिलोपनि नाईँ, पेट भर्न भने ठीकै छ,’ उनले भने । कर्णालीको पहिचान बोकेको रातो, कालो मार्सी चामल मात्र होइन परम्परागत रुपमा रोप्दै र फल्दै आएका अधिकाँश रैथाने जातका धानहरु पछिल्लो समय हराउँदै गएका छन् ।

उच्च भूभागमा फल्ने मार्सीसँगै सुर्खेतलगायत कर्णालीका जिल्लाहरुमा दुई दशकअघि मनग्य उत्पादन हुने कालनाथ्रे, गुडे, सिमतारो, बासमति, गाजले जातका धानहरु पनि हिजोआज लोपभइसकेको वरिष्ठ कृषि विज्ञ छवि पौडेल बताउँछन् । ‘खाँदा रसिलो, शरिरका लागि पोषिलो र वासनादार विशेष भएका यी रैथाने धानका विऊहरु समयक्रमसंगै खडेरी, प्रतिरोधी स्थानीय जीनोटाइप हराएसंगै लोप हुँदै गए,’ कृषि विज्ञ पौडेल भन्छन् । सदियौंदेखिका पुराना रैथाने धानका बिऊ विलुप्त हुने मात्र नभई नयाँ धान उत्पादनमापनि ठूलो असर परिरहेको कृषि विज्ञ पौडेल बताउँछन् । त्यसको प्रमुख कारण भनेकै जलवायू परिवर्तन हो । ‘२० देखि ३० दिनसम्म पानीमा राखेको बिउ रोप्दा राम्रो उत्पादन हुने भएपनि बिऊ रोप्ने बेलादेखि सिंचाई गर्ने बेलासम्म पानीको मात्र भनेअनुसार हुँदैन,’ विज्ञ पौडेल भन्छन् ‘चाहिएको बेला पानी नपर्ने वा आवश्यकता भन्दा बढी पानी पर्ने गरेको छ, कुनै कुनै समयमा धान रोप्ने बेलासम्म पनि पानी पर्दैन, बीऊ बुढो हुने र बीऊ बूढो भएपछि रोपे उत्पादन स्वतः घट्छ,’ पौडेल भन्छन् ।

आकाशे पानीको भरमा गरिने खेती भएका कारण कर्णालीमा कतिबेला बढि पानी परेर बालीनाली सखाप हुन्छ । कुनै बेला पानी नै भन्न नपाई बीऊ मर्छ । यस्तै खाले समस्या झेल्दै आएका छन्, जुम्लाका किसान भरत बुढ्थापा । कर्णालीका अन्य जिल्लाभन्दा पनि रातो मार्सीका लागि बढि प्रख्यात मानिएको जुम्लामा अहिले मार्सीकै उत्पादन कम हुन थालेपछि नयाँ जातका धान रोप्ने गरिएको उनको भनाई छ । ‘व्यवसायिक कृषकका हिसावले भन्ने हो भने अहिले रैथाने धानवाली मात्र होइन अरु बालीनालीपनि हुने नहुने कुनै ठेगान छैन्,’ उनी भन्छन् ‘कहिले चाहिएको बेला पानी नै पर्दैन कहिले नचाहिएका बेला दिनरातै दर्केर हैरानी बनाउँछ ।’

समुद्री सतहबाट तीन हजार ५० मिटरको उचाईमा रहेका जुम्लामा पहिले धान खेती असम्भव ठानिएका थियो । जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौरमा मार्सी धानको रोपाई हुने दिन बाजागासहितको धुमधाम मेला लाग्छ । प्रदेश सरकारले पनि जेठ महिना हुने मार्सी रोपाईँका दिन जुम्ला जिल्लामा सार्वजनिक बिदा दिन्छ । यसले मार्सीको परम्परागत महत्व र विशेषतालाई झल्काउँछ । तर, मार्सीधानको खेती भने घट्दो छ । जुम्लाको छुमिचौरका किसान रनबहादुर रावत भन्छन् ‘अरु बाली छिटो फल्ने, धान चाँही ढिलो फल्ने भएकाले गाईवस्तुबाट बचाउन ग्वालागोठाला लगाउन हैरान हुने भएपछि अधिकांश गाउँलेले कालो मार्सी लगाउन छाड्दै गएका छन् ।’

छुमचौरै रहेको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक अविराज उपाध्याय भन्छन् ‘मौसममा आएको परिवर्तन र बालीमा लाग्ने किराकिटाणुका कारण धानीखेती गर्नेको संख्या र उत्पादन दुवै घट्दै गएको छ ।’ धानखेतीबाट मेहनत अनुसारको प्रतिफल नआएपछि पालिकाका अधिकांश किसानहरु रोजगारीको खोजीमा भारततर्फ पलायन हुन थालेको उपाध्याय बताउँछन् । ‘यहाँका किसानहरु हिजोआज या त यार्सागुम्बा टिप्न पाटन जान्छन्, यात त भारत पलायन हुन्छन्, फलस्वरुप खेतवारी बाँझै रहन्छ,’ उपाध्याय भन्छन् ।

परम्पराग मूल, नदी नाला नहर सुक्दै गएका कारण रैथाने बालीहरु उत्पादनमा कमी आउनुका साथै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख रामभक्त अधिकारी बताउँछन् । ‘एउटै पालिकामापनि एउटा वडामा पानी पर्छ, अर्कोमा पर्दैन, ठाउँपिच्छे मौसमपनि फरक फरक छ, कतै पानी नपर्ने कतै बढी पर्छ,’ अधिकारी भन्छन् ‘सयौँवर्षदेखिका मूलमुहानपनि सुक्दै गएपछि उत्पादन त घटिहाल्छ नी ।’ रैथाने धानका बालीहरु मासिंदै गएको पछिल्लो समय जुम्लामा प्रयोग गरिएको पासांग ल्हामु नामको बीउ प्रभावकारी नभएपछि कृषि अनुसन्धान केन्द्रले सिफारिश गरेको स्थानीय हावापानी सुहाउँदा चन्दननाथ १ र ३, शिरिष २० र २२ सिफारिश गर्ने तयारी गरिएको अधिकारी बताउँछन् । जलवायु परिवर्तनका कारण सृजना भएका झारनाशक तथा लाभदायक किराकिटाणुहरु मर्दै गएका कारण माटोको उर्वरा शक्तिमा ह्रास आएको अधिकारीको भनाई छ ।

बाँझै छन् ८२ हजारबढी हेक्टर जमिन

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक भन्छ ‘कर्णालीको कुल क्षेत्रफल ३० लाख २० हजार ९०० हेक्टरमध्ये दुई लाख १६ हजार आठ सय ८० हेक्टर खेतीयोग्य जमिन रहेको छ, त्यसमध्ये ८२ हजार ४ सय ५९ हेक्टरमा खेतीपाती हुँदैन्, बाँझै छन् ।’ प्रदेशमा खेतीयोग्य जमिन बाँझो रहनुको प्रमुख कारण सिँचाइ अभाव हो, जुन मन्त्रालयले तयार पारेको १० वर्षे कृषि रणनीतिमै उल्लेख छ ।

कर्णालीमा खेती गरिने कूल जमिनमध्ये जम्मा १९ दशमलव ६ प्रतिशत अर्थात् ३८ हजार २ सय ३३ हेक्टरमा मात्र वर्षभरि सिंचाई सुविधा छ । १५ दशमलव १६ प्रतिशत अर्थात् ३० हजार ४ सय ७ हेक्टरमा मौसमी सिंचाई गरी ३४ दशमलव २२ प्रतिशतमा मात्रै सिंचाइ सुविधा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार मौसमी प्रतिकूलताका कारण उत्पादनमा आएको गिरावट र सिंचाईको अभावका कारण कर्णालीमा वर्षेनी झण्डै ३९ हजार मेट्रिकटन खाद्यान्न अपूग हुन्छ ।

कर्णालीको उत्पादनले कर्णालीलाई थेग्दैन

प्रदेशको कृषि मन्त्रालयको तथ्यांकले कणालीको रैथाने जात मात्रै होइन पछिल्ला वर्षहरुमा रोपिएका नयाँ र उन्नत प्रजातिका धान उत्पादनपनि घट्दो क्रममा छ । प्रदेशभरीका १० जिल्लामा आर्थिक वर्ष २०७८÷०७९मा भन्दा २०८०÷०८१ मा धानको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको देखिन्छ । २०७८÷०७९ भन्दा ०८०÷०८१ मा धानखेती हुने क्षेत्रफल शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । उत्पादनमा भने १३ दशमलव ८९ प्रतिशत तथा उत्पादकत्व ७ दशमलव ८ प्रतिशतले घटेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका योजना अनुगमन तथा तथ्यांक शाखाका प्रमुख तारा वराल भन्छन् ‘कर्णालीमा धान उत्पादन घट्ने बढ्ने भईरहेकै हुन्छ, उपल्लो कर्णालीमा रैथाने धान उत्पादन कम हुँदै गएपछि, खाद्यान्नका लागि चितवन, बर्दिया, धनगढी लगायतका जिल्लामा उत्पादन भएका चामल पु¥याउने गरिएको छ ।’ त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रका व्यापारीहरु प्रमुख आपूर्तिकर्ता हुन् ।

प्रदेशभर ४६ हजार तीन सय २२ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । कुल ३७ हजार चार सय ४४ हेक्टर क्षेत्रफलमा खेती हुने सुर्खेतमा सबैभन्दा बढी १५ हजार दुई सय ४० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । मन्त्रालय स्रोतका अनुसार कर्णालीमा वर्षेनी झण्डै तीन लाख १६ हजार तीन सय ९१ मेट्रिकटन धान उत्पादन हुन्छ । यहाँका कुल तीन लाख ५५ हजार दुई सय ५५ घरधुरीमध्ये तीन लाख दुई हजार ६ सय ४० परिवार पूर्ण रूपमा कृषि पेसामा आश्रीत छन् । तर ६९ दशमलव ५ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरी खान पुग्दैन ।

स्थानीय उत्पादनले मात्रै नथेगेपछि माथिल्लो कर्णालीमा वार्षिक ३९ हजार मेट्रिकटन खाद्यान्न अभाव हुन्छ । प्रदेश राजधानीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका लागि निर्धारण गरिएको कोटा अनुसार वर्षेनी एक लाख क्विन्टल चामल बाह्य जिल्लाबाट आयात हुन्छ । आ.व २०७८र०७९ मा ३२ हजार ८ सय ४४ क्विन्टल बाहिरिया चामल ढुवानी गरेको कम्पनीले गत आ. वर्ष २०७९र०८० मा ३९ हजार ५ सय ६१ क्विन्टल चामल पठाएको छ । ‘चालु आ.व.को जेष्ठ मसान्तसम्म सुर्खेतबाट २७ हजार ५ सय ८८ क्विन्टल चामल ढुवानी भईसकेको छ,’ कम्पनीका प्रदेश कार्यालय प्रमुख केशवराज बुढा भन्छन् ‘बाँकी चामल बर्दियाको राजापुर, बाँकेको नेपालगञ्ज, धनगढी र दांगको तुल्सीपुरबाट जान्छ ।’

कम्पनीबाहेक सुर्खेतमा आधारित रहि चामलको थोकबिक्रेता व्यवसायीबाट ठूलो परिणाममा चामल कर्णालीभर पुग्छ । सुर्खेतका ठूला खाद्यान्न व्यवसायी वासुदेव शर्मा भन्छन् ‘मैले वार्षिक ४ देखि ५ हजार क्विन्टल चामल कर्णालीका विभिन्न जिल्लामा बिक्रीका लागि पठाउँछु ।’ शर्मा जत्तिकै परिमाणमा सुर्खेतमा चामलको थोक व्यापार गर्नेमध्ये १० देखि १५ जना ठूला व्यवसायी छन् । जसले वर्षेनी हजारौं क्विन्टल चामलको कारोवार गर्छन् ।

अनी धान उत्पादनमा आयो ह्रास

जलवायू परिवर्तनको असर विश्वव्यापी छ । कर्णालीपनि अछुतो छैन् । जलवायू परिवर्तनकै कारण मुल मुहान सुक्दै जाँदा भएको पानीको अभावका कारण धान उत्पादनमा ह्रास आएको देखिन्छ । ‘१ केजी धान फलाउन कम्तिमा २५ लिटर पानी चाहिन्छ,’ सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्रका प्रमुख देवनीधि तिवारी भन्छन् ‘त्यसमा पनि पहिला उच्च पहाड र हिमालमा चिसो सहनसक्ने जातहरु थिए, निश्चित अवधि र तापक्रम सहेर उम्रिने र पलाउने हुन्थ्यो, अहिले त्यो अवस्था रहेन ।’ मौसमी प्रतिकूलताका कारण पछिल्लो समय धानबालीमा घाँटीमरुवा र पातमरुवा रोग देखा परेको तिवारी बताउँछन् । ती रोग सहन सक्ने क्षमता पुराना बीऊहरुमा नहुने भएकाले रैथाने बाली संरक्षण गर्न समस्या भएको उनको भनाई छ । परिवर्तित मौसमअनुसार नै कर्णालीमा ठाउँ विशेष उत्पादन गर्न सकिने माटो सुहाउँदा विभिन्न बालीहरूको परीक्षण गरिरहेको केन्द्रले जनाएको छ ।

‘हिलो र सुक्खा माटोमा उत्पादन हुने घैया धान, हाइब्रिड कालो धानको परीक्षण सफल भएको छ, सुख्खा क्षेत्रमा सहजै उत्पादन हुने कालानार्थे एक्स, खुक्खा धान–३ जातको परीक्षण भईरहेको छ,’ उनले भने । यहि जातको धान दैलेख र डोटीमा एकसाथ परीक्षण थालिएको छ । ‘सुर्खेतमा गरिएको परीक्षणले राम्रो नतिजा दिएको छ, थप जिल्लामा विस्तार गर्दा उत्पादनको दर कस्तो देखिन्छ भनेर बाली लगाउन थालिएको छ,’ तिवारीले भने । परिवर्तित मौसमका कारण पुराना बाली जोगाउन चुनौतिपूर्ण छ । मौसमअनुसारको अवस्था सहनसक्ने जीनको गुण पत्ता लगाएर मार्सी प्रजातिकै नयाँ उन्नत जातको बीउको ल्याब परीक्षण भईरहेको उनले बताए । ‘जलवायू परिवर्तनले पारेको प्रभावलाई सकारात्मक अवसरका रुपमापनि लिन सकिन्छ,’ केन्द्रका प्रमुख तिवारी भन्छन् ‘हाम्रा लागि त मौसमी प्रतिकूलता अनुसारका नयाँ ज्ञान, अनुसन्धान र नयाँ उत्पादन गर्ने चुनौतिपूर्ण र अवसरपनि हो ।’

जलवायू विज्ञ डा. सुदीप ठकुरीले जलवायु परिवर्तनको असरले खोला, नाला जस्ता पानीका मुहानमा असर गर्ने भएकाले सुख्खापनाले धान खेतीमा असर परेको बताउँछन् । जलवायुकै कारण तापक्रममा वृद्धि हुने तर धान खेतीमा कमी आएको दाबी गर्न नसकिने उनको भनाई छ । ‘रैथाने धान धेरै समयमा कम फल्ने भएकाले थोरै समयमा धेरै फल्ने बालीतिर किसान केन्द्रिन हुन थालेका छन,’ उनी भन्छन् ‘सामाजिक र बजारिया मोहका कारण युवा विदेशीन थाले, पैसा भए चामल बजारमा सजिलै किन्न पाइन्छ भन्ने मानसिकताले रैथाने बालि उत्पादनमा कमि आएको हो ।’

बढिरहेको छ मार्सीको माग

जुम्लामा आन्तरिकदेखि बाह्य पर्यटक पुग्छन् । त्यहाँ पुग्ने पर्यटकदेखि बाह्य जिल्लाका कर्मचारीहरु गृह जिल्ला फर्किदा रित्तो हात फर्किदैनन् । पाएसम्म जुम्ली मार्सी र सिमी उनीहरुको पहिलो प्राथमिकतामा पर्छ । मार्सी किन्न खोज्नेले मार्सीसंगै सिमी, ओखर लगायतका सरसामानपनि किन्छन् । मार्सीकै कारण कृषि उत्पादनको व्यापारपनि बढ्दो छ । त्यसैले त रैथाने उत्पादनहरुको बिक्रीसंगै प्रवद्र्धन तथा बजारीकरण गर्न चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाले २०७४ फागुनदेखि मिनी मार्केट सञ्चालनमा ल्याएको छ । जुम्ला सदरमुकाममा सञ्चालित अर्गानिक मिनी मार्केटले गत जेठ महिनासम्ममा ८१ लाख रुपैयाँ बराबरको मार्सी बिक्री गरेको छ । ‘जुम्ला आउने जानेको पहिलो रोजाईमा मार्सी पर्छ, मार्सीसंगै ओखर, भट्मास, स्याउका चाना, चिनु कागुनो, गहत, जौको पिठो जस्ता कृषिजन्य बस्तु बिक्री हुन्छ,’ सहकारीका व्यवस्थापक ऋिषीराम पाण्डे भन्छन् । मिनी मार्केटले १० करोडभन्दा बढीको अर्गानिक खाद्य वस्तु बिक्री गरेको पाण्डे बताउँछन् । २० हजारबढि सदस्य आवद्ध रहेको सहकारीका सदस्यहरुले नै उत्पादन गरेका रैथाने उपजहरु बिक्रीका लागि कालिकोटको नाग्म, प्रदेश राजधानी सुर्खेत, संघीय राजधानी काठमाण्डौँ लगायतका स्थानमा अर्गानिक मिनी मार्केट सञ्चालनमा ल्याएको छ ।

मार्सीको मागलाई धान्न गत माघदेखि सुर्खेतको वीरेन्द्रनगर–३ मा श्री ओम अर्गानिक डिभाइन उद्योग खुलेको छ । जसले चार महिनामा मार्सी बिक्री तथ्यांक हेर्दा मार्सीको माग उच्च रहेको देखाउँछ । स्थापनाको चार महिनामै उक्त उद्योगले ३८ क्विन्टल मार्सी चामल बिक्री गरेको छ । बजार मागअनुसार मुगुबाट थप ३० क्विन्टल मार्सी ल्याउने तयारी छ । ‘जुम्ला र मुगुबाट गत माघमा आएको ५३ क्विन्टल धानमध्ये अब बढिमा १५ क्विण्टल धान कुटानी पिसानी गर्न बाँकी छ,’ उद्योगकी सञ्चालक शोभा रेग्मी भन्छिन् ।

सरकारसँग न पर्याप्त बजेट छ, न ठोस् योजना !

कर्णालीको प्रख्यात उब्जनी मार्सी । जो देशविदेशका भान्सामा विशेष परिकारकै रुपमा पाक्छ । तर, पोषिलो र रसिलो मार्सीको बीउ उमार्नेदेखि उत्पादनसम्म किसानको संघर्ष पीडाले भरिएको छ । मार्सीको राजधानी जुम्लालाई १८ वर्षअघि २०६४ प्रांगारिक जिल्ला घोषणा गरियो । अनी विषादि प्रयोगमा पूर्णरूपमा रोक लगाईयो । तर, त्यो घोषणा त्यहि सिमित भयो । त्यसको केहि समयमै घाँटीमरुवा (नेकब्लास्ट) देखापर्यो । झण्डै ८० हेक्टरमा लहलह झुलेका बालासहितका धानका बोट सखाप भए । तातोपानी गाउँपालिका–४, ५ र ६ तथा चन्दननाथ नगरपालिका–९का किसानले त्यसअघि त्यस्तो समस्या भोगेकै थिएनन् । तातोपानी–४ का कृषक नन्दकृष्ण न्यौपाने भन्छन्, ‘त्यसबेला सरकारले न त औषधि पत्ता लगायो न क्षतिपूर्ति दियो ।’ अनपेक्षित रुपमा बालीमा क्षति पुगेपछि निराश भएका किसानहरू विस्तारै मार्सी खेतीबाट पलायन भएको न्यौपाने बताउँछन् ।

विश्वकै उच्च स्थानमा धानखेती हुने प्रख्याती कमाएको छुमचौरको रैथाने मार्सी जोगाउन र मौसमी प्रतिकूलताबाट जोगाउन स्थानीय सरकारको ठोस् योजना छैन् । पालिका अध्यक्ष पूर्णसिंह बोहोरा भन्छन् ‘हामीसंग न बजेट छ न त कुनै योजना, सेतै हुनुपर्ने पातरासी हिमाल त नीलोकालो भईसक्यो, धानको के कुरा ।’ जलवायू परिवर्तनजस्तो विश्वव्यापी समस्याका बारेमा पालिका एक्लैले चाहेर केहि गर्न नसक्ने उनको भनाई छ । पालिकामा प्राप्त हुने ५ करोड रुपैयाँ कुल बजेट पर्याप्त नहुने बोहोरा बताउँछन् । ‘ग्रामीण क्षेत्र जलवायू परिवर्तन असरले प्रताडित छन्, रैथाने धानलगायतका अन्य अन्नबाली संरक्षणमा प्रदेश सरकारबाट आशा गरेजत्ति सहयोग पाईएको छैन्,’ उनले भने ।

प्रांगारिक र रैथानेवाली कृषि तथा पशुपंक्षीको संरक्षण प्रवद्र्धन स्वरुप प्रत्येक वर्ष परियोजनाकै रुपमा संचालन हुने गरेको छ । कर्णालीमा जलवायु परिवर्तनलाई नै सम्बोधन हुनेगरि प्रदेश सरकारले कुनै योजना बनाउने र बजेट विनियोजन नगरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी तारा बराल बताउँछन् । प्रांगारिक र रैथाने कृषि बालीको संरक्षण भन्नासाथ जलवायु परिवर्तनको सवाल स्वत् सम्बोधन हुने बरालको दाबी छ । ‘रैथाने बालीहरुको संरक्षण हुनेगरी नमूना पर्यावरणीय कृषिग्राम स्थापना गर्ने नीति प्रदेश सरकारको छ । तर, जलवायू परिवर्तनलाई नै केन्द्रित गरी चालु आर्थिक वर्षमा बजेट र कार्यक्रम छैनन्,’ बराल भन्छन् । “यो फेलोशिप सम्बन्ध नेपाल (क्बmदबलमजब ल्भउब)ि द्वारा प्रदान गरिएको हो”

तस्बिर : सागर परियार, जुम्ला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register